हरेक वर्ष भ्यालेन्टाइन दिवसको दिन
बिहानीपखको कुइरोसँगै
मेरा उच्छ्वासहरू बुर्कुसी मार्छन्
यो वर्ष त केही फरक होला कि भनी
आशाका बिजुली चम्किन्छन्
पुग्न त बहत्तर पुगेँ, अघोरी मन एक्काइसमै छ
एक्काइस र बहत्तरका बीच चल्ने द्वन्द्वको आफ्नै इतिहास छ
वाग्मतीको बगरजस्तो मेरो सुन्दर कपाल
रोगेनको चमत्कारले कालाम्य छ
लाग्छ केशमा कालो दल्दा जवानीको बहार आउँछ
बोटोक्सका केही सुई रोप्दा अनुहार एकको दुई हुन्छ
कम्मर जतिसुकै बाङ्गिएको किन नहोस्
रूपसीलाई देख्दा त सिधै हुन्छ
यस्तो परिप्रेक्ष्यमा
भ्यालेन्टाइन दिवस आइपुग्दा
यस्सो आँखा लडाउने मनसुबा हुन्छ
मनै भरङ्ग पार्ने सौन्दर्यको पूजा गर्न
यो मन मेरो लालायित हुन्छ
(हाल मेरिल्यान्ड, अमेरिकानिवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
snirola7@gmail.com