जीवनको अभिनन्दन - Aksharang
  • २०७७ फागुन १७ सोमबार

जीवनको अभिनन्दन

डा. ज्ञानू पाण्डे

डा. ज्ञानू पाण्डे

आज कलेज बिदा छ । फुर्सदमा छु । तर फुर्सदमै भए पनि उति रमाइलोमा छैन मन । जागिरको एकरसे ड्युटीबाट फुक्का भा’छु । तर पनि फुरुङ्ग अवस्थामा छैन यो मन । कारण, खुसीको बिदा होइन आजको यो बिदा । न त कुनै विशेष दिवसको नै बिदा हो यो । उत्सव- महोत्सवको उपलक्ष्यमा बन्द भएको होइन आज कलेज । पीर र सुर्ताको घटनाले आकस्मिकरूपमा सिर्जाएको बिदा हो आजको यो बिदा । कलेजका एकजना गुरुले आत्महत्या गरेछन् । उनैको शोकमा बन्द भएको हो आज कलेज । यस्तो बिदालाई के बिदा भन्नु ? बिदा भयो भनेर के दङ्ग पर्नु ? के फुरुङ्ग हुनु ? मनमा एकपछि अर्को गर्दै बेतुकका प्रश्नहरू त्यत्तिकै उम्रिरहेका छन् । थाहा छ, यी प्रश्नहरूको सही उत्तर कतै पनि छैन । अन्दाज र अनुमानको खेती भलै हजारौँले गरेका होलान्, तर यकिन जवाफ कसैसित पनि छैन । प्राणीजगतकै सर्वश्रेष्ठ प्राणी भनी आफैँले आफूलाई घोषणा गर्ने मान्छे किन कहिलेकाहीँ जीवनमा आफैँ अश्रेष्ठ बाटो रोज्न उद्यत हुन्छ ? विवेकशील प्राणी ठानिएको मान्छे अविवेकी कर्म गर्न किन जीवनमा घरिघरि अघिसरिरहन्छ ? आखिर किन मान्छे आत्महत्या गर्छ ? उसलाई थाहा छ- यो संसारमा जन्मने हरेक प्राणीले एकदिन स्वभावतः मर्नैपर्छ । मृत्यु अनिवार्य लेखान्त हो हरेकको जीवनको । काल आएपछि अवश्य नै सबैले एकदिन यस संसारलाई छोडेर जानैपर्छ । यो तथ्य जान्दाजान्दै पनि किन कोही मान्छे जीवन छँदै आफैँ आफ्नो जीवनबाट भाग्न खोज्छ ? अकालमै कोही मान्छे किन मर्न तम्सन्छ ? बाँचेका आफ्ना परिवारजनलाई एकाएक अनेक अप्ठ्यारा प्रश्नहरूको कठघरामा अलपत्र छाडिदिएर कोही किन त्यत्तिकै आफूखुसी मृत्यु अँगाल्न हतारिन्छ होला  ? उसको आत्महत्याकोे कारणबारे चियो र चासो गर्न आउने समाजलाई बाँचिरहेका परिवारका सदस्यहरूले भरे के भनेर जवाफ दिऊन् ? के आत्महत्या गर्ने मान्छेले आत्महत्या गर्नुअगाडि परिवारजनका दुःखबारे पटक्कै केही सोच्दैन होला त ?
