बिष्णेटर स्कुल - Aksharang
  • २०७७ फागुन १७ सोमबार

बिष्णेटर स्कुल

उदय निरौला

उदय निरौला

ऐकान्तिकताको पराकाष्ठामा मान्छे ध्यानबाट समाधिमा पुग्छ रे । त्यो जङ्गलै जङ्गलले तीनतिर घेरिएको अनि पूर्वतिरको स्वाँ गरेर कराइरहने माईखोला अझ वर्षामा त धमिलो भएर वारपार पानीले ढाकिने अनि पानी दर्कंदा जङ्गलको पनि एक प्रकारको नाद कानमा गुञ्जिरहँदा अनि टाढा जङ्गलबाट आउने न्याउली, कोइलीहरूको आवाजले मनमा एकप्रकारको भाव गुञ्जिने भएकाले ध्यान गर्ने सन्न्यासीहरूकालागि उपयुक्त हुने त्यो बिष्णेटारमा पनि मानिसहरूको बस्ती थियोे र बसेकै थिए । स्कुल थियोे एउटा ठूलो गाईग्वालीजस्तो माथिबाट जङ्गलमा पाइने थाकल नामको समुद्री वनस्पतिले छाएको र २०/३० नानीहरू त्यहाँ पढाइ नामको खेल खेल्थे अनि शिक्षकहरू गोठालोले गााईवस्तु हेरेझैँ तिनीहरूको पुच्छर निमोठिरहन्थे । अति एकान्त, अति निर्जन र सुनसान त्यस ठाँउमा गरिबीले पराकाष्ठा नाघेका निरीह र विवश मानिसहरूको बस्ती थियोे तीनताका । उनीहरू ९० प्रतिशत जङ्गलका कन्दमुलहरू गिठ्ठा, भ्याकुर, बनसिमी, बल्ढ्याङ्ग्रो, वनतरूल यस्तै अनि सिकार खेलेर दिनहुँ र छाकैपिच्छेजस्तो मयुर, लुइँचे, वनकुखुराहरू,मिर्ग,घोरल, चित्तल, दुम्सीर यस्तै बनेलहरू मारेर खान्थे २०३४/०३५ सालसम्म । अनि खोलाका माछा मार्नु, बालुवामा पल्टनु, जालहान्नु, बुन्नु, ओखरा थाप्नु, पौडी खेल्नु, बाँकटे हान्नु, रातमा नियमित जसो धामी बस्नु, घरको एकजना जसो काम्दै धामी बसेकोमा पुग्नु, सँगुरपठा र कुखुरा मन्साउने नाममा काट्नु, हुँदा माघतिर अक्षतोकै निगार लाउनु, नहुँदा सिमाले, फूलतरूलहरूको निगार लाउनु, राता राता गोलभेँडा जस्ता आँखा पार्नु, मारूनी र चुड्के नाच्नु, मायालु भगाउनु, घरजमको झोपडी ठड्याउनु, बर्सेनि ग्याल ग्यालती बच्च जन्माउनु अनि राते, सेते, च्यान्टे, भुन्टे, गर्धने, हावा, बतासे, कोदे जस्ता पुरुष वाचक र नेप्टी, आइती, सिन्की, च्यान्टी, सेती, काली जस्ता स्त्रीवाचक नामहरू राख्नु ती भतभतेका, चेप्टी, कपरसुखाका का मानिसहरूको दिनचर्या थियोे । अनि झारलाँगी लाएर धपाउँदै सिगानले माथिल्लो ओठमाथि घाउ बनिसकेको अवस्थाका ती केटाकेटीहरू स्कुलका गहना बनेर विद्यार्थी बन्दथे र मास्टर साब’हरू सिर्कनो बोकेर कपुरी ‘क’ घोकाउँथे । त्यस्तो जङ्गली ठाउँ ऐले वर्तमानमा जस्तो त्यो कलकत्ते नामक ठाउँमा बनेका बिल्डिङ्हरू, सजिएका मान्छेहरू कहाँ थिए र त्याहाँ । त्यो ठाउँ त सिकार खेलिने घना जङ्गल थियो, सबै फडानी भएर मोर्डन बस्ती