दोस्रो बिहे - Aksharang
  • २०७७ चैत २९ आइतबार

दोस्रो बिहे

कला चुडाल

कला चुडाल

दुई महिनाअघि मेरो ब्लड प्रेसर हाई भएर त्यसको झड्का मेरो मुटु साथै शरीरको अरू अङ्गहरूमा पनि परेछ । शरीरको दाहिने भाग पूर्णरूपमा चल्दैनथे मेरा । शरीरका अङ्ग नचले पनि मान्छे होस भने हुँदो रहेछ । साथीहरूले मेरो मुख पनि अलि बाङ्गो हो कि भनेको सुनेकी थिएँ मैले ।परदेश त्यसै भनेको हैन रहेछ । कोही भेट्न नआएको पनि दुई दिन भइसकेछ । सबैको कहाँ फुर्सद हुन्छ र ? हुन पनि हस्पिटल ल्याइसकेपछि उपचार भैहाल्छ भन्ने पनि हुनसक्छ ।

सुनसान कोठामा कम्प्युटरको मोनिटरमा आउने टिट्टिट् आवाज पनि झर्कोलाग्दो भइसकेको छ । हिब्रु भाषा बोल्ने नर्सले वेलावेला आएर ‘सलोम मास्लु मेख ?’ (कस्तो छ तिमीलाई ?) भन्दा पनि कोही भएको आभास हुनथालेको छ अर्थात् भनौँ न मेरा आफन्त नै तिनै नर्स हुन् कि भन्ने । जति हस्पिटलको बसाइ बढ्दैगयो उति नै घरको, आफन्तको र विगतको सम्झनाले होला यसैयसै मेरो मन त फेरि उहीँ पो पुगेछ ।

कति चाँडो सात वर्ष भैसकेछ धेरै पैसा कमाएर, आफ्नै खुट्टामा उभिने लहडका साथ इजरायल छिरेको पनि । घरको मुमाबुबा नभए पनि दाजुभाइमा परिवारकी कान्छी बुहारी म, बूढाले पनि असाध्यै माया गर्ने र दुई भाइ छोराकी आमा । काठमाडौँमा सानो घर, बूढा पनि सरकारी जागिर, खान लाउनको दुःख थिएन । यति हुँदाहुँदै पनि दुईचार वर्ष यसो दुःख गर्दा छोराहरूले राम्रो स्कुलमा पढ्न पाउने र आफ्नो बाँकी जिन्दगी पनि अलि आरामसँग बित्छ कि भन्ने सोच आयो मलाई । बूढासँग सल्लाह गरेँ । सल्लाह गर्नु के थियो र यसअघि उनले मेरा कुनै कुरा पनि नकाट्ने भएकोले मैले मेरो निर्णय सुनाएँ । उनी पटक्कै मानेका थिएनन् । तर मैले भित्रभित्रै एजेन्ट बस्नेत सरसँग सबै कुरा मिलाइ सकेकी र निकै पैसा खर्च पनि गरिसकेकी थिएँ ।

मेरो जिद्धीपना र पैसा बुझाएको थाहा पाएर सबै परिवारले मेरो र एजेन्ट बस्नेत सरबीच शङ्का गर्न थालेर बूढालाई उक्साउन थाले । यसले गर्दा दिनदिनै घरमा कलह र झगडा सुरु हुनथाल्यो । अन्त्यमा मैले कि बाहिर जाने कुरा बन्द गर्नुपर्ने कि त डिभोर्स गर्नुपर्ने दुईवटा विकल्पमा एउटा रोज्नुपर्ने भयो । बूढाको असाध्यै माया हुँदाहुँदै पनि मैले निकै पैसा बुझाइसकेकी हुनाले ‘बूढाले कसो नबुझ्लान्’ भन्दै हिब्रु भाषा सिक्ने र बूढाबुढीको स्याहार गर्ने (Audult care) तालिम लिएर आफू तयार हुनथालेँ ।अन्त्यमा दुई छोराहरूलाई आमाको जिम्मा लगाएर म इजरायल जाने कुरा पक्का भयो ।