घाँटीमा पासो लगााउन औलाहरू चलाइरहँदा, नाडीको नसा काट्न ब्लेड समात्दै गर्दा, गडगडाएर बगिरहेको नदीमा फालहाल्न खुट्टा उचाल्दै गर्दा वा ‘मर्छु’ भन्ने योजनाका साथ ओभरडोज निन्द्राका चक्कीहरू फाँक मार्न हात उठाउँदै गर्दा कस्तो दशामा गुज्रिरहेको हुन्छ होला आत्महत्या गर्ने मान्छेको मन ? बाँचेका आफ्ना तमाम आफन्तजनलाई अप्ठ्यारो मोडमा घँचेटिदिएर कोही किन त्यत्तिकै शून्यमा समाहित हुन लालायित हुन्छ होला ? आखिर कलेजका ती गुरुले किन आफैँले आफ्नो घाँटीमा पासो कसे होलान् ? जीवनको कुन पासोबाट मुक्ति पाउन भनेर तिनले मृत्युको पासो आफैँ रोजेका होलान् ? कुन शान्तिका लागि, कुन सुखका लागि, कुन प्राप्तिका लागि तिनले आत्महत्याको बाटो समाउन पुगेका होलान् ? यस्तैयस्तै विनाअर्थका प्रश्नहरूमा मन आज अल्झिरहेको छ । एकप्रकारको असजिलो अनुभूति मनमा मडारिइरहेको छ । यही कारणले गर्दा आज बिदा भएर पनि बिदाको दिनजस्तो रमाइलो लाग्या छैन मलाई । फुर्सदमा त छु तर पनि ‘फुर्सदमा छु’ जस्तो भान मनमा पटक्क भा’छैन मलाई ।
दिवङ्गत गुरुका नाममा कलेजमा सम्पन्न भएकोे शोकसभा सम्झन्छु । सभाको एक कुनामा एउटा मेचमा चिसो तस्बिर बनेर गुरु थपक्क बसेका छन्। उनको तस्बिरमा माला लगाइएको छ,, फलफूल चढाइएको छ । एकमुठा सिन्केधूप सल्काई त्यसैको धूवासँगसँगै एक मिनेटको मौनधारण गरी आरम्भ भएको थियो शोकसभा । सभामा कलेजका गुरुबा–गुरुमाहरू उल्लेख्य सङ्ख्यामा उपस्थित थिए र सँगसँगै केही विद्यार्थीहरू पनि । कलेजका सम्पूर्ण विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै विद्यार्थी युनियनकी अध्यक्षले दिवङ्गत गुरुप्रति श्रद्धाशब्द पनि अर्पण गरेकी थिइन् । नेतागिरी गर्दाको वेलाजस्तै भाषणको शैलीमा तिनले गुरुको गुणगान गाएकी थिइन् । तिनको अभिव्यक्तिको सार थियो- गुरु हाम्रा उत्प्रेरक हुनुहुन्थ्यो । उहाँ कक्षामा राम्रो पढाउनुहुन्थ्यो । हामी विद्यार्थीहरूलाई उहाँ कक्षाबाहिर भेट्दा पनि सधैँजसो ज्ञानकै कुरा सिकाउनु हुन्थ्यो, बुद्धिकै कुरा सुनाउनुहुन्थ्यो । हामी सबै विद्यार्थीहरूका माझ उहाँ हौसलाका वाणी हुनुहुन्थ्यो । दिवङ्गत गुरुबारे विद्यार्थीले शोकसभामा त्यस्तो भाव अभिव्यक्त गरिरहँदा यता म भने मनमनै गुनिरहेकी थिएँ- विद्यार्थीहरूका मनमा त्यसरी हौसला भरिदिनसक्ने ती गुरुले स्वयं आफ्नो मनमा चाहिँ हौसला बचाएर राख्न किन चुके होलान् ? कसरी चुके होलान ? के कोही व्यक्ति ज्ञानी हुनुको उपादेयता केवल अरूलाई उसले सम्झाउन र बुझाउन सक्नु मात्रले सिद्ध हुन्छ र ?
शोकशभामा झन्डै एक दर्जनजति गुरुबा- गरुुमाहरूलेदिवङ्गत गुरुको खुसमिजास स्वभाव र सादगी बानीबेहोराबारेका विभिन्न प्रसङ्गहरूको स्मरण गरेका थिए । गुरुहरूले उनको खुसमिजासी स्वभाव र सादगी बानीबेहोराबारे चर्चा गरिरहँदाको बखत यता म आफू भने आफैँभित्र त्यत्तिकै घोत्लिरहेकी थिएँ- अरूलाई खुसाउन सधैँ रमाउने ती गुरुले जीवनमा स्वयं आफूलाई भने किन खुसी पार्न सकेनन् होला ? अरूका आँखामा सधैँ सादगी स्वभावका दर्शिएका ती गुरु आफ्नै लागि भने किन सामान्य बनेर रहन सकेनन् होला ? किन, कसरी र केका लागि आत्महत्या गर्नेजस्तो जटिल मनोविज्ञानमा तिनी फस्न पुगे होलान् ?
