तमख्याँ गोरू कति दूध दिणान् ? - Aksharang
  • २०७७ चैत २९ आइतबार

तमख्याँ गोरू कति दूध दिणान् ?

शरद निरोला

शरद निरोला

शीर्षक पढेर तपाईंहरूले कुरा त बुझ्नु नै भयो होला- तपाईं कहाँ गोरूले कति दूध दिन्छन् । गोरू अनि दूध ? हा हा ! त्यस्तो मुलुक संसारमा कहाँ छ जहाँ गोरूले दूध दिने गर्छन् ? पछिल्लो समयको मेरो सामान्यज्ञान टकटक्याएर हेर्दा त्यस्तो प्रकारको जानकारी मैले कतै पाइनँ । सबै ठाउँमा गाईले वा भैँसीले नै दूध दिन्छन् । अब यहाँ आएर त्यसको ठीक बिब्ल्याँटो प्राक्कथन गर्नुको पछाडि रहस्य के ? के यो कुरा साँच्चै हो ? यस्सो घुमाएर हेर्दा गोरूले दूध दिँदोरहेछ भन्ने कुरा मैले आफ्नो दस महिनाको दार्चुला जिल्ला अन्तर्गतको गोकुलेश्वर  गाउँ पञ्चायतमा बिताउँदा थाहा पाएँ ।
यसभन्दा अघिको लेखमा मैले म दार्चुला जिल्लाको त्यस अनकन्टार गाउँमा कसरी पुगेँ भन्ने कुराको स-विस्तार वर्णन गरिसकेको छु । राष्ट्रिय विकास सेवा कार्यक्रम अन्तर्गत दुईजना अन्य सहपाठी यमबहादुर कुलुङ र गीताभक्त जोशीसहित त्यहाँको स्कुलमा पढाउनका लागि हामी खटिएका थियौँ । हामीलाई स्कुलकै एउटा कक्षा खाली गराई बस्ने व्यवस्था गरिएको थियो । ओढ्ने र ओछ्याउने चाँजो पनि हेडमास्टरले मिलाइ दिएका थिए । करिब दुई महिना जति हामी त्यसरी बस्यौं । पछि चारैतिर बाट विद्यार्थीहरू द्वारा घेरिएर बस्दा एक प्रकारको असजिलो अनुभव हुन थाल्यो । हामीले हेडमास्टरलाई कतै डेरा खोजिदिनु पर्यो भनेर अनुरोध गर्यौं । नभन्दै केही दिनपछि हेडमास्टरले स्कुल नजिकै एउटा घर खोजिदिए । माथि एउटा कोठा अनि तल भान्सा भएको त्यो स्यानो घर हाम्रा लागि उपयुक्त थियो । हामीसँग घरको बहाल पनि मागिएन । खाना पकाउनको लागि स्कुलकै पियनलाई बन्दोबस्त गरिदिइयो । त्यसपछि भने हाम्रो दैनिक जीवन नियमित हुन थाल्यो ।
स्कुलमा पढाउन थालेपछि हामीलाई भाषाको समस्या खडा भयो । हामी पूर्वेली थियौँ र राष्ट्रभाषा नेपाली बोल्थियौ । हाम्रा विद्यार्थी र गाउँलेहरू त्यहाँको क्षेत्रीय भाषा बोल्ने परे । उनीहरूले बोल्ने दार्चुली भाषामा कुनै कुनै शब्द नेपालीका पनि हुन्थे जुन बुझिन्थ्यो । तर छिटै नै हाम्रो भ्रम तोडियो ।नेपालीका शब्द भए तापनि कतिपयको अर्थ हामीले जानेको अर्थभन्दा भिन्न हुन्थ्यो । पूर्णरूपले उनीहरूको बोली बुझ्न हामीलाई पूरा दुई महिना लाग्यो । त्यसपछि भने उनीहरूले भनेका कुरा बिस्तारै बुझ्न थाल्यौँ । बोल्नचाहिँ त्यति आएको थिएन तर टाकन टुकन शब्दहरू चाहिँ बोलिटोपल्थ्यौँ । भाषिक भिन्नताले गर्दा कतिपय अवसरमा हामी हाँसोका पात्र पनि बन्न नपुगेको होइन । त्यस्तै केही रमाइला क्षणहरू म यी पङ्क्तिहरूमा बाँडचुँड गर्न चाहन्छु ।
