पटाक्षेप - Aksharang
  • २०७८ असार ५ शनिवार

पटाक्षेप

अजित क्षेत्री

अजित क्षेत्री

उमेरले बैँसको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।
भर्खरै कोपिला लागेको आरूको फूलजस्तै थिई, सलक्कको जिउ । उमेर पुग्नुअगावै अङ्गहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडापारि सम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतलीझैँ बाबुआमाको काखमा हुर्किंदै गरेकी मैना अब दुई डाँडापारिको बिल्कुलै नौलो परिवेशमा नयाँ घरकी बुहारी बनी ।
भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । इष्टमित्र र बाबुआमाले मैना फूलजस्ती छ भने । त्यस फूललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चिकै फूलजस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्नेमानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।
भारतीय आर्मी, त्यसमाथि भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर-ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आफू पनि रत्तिई ।
दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एकअर्काको हातको सिरानी गरेर दुवैले बिछोडको आँसु झारे । प्रणयको मीठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै रात गयो ।
उज्यालो भयो । बाबुआमाले रातो टीका निधारैभरि लगाएर आशीर्वाद दिए । मैनाले पतिलाई बिदाइढोग दिई । बिदावारी भएर लालबहादुर घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपेसरि भयो । ढोका थुनेर धेरैबेर रोई । बाबुआमाले पनि दुई थोपा आँसु झारे ।
डाँडा पार नहुन्जेल उसले घरतर्फ फर्किफर्की हेर्यो । लाग्थ्यो, उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौलीबाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घन्टाअघिसम्म आफ्नै घर-आँगनमा रमाएको ऊ, अहिले परदेशको भूमिमा परदेशी भयो ।
भोलिपल्ट ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतलीजस्ती पत्नीलाई छोडेर आउनुपर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरूले कस्ती छिन् तेरी बूढी भनी सोध्दा पुतलीजस्तै छिन् भन्थ्यो ।
यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको वेला उसको मालीले उसलाई छाडेर गएको थियो । जाने वेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।
समय बितेको पत्तै भएन । लाहुर गएको वर्ष दिन पुगिसकेछ । लालबहादुर छुट्टीमा आयो । मैना अनि पूरै परिवारमा फेरि खुसी छायो ।
घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गए पनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितिको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा-सम्मानले उनीहरू अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बूढाबूढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।
राम्ररी सजाइएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यस गमलामा सानो फूलको बिरूवा भैदिए त्यही बिरूवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बूढाबूढीलाई अब घर- आँगनमा नाति नातिना खेलेको हेर्ने रहर जाग्यो ।
एकदिन आमाले एकान्तमा पारेर छोरासँग मनको बह पोखिन्- ‘बाबु तँसँग हामी साह्रै खुसी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाति नातिनी यो पिँढी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातिको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।’ उसले केही जवान दिन सकेन ।
मनमनै सोंच्यो- ठीकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकाशलाई चिसो बादलले छोपेझैँ उसले मैनालाई अँगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकै छिनमा त्यहाँ प्रणयको वसन्त ऋतु आयो । प्रेमिल पक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो, बाढी आयो, बाढीमा दुवैजना पसे । निथ्रुक्कै रूझे, निदाए ।
छुट्टी सकेर लालबहादुर फेरि पल्टन फर्क्यो ।
आज रामलाल काकाको नातिको पास्नी छ । गाउँभरिका मान्छेहरूलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरूको व्यवस्थापन गर्नमै व्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।
मैना र उनकी सासू दुवैजना पास्नीको निम्तो मान्न गएका छन् । सासूले काकाको घरायसी काम सघाइ दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरूसँगै काम गरी ।
बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टीका लगाएर आर्विीाद दिए । निम्तालु सबैले मीठामीठा भोजन ग्रहण गरे । वातावरण निकै रमाइलो थियो । यत्तिकैमा काकीले मैनाकी सासूतिर हेर्दै भनिन्- ‘अब अर्को साल तिम्रो नातिको पास्नी यस्तै रमाइलो गरी मनाउन पाइयोस् ठूली ।’ सबैजना हाँसे । लाजले रातोपिरो भएकी मैना घरतिर भागी ।
छोरा पाउनु कता हो कता, कन्ननीको हतपत- मनमनै सोची ।
यसपालि मैना दोजिया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राव भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो । सासू ससुराको मन खिस्रिक्क भयो ।
छरछिमेकीका घरमा बालकहरू कृष्णझैँ  कहिले आमाका काखमा त कहिले आँगनभरि खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व वीजारोपण हुनथालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोच्दथी ।
हिउँद गयो, वर्षा याम पनि आयो गयो । यसपटक दस महिनापछि लालबहादुर फेरि छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । काश्मीरबाट उसको पोस्टिङ् गोरखपुर भएको छ । करिब चार वर्ष पछाडि उसले यो वर्षको दसैँ-तिहार घरमै मनाउने छ । घर खुसीले भरिएको छ ।
दसैँ आयो, गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसी माइती र फर्किहाली । लालबहादुरले परिवार र इष्टमित्रका साथ दसैँ र तिहार खुब रमाइलो गरी मनायो । तिहार लगत्तै छुट्टी सकेर ऊ पल्टन फर्क्यो ।
यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।
गर्भवती हुन नसकेकै कारण केही दिनयता सासू ससुराको बुहारीप्रतिको व्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनैपिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाइहाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गथ्र्यो उसले ।