गुरुको तस्बिरअगाडि सल्काइएको सिन्केधूप क्रमशः छोट्टिदै छ । धूपको धूवाँपनि क्रमशः- क्रमशः पातलिँदै गइरहेको छ । म देख्छु- तस्बिरमा गुरु मौन छन् । मौन गुरुको मौन मृत्युको विषयमा वाचाल गुरुहरू ठूलाठूला स्वर गरेर बोलिरहेका छन्, गुरुको आत्महत्याबारे अनेक अन्दाज र अनुमानका खेती गरिरहेका छन् । हुन त अन्दाज र अनुमानबाहेक अरू के नै पो गर्नसक्छ र मान्छेले ? खास गरी कोही अर्को व्यक्तिको विषयमा सोच्दा वा धारणा बनाउँदा एउटा मान्छेले गर्नसक्ने कुरा भनेकोकेवल अन्दाज मात्रै त हो नि ! अनुमान मात्रै त हो नि ! अड्कल मात्रै त हो नि ! दिवङ्गत गुरुप्रति शब्दश्रद्धा अर्पण गर्ने क्रममा कतिपय गरुले त गुरुको आत्महत्याको विषयलाई लिएर ‘उहाँले त्यस्तो नकाम नगर्नुपथ्र्यो’ भनी आलोचना गर्नसमेत भ्याए शोकसभामै । कतिले गुरुको तस्बिरलाई हेरेर गुरुप्रति प्रश्न पनि गरे । त्यो सुन्दै गर्दा मलाई लाग्यो- त्यसरी मरेर गइसकेको एउटा व्यक्तिप्रति ‘तपाईंले बेठीक गर्नुभयो’ भनी औला उठाउनुको प्रयोजन के नै रहन्छ र ? अथवा उसको तस्बिरलाई हेरेर ‘तपाई ले किन त्यसरी आत्महत्या गर्नुभयो ?’ भनी प्रश्न गर्नुको अर्थ आखिर नै के रहन्छ र ? जवाफ आउनसक्ने कुनै गुञ्जायसै नभएको अवस्थामा खालि प्रश्न उठाइरहनुको तुक नै के रहन्छ र ?
‘वास्तवमा आत्महत्या स्वयंमा एउटा अत्यन्त गम्भीर प्रकृतिको प्रश्न हो जसलाई कुनै दर्शन, कुनै चिन्तन, कुनै तर्कले पनि चिर्न सकिन्न कहिल्यै ।’ मनमा झुलुक्क कामु चियाउन आइपुग्छन् । आत्महत्या विषयबारेको उनको चिन्तन छाम्न उद्यत हुनखोज्छु म । तर ठीक त्यही वेला मेरोनजिक एकजना गुरु ठिङ्ग उभिन आइपुग्छन् र मलाई सोद्धछन्– ‘दिवङ्गत गुरुबारे तपाईं पनि केही शब्द बोल्नु हुन्छ कि ?’ म बोल्न खोज्दिनँ, त्यत्तिकै पन्छिदिन्छु ।
गुरुमा हुँ म पनि कलेजकी । मैले चाहेको भए त्यहाँ अवश्य बोल्न सक्थेँ । गुरुको शोकमा लामै भाषण छाँट्न सक्थेँ । उनको मृत्युबारे आफ्ना अन्दाज र अनुमानहरू तर्कका साथ व्यक्त गर्न सक्थेँ म पनि । तर मैले त्यसो केही गरिनँ, गर्न चाहिनँ । खासमा त्यहाँ ती सब कुरा गर्नुको कुनै उपादेयता देखिनँमैले । शोकसभा भन्नु त आखिर एउटा सामान्य कर्मकाण्ड मात्रै न हो ! दिवङ्गत व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्ने एउटा औपचारिक मञ्च मात्र त हो शोकसभा ! त्यस्तो सभामा धेरैजनाले धेरै कुरा बोलिरहनु त्यति आवश्यक पनि त होइन ! त्यतिका गुरुहरूले बोलिसकेका थिए, त्यसमा म एउटा थपिनु वा नथपिनुले कुनै फरक पर्नेवाला थिएन । त्यही सम्झेर त्यो वेला शोकसभामा मैले केही बोलिनँ, केही बोल्न चाहिनँ । मनमा लागेका कुराहरू आफैँभित्र मात्र गुनिरहेँ । सभाअवधिभरि त्यहाँमैले एक शब्द पनि बोलिनँ । मात्र आफैँभित्र घोत्लिएँ, घोत्लिरहेँ !