सीमित खर्च, आफ्ना अत्यावश्यक सामान र परिवारको एउटा फोटो बोकेर इजरायलको लागि तयार भएँ म । हिँड्ने दिन बूढासँगै जेठाजु र नन्द पनि एयरपोर्टसम्म आएका थिए मलाई छोड्न । उनीहरू मलाई के हो कुरो ? टुङ्गो दिनु परो भन्दै दबाव दिइरहेका थिए । मेरो बन्दोबस्त मिलाउने बस्नेत सर पनि थिए मसँगै । बूढा मेरो छेउमा आएर ‘अझै पनि केही बिग्रेको छैन नजाऊ विदेश; भन्दै तानेर झन्डै पिटेका पनि थिए । तर मैले मानिनँ । अन्त्यमा केही नलागेपछि अँध्यारो मुख लगाउँदै बूढाले कोटको खल्तीबाट एउटा पेपर निकाल्दै ‘यो डिभोर्स  पेपरमा सही गर’ भन्दै सही गर्न लगाए । मैले पनि ‘कस्तो अविश्वास गरेको’ भन्दै सही गरिदिएँ  डिभोर्स पेपरमा ।

बस्नेत सरले ‘सब ठीक हुन्छ, केही चिन्ता लिनु पर्दैन, मैले सबै बन्दोबस्त मिलाएको छु’ भन्दै जहाजको ढोकासम्म आएर बोडिङ पास र टिकट हातमा राखिदिँदा अझ आगोमा घिउ थपिने काम भयो । बूढाले सही गराएको डिभोर्स पेपर साँच्चैको हो कि हैन भन्ने कुरा मनमा खेलिरह्यो । त्यति माया गर्ने बूढाले मलाई घुक्र्याएको होला भन्ने पनि लाग्यो । जहाजले नेपालको भूमि छोड्दा मन अमिलो पनि भयो । तर एक मनले ‘विदेश गएर पैसा कमाएपछि बूढा कसो खुसी नहोलान् र मन नपरे फर्किन्छु नि’ जस्ता अनेक तर्कना खेल्न थाले मनमा । हामीलाई एक हप्तासम्म दिल्ली राखेर, हङ्कङ् हुँदै इजरायल पुर्याइयो र भने बमोजिमको काम पनि सुरु भयो ।

एकातिर परिवारसँग बिछोडिएर बस्नुपरेको पीडा, त्यसमाथि पनि डिभोर्स पेपरको चिन्ताले अझ सताउन थाल्यो मलाई । विदेशी भूमि, भिन्न संस्कृति, अमिल्दो भाषाको समस्या अनि माया नलाग्ने बहुलट्ठी मान्छेको स्याहार जस्ता कुराहरूले सोच्दैन सोचेको मोडमा जीवन मोडिइरहेको थियो । तर पनि आफ्नो कत्र्तव्य कहिल्यै भुलिनँ मैले । केही पकेटखर्च राखेर प्रत्येक महिना पैसा नेपाल पठाइरहेँ । नियमित बूढा र छोराहरूसँग फोनमा कुराकानी भैरहेकै थिए । डिभोर्स भए पनि म अरू कसैसँग बिहे गर्ने कल्पना पनि गर्न सक्दिनँ भन्थे बूढा वेलावेलामा ।

तर केही समयपछि फोनमा कुरा गर्दा बूढा निकै निरास देखिन्थे । पछि कुरा बुझ्दा ‘डिभोर्स गरिसकेकी स्वास्नीलाई के पर्खेर बसेको, अब बिहे गर्नुपर्छ’ भन्दै परिवारबाट दबाव आउन थालेछ । यो खबर सुनेर म असाध्यै आँत्तिए र तुरुन्त नेपाल आँउछु भनेँ । तर बूढाले रुँदै ‘तिमी त अब मेरी भूतपूर्व भैसक्यौ रे परिवार र समाजले कसरी स्वीकार गर्नसक्छ र !’ भन्दा म छाँगाबाट खसेजस्ती भएँ । दुवैजना निकैबेरसम्म रोयौँ त्यो दिन । मसँग कुनै ऊपाय नै रहेन परिवार बचाउने । अब म विदेशी भूमिमा आफ्ना प्राणप्रिय बूढा र छोराहरूलाई सम्झेर रुनु सिवाय नेपाल फर्केर जानुको कुनैअर्थ नै रहेन । एउटी विवाहित आइमाईको त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ र ? दैव पनि कति निष्ठुरी, एक हातले धन दौलत दिने अनि अर्को हातले सबै खुसी खोस्ने !

