गोकुलेको त्यो ओरालो - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

गोकुलेको त्यो ओरालो

शरद निरोला

शरद निरोला

जीवनमा धेरै तेर्सा बाटाहरू हिँडियो, कैयौँ उकालीहरू चढियो अनि थुप्रै ओरालीहरूमा हुर्रिइयो । देश- विदेशयात्राको अवधिमा बटुलबाटुल गरेका अनुभवहरू सबै आजसम्म चाखलाग्दा र मनोरञ्जक छन् । तीमध्ये एउटा चाहिँ मलाई सधैँ अविस्मरणीय लाग्छ । त्यो हिँडाइ अनि त्यो ओराली दगुराइ सम्झिँदा आज पनि त्यसवेलाको उत्साह, उमङ्ग, जोश अनि रोमाञ्च सम्झेर आफैँ पुलकित हुन्छु ।
समयका हिसाबले २०३४/०३५ सालतिर होला । तिनताक म त्रिभुवन विश्वविद्यालय अन्तर्गत अङ्ग्रेजी विभागको स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा अध्यनरत थिएँ । त्यस वेलाको शिक्षा प्रणाली अनुसार स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्न राष्ट्रिय विकास सेवा कार्यक्रम अन्तर्गत १० महिना गाउँमा गई विकास कार्यमा सहयोग गर्नुपर्ने अनिवार्य प्रावधान हुने गथ्र्यो । १० महिनाको त्यस काम गराइबाट प्राप्त हुन आएको अङ्कले फाइनल परीक्षामा आउने परिणाममा ठूलो मद्धत गथ्र्यो । जति सुदूर अनि दुर्गम स्थानमा गयो उति नै डिस्टिङ्क्सन ल्याउन सक्ने सम्भावना रहन्छ भनेर साथीहरूले कुरा गरेको सुन्थेँ । मलाई पनि त्यही विशिष्टता प्राप्त गर्ने इच्छा भयो र मैले जिल्ला छान्दा सुदूर पश्चिमको सीमान्त जिल्ला दार्चुला छानेँ । दार्चुला नै छान्नमा मेरो एउटा अर्को कारण पनि थियो । म नेपालको सुदूर पूर्वको सीमान्त जिल्ला झापासँग सम्बन्धित थिएँ । नेपालको मानचित्रमा हेर्दा दार्चुला जिल्ला सुदूर पश्चिमको सीमान्त जिल्ला रहेको देखेँ । नेपालको वल्लो छेउको मान्छे नेपालको पल्लो छेउ पुग्दा कस्तो हुँदो होला, त्यहाँका मानिस कस्ता होलान्, त्यहाँको भाषा अनि त्यहाँको रहनसहन कस्तो होला भन्ने सोचाइले एकप्रकारको उत्सुकता जगाएको थियो ।
राष्ट्रिय विकास सेवामा जान टोली गठन गरी पठाइने चलन थियो । मेरो टोलीमा अङ्ग्रेजी विभागकै सहपाठी यमबहादुर कुलुङ र भौतिकशास्त्र विभागका विद्यार्थी गीताभक्त जोशी परे । निर्धारित दिन हामी तीनजना आ-आफ्ना झोलीतुम्बा भिरी भारतीय रेल अनि बससेवा प्रयोग गरी भारतको पिथौरागढ हुँदै तीन दिनपछि भारतीय क्षेत्र धार्चुला पुग्यौँ । महाकाली नदीको वारिपट्टि भारतको धार्चुला र पारिपट्टि नेपालको दार्चुला रहेछ । दुवै देशलाई एउटा पुलले छुट्याउँदो रहेछ । धार्चुला गुलजार र झिलिमिली देखिन्थ्यो भने पारिपट्टि दार्चुलामा निस्पट्ट अन्धकार देखिन्थ्यो । कतैकतै झिलिक्क टुकी वा लाल्टिन बलेको देखिन्थ्यो । हामी धार्चुला पुग्दा झमक्क साँझ परिसकेको थियो । दुई देशलाई जोड्ने पुल बेलुकी सात बजेदेखि भोलिपल्ट छ बजेसम्म बन्द गरिँदो रहेछ । त्यसैले सात बज्नुभन्दा पहिले नै हामीले पुल पार गरी दार्चुला खलङ्गा प्रवेश गर्यौं ।