तर यहाँ अब म बोल्छु । असमयमै जीवनप्रति विमुख हुनपुगेका गुरुको शोकमा आइलागेको यो जुठो बिदामा आज म मृत्युका बारेमा भन्दा बढी जीवनको पक्षमा बोल्छु । दिवङ्गत गुरुको आत्माको चिरशान्तिको कामना गर्र्दै जगतमा बाँचिरहेका समस्त मानवप्राणीको पूरा आयुको कामना गर्छु । मृत्यु त अवश्यम्भावी सत्य हो जीवनको । यो तथ्यप्रति सजगता राख्तै जुन, जस्तो परिस्थितिमा पनि जीवनमा जीवनलाई नै रोज्नुपर्दछ हरेकले ! कसैले पनि यदि जीवनमा आफैँ नै आफ्नो मृत्यु रोज्न तम्सन्छ भने उसको त्योतम्साइलाई कदापि धाप दिन सकिन्न, धाप दिन मिल्दैन । जानेर होस् या नजानेर जीवनप्रति अक्षम्य अपराध भएकै हो गुरुबाट । मरेर गइसकेका ती गुरुप्रति श्रद्धा राख्ताराख्तै पनि म उनको उक्त योजनाबद्ध मृत्युको भत्र्सना गर्छु । मृत्युसत्ताको अटलतालाई ननकार्दै तर असामयिक मृत्युको म उपहासमा बोल्छु । आज यस निबन्धमा म जीवनको भरपुर अभिनन्दन गर्छु ।
हो, जीवनमा धोका छ, बेइमानी छ । घात–प्रतिघातको खेल यसमा निरन्तर चलिरहन्छ । पाइलापाइलामा काँडा छ । चोट र दुःखको सामना गर्नुपर्ने सम्भावना जहिल्यै मौजुद छ । तर मुख्य कुरा, निरन्तर जुझेर लडेर सङ्घर्ष गरेर दुःखको त्यही माटोमा सुखको फूल उमार्न सक्ने ऋतु पनि त यही जीवनभित्रै छ नि ! यद्यपि जुनसुकै वेला जे पनि भैदिनसक्ने खतराको सम्भावना हरेकको जीवनमा नमरुञ्जेलसम्म सधैँ ज्युँकात्युँ नै छ । तर पनि रमाइलो कुरा के भने जीवनको यही परिधिभित्रै खुसी खोज्ने, खोस्रने, खोस्रन सक्ने सिसिफसे आँट पनि त हामीसँगै छ नि ! विनादोष नै दण्डको भागी हुनुपर्ने नियतिले श्रापित अवश्य छ यो जीवन, तर त्यसश्रापलाई छल्न प्रयत्न गर्ने अद्भुतको साहस पनि त हामीभित्रै छ नि ! जीवनमा आफूलाई सधैँ आफैँले डोराउने रहरको डोरोबाट हामी मानिसलाई छिनाउन सक्ने तागत कसको ? जीवनमा व्यथा छ । व्यवधान छ, । सास्ती छ । हो, सबैभन्दा डारलाग्दो कुरा जीवनमा मृत्यु अवश्यम्भावी छ । तर पनि मज्जालाग्दो कुरा के हो भने मृत्यु छ र अर्थ छ योे जीवनको ! मृत्यु छ र त केही न केही गरिरहन सधैँ हतारो छ हामीलाई ! ‘मृत्यु अस्तित्वको सम्भावना हो’ भनेर हेडेगरबाले त्यत्तिकै कहाँ भनेका हुन् र !