पहिलो अवसर थियो भलिबल खेलको । घटना वर्णन गर्नुभन्दा पहिले म के कुरा स्पष्ट गर्न चाहन्छु भने दार्चुला जिल्लामा त्यस बखत खेलका नाममा केवल भलिबल मात्र खेलिन्थ्यो । भलिबलका अतिरिक्त अरू कुनै खेलमा विद्यार्थीहरूलाई चासो थिएन वा भनौँ उनीहरूलाई ज्ञान थिएन । हामीले पहिलोपल्ट फुटबल खेलको बारेमा चर्चा गर्दा उनीहरू प्वाक्क परेर हेरिरहन्थे । पछि सदरमुकामबाट फुटबल मगाई उनीहरूलाई खेल्न सिकाउँदा हाम्रा नौनारी गलेका थिए । खेल सुरू हुनासाथ बाइसै जना खेलाडीहरू एक झुन्ड भएर बलको पछाडि दगुर्थे । उनीहरू ठान्थे फुटबल भनेको खालि लात्ताले बल हान्नु हो । तर त्यसको विपरीत भलिबल खेल खेल्नमा चाहिँ उनीहरू पोख्त थिए ।
एकदिन दस कक्षाका विद्यार्थीहरूले शिक्षकहरूलाई भलिबल खेल्ने चुनौती दिए । विद्यार्थीहरूले दिएको चुनौती अस्वीकार गर्ने कुरै भएन । अन्य स्थानीय शिक्षक पनि समावेश गरी हामीले छ जनाको टिम बनायौँ जसको क्याप्टेन मलाई बनाइयो । विद्यार्थी टिमको कप्तानी भने सुन्दर नाम गरेको केटाले लियो ।
खेल सुरू हुनुभन्दा पहिले सुन्दरले नेटको छेउमा उभिएर मलाई नजिक आउने इसारा गर्यो । म आफ्नो तर्फको नेटछेउ गएर उभिएँ । ‘ल, मास्साब, पाँच रूपियाँ गाड,’ उसले मुस्काउँदै भन्यो अनि आफूले पनि पाँच रूपियाँको नोट निकाल्यो ।
म एकछिन त अवाक् भएँ । फेरि त्यस गाउँको कुनै चलन होला भन्ठानेर खल्तीबाट पाँच रूपियाँको नोट झिकेर नेटको सिधामुनि भुइँमा माटो खोस्रेर छोपछाप गरिदिएँ । मैले त्यति के गर्नु थियो विद्यार्थीहरू गलल हाँसे । मचाहिँ प्वाक्क परेर उनीहरूलाई हेर्न थालेँ । पछि सुन्दरले कुरा बुझायो । उसले नोट गाड भनेको त झिक भनेको रहेछ । स्थानीय भाषामा झिक्नुलाई गाड्नु भन्दा रहेछन् । अर्को कुरा, त्यहाँ पैसा बाजी नराखी कोही भलिबल खेल्दा रहेनछन् ।
मैले हाँस्दै भुइँबाट नोट उठाएर सुन्दरलाई दिएँ । उसले मेरो र उसको नोट रेफ्रीलाई राख्न दियो ।  गेम खेल्यौँ  र हामी शिक्षकहरूले हार्यौं ।
स्थानीय भाषासँगको मेरो अर्को टक्कर हामी बस्ने घरमै भयो । हाम्रो खाना पकाउने पियनको नाम साहुजी थियो । उसको नाम किन साहुजी भयो त्यसबारेमा हामीले उसलाई कहिल्यै सोधेनौँ  र उसले पनि बताएन । आफ्नो काठमाडौँको साहुजी सम्झेर कहिलेकहीँ सोध्ने उत्सुक्कता चाहिँ लाग्ने गथ्र्यो । एक दिनको कुरा हो, साहुजी चुलामा टुक्रुक्क बसेर दूध तताइरहेका थिए ।हामी पनि कुर्सीमा बसेर गफ गरिरहेका थियौँ । अचानक साहुजीले डाडु चलाउँदै सोधे- ‘मास्साब, तमख्याँ गोरू कति दूध दिणान् ?’
