अक्षरमार्गका सुन्दर पल - Aksharang
  • २०७७ फागुन १७ सोमबार

अक्षरमार्गका सुन्दर पल

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

जीवनका हरेक क्षण बित्दै जान्छ सम्झनामा स्पर्शरत विगत भरिँदै जान्छ । मान्छे विगतमा फर्कन सक्दैन, तर मन र मस्तिष्कमा विगतका खुसी र आँसु अनेक लीला देखाउँदै छरपस्ट हुने रै’छ । गुलाफ फुलेको देख्दा मदहोसले मन चञ्चल हुन्छ । त्यस वेला मलाई गुलाफ टिप्न अह्राउने मनको कुरा खुरूक्क मानिहाल्छु । गुलाफ प्रेमको प्रतीक ठान्दै फूलको जीवन बिर्सिएर आसक्तिपनले हैरान भैरहन्छु । अनि प्रेमका कुरा क्षितिजसम्म पुराउन अक्षर टिप्न अनौठो समागममा मिसिन्छु । यसरी मिसिन पाउँदा लाग्दछ, जिन्दगी एक हरफ पीरमा डुब्यो भने अर्को हरफ खुसीको धुन बनेर रमाइरहेको छ ।
अक्षरको उज्यालो बाटो हिँड्ने क्रम पहिले त पाठशालाबाट सुरू भयो । अनि मात्र भावनामा छचल्कियो यो मन । अक्षरको सम्बन्ध कति गहिरो र कति नजिक छ भन्ने जब जीवनमा बोध भयो तब अक्षरसँगको प्रेममा अनुरक्त भएर लागिरहेछु । लेख्न सक्नु र पढ्न सक्नु मात्र अक्षरसँग गाँसिनु हैन सायद । वाणीको माध्यमबाट पनि अक्षर मार्ग नजिक पुगेका कति मानिस हुन्छन् । यसको प्रमाणका रूपमा अक्षर नै नचिनेका हाम्रा आमा, हजुरआमा, जिजूआमाहरूले छाडेर गएका किंदन्तीका कथा, अनेक अवसरमा गाइने गीत, उखान र टुक्काहरूलाई लिन सकिन्छ । जुन आजसम्म पनि उत्तिकै जीवन्त, सान्दर्भिक र जनजीवनमा लोकप्रिय छन् ।
अक्षरको वैशाखी टेक्दै जब म आठ कक्षामा पढ्न थाले मेरी दिदी शान्ता दस कक्षामा पढ्थिन् । २०२७–०२८ सालको कुरा हो । दिदी कविता लेख्न थालिसकेकी थिइन् । उनका कविता पढ्दा, सुन्दा मलाई पनि कविता लेख्न रहर लाग्थ्यो । उनको देखासिकी गरेर मैले लेखेका अक्षरका लहरी कविता हुँदैनथे । तर दिदीले मलाई कविता लेख्न प्रोत्साहित गर्थिन् । दिदीको बिहे भएपछि अङ्कुराउन थालेका मेरा रहरहरू फेरि आफैँभित्र थन्किए । दुर्भाग्य बिहेको केही समयमा नै दिदीको मृत्यु भयो । त्यस वेला स्कुलले गरेको दिदीको शोकसभामा दिदीको नामको अक्षर आरम्भ गरेर लेखेका वेदना र वियोगका भाव स्कुलको मञ्चमा पहिलोपटक पढेँ । त्यसपछि उनको सम्झनाले मलाई भावविभोर बनाउँदा अक्षरको साहरा लिएँ । ती अक्षरहरू नै बिस्तारै कविता भए । म कक्षा नौ मा पढ्दै थिएँ । कविता लेख्ने र कुनै कार्यक्रममा कविता पाठ गर्ने क्रम सुरु भयो । तर २०३० सालमा मेरो बिहे भयो । त्यसपछि मेरो मनभित्र उम्रिएका आफ्ना भावनाहरू तिलाञ्जली दिएर अक्षरलाई बिर्सन वाध्य भएँ ।