मृत्युसित लड्नसक्ने तागत कहाँबाट आउँछ मान्छेको मनमा ? कसैले मसित प्रश्न गरे म एक सेकेन्ड पनि नअडीकन वकालत गर्नेछु सपनाको । वकालत गर्नेछु म जीवन र सपनाबीचको अन्तर्सम्बन्धको प्रगाढताको । वास्तवमा मनभित्र सँगालिएर रहेका सपनाहरू नै सबैभन्दा ठूलो तागत हो हरेकको जीवनको । सपनाहरू सधैँ आकर्षित गरिहन्छन् मान्छेहरूलाई तिनका आ-आफ्नो जीवनप्रति । सपनाहरू हरपल प्रेरित गरिरहन्छन् मान्छेहरूलाई जीवनमा बाँच्नका निम्ति ।
हुन त कसैले कतै भनेको रहेछ- ‘संसारको सबैभन्दा ठूलो चिहान मान्छेको मन हो, जहाँ हजारौँ सपनाहरूको कङ्काल भेटिन्छ ।’ तर होइन, यो कुरा ‘सही हो’ लाग्दैन मलाई । म त भन्छु: संसारको सबैभन्दा सुन्दर बगैँचा हो मान्छेको मन, जहाँ सपनाका नयाँनयाँ विरुवाहरू सधैँ उम्रिरहन्छन्, सपनाका रङ्गीचङ्गी फूलहरू सधैँ झुलिरहन्छन् । सपनालाई कदापि मर्न दिनुहुँदैन जीवनमा । यसलाई सजिएर रहन मनमा सधैँ ठाउँ दिइरहनुपर्छ । कर्मले यसलाई सधैँ सिँञ्चिरहनु पर्छ,आशा र उषाको रस यसमा सधैँ भरिरहनुपर्छ । आखिर सपनामै त अडेको छ जीवन ! सपना नै त हो यो जीवन ! सपना अर्थात् निन्द्राको अवस्था । सपना अर्थात् निमग्नताको अवस्था । आनन्दको अवस्था । उत्साहको अवस्था । उत्सवको अवस्था । उमङ्गको अवस्था । सपना अर्थात् भरको अवस्था । भरोसाको अवस्था । सपना देख्नुबाट कुनै हालतमा पनि ब्यूँझिन दिनुहुन्न जीवनलाई । सपनाबाट कुनै हालतमा पनि टाढिन दिनु हुन्न जीवनलाई । सपनाहरू देखाइरहनुपर्छ; सपनाहरूमै सधैँभरि भुलाइरहनुपर्छ यसलाई । मृत्युपछिको मुक्तिका कुरा, मृत्युपछिको मोक्षका कुरा, ती त सब कथाहरू हुन् बस ! मृत्युपछिको सत्य कसले पो देखेको छ र ? तर यो हाम्रो जीवन त प्रत्यक्ष भोग्न पाइएको सत्य हो नि ! प्रत्यक्ष भोग्न पाइएको समय हो नि ! होइन र ? म त भन्छु- एकबारको जुनीमा आफ्नो भागमा पाएकोे समयको कणकणलाई कसरी हुन्छ सुन्दर बनाउन जाँगर गर्नुपर्छ । जीवनलाई हरसम्भव अर्थपूर्ण जिउन प्रयास गर्नुपर्छ ।