‘हैन, के भन्छ यो साहुजी ?’ मैले आश्चर्य मान्दै भनेँ । कुलुङ र जोशी पनि मतिर हेरेर हाँसे । ठट्टा गरेको होला भन्ने ठानेर मैले पनि हाँस्दै भनेँ- ‘गोरूले कहाँ दूध दिन्छ ? बौलायौ कि क्या हो ?’
“खोइ, यहाँ त दूध गोरूले नै दिणान् ।’ उसले गम्भीरता पूर्वक नै जवाफ दियो । अब ठट्टा गर्ने पालो जोशीको थियो । उसले हाँस्दै भन्यो- ‘साहूजी, अनि गाईले चाहिँ के गोबर मात्रै दिन्छ ?’
‘गाई ?’ साहूजीले निधार खुम्च्यायो ।
‘गाई भन्या थाहा छैन ?’ कुलुङले पनि हाँस्दै भने ।
‘थाहा छैन ।’
‘गाई क्या गाई ! दूध दुहुने गाई !’
‘ए, येइख्याँ त गोरू दुहुन्छन् मास्साब ।’ ऊ आफ्नो भनाइबाट टसमस भएन । गाई र गोरूको माथापच्चीमा केही समय बित्यो । निकै बेरपश्चात, साहुजीको अटुट गम्भीरता देखेर, हामीलाई गोरू भनेको यस ठाउँमा गाई नै हो भन्ने विश्वास लागेर आयो । साथै, गोरू भनेको त्यहाँ बल्लोलाई भनिँदो रहेछ भन्ने पनि थाहा भयो । सम्भवतः बयल शब्दबाट अपभ्रंश भएर बल्लो भएको हुनुपर्छ ।
भाषिक झट्का (ल्याङ्ग्वेज सक्) को अर्को घटना पनि एकप्रकारले हामी पूर्वी तथा मध्य नेपालमा बस्नेहरूका लागि रमाइलै हुनसक्छ । गोकुलेमा एकजना बैदार साहेब भन्ने व्यक्ति थिए । उनको असली नाम के हो हामीलाई कहिल्यै थाहा भएन । सबै उनलाई बैदार साहेब नै भनेर बोलाउँथे । यी उनै बैदार साहेब थिए जसले हामीलाई गोकुलेमा पहिलोपल्ट खुट्टा टेक्दा हाम्रो सहायता गरेका थिए । एकदिन बिहानीपख, स्कुल खुल्नुभन्दा अगावै बाहिर सडकमा हामी घाम तापेर बसिरहेका थियौँ । अलिक परबाट बैदार साहेबलाई आउँदै गरेको देख्यौँ । सफा सुरूवाल- कमेज, कालो इस्टकोट अनि कालै टोपी लगाएका र हातमा छाता बोकेका उनलाई देखेर मैले सोधेँ- ‘यस्तो ठाँट्टिएर कता जान लाग्नुभएको, बैदार साहेब ?’
जबाफमा उनले आफ्ना बत्तीसै दाँतहरूको प्रदर्शन गर्दै भने– “माइती जान लागेको ।’
‘माइती ?’ मैले आश्चर्य मान्दै भनेँ-  ‘अनि श्रीमती खोई त ?’
‘म उनैलाई लिन जान लागेको ।’
‘लाखे है !’ कुलुङले अचम्म मान्दै भन्यो अनि सोध्यो- ‘तपाईं ससुराली जान लागेको ?’
