भान्जीको डुङ्गा - Aksharang
  • २०७८ माघ ६ बिहीबार

भान्जीको डुङ्गा

विवश वस्ती

विवश वस्ती

तमाम गृहकार्यलाई पन्छाएर
एकपछि अर्को
एकपछि अर्को
एकपछि अर्को
बनाउँदै गइन् भान्जीले
आफ्ना कलिला हात रगडेर
निरन्तर/निविघ्न
कागजका असङ्ख्यौं डुङ्गा ।

निर्मित डुङ्गाहरूलाई राख्दै गइन्
क्रमशः घरको पिँढीमा
धमिराले चिथोरेर जर्जर भएका काठका फल्याकहरूमा
र, भर्खरै बुनेको नयाँ गुन्द्रीमा
क्षणभरमै बन्यो सिङ्गो घर नै-
कागजका डुङ्गाहरूको विशाल बन्दरगाह ।

डुङ्गालाई स्वतन्त्रता पूर्वक तैरिन
चाहिन्थ्यो एउटा शान्त र संशयग्रस्त समुद्र
नभए समुद्र
चाहिन्थ्यो एउटा प्रच्छन्न नदी
नदी पनि नभए
कम्तीमा पनि चाहिन्थ्यो
एउटा प्रवाहमय खोला ।

डुङ्गा थियो
थिएन एउटै खोला
डुङ्गा थियो
न त थियो एउटा रचनात्मक नदी
कुनै निर्मोह समुद्र त छँदै थिएन
केवल, तैरिनका लागि
कागजका असङ्ख्यौं डुङ्गाहरू ।

न थिए किनारमा इमानदार यात्रुहरू
न थिए ढुवानी गर्नलाई
कुनै बहुमूल्य मालसामानहरू
न कुनै भद्र नाविक थिए-
कागजको डुङ्गामा ।

भान्जीले भने निश्चिन्त हुँदै
बनाइरहेकी थिइन्-
कागजका असङ्ख्य डुङ्गा
कुनै पर्वाह थिएन उनलाई
नदी÷समुद्रप्रति
न त चिन्तित थिइन्
यात्रु, मालसामान र नाविकको
अनुपस्थिति देखेर
मात्र चिन्ता थियो उनलाई
कसरी बनाउन सकिन्छ-
कागजका आकर्षकभन्दा आकर्षक डुङ्गाहरू
जसलाई हेरेर बनून् सबैजना मुग्ध र प्रफुल्ल
र, दिऊन् सबैले आफूलाई
धेरै-धेरै स्याबासी ।

(वस्ती प्रसिद्ध साहित्यकार हुन् ।)
bastibibash@gmail.com