बसिसकेछ ऐले । कठै ती मारूनी र चुड्केहरू कता लघारिए होला ऐले ! कस्तो कस्तो सम्झना र कस्तो भिन्न वर्तमान । नजिकैको चेप्टीखोला र माईनदीमा धेरै पानी बगिसकेछ, धेरै जङ्गल सिनित्तै खौरिएछ हगि ऐलेत ! कठै ! ती सखुवाहरू, राजवृक्षहरू, बाँसझाङ र कुर्लने चरीहरू कता पुगे होला है ऐले ! ओहो कहाँ अलमलमा हराइएछ विगत पढ्दापढ्दै । म त स्कुलको विषयबाटै हराएछु । त्यसैले लागौँ अब स्कुलतिरै-
विष्णु देवानजीले स्कुलबाट राजीनामा दिनुभयो । मैले २०३५ भदौमा शिक्षा सेवा आयोगको परीक्षा पास गरेर स्थायी नियुक्ति लिँदै आइएडको प्रथम सेमेस्टर सकि सकेकाले मलाई प्रधानाध्यापक दिइयो । त्यो स्कुलको नाम लक्ष्मी आदर्श प्राथमिक विद्यालय बिष्णेटार थियोे । मैले २०३५ माघबाट प्रारम्भ हुने शैक्षिक सत्रमा त्यो क्षेत्रगत हिसाबले ठूलो ठाउँ भएको कारण नि माबि पाउन जिल्ला शिक्षा कार्यालयमा तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गोविन्दप्रसाद काफ्लेसँग कुरा गर्ने बित्तिकै ‘चलाउनुहोस्, प्रक्रिया पूरा गरेर’ भन्ने उहाँको सल्लाह मुताबिक सञ्चालक समितिका अध्यक्ष खड्गबहादुर खत्रीसँग कुरा राखेँ । उहाँले तुरून्तै बैठक बोलाएर पारित गराउनु भो । त्यसवेला निमावि स्कुलहरूलाई ७५५ रुपियाँ मात्र अनुदान सरकारले तलव बापत दिने भएकोले बाँकी २५५ स्थानीयले नै जुटाउनुपर्ने भएकोले हामीसँग देउसी खेलेको केही रकम र विद्यालय बनाएर उब्रिएको केही रकम मौज्दात थियो । अरू रकम जुटाउन गुर्धुम फाँटमा खोलाले कटान र पुरेको खेत बाँझो थियो । मिटिङ् मा  सर्वसाधारण सबैलाई बोलाएर खेती गर्न इच्छुकहरूलाई उब्जाएको बालीको ३३५ मन धान स्कुलले लिने र अरू उनीहरूले खाने सर्तमा पन्ध्रजनालाई जग्गा दिइयो । अर्कोवर्ष  ३५५ मन धानउठेको थियो । यसरी आम्दानी गरेर निमावि चलाइयो । कक्षा तीन पास गरेर टाढाको स्कुल पढ्न जान नपाएका सबैलाई हामीले स्कुलमा भर्ना लिँदा ५५ जना विद्यार्थी देखिए, जसले गर्दा जिशिकालाई स्वीकृति दिन पनि सजिलो भयो । तर यी विद्यार्थी रजिस्टरमा देखिए पनि नियमित पठनपाठनमा आउने चैँ २५/३० मात्र थिए । उमेर २५ वर्षसम्मका स्कुल पढ्न आउँथे । यसरी निम्न माद्यमिक विध्यालय चलाइयो । त्यहीँका रैथाने पूर्व शिक्षक डिकबहादुर श्रेष्ठ र गोपीकृष्ण थापालाई शिक्षकमा दिइयो नियुक्ति । यति गर्दागर्दै मलाई पुनः जिल्ला शिक्षा कार्यालयले आइएडको दोस्रो सेमेस्टर पढ्न बोलाइहाल्यो । मैले सहायक शिक्षक शिवलाल काफ्लेलाई निमित्त प्रधानाध्यापक दिएँ । अब म हिँडेपछि स्कुलमा विज्ञान र गणित विषय पढाउने शिक्षक नभएकाले योग्यता नपुग्ने भए पनि उक्त विषयमा दखल भएकोले  हिराबहादुर खत्रीलाई सञ्चालक समितिले नियुक्ति दिएको थियो ।