नेपालमा जति बूढाको बिहेको दिन नजिकिन्थ्यो हामीबीच कुराकानी पनि अझ बाक्लिँदै जानथाले । नसोचेको जे थियो, अन्ततः त्यही भयो । परिस्थितिले गर्दा हामी दुईबीच अपार प्रेम हुँदाहुँदै पनि एउटा कागजको टुक्रामा भएको एक गल्तीले मेरा बूढा विवश भएर परिवारले खोजेकी केटीसँग विवाह गर्न बाध्य भए भने म विदेशी भूमिमा अन्योल भविष्यसँग लडिरहेँ । विवाह भएको निकै दिनपछि कान्छी नन्दको फेसबुकमा बूढाको विवाहको एउटा फोटो देखेँ । बूढाको अनुहार उज्यालो नदेखिएको भए पनि फोटोमा बूढाको छेउमा अर्कै आइमाई- मलाई खपिन सक्नु भयो । मलाई पुलपुल्याएर राखेका मेरा बूढाले यदि मलाई एअरपोर्टमा झापड हानेर फर्काएको भए त म फर्कन्थेँ नि … जस्तो लगिरह्यो पछिसम्म । आखिर हुने कुरा भएरै छाड्ने रहेछ ।

बिहेपछि पनि बूढाको र मेराबीच घन्टौँसम्म कुराकानी भइ नै रहे । कहिले हाम्रो विवाह अगाडिका प्रेमका रमाइला कुरा पनि हुन्थे र सबै थोक बिर्सेर यसैयसै रोमाञ्चित पनि हुन्थेँ म । प्रायजसो बूढा भर्खर बिहे गरेकी श्रीमती डल्ली छ, मोटी छ, म खुसी छुइनँ, परिवारको लागि मात्र बिहे गरेको भन्ने गर्थे । विवाहपछि मैले कतिपटक ‘अब तपाईंको बिहे भैसक्यो, परिवार भएको मान्छेले यसरी लुकिछिपी कुराकानी गरेको राम्रो हुँदैन’ भनेर भनि सकेकी थिँए । तर पनि हाम्रो कुराकानीमा कुनै परिवर्तन आएको थिएन । अझ भन्नुपर्दा अझ बढी माया भएजस्तो भान हुन्थ्यो । कतिपटक त बूढाले ‘तिमी नेपाल फर्क, उसलाई डिभोर्स गरेर सँगै बसौँला’ पनि भनेका थिए ।

एकचोटि बूढा जिल्लातिर गएकाले निकै दिनसम्म कुराकानी हुनसकेन । छोराहरूसँग कुरा गरेर फोन राख्ने वेलामा ठूलो छोराले ‘गेस ह्वाट ममी, आन्टी ममी त प्रिग्नेन्ट रे, भाइ छ रे’ भन्यो । म यसै नतमस्तक भएँ, संसारले थिचेजस्तो भयो । ‘ए हो ? बाबा आएपछि फोन गर्नु भन है’ भनेर फोन राखेँ ।
‘आन्टी ममी त प्रिग्नेन्ट रे, भाइ छ रे’ भन्ने छोराका शब्दहरू पटकपटक दिमागमा आइरहे । यसपटक मलाई खै के भयो भयो । मन एक तमासले आत्तियो, ठूलो पहाडले थिचेजस्तो भयो । मेरो प्रेमसँगै शरीर पनि अरू कसैसँग बाँडिएको मेरा लागि असह्य भयो । अनि म अरू केही कुरा सोच्दैन सोची केही समयका लागि नेपाल फर्कने भएँ । मलाई थाहा छैन म कसका लागि र के उद्देश्यले नेपाल जाँदैछु । तर मलाई यति मात्र थाहा छ कि म त्यति स्वार्थी स्वास्नीमान्छे पक्कै होइन र म मेरा बूढाको सुन्दर संसार भत्काउने छैन ।

बूढासँगको सल्लाह बमोजिम तोकिएकै दिन म नेपाल पुगेँ । जसरी सात वर्ष अगाडि मलाई छोड्न बूढा आएका थिए, त्यसरी नै आए मलाई लिनलाई एअरपोर्ट । तर यतिवेला उनी भावनात्मक रूपमा मात्र मेरा थिए, सामाजिक, व्यावहारिक र शारीरिकरूपमा मेरा थिएनन् । बूढाले एक महिनाका लागि अपार्टमेन्ट लिएका रहेछन् मलाई राख्न । हामी त्यो रातसँगै बस्यौँ । निकैबेर सँगै रोयौँ हामी । धेरै वर्षपछिको त्यो क्षणलाई हामीले शारिरिक नभै मात्र भावनात्मक अनि प्रेमिल रूपले सजायौँ ।