भोलिपल्ट जिल्ला शिक्षा अधिकारीको कार्यालयमा सबैजना भेला भयौँ । दार्चुला जिल्लाका लागि रा.वि.से. का चार टोली चार गाउँका चार माध्यमिक विद्यालयहरू- खलङ्गा सदरमुकाम, हुती, पस्ती र गोकुलेश्वर- मा जाने गरी छुट्याइएका थिए । सबै जना सदरमुकाममै बस्न चाहने देखेर हाम्रा सुपरभाइजरले लट्री गर्ने भने । लट्री गर्दा हामी तीनजनाको टोलीलाई सदरमुकाम पर्न गयो । काठमाडौँका रैथाने विद्यार्थी मात्र भएको अर्को एउटा टोलीलाई सबैभन्दा टाढाको गोकुलेश्वर गाउँ पञ्चायत परेछ । उनीहरू त्यहाँ जान मानेनन् र हामीलाई सदरमुकाम दिन अनुरोध गरे । हामी तीनजनाले सल्लाह गर्यौं । गोकुलेश्वर गाउँ पञ्चायत सदरमुकामबाट पूरा एकदिनको बाटोमा पथ्र्यो । बिहान सबेरै हिँड्दा बेलुकी झमक्क हुँदा मात्र पुगिने । तर अर्को पक्ष के पनि थियो भने जति टाढा र दुर्गम ठाउँ भयो उति नै डिस्टिङ्कसन् ल्याउने सम्भावना प्रबल हुन्थ्यो । हामीले विशिष्टता पाउने सम्भावनालाई नै रोज्यौँ र ठाउँ साटासाट गयौँ ।
भोलिपल्ट कुलुङ, जोशी र म आ- आफ्ना झोलीतुम्बा बोकी गोकुलेश्वर गा.पं. का लागि प्रस्थान गर्यौं । बिहान उठेर चियाखाजा खाँदाखाँदै १० बजिसकेको थियो । जिल्ला शिक्षा अधिकारीबाट गोकुलेश्वर मा.वि. का प्रधानाध्यापकका नाममा पत्र लिँदै हामी महाकाली नदीको पुल पार गरी धार्चुलामा आयौँ र बस चढी जोलजिबी भन्ने ठाउँमा ओर्लियौँ । त्यहाँ ओर्लेर महाकाली नदीमाथि बनाइएको काठेपुल तरी हामी नेपालतर्फको जोलजिबी पुग्यौँ । त्यहाँ एउटा स्यानो कटेरो थियो जसमा चियाखाजा खाने व्यवस्था रहेछ । हामीले चिया अर्डर गर्यौं । कुरा गर्दै जाँदा के थाहा हुन आयो भने त्यो नेपालतर्फको जोलजिबीमा वर्षको एकपल्ट (अवसरचाहिँ मैले बिर्सेँ ) ठूलो मेला लाग्दोरहेछ, जसमा ९० प्रतिशत भारतीयहरूको भीड हुने गर्दोरहेछ । यसको प्रमुख कारण सजिलैसँग रक्सी पाइने हुनाले रहेछ । महाकालीपारि सम्पूर्ण  पिथौरागढ जिल्ला सुरक्षाका दृष्टिले निषेधित क्षेत्र रहेकाले त्यस सम्पूर्ण क्षेत्रमा ‘ड्राई एरिया’ अर्थात् मादकपदार्थ सेवन गर्न वर्जित इलाका बनाइएको रहेछ । त्यसैले त्यस क्षेत्रका भारतीय सैनिक एवं आमनागरिकहरू त्यस मेलामा आई वर्षभरिको लागि रक्सी खाई आनन्द मनाउने गर्दा रहेछन् ।