‘हो मास्साब, यहाँ लोग्नेहरू माइत जान्छन् । लौ त म हिँडेँ ।’ त्यति भनेर छक्क परिरहेका हामीलाई छोडी ऊ आफ्नो बाटो लाग्यो । हामी चाहिँ कस्तो उल्टो मुलुकमा आइएछ भन्ने सोचेर हाँस्दै बस्यौँ । यहाँनेर के भन्न चाहन्छु भने हामी तीन जनामध्ये सबैभन्दा बढी दार्चुली भाषा बुझ्नेमा मै पर्थें । दस महिनाको अवधिमा बोल्न पनि अलिअलि टाकनटुकन सक्ने भउको थिएँ । त्यसको कारण के हुनसक्छ भने म भाषा र साहित्यको विद्यार्थी हुनुको अतिरिक्त लेखक पनि थिएँ । मलाई त्यस वेला नयाँ नयाँ भाषा सिक्न मन पथ्र्यो । त्यतिखेर स्थानीयहरूसँग दार्चुली भाषामै कुराकानी गर्ने गरेको भए तापनि अहिले आएर सबै बिर्सिसकेको छु । कुनै पनि भाषाको नियमित प्रयोग भएन भने त्यो बिर्सिंदै गइन्छ । गोकुले गएको पनि अब त ४२ वर्ष भइसकेछ । त्यहाँबाट निस्किएपछि पुनः त्यस भाषाको प्रयोग पूर्णतः बन्द भएको हुनाले केही शब्दहरू बाहेक अरू केही सम्झना छैन । अँ ! केही घटनाहरू भने विस्मृतिको गर्भमा गइसकेका छैनन् किनभने ती पूर्णरूपले अप्रत्याशित र मनोरन्जक छन् । स्थानीय गोकुलेबासीहरू मध्ये कतिपयलाई काठमाडौँ भनेको के हो थाहा थिएन । उनीहरू राजा बस्ने ठाउँलाई ’नेपाल’ र नेपालमा बस्ने मानिसहरूलाई गोर्खाली भन्थे । हामीले उनीहरूको भाषा कस्तो उल्टो भन्यो भने उनीहरू उल्टै हामीहरूलाई सुनाउँथे- ‘गोर्खालीको चाला उल्टो, गोरूलाई गाई भणनान् बल्लोलाई गाई ।’
राष्ट्रिय विकास सेवा अन्तर्गत आउने विद्यार्थीहरूलाई त्रिविविका तर्फबाट परदेशमा सन्चो- बिसन्चो भएमा काम लाग्ला भनी एक एकवटा फस्र्ट एड बक्स (आपातकालीन औषधि तथा उपकरणको बाकस) दिइन्थ्यो । त्यस बाकसमा टिङ्कचर आयोडिन, कपास, ब्यान्डेज, टुर्निकेट (रक्तस्राव रोक्न प्रयोग गरिने रबरको डोरी), घाउ सुकाउन प्रयोग गरिने सिवाजल पाउडर अनि सिटामोल चक्की राखिएका हुन्थे । हामीलाई सदरमुकाममा सुपरभाइजरले त्यस दबाईको बाकसका बारेमा कसैलाई पनि थाहा नदिनु भनेर सिकाएका थिए । यदि विद्यार्थी वा गाउँलेहरूले थाहा पाए भने फेरि त्यो तुरून्तै सिद्धिन सक्ने सम्भावना हुने भएकाले उनले हामीलाई सतर्क गराएका थिए । हामीले पनि त्यस बाकसको बारेमा कसैलाई केही भनेनौँ ।तर कुनै कुरा हुनु छ भने त्यो जे गरे पनि भइहाल्छ भनेझैँ भयो । दस कक्षाका विद्यार्थी मध्ये सुन्दर र लक्ष्मण हाम्रा प्रिय थिए किनभने उनीहरू चलाख र अलिक जान्नेसुन्ने थिए । एकदिन दुवैजना हाम्रो कोठामा आएका थिए । कुरा गर्दै गर्दा लक्ष्मणले अचानक झ्यालतिर हेरेर भन्यो- ‘त्यो के बट्टा हो मास्साब ?’