भोलिपल्ट बूढा छोराहरूलाई लिएर फेरि आए । छोराहरूको समीपले मन सम्हालिनै सकेन । ठूलो छोरो अलि बुझ्ने भैसकेको थियो । तर कान्छो ‘कस्तो नियास्रो लागेको थियो ममी, अब त हामीलाई छोडेर जानुहुन्न नि !’ भन्दै बेस्सरी रोयो । म पनि केही नबोलेर आँखा चिम्म गरेर रोइ मात्र रहेँ । यसबीचमा मनैदेखि माया गर्ने आमाको निधन भैसकेकोले भेटघाट गर्नैपर्ने आफन्त पनि कोही सम्झेन मेरो मनले । सबैले आगो त बलेकै ताप्ने हुन् । त्यसैले खालि मजाकको पात्र बन्न मैले चाहिनँ र कसैसँग भेट पनि गरिनँ । बरु दुई छोरालाई लिएर हामी पोखरा गयौँ  दुई रातका लागि । कहिले एक्लै, कहिले छोराहरूसँगै र कहिले बूढासँग बस्दाबस्दै समय बितेको नि पत्तै भएन ।

फर्कने दुई दिनअगाडि बूढाले फोन गरेर ‘भोलि रेडी भएर बस है, बाबुहरूलाई लिएर आउँछु, दक्षिणकाली जानु पर्छ !’ भन्दै फोन गरे । मैले त हरेक क्षण अविस्मरणीय बनाउनु थियो । एक दिन भए पनि गोल्डेन समय पाएँ भन्ने लाग्यो, मनमनै खुसी भएँ । मन्दिरमा बूढाले भगवतीलाई चढाउने सामग्रीको थाली किनेर ल्याएर मेरो हातमा राखिदिए । थालीमा एउटा लड्डु, फूल, केही सिन्का अगरबत्ती, बटारेका बाती, सानो प्लास्टिकमा पोको पारेका चारवटा चुरा, एक लुङ पोते र सानो बट्टामा सिँदुर रहेछ । थालीका सामग्री चढाउँदै जाँदा जब सौभाग्य चढाउने पालो आयो, मलाई थाहा छैन हामी बूढाबूढी दुवैमा के भावना आयो, दुवैले एकैपटक मुखामुख गर्यौं । हाम्रो भविष्य, समस्या, इच्छा र आकाङ्क्षाजस्ता कुनै कुरा सोच्दै नसोची मैले बूढा ‘मलाई यो भगवतीलाई चढाएको एक लुङ पोते र सिँदुर लगाइदेऊ न प्लिज !’ भनेँ । बूढाले अवाक् भएर हेरिरहे । मैले फेरि ‘म तिम्रो जिन्दगीमा कहिले आउँदिनँ, विश्वास गर । म यही सिन्दुर मात्र लिएर जान्छु’ भनेपछि बूढाले लामो सास फेर्दै पोते लगाई दिए । मेरो सिँउदोमा सिँदुर हाल्दा बूढा भक्कानिँदै रोए । सिँदुरसँगै शिरमा रहेको बूढाको हात आफ्नो हातले थाम्दै डाको छोडेर रोएँ म पनि ।
आफ्नो विगत सम्झेर म रोएको बाहिर रहेका नर्सहरूले पनि सुनेछन् क्यार । बाहिरबाट नर्सहरू आएर माकारा.. लामा बूखा ? (के भयो किन रोएको ?) भनेर बोलाउँदा पो मेरो सम्झना भङ्ग भएछ । तातो आँसु ओठसम्म आएछ, नुनिलो भयो । मुख बिगारेको देखेर एउटी नर्सले आँसु पुछिदिइन् । यतिकैमा एउटी नर्सले ‘ई लोय खोला आर वेजमन मस्केना, ई मायर मेथ (यो बिचरी छिट्टै मर्दैछ ) अनि अरू के के भन्दै थिइन् । यो कुरा त मलाई पहिल्यै थाहा थियो । देब्रे हातले यसो आफ्नो सिँउदो छामे, बूढाले लगाइदिएको सिँदुर सिउँदोमा नै थियो, मनैमनमा सझेँ- ‘सौभाग्य त लिएरै जान पाएँ नि…!’ अनि आन्नद आयो अनि फेरि आँखा चिम्लेँ ।


(भर्जिनिया, अमेरिकानिवासी चुडाल चर्चित साहित्यकार हुन् ।)
nepalama_januka@yahoo.com