चिया खाइसकेर हामीहरू पस्ती गाउँको बाटो हुँदै गोकुले (स्थानीयहरू गोकुलेश्वरलाई त्यही भन्दा रहेछन्) जान उकालो लाग्यौँ । सडकहरूको जन्जाल थिएन, एउटै मात्र बाटो थियो । पस्ती पुग्दा लखतरान भइयो । फेरि त्यहाँ पनि एउटा पसलमा चिया खान पस्यौँ । पसलेलाई अब गोकुले पुग्न कति लाग्छ भनेर सोद्धा उसले कम्तीमा पनि तीन- चार घन्टा त लाग्ला भनेर जवाफ दियो । साथै उसले धेरै धपेडी किन गर्ने, त्यो रात पस्तीमैँ वास बसी भोलि बिहानै उठेर हिँडे राम्रो होला भन्ने सुझाव पनि दियो ।
उसको सुझाव नराम्रो त थिएन तर हामीमा अदम्य उत्साह र जाँगर भएकाले हामी त्यसै दिन गोकुले पुगेरै छोड्ने निर्णयमा पुग्यौँ । छिटोछिटो हिँड्ने, परेका वेलामा दगुर्ने पनि भन्दै हामी पस्तीबाट करिब तीन बजेतिर गोकुलेका लागि हिड्यौँ । करिब छ बजेसम्ममा गोकुले पुग्ने अठोट गरी हामी स्वाभाविकभन्दा अलिक बढी नै छिटा कदम चाल्दै अगाडि बढ्यौँ । बाटो अहिलेसम्म त तेर्सै थियो । आधा घन्टा जतिपछि अचानक हिँडिरहेको बाटो दुइटा भयो । कुनचाहिँ बाटो जाने दोधार भयो । भाग्यले त्यति नै वेला अलिक परबाट एउटा मान्छे आउँदै गरेको देख्यौँ । त्यो मान्छे आएर हामीभन्दा पाँच फिट परै टक्क रोकियो । हामीले केही बोल्नुभन्दा पहिले नै उसले सोध्यो- ‘बाबुहरू कसमा ?’ यो सुनेर कुलुङ र जोशी छक्क परे । मैले यस्तो प्रश्न पूर्वतिर पनि सुनिसकेको हुनाले उसले के जान्न खोजेको हो मैले बुझेँ । पूर्वी भेगका पहाडतिर जातपातको छुवाछुतको चलन छ । पानी नचल्ने जातको व्यक्तिले छोयो भने फेरि सुनपानीले छर्किनुपर्छ । ‘नडराउनोस बा’ मैले उसलाई आश्वस्त पार्दै भनेँ- ‘म उपाध्याय हूँ र यी दुईमध्ये एकजना राई हुन्, अर्का नेवार । पानी चल्छ ।’
त्यो सुनेर ऊ खुसी भयो । ‘अनि बाबुहरू कहाँबाट आएका अनि कता जान लागेका ? यतातिरका जस्ता त देखिनु हुन्न ?’ उसले उत्सुक हुँदै सोध्यो । मैले जवाफमा हाम्रो परिचय, हाम्रो, बसोबास गर्ने ठाउँ अनि हाम्रो उद्देश्यको बारेमा छोटकरीमा उसलाई बुझाएँ । उसले दङ्ग पर्दै भन्यो- ‘अहो, कस्तो राम्रो कुरा ! बाबुहरूजस्ता लक्का जवानहरू पाएर गोकुलेको ठूलो भलो हुनेछ ।’ ‘अनि गोकुले जाने कुनचाहिँ बाटो हो ? यहाँबाट कति समय लाग्ला त्यहाँ पुग्न ?’ जोशीले सोधे ।