मैले झ्यालतिर हेरेँ । हेर्ने बित्तिकै मेरो सातोपुत्लो उड्यो । मेरो फस्र्ट एड बक्स उदाङ्ग अवस्थामा थियो । बिहान अलिकति टाउको दुख्ला जस्तो भएर मैले एक चक्की सिटामोल खाएको थिएँ । के भएर हो त्यसको बिर्को लगाउन बिर्सेको रहेछु । मैले केही भन्नुभन्दा पहिले नै लक्ष्मण झ्यालमा पुग्यो । उसले त्यस बाकसमा भएका दबाई र उपकरणहरू देखेर प्रसन्न हुँदै भन्यो- ‘ओ मास्साब, तम डाक्टर पनि हुणान ?’
हामी तीनैजनाले मुखामुख गर्यौं । रहस्योद्घाटन भइसकेपछि त्यसलाई ढाकछोप गरिरहने कुरै भएन । मैले ती दबाईहरू हामी गोकुले बसुन्जेल आफ्ना लागि ल्याएका हौँ भनेर उसलाई भनेँ साथै यो कुरा कसैलाई पनि नभन्नु है भनेर सिकाएँ पनि । उनीहरू दुवैले स्वीकारमा टाउको हल्लाए । तर त्यत्रो ठूलो सनसनीपूर्ण कुरा उनीहरूको मनमा कहाँ अड्किरहन्थ्यो र ! एककान दुई कान हुँदै सबैले हामीसँग त औषधि पनि छ रे भनेर थाहा पाए । त्यस दुर्गम ठाउँमा न कुनै हेल्थपोस्ट्, न कुनै अस्पताल, न कुनै डाक्टर, न कुनै कम्पाउन्डर- केही थिएनन् । तर सबैलाई रोग भन्ने चीजलाई औषधिले ठीक पार्छ भन्नेचाहिँ राम्रैसँग थाहा थियो । बिस्तारै बिस्तारै मानिसहरू दबाई माग्न आउन थाले । हामीले पनि मानवीयताको नाताले अवस्था हेरी दबाई दिने काम गर्यौं । यस सिलसिलामा एउटा घटना यस्तो पनि हुन गयो, जसबाट हामीलाई अर्को भाषिक झट्का लाग्यो ।
एक दिन एकाबिहानैको समय थियो । ‘मास्साब, मास्साब’ भनेर बाहिर कोही करायो । कुलुङले ढोका खोलेर हेरे । गाउँकै एकजना अधबैँसे मान्छे त्यहाँ उभिएको थियो । कुलुङले ‘के भयो ?’ भनेर उसलाई सोधे । मैले भित्रै बोलाऊ न भनेर कुलुङ्गलाई भनेँ । ऊ भित्र आयो ।
‘मास्साब, मलाई हिजोदेखि ढाड दुखेर हैरान पारिरहेछ,’ उसले भुइँमा बसेर खुइय गर्दै भन्यो- ‘तम्ख्याँ दबाई छन् भनेर गाउँमा भन्थे । एउटा दबाई दिनुपर्यो ।’
‘कतिको दुख्छ ?’ मैले सोधें ।
‘धेरै नै दुख्छ ।’
दुखाइ कम गर्न हामीसँग सिटामोल चक्की मात्र थियो । मैले उसलाई तीनवटा चक्की दिएर भनेँ- ‘तीन दिनलाई यो औषधि दिएको छु । दिनको एउटा चक्की खाने, पानीसित । तीन दिन खाएपछि फेरि आउनू । हेरौँ कस्तो हुन्छ । सायद ठीक हुन्छ होला ।’
उसले चक्कीहरू एउटा रूमालमा पोको पार्दै नमस्कार गरेर गयो ।  हामीहरू आ-आफ्ना काममा लाग्यौँ ।
चौथो दिनको बिहान ऊ आयो । उसको अनुहार हेर्दा आउँ परेको मान्छे जस्तै देखिन्थ्यो । ‘के भयो ? ढाड दुखेको निको भएन ?’ मैले सोधेँ ।
‘काँ निको हुनु, मास्साब ! झन् बढी दुखिरहेको छ ।’ उसले रूँला रूँलाजस्तो गरेर जवाफ दियो ।
मलाई बडो अचम्म लाग्यो । जीवनमा कहिल्यै दबाई नखाएको व्यक्तिमा त सिटामोलले तुरून्तै असर गर्नुपर्ने हो । एक चक्की नै साधारण जिउ दुखाइका लागि प्रशस्त हुन्छ । कुनै जटिलता नै हो कि भन्ने शङ्का लागेर मैले उसलाई सोधेँ-  ‘ढाड कहाँनेर दुख्छ भन्नु त ?’