म इलाम महेन्द्ररत्न बहुमुखी क्याम्पस पुनः पढ्न पुगेँ ।२०३६ को हडतालले कक्षा लामै समय रोकियो । तसर्थ मैले २०३७ चैतमा अध्ययन सकेर फर्किंदा विद्यालयमा कक्षा छ चलिरहेको थियो । यसरी त्यहाँ हामीले निमावि चलायौँ ।कक्षा सात चल्दै गर्दा मैले २०३९ असारमा स्कुल छाडेँ । त्यहाँको जटिल परिस्थिति र म राम्रो काम गर्ने शिक्षकको रूपमा चिनिएका कारण मैले राजीनामा दिँदा स्वीकृत नहुने भएकोले म नबोली काठमाडौँ  लागेँ  र यहीँबाट राजीनामा पठाँए । जेहोस् विद्यालय निमावि भएरै छाड्यो । ऐले त त्यहाँ माध्यमिक विद्यालय नै छ । मावि बनाउन सहायक भूमिका मैले पनि निर्वाह गरेकाले फर्केर हेर्दा मलाई खुसी लाग्छ ।
हामीले देउसी खेल्यौँ । देउसी खेल्दा हामी आफ्नो घर नगई तिहारको भाइटीका माया मारेर लक्ष्मीपूजा देखि ठूली एकादशीसम्म देउसी खेल्थ्यौँ ।योग्यता पुगेको शिक्षक नियुक्ति गर्नै पर्ने नियम भएकोले मैले नामसालिङबाट लेखनाथ भट्टराईलाई लगेर नियुक्ति गराएको थिएँ । उनी देवीभक्त कुमालकहाँ बसेर स्कुल पढाँउथे । लेखनाथकै देनले पछि देवीभक्त त्यो गाविसको नेपाली काङ्ग्रेसबाट अध्यक्ष बने ।अरू पछि देवीभक्तका छोरा सांसद पनि बने । यो देन लेखनाथकै हो ठान्छु म, किनभने राजनीति पटक्कै थाहा नभएका देवीभक्तलाई लेखनाथले राजनीति पढाएर नेपाली काङ्ग्रेस बनाएका थिए । २०३८ सालको पञ्चायती चुनावमा लेखनाथकै कारण देवीभक्त महमाई गाबिसमा उप-प्रधानपञ्चको उम्मेदवार उठेका थिए । तर मानबहादुर मगरसँग उनी त्यो वेला पराजित भएका थिए ।
त्यस ठाउँमा निःस्वार्थ भएर काम गरेकाले जिल्ला इलामसम्म खड्गबहादुर खत्रीको नाम चलेको थियो । उनले २०३८ को चुनावमा प्रधानपञ्च जितेका थिए भने यता स्कुलका उनी सञ्चालक समितिका अध्यक्ष पनि उनी थिए ।लेखनाथ सायद पञ्चहरूलाई मन नपराउने र अलि बढी खड्गबहादुरजी आफ्नो राय वा मत लादेरै छाड्ने हक्की स्वभावका भएको कारण एकदिन सानो कुराको विवादले खड्गबहादुरजीसँग उनको राय नमिल्दा झोक्किएर उनी राजीनामा दिएर हिँडेका थिए । यस्तै शिक्षक मेगीन्द्र काफ्लेले पनि उनीसँगै झगडा गरेर राजीनामा दिएका थिए ।
यसरी त्यो ऊवेलाको निर्जन एक प्रकारको आइल्यान्ड जस्तो कालापानीमा उमेरले १७ वर्षदेखि २२ सम्मका दिनहरू लुकामारी/लुकामारी गर्दै बिताएको थिएँ मैले ।


(निरौला स्थापित साहित्यकार हुन्)
udayarajniroula@gmail.com