लेखोट - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

लेखोट

सुषमा आचार्य (अंशु)

सुषमा आचार्य (अंशु)

धेरै लेखेँ,
कलिला हातहरूले
कहिले करले कहिले रहरले
कहिले गृहकार्यका लागि
कक्षाकार्यका लागि
शिक्षादीक्षा प्राप्तिका लागि

लेखेँ
बर्खे झरीमा
देशको निम्ति
रगत बगाएका वीरहरूको
वीरताको गाथा,
लेखेँ
हिउँदमा कठ्याङ्ग्रिएका हातले
सर्वोच्च सगरमाथा
शान्तिका दूत बुद्धको
जन्मभूमि नेपालको
निबन्ध, कविता, गीत अनि कथा ।

आवश्यकता भन्दा बढी
संरक्षण गर्ने बाबाको बानी
ममतामयी मायाकी खानी
शिक्षा दिने गुरुबा-गुरुआमाकी ज्ञानी
हजुरबा-हजुरआमाकी म सानी
बनेर लेखेँर लेखिरहेँ

अब
परिपक्व भएका छन्
मेरा हात र मेरा शब्दहरू
मसँगै जवान भएका छन्
मेरा सोचाइ र अर्थहरू
आजकल करले हैन
रहरले लेख्छु
नरुचाइएका विषय पनि
रुचिका साथ लेख्छु
यौवनको तरङ्गहरू
हृदयको चाह, लक्ष, देशप्रेम
इन्द्रेनीका रङ्गीविरङ्गी रङहरूझैँ
मनमोहक र आकर्षक बनाएरलेख्छु

सधैँ जितेका कथा मात्र लेखेका हातले
देशले हारेको कथा लेख्न नपरोस्
वीरताको गाथाको सट्टा
गुलामीको व्यथा देख्न नपरोस्
प्रार्थना गर्छु आजकल
राष्ट्रको शान र मान
मात्र लेख्न पाइयोस्
तब मात्र मेरा वाक्यहरूको अर्थ रहन्छ
अनुभूति उम्रनुको सार्थकता रहन्छ
म भएर जिउनुको अर्थ रहन्छ
नत्र मेरा कलमहरू
दासत्वमा रमाएको व्याख्या लेख्न बाध्य हुनेछन्
जुन मेरा भावनाका लागिन्याय हुने छैन
मैले लेखेका हरेक व्यञ्जनाको त्यहाँ महत्त्व रहनेछैन
मेरा लेखोटहरूले आफ्नो आत्मसम्मानका लागि
भिख मागेको हृदयलाई
स्वीकार्य हुने छैन ।


(अंशु सक्रिय साहित्यकार हुन् ।)
sushma.acharya2@gmail.com