‘बाटोचाहिँ यो दाहिने तिरको हो । यसैलाई नछोडीकन गयो भने गोकुले पुगिन्छ । ऊ त्यो धारैधार (डाँडा) जाने, त्यसपछि ओरालो लाग्ने । यस्तै दुईतीन घन्टा त लाग्छ होला । बरू छिटो हिँडनोस्, रात पर्ला ।’ त्यति भनेर ऊ अगाडि बढ्यो, हामी पनि दाहिनेतिरको बाटो समातेर आफ्नो गन्तव्यतिर लम्कियौँ । त्यहाँबाट आधा घन्टा पहाडको छाती फोरेर बनाइएको तेर्सो बाटोमा फटाफट हिँड्दा त मजै आइरहेको थियो तर तेर्सो सिद्धिएर बाटो ओरालो लागेपछि भने हामी आत्तियौँ । मैले यसो घडी हेरेँ, ४ बजिसकेको रहेछ । अब दुई घन्टामा हामी गोकुले पुग्नैपथ्र्यो नत्र रात पर्ने थियो । हामीले त्यो ओरालो दगुरेरै पार गर्ने सल्लाह गर्यौं । तीनैजना जवान थियौँ, हट्टाकट्टा थियौँ । दगुर्नलाई कुनै भारी कुरा थिएन ।
दगुर्न त भनियो तर ढुङ्गा र चट्टानले भरिएको त्यस बाटोमा हिँड्दा कति गाह्रो हुँदोरहेछ भन्ने तुरून्तै थाहा हुनआयो । एउटा ढुङ्गाबाट अर्को ढुङ्गा अनि एउटा चट्टानी चोक्टाबाट अर्को चोक्टामाथि फालहान्दै, बुर्लुकबुर्लुक उफ्रिँदै हामी तल झर्न थाल्यौँ । अहिलेको अवस्था र उमेर भएको भए सायद बामे सर्दै हिँडिन्थ्यो होला तर त्यसवेलाको हाम्रो युवाजोश अनि सामथ्र्यले गर्दा फाड्दोल ठोक्दै ओरालो नाप्न सकस परिरहेको थिएन । करिब दुई किलोमिटर जति यसरी भ्यागुता उफ्रिएझैँ उफ्रिएपछि खुट्टा अलिक गल्न थालेको अनुभव गरेँ । मेरा अगाडि बुद्रुकबुद्रुक गरिरहेका जोशी र कुलुङलाई ‘ए केटा हो, एकछिन बिसाऊँ न हौ’ भनेँ । उनीहरू रोकिए । ठिङ्ग उभिने बित्तिकै सबैका खुट्टा थरथर काम्न थाले । तीन मिनेटजति उभिएपछि कुलुङले भन्यो- ‘हैट, यसरी रोकियो भने त फेरि हिँड्न गाह्रो हुन्छ, यसरी खुट्टा काम्छन् । बरू दगुर्दै गरे सजिलो हुन्छ । फेरि हामीसँग समय पनि छैन बिसाउने ।’ उसको कुरा पनि ठीकै थियो । हामी फेरि बुर्कुसी मार्न थाल्यौँ ।
यस्तै चानचुन एक घन्टाजति फट्याङ्ग्राको स्वरूप धारण गर्दै हामीले ओरालो नापिरह्यौँ । अचानक हिँड्दैगर्दा मैले आफ्नो टाउको पछाडि भुनुनु गरेको आवाज सुनेँ । यसो टाउको घुमाएर हेरेको त कीरा हो कि भुसुना हो- त्यसको ठूलो गोलोले पछ्याइरहेको देखेँ । के हो यो भनेर सोच्न नपाउँदै जोशी र कुलुङलाई पनि त्यस बथानले घेर्यो । ‘लौ मार्यो, यो के आपत् आइलाग्यो’ भन्ने सोच्दै हामी अझ छिटोछिटो दगुर्न थाल्यौँ । त्यस गोलोले तैपनि पिछा छोडेन । धपाउन कति जम्को गर्यौं तर धपिएनन् । कान र गर्दनमा च्वासच्वास घोचेको जस्तो अनुभव भयो, सायद टोकिरहेका थिए होलान् । त्यति नै वेला हामीले एउटा मान्छे उकालो चढ्दै आइरहेको देख्यौँ । ऊ छेउमा आइसकेपछि हामीले केही भन्नुभन्दा अघि नै उसले हाँस्दै आफैँ भन्यो- ‘अहो, तपाईंहरूलाई त जङ्गली झिँगाले पो पछ्याएछन् । अब टोकेर हैरान पार्छन् ।’
‘अब के गर्ने ?’ मैले व्यग्र भएर सोधेँ । ‘यिनीहरूलाई कसरी धपाउने ?’