प्रयास र प्रयत्नको निरन्तरताले यसजीवनलाई सधैँ डोर्याईरहनुपर्छ । त्यस डोरोलाई जीवनमा कदापि टुट्न दिनुहुन्न । त्यो डोरो जीवनमा कदापि छुट्न दिनुहुन्न । मनबाट आशा र विश्वासको भर कुनै हालतमा भत्किन दिनुहुन्न । दुःख, सास्ती र व्यवधानको झरी अविरल वर्षिरहला भलै जीवनमा, तर सुखका बाछिटाहरूमा (पनि) रमाउन कदापि थाक्नुहुन्न । त्यही रमरमले मनलाई सधैँ सिञ्चिरहनुपर्छ । मनभित्र उम्रिएका सपनाका बिरुवाहरूलाई गोडमेलकोजाँगर सधैँगरिरहनुपर्छ । मनमा झुलिरहेका सपनाका फूलहरू असमयमै कतै ओइलाई नजाऊन्, तिनलाई आश्वासनको सिञ्जनले सधैँ फुलाइरहनुपर्छ, फकाइरहनुपर्छ, फक्राइरहनुपर्छ । परिस्थिति जस्तोसुकै आइलागोस् भलै, निराशाको बादल छाउन दिनहुन्न कदापि । मनमा आशा जगाइरहनुपर्छ सधैँ; मनमा विश्वास ब्यूँझाइरहनुपर्छ सधैँ ।
परिस्थितिसित आत्तिएर यदि कोही जीवनमै जीवनलाई मिल्काउन तम्सिन्छ भने उसको त्यो तम्साइ कुनै दृष्टिले पनि सही हो भन्न सकिन्न । बरू त्यसो गर्नु ‘माल पाएर चाल नपाएको’ जस्तो मात्र ठहर्छ। आखिर जीवन छ र त अनुभव छ । जीवन छ र त अनुभूति छ । अहा यो जीवन ! यसलाई विश्वासको ढाडसले सधैँ थुमथुम्याइ रहनुपर्छ भन्छु । बुझ्न भुल्नुहुन्न कदापि कि विश्वासमै योसंसार अडेको छ । जीवनप्रति जहिल्यै ‘उफ्’ ‘आफ्’ गरिरहनेहरूको नजिकै नपरुँजस्तो लाग्छ मलाई । जीवनको गहिरो सत्यको बोधले विचलित हुनेहरूको त छायाँसम्म पनि नपरोस् आफूलाई भन्नेजस्तो लाग्छ मलाई । आरम्भपछि अन्त्य हुनु, मिलनपछि बिछोड हुनु, जीवनआकाशमा कहिले घाम लाग्नु, कहिले बादल मडारिनु यो त नियमितको प्रक्रिया हो सृष्टिको । यी सब स्थायी ‘उफ्’ ‘आफ्’ हरू हुन् जीवनगतिको । नाघ्न नसकिने जीवनका यावत् ‘उफ्’ ‘आफ्’ हरूलाई मनभित्रै कतै एउटा कुनामा थान्को लगाएर वा के कसो गरेर हुन्छ व्यवस्थापन गरेर आफूभित्र आफ्नै सपनाकोे बलमा, आफ्नै विश्वासको बलमा नयाँ शक्ति आविष्कार गरी त्यसमा रमाएर बाँच्न जान्नु पो बाँच्नु त !
सपनाहरू शक्तिका अमूल्यस्रोत हुन् । सपनाहरू बल हुन् । सपनाहरू तागत हुन् मनका । सपनाहरूबाटै निःसृत हुने हो मनमा सधैँजोस, जाँगर, उत्साह अनि उमङ्गका लहरहरू । जीवनको तीतो सत्यबाट छलिन हामीलाई सपनाले नै हो सघाउने सधैँ ! सपनाकै भरमा मनमा जाग्ने होजीवनप्रतिको अनुराग, आस्था, निष्ठा अनि समर्पणको तपस्या पनि । बाँचुञ्जेलको अवधिभरि हामीलाई गतिशील बन्न सपनाहरू सधैँसघाइरहन्छन्; उक्साइरहन्छन् । वेला- कुवेला मनभित्र त्यत्तिकै लेप्सिन आउन खोज्ने अनेक रङका अत्यासहरूलाई सपनाका बारहरू सधैँ पर हुत्याइदिन्छन् । सपनालाई मानका साथ मनमा सधैँ सजाएर राखिछोड्न बिर्सनुहुन्न बस् !