समय न हो सधैँ एकनासको कहाँ हुने रैछ र ? मेरा रहरलाई रोक्न खोज्ने शक्तिको प्रयास बिस्तारै असफल भयो । विराटनगरको वसाइ-सराइँ पछिको समयमा अक्षरसँग हातेमालो गर्ने माहोल बन्यो । साहित्यिक अभिभावकत्व प्रदान गरेर मार्गनिर्देश गर्ने गुरुहरू, मलाई स्नेह गर्ने अग्रज स्रष्टाहरू, मलाई बुझ्ने साथी र सहयात्रीहरूको साथले भित्रभित्रै गुम्सिएका मेरो रहरले १०-११ वर्षपछि २०४१ सालमा बाहिर प्रस्फुटित भयो । मलाई अझै याद छ, मोती जयन्तीका दिन सिद्धार्थ शिशु सदनको हलमा ‘मेरो वसन्त’ शीर्षकको कविता वाचन गरेको त्यो क्षण । यदि इन्दिरा प्रसाईंले अति कर नगरेको भए म त्यस अवसरबाट वञ्चित हुनेथिएँ ।
यसरी कविगोष्ठीको मञ्चमा उभिएर कविता वाचन गरेको स्कुले जीवनपछि पहिलोपटक थियो । त्यस्तो क्षण मेरो हातखुट्टा थर्थराएका थिए, मुटु चिसिएको थियो र सास गति बढेको अनुभवका अनुभूति अझै ताजै छन् । एउटा छोटो कविता वाचन गर्न मलाई हम्मे परेको त्यो क्षण अहिले सम्झँदा हाँस उठ्छ । कार्यक्रम सिद्धिएपछि श्रद्धेय दिज्यू देवकुमारी थापा, गुरुहरूद्वय डा. नरेन्द्र चापागाईं, दधीराज सुवेदीलगायतबाट प्रेरणाका शब्दहरू प्राप्त गरेँ । त्यसरी त्यो मेरो काव्यिक माहोल जीवनको अविस्मरणीय क्षण बन्यो ।
त्यसको केही समयपछि लायन्सक्लब अफ विराटनगरले पूर्वाञ्चलव्यापी प्रतियोगितात्मक नारीकवि गोष्ठीको आयोजना गर्यो । त्यसमा पनि इन्दिरा प्रसाईंकै अगुवाइमा सहभागी भएँ । त्यस कार्यक्रममा ‘सङ्घर्ष कुनै अनन्तको वृक्ष होइन’ शीर्षकको मेरो कविता दोस्रो भयो । कविता लेखेर नै पुरस्कृत भएकी म पहिलोपटक, यसले मेरो हौसला बढ्दै गयो । त्यसपछि विराटनगरमा हुने कविगोष्ठीहरूमा मलाई पनि निम्त्याउन थाले । घरमा समयको तालमेल मिलाएर केही समय काव्यिक माहोलमा डुब्न मलाई सम्भव हुन्थ्यो तर त्यस्ता गतिविधिमा सहभागी हुन त्यति सहज परिस्थिति थिएन । कहिलेकाहीँको कार्यक्रममा सहभागी हुन एउटा युद्ध लड्नुझैँ हुन्थ्यो ।
यसै सन्दर्भमा एउटा घटना सम्झन्छु, जुन घटनाले मेरो अवसर बनेर जीवनको अस्तित्वबोध गरायो । चेतना छ भने शारीरिकरूपमा सबल नभए तापनि मानिसले आफ्नो विशेष परिचय बनाउन सक्छ भन्ने बोध मलाई त्यसै वेला भयो जुन वेला महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पारिजातको सम्मानमा कविगोष्ठी भएथ्यो । असहज परिस्थितिबीच म मेरी कान्छी छोरी सरितालाई लिएर कार्यक्रममा गएँ । संयोग ‘आत्मकथा एउटा रुखको’ शीर्षकको कविता केही दिनअघि लेखेकी थिएँ । त्यस दिन त्यही कविता पाठ गरेँ । कविगोष्ठीको