‘यिनीहरू धपाएर धपिँदैनन् । कुनै घरभित्र गएर लुक्नुपर्छ । घरभित्र चाहिँ पस्दैनन् । मान्छे नभेटेपछि फर्किन्छन् । बरू म पनि तपाईंहरूसँगै लुक्न जान्छु, नत्र मेरा पछि लाग्ने छन् ।’
‘खोई, यहाँ त कुनै घर देखिँदैन ?’ जोशीले आत्तिँदै भने ।
‘अलिक तल एउटा घर छ । त्यहाँ गएर एकछिन लुक्नुहोस् । अनि बाबुहरू कहाँबाट आएका अनि कता जान लागेका ?’
‘हामी काठमाडौँबाट आएका र गोकुले जान लागिरहेका हौँ,’ मैले भनेँ ।
“ए ! अलिक छिटो जाऔँ’, भन्दै ऊ पनि हामीसँगै ओरालो झर्न थाल्यो ।
नभन्दै पाँच मिनेट तल झरेपछि एउटा घर देखियो । त्यसको आँगनमा गएर म कराएँ- ‘घरमा को छ ?’ ढोका तुरून्तै खुल्यो र त्यसबाट एउटी वृद्ध महिला बाहिर निस्किन् । हामीले केही भन्नै परेन । हाम्रा टाउकामाथि जङ्गली झिँगाहरूको बथान देख्नेबित्तिकै उनले हाँस्दै हामीलाई भित्र आउने इसारा गरिन् । यस्तो लाग्थ्यो मानौँ हामीजस्ता झिँगाले सताइएका अरू मानिसहरूलाई पनि उनले यसरी नै आश्रय दिइसकेकी थिइन् ।
हामी भित्र पस्नेबित्तिकै झिँगाका बथान ढोका बाहिरै रोकिए । एउटा झिँगा पनि भित्र पसेन । जङ्गलीलाई जङ्गल नै चाहिने रहेछ जस्तो लाग्यो । हामीले हेर्दाहेर्दै ती जङ्गली झिँगाहरू फर्केर जङ्गलमा बेपत्ता भए । हामी पनि वृद्धालाई धन्यवाद दिँदै ओरालो लाग्यौँ । त्यो मान्छे पनि उकालो लाग्यो। घुँडामा दगुराइले दबाब परेकोले होला हाम्रो गतिमा प्रारम्भको जस्तो तीव्रता भने हुन सकेन ।
करिब अर्को एक घन्टा दगुरेपछि झमक्क साँझ परिहाल्यो । गन्तव्यको नामो निसान थिएन । जताततै रूखैरूख भएकाले जङ्गल जस्तो नै लाग्दथ्यो । केही बेरपछि त झमक्क अँध्यारो भइहाल्यो । बाटो देख्न पनि गाह्रो हुनथाल्यो । हामी एउटा ढुङ्गामाथि थचक्क बस्यौँ र सोच्न थाल्यौँ । अचानक मलाई आफ्नो झोलाको याद आयो । हाम्रा झोलामा लुगाहरूको अतिरिक्त एउटा फस्र्ट एड बक्स (आपतकालीन चिकित्सा बाकस) र एक एक थान नयाँ टर्चलाइट पनि थिए । अब अगाडिको यात्रा टर्चलाइट बालेरै गर्नुपर्ने अवस्था आएको हुनाले मैले यही कुरा साथीहरूलाई भनेँ । उनीहरूले पनि कुरा बुझे र आ-आफ्ना टर्चलाइट निकाले ।
खाँट्टी नयाँ ब्याट्री हालिएका तीनवटा टर्चलाइटको प्रकाशमा हामी अगाडि बढ्यौँ । एउटा सीमित घेरामा मात्र प्रकाश अनि बाँकी सम्पूर्ण परिवेश चुक घोप्टाएको जस्तो अँध्यारो हुँदा र रात्रिकालीन कीराहरूको निरन्तर च्यारच्यारले वातावरण बडो रहस्यमय बनिरहेको थियो । हामी जतिसक्दो छिटो हिँडिरहेका थियौँ । अब दगुर्ने र बुर्कुसी मार्ने अवस्था थिएन अन्धकारको कारण ।
यस्तै आधा घन्टाजति तल झरेपछि मेरा कानमा खोला सुसाएको जस्तो आवाज पर्यो । मैले दुवै साथीहरूलाई रोकेर भनेँ- ‘साथी हो, खोला आउन लागेजस्तो छ ।’