घरको कलह यतिसम्म बढ्यो कि सासू ससुरा र बुहारीबीचमा दोहोरो संवाद हुनै छाड्यो । खाइस्–खाइनस् र सन्चो–बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोही रहेन अब मैनालाई त्यस घरमा । साह्रै भएपछि एकदिन ऊ माइत गई र दुई हप्ता बसेर फर्की ।
माइतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासूले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनि सासू बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लिन्थे र घरझगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरू पनि सासूको कुरा सुनेर हिजो आज मैनासँग उतिसारो हिमचिम बढाउँदैनथे ।
आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आफैँ बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्नथालेको छ । वेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनियाँ भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किंकर्तब्यविमूढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।
जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ ऊ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रून मन लागेको वेला एकान्तमा गएर रून्छे अनि आफ्नै कर्म यस्तै रहेछ भनेर आफैँलाई सान्त्वना दिन्छे ।
दुई वर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरू भन्छन्- हिजोआज मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । ‘लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !’ पँधेरोमा एउटी बोल्छी ।
‘नल्याएर के गरोस् त मैना थारी रै’छ ।’ अर्कीले थप्छे ।
‘रातदिन कुट्छ रे नि त लालबहादुरले ।’ अर्कीले साउती गर्दै भन्छे ।
‘त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै’छन् कि के हो माइती पनि ?’ पहिली चाहिँ महिला पुनः बोल्छे ।
‘गरिब छन् रे ।’ अर्कीले अट्टहास गर्दै बोल्छे ।
‘कस्तो बाँझो कोख भएकी आइमाई रै’छे है ! छिः छिः !’ महिलाहरू गलल्ल हाँस्छन् ।
महिलाहरूले आफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हानेजस्तै भयो । महिलाहरू अरू पनि केके कुरा गर्दै थिए, सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोचेकी थिई, पँधेरोमा गएर ती कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिऊँ तर सोची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?
मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यस ईश्वरको अनुहार त्यातिदिन मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरूषवादीहरूको पुरूष जननेन्द्रिय उखेलिदिनु मन थियो अनि भन्न मन थिय- ‘तिमीहरू गर्भ बोक अनि हेर नपुङ्सक पुरूष हो !’ तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठूलो दुश्मन रहेछ । आफैँसँग हारी ऊ ।
उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माइत हिँडी । घरमै रहेका पति लालबहादुर र सासूससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरी भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवतः अब त्यो जोडिने हालतमा पनि थिएन ।
मैना घर छाडेर माइत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायालाई कान्छी श्रीमतीको रूपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुःख लागेन किनभने ऊ अब सदाका लागि लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जिउन चाहन्थी ।
उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा–बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरूले विवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक वर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।
विवाहपछि मैनाका पतिपत्नी मिलेर गाउँमै रासन पसल खोले । पसलबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूले पसलको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार वर्ष बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रूपमा छोरीको जन्म भयो । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकाश अझै विशाल । उसका सपना विस्तारित भएका छन् भने बाटा चौडा । विगत पूरै मेटिएका छन् अतीतका पानाबाट, छन् त केवल सुन्दर वर्तमान र सुनौलो भविष्यको रङ्गीन चित्र मात्र ।
दोस्रो विवाह गरेको लालबहादुर फेरि पनि खुसी हुन सकेन । बिहेपछि उसले नरमायालाई दुई वर्ष पल्टनमै राख्यो । त्यसपछि पनि वर्षैपिच्छे घर छुट्टीमा आयो तर नरमाया आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौँ अस्पतालमा उसले नरमायाको स्वास्थ्य परीक्षण गरायो तर हरेक अस्पतालले नरमाया बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।
त्यसो भए सन्तान किन हुँदैन त ? कहीँ आफ्नै कारण सन्तान नभएको त होइन ? यस्तो सोचाइ आउनासाथ ऊ विचलित हुन्थ्यो । अब त सन्तान नभएको चिन्ताभन्दा बढी कहीँ आफ्नै पुरूषत्वको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतीका कारणले बच्चा नभएको देखाउन विभिन्न अस्पताल चाहर्दै उसले नरमायाको स्वास्थ्य परीक्षण गराइरह्यो ।
नरमायाले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै विषयलाई लिएर लालबहादुर र नरमायाको बीच आजकल खटपट सुरू भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य नजँचाउने र केवल पत्नीलाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आफू अब यस घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिई ।
अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराउन गयो । आवश्यक सम्पूर्ण परीक्षण पश्चात् डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाइदिए; त्यसको कारण आज उसले स्वयम्सँग र पत्नी नरमायासँग पनि लज्जाबोध गरेको छ । हिजोसम्म जुन पौरूष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई थर्काउँथ्यो, ऊ आज हीनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको सिकार भएकाले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बनेको छ ।
संयोग नै भन्नुपर्छ- आज सोही अस्पतालमा मैना पनि स्थायी परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरको नजर हीनताबोध र लज्जाले झुक्छ ।


(क्षेत्री चर्चित साहित्यकार हुन् ।)
ajitchhetri1@gmail.com