त्यसको जवाफमा उसले आफ्नो दाहिने हात लगेर दाहिने पेट सुमसुम्यायो अनि भन्यो– ‘यहाँ नेर दुख्छ ।’
‘हैन, के भन्नुहुन्छ हौ !’ मैले चकित भएर भनेँ- ‘अनि ढाड दुख्छ भनेको होइन ?’
‘हो मास्साब, यो ढाड त हो नि,’ उसले रुन्चे स्वरमा भन्यो- ‘यहाँ त यसैलाई भन्छन् ।’
अचानक त्यो सुनेर जोशी गडड हाँसे । कुलुङ पनि हाँस्यो । दुवै हाँसेको देखेर म पनि नमुस्काइरहन सकिनँ । यो के अचम्म र उदेक सुन्नुपर्यो भन्ने सोच्दै मैले उसलाई कस्तो प्रकारले दुख्छ भनेर सोधेँ ।उसले बताएका लक्षणहरूबाट उसलाई पेटमा शूल भएको अनुमान गरेँ । शूल भएकोलाई निको पार्ने खास कुनै औषधि हामीसँग थिएन । त्यही सिटामोल नै प्रयोग गर्ने निर्णय गरेँ । मैले उसलाई छ वटा चक्की दिँदै भनेँ- ‘यो पहिलेकै दवाई हो।अब दिनको दुई चक्की खाने । ठीक हुन्छ । अँ, धेरै पिरो र अमिलो चाहिँ केही दिनको लागि नखानू ।’
‘निको हुन्छ त मास्साब ?’ उसले दबाई खल्तीमा राख्दै याचनापूर्ण स्वरमा भन्यो ।
‘ठीक हुन्छ । पिर नगर्नोस् ।’
ऊ अनुहार उज्यालो पार्दै गयो । हामीचाहिँ एकार्काको मुख हेर्दै हाँस्दै बस्यौँ । त्यो मान्छे फेरि फर्केर आएन । करिब एक हप्ता बितेपछि एकदिन ऊ अचानक बाटोमा भेटियो । उसलाई सिटामोलको डबल डोजले असर गरेछ । उसको दुखाइ निको भएछ।हामीले पनि सन्तोषको सास फेर्यौं र साथै आफ्नो ‘चिकित्सकीय प्रतिभा’ देखेर दङ्ग पनि पर्यौं ।
एवम्रीतले दिनहरू चिप्लिँदै गए र त्यसको साथसाथै हाम्रा सिटामोलका चक्कीहरू पनि घट्दै घट्दै गई एकदिन पूर्णतः अन्तध्र्यान भए । भाग्यवश दस महिनाको अवधिमा हामीलाई कहिल्यै सिटामोल खानुपर्ने आवश्यकता परेन । त्यस अवधिमा कैयौँ रमाइला घटनाहरू भए । ती सबैका बारेमा लेख्नु परे एउटा पुस्तक नै तयार हुनेछ । त्यहाँको भाषाका व्याकरणीय जटिलताहरूको भेउ पाउननसके पनि हामीले हाम्रोतिर बोलिने बोलीभन्दा सर्वथा उल्टा अर्थ लाग्ने केही शव्दहरू भने सिक्यौँ । जस्तै: गाड- खोला, गाड़ (डमुन्तिर थोप्ला भएको)- झिक, धार- डाँडाको टुप्पा, मल्लो- माथिल्लो, ढाड- पेट, माइत- ससुराली आदि आदि ।


(हाल मेरिल्यान्ड, अमेरिका निवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
snirola7@gmail.com