दिवङ्गत गुरुले जीवनमा सपना त देखे हूनन् तर सपनाको मान राख्न चुके सायद उनले । सपना देख्नु तर त्यसको मान राख्न नजान्नु आफैँमा ठूलो घात हो जीवनप्रतिको । सपनालाई मान गर्न चुकेको क्षण, अथवा सपनामा भर गर्न बिर्सेको समय निराशाको पल हो जीवनको । त्यस्ता पलहरू मनमा एकपछि अर्को गर्दै थपिँदैजानु; मनमा निराशाका पलहरू सङ्कलित हुँदैजानु निःसन्देह खतराको सङ्केत हो जीवनमा । डिप्रेसनको मुख्य कारण पनि यही नै हो सायद । दिवङ्गत गुरुले डिप्रेसनको औषधी खाइरहेका थिए भन्ने कुरा पनि शोकसभामा उनका बारे बोल्नेहरूले बताएका थिए । मनोविद्हरूका अनुसार डिप्रेसन एक प्रकारको त्यस्तो मानसिक रोग हो जो एकचोटि देखापरेपछि जीवनभर निमिट्यान्नसित निको हुन्न अरे । नियमित औषधीसेवनबाट भने त्यसलाई व्यवस्थित पार्न सकिन्छ भन्छन् उनीहरू । तर रोग लागिसकेपछि औषधि खानुभन्दा रोग नै लाग्न नदिनु कता हो कता जाती कुरा हो । होइन र ? यसका लागि जीवनमा सपनाको भर गर्नु, सपनाको मान राख्न नचुक्नु र स्वयंप्रति मनमा अटल विश्वास जगाइराख्न होस पुर्याउनुको अलावा अरू कुनै विकल्प छैन मान्छेसित । यस तथ्यप्रति समय छँदै हेक्का राख्न कसरी चुके होलान् बिचरा ती गुरू कुन्नि ! तीन महिनाअघि पनि एकचोटि उनले आत्महत्याको प्रयास गरेका थिए अरे भन्ने पनि सुनियो । मृत्यु त अनिवार्य सत्य हो हरेकको जीवनको । त्यसका लागि किन कसैले जीवनमा योजना बुन्नु पर्यो र ! योजना त बाँच्नका लागि पो बुन्नुपर्ने हो त ! जिउँदैमा मर्नका लागि होइन, जिउँदोजस्तो जीवन जिउनका लागि पोयोजना गर्ने हो त जीवनमा ! जीवनको गति रोक्नलाई होइन, जीवनलाई सार्थक गति दिनका लागि बनाउने हो योजना जीवनमा । तर अपसोच, गुरूले तीन महिनादेखि मृत्युकै योजना बुनिरहेका रहेछन् मनमा !उनले नितान्त उल्टो काम पो गरेछन् ! आफ्नो आयु आफैँ छोट्याउन उनले अनावश्यक रूपमा जीवनमा अग्रसरता देखाएछन् । योजना गर्नुपथ्र्यो उनले पूरा आयु बाँच्नका लागि । योजना गर्नुपथ्र्यो आफ्नो असामयिक मृत्युको सम्भावनालाई नाघ्नका लागि । योजना गर्नुपथ्र्यो मनभित्र ओइलाउँदै गएका आफ्ना सपनाका फूलहरूलाई पुनः जगाउनका लागि । तर उनले त त्यसलाई उल्टै निमिट्यान्न पार्नका लागि पो प्रयास गरेछन् । जीवनमै मृत्युलाई जिताउनका लागि बित्थामा योजना गरेछन् उनले । गहिरो शोक व्यक्त गर्छु म ती गुरुको असामयिक निधनप्रति । र, कामना गर्छु बाँचिरहेका तमाम मानिसहरूमा सधैँपूरा आयु बाँच्ने साहसको। जीवनमा मर्नका निम्ति योजना कसैले पनि नगरून् । योजना गरून् त सबैले सधैँ बाँच्नकै लागि गरून्, हाँस्नकै लागि गरून् । सपनासबैले जीवनमा सधैँ सत्आशयकै देखून् ।आफूले देखेको (सुन्दर) सपनाको मान राख्न जीवनमा कोही कहिल्यै नचुकून् । प्रयासमा जुटिरहून् अनवरत, प्रयास गरिरहून् निरन्तर- निरन्तर । आशाको दियो मनमा ननिभोस् कसैको, विश्वासको उज्यालो मनमा जागा रहिरहोस् अन्तिम घडीसम्मै सबैको !सबै सबै मानिसहरूको !!


(डा. पाण्डे स्थापित साहित्यकार हुन् ।)
gyanupandey@hotmail.com