उनीहरूले पनि कान थापेर सुने । कुलुङले भन्यो- ‘त्यसको मतलब हामी यस पहाडको फेदीमा आइपुग्न लाग्यौँ ।’ जोशीले पनि थपे- ‘त्यसको मतलब त्यो खोला तरेपछि गोकुले पुगिन्छ ।’ यस कुराले हामी तीनैजनालाई नयाँ ऊर्जा र उत्साह दियो । हामी गफ गर्दै ओरालो झर्दै गरिरह्यौँ । नभन्दै खोला पनि आइपुग्यो । हामी हिँडिरहेको बाटो खोलाको बगरमा पुगेर हरायो । अब कहाँबाट खोला तर्ने भन्ने समस्याले हामीलाई पिरोल्यो । जताततै निष्पट्ट अन्धकार थियो । आकाशमा जून पनि थिएन । तीनैजनाको टर्चलाइटको प्रकाशले हेर्दा खोलाचाहिँ प्रस्ट देखिन्थ्यो तर पारिपट्टिचाहिँ केही पनि देखिँदैनथ्यो  सिवाय पाखा र भीर । हामी बडो बिलखबन्दमा पर्यौं ।
अचानक चारैतिर घुमाइरहेको मेरो टर्चलाइटको प्रकाशमा पारिपट्टि कुनै हरियो चीज देखियो । मैले त्यो दुवैलाई देखाएँ । उनीहरूले पनि आफ्नो टर्चको प्रकाश त्यता फ्याँके । त्यस उज्यालोमा हामीले केराका पात हल्लिरहेको देख्यौँ । त्यो देख्नेबित्तिकै मैले उत्साहित भएर भनेँ- ‘केटा हो, त्यो त केराको बोटजस्तो छ नि त !’ ‘हो हो, केराकै बोट हो,’ जोशीले पनि खुसी हुँदै सही थापे ।
‘त्यसको अर्थ छेउछाउमा कुनै घर हुनुपर्छ,’ कुलुङले भने । गोकुले आइपुगेछ भनेर हामी औधी खुसी हुनथाल्यौँ । हामीले त्यही केराको बोटलाई निसाना बनाएर खोला तर्ने निर्णय गर्यौं । उपयुक्त ठाउँको खोजी भयो । केही बेरको प्रयासपछि एउटा अलिक छिपछिपे पानी भएको ठाउँ देखियो । हामी जुत्ता, मोजा र प्यान्ट खोलेर झोलामा राख्दै तर्न थाल्यौँ । त्यो तराइ त सजिलै भयो तर मुख्य भँगालो तर्नचाहिँ निकै कठिन भयो । खोलाको बहाव तीव्र थियो । हामी तीनैजना एकार्काका हात समात्दै जसोतसो पारि पुग्न सफल भयौँ । हुनत त्यस खोलामा कतै, कुनै फड्के वा काठेपुल थियो होला तर त्यस अन्धकारमा त्यो देखिइरहेको थिएन ।
पारिपट्टि बगरमा पुगेर हामीले जुत्ता, मोजा र प्यान्ट लगाई केराको बोटको सिधा पाइला चलायौँ । केही छिनमै पाखाको भीर नजिक पनि पुग्यौँ । चारैतिर टर्चको प्रकाश दगुराउँदा पनि कतै त्यो भीर छिचोल्ने गोरेटो देखिएन । बाटो कतै न कतै त अवश्यै थियो होला तर हामीले खोला तरेको ठाउँबाट अन्त कतै हुनुपथ्र्यो ।
अब के गर्ने ? त्यो भीर आरोहण गर्नुसिवाय अरू कुनै विकल्प थिएन । रातभरि त्यही बगरमा बिताएर बिहान भएपछि बाटो खोज्ने एउटा विकल्प त थियो तर त्यो हामीलाई त्यति मन परेन । जसरी भए पनि त्यही दिन गोकुले पुग्ने हाम्रो हठ थियो । हामीले बडो कठिनाइका साथ बाँदरले झैँ त्यो भीर छिचोल्यौँ । घरि यो बुटा घरि त्यो झ्याँग, कहिले लड्दै त कहिले चिप्लिँदै हामी बल्लबल्ल माथि समतल भुइँमा खुट्टा टेक्न पुग्यौँ । माथि पुगेर हेर्दा त साँच्चै नै त्यहाँ दुईचारवटा केराका बोट देखिए र त्यसको अलिक पर एउटा घर पनि देखियो । त्यो घर देख्नेबित्तिकै पूर्ण आश्वस्तताको भावनाले गर्दा होला हाम्रा गोडा लल्याकलुलुक भएर आए । निश्चिन्तताको लामो सास फेर्दै एकछिन सुस्ताउन हामी बारीको कान्ला माथि बस्यौँ ।
एकछिनपछि हामी उठेर घरलाई लक्ष्य गर्दै हिँडयौँ । त्यहाँ हिँड्ने कुनै बाटो थिएन, त्यसैले टर्चको प्रकाशमा कान्ला कान्ला टेकेर अगाडि बढ्यौँ । घरको आँगनमा पुग्दा जताततै चकमन्नता पायौँ । घरभित्र बत्ती पनि बलेको देखिँदैनथ्यो । ‘भित्र को हुनुहुन्छ ?’ भनेर म कराएँ । हामीले घरको चारैतिर टर्चको प्रकाश पनि छर्यौं । एकातिर एउटा गोठ देखियो, जसभित्र दुइटा गाई बाँधिएका थिए ।
भित्रबाट कुनै चाइँचुइँ नसुनिएपछि हामीले फेरि आवाज दियौँ- ‘हैन, किन डराएको हो ? हामी स्कुलका नयाँ मास्टर । नेपालबाट यहाँ पढाउन आएका ।’ त्यो आवाज लगाएको झन्नै पाँच मिनेटजतिपछि अचानक घरभित्र बत्ती बलेको देखियो । त्यसपछि बिस्तारै ढोका खुल्यो र एकजना पुरुष हातमा टुकी लिएर बाहिर आयो । उसले हामीलाई सशङ्कित दृष्टिले हेर्दै डराएको स्वरमा भन्यो- ‘के तपाईंहरू पुलिस हो ?’
‘पुलिस ?’ मैले हाँस्दै भनेँ- ‘हामी पुलिस होइनौँ । हामी त यहाँको स्कुलमा पढाउन आएका मास्टर हौँ । आउँदा आउँदै रात पर्यो । बाटो नभेटेर बडो दुःखले यहाँसम्म आइपुगेका छौँ । हामीलाई हेडमास्टर कहाँ पुर्याइदिनु पर्यो ।’ ‘ए ! म त पुलिस आएछन् भनेर ढोका नखोली बसेको,’ उसले निश्चिन्त भएर भन्यो- ‘कहिले काहीँ पुलिसले रातबिरात आएर हैरान पार्ने गर्छन् । अपराधी खोज्दै आएको भन्छन् अनि दसथरी फर्माइस गरी खाना पकाउन लगाउँछन् ।’ ‘अनि यहाँको हेडसर कहाँ बस्नुहुन्छ त ?’ कुलुङ्गले सोधे ।
‘उहाँ त अलिक टाढै बस्नुहुन्छ । तपाईंहरू यहाँ बस्दै गर्नुहोस्, म बैदार साहेबलाई बोलाएर ल्याउँछु । उनैले तपाईंहरूको बन्दोबस्त मिलाउने छन् ।’ त्यति भनेर उसले भित्रबाट एउटा गुन्द्री ल्याएर पिँढीमा ओछ्याइदियो अनि हामीसँग एउटा टर्च लिएर ऊ अन्धकारमा गायब भयो । यस्तै १५ मिनेट कुरेपछि ऊ एकजना मान्छे साथमा लिएर आयो र परिचय गराउँदै भन्यो- ‘यहाँ बैदार साहेब हुनुहुन्छ । तपाईंहरू उहाँसँगै जानुहोस् ।’
हामी उसलाई धन्यवाद दिँदै बैदार साहेबको पछि लाग्यौँ । हिँड्दै हिँड्दै बैदार साहेबले हामीलाई सबै कुरा सोधे । हामीले सबै वृत्तान्त सुनायौँ । सबै कुरा सुनिसकेपछि उसले भन्यो- ‘तपाईंहरू नेपालबाट यति टाढा गाउँको विकास गर्न आउनु भएको रहेछ । साह्रै खुसी लाग्यो । हाम्रो यो गोकुले निकै पिछडिएको छ।’ उसको नेपाली बोलाइमा दार्चुलाली लवज छर्लङ्गै झल्किन्थ्यो ।
यसरी कुरा गर्दैगर्दै करिब १० मिनेट जतिको हिँडाइपछि उसले हामीलाई तीन- चारवटा घर झुरूप्प भएको ठाउँमा ल्याइपुर्यायो । एउटा घरको दैलोको ताला खोल्दै उसले हामीलाई भित्र छिरायो । एककोठे त्यो घरमा एकातिर दराज थियो, जसमा २५- ३० वटा किताबहरू राखिएका थिए । त्यो देखेर मैले सोधेँ- ‘यो पुस्तकालय हो कि क्या हो ?’
‘हो,’ उसले जवाफ दिँदै भन्यो- ‘आजको रात तपाईंहरू यहीँ बिताउनुहोस् । अब यस वेला खाना र ओढ्ने ओछ्याउनेको व्यवस्था गर्न सकिँदैन । यहाँ कुनै होटेल पनि छैन । भोलि बिहानै म हेडसरलाई लिएर आउँछु । उहाँले नै तपाईंहरूको खाने, बस्ने व्यवस्था गर्नु हुनेछ ।’
त्यति भनेर ऊ गयो । हामीचाहिँ प्वाक्क परेर एकार्काको मुख हेर्दै केही छिन ठिङ्ग उभिइरह्यौँ । प्रारम्भिक स्तम्भनले छोडेपछि हामीले त्यस पुस्तकालय कोठालाई नियालेर हेर्याैं । त्यहाँ एउटा टेबल र दुइटा कुर्सी मात्र थिए । काठको भुइँ थियो जसमाथि कुनै गुन्द्री वा कार्पेट थिएन । खाली भुइामैँ रात बिताउनु पर्नेभयो ।
‘लौ साथी हो,’ मैले आफ्नो झोला एकातिर कुनामा राख्दै भनेँ- ‘यस्तो दिन पनि देख्नुपर्याे । खाली भुइँमा सुत्दा सपना पनि खाली नै देखिएला ।’
कुलुङले पनि आफ्नो झोला भुइँमा राख्दै भने- ‘बित्थामा ! बरू पस्तीमैँ बास बसेको भए हुने र’छ ।’
जोशीले पनि पलेँटी मार्दै जवाफ दिए- ‘अब राष्ट्रिय विकास सेवा खाली भुइँमैँ सुतेर गर्ने !’
जोशीको कुरा सुनेर हामी सबै गडड हाँस्यौँ । हाम्रो हँसाइ अरू कसैले सुनेको भए कस्ता अल्लारे ठिटा रहेछन् भन्ने सोच्थे होला तर हामीलाई नै थाहा थियो हाम्रो त्यस हँसाइमा हाम्रो विवशता अनि कति अत्यधिक शारीरिक थकान लुकेको थियो ।
त्यसपछि हामी तीनैजना आ- आफ्नो झोला सिरानी बनाउँदै तीनतिर पल्टियौँ । घन्टौँ ठाडो ओरालोमा फट्याङ्ग्रा उफ्रेझैँ उफ्रेकाले खुट्टाका पन्जा र घुँडाका जोर्नीहरू लल्याकलुलुक भएको अनुभूति भइरहेको थियो । पेटभित्र आन्द्राहरूले गुल्लीडन्डा खेलिरहेका थिए । अत्यधिक थकान र भोकले हामीलाई कस्तरी अँठ्याएछ भने हामी बेहोस भएर निदायौँ । बेहोस हुनुभन्दा निमेषभर पहिले एउटा सोच फ्याट्ट मेरो मस्तिष्कमा सलबलायो-डिसटिङ्क्सन त पाइएला नपाइएला, भोलि बिहानसम्ममा एक्सटिङ्क्सन (लोप ) चाहिँ अवश्यै होइएला ।


(हाल मेरिल्यान्ड, अमेरिकानिवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
snirola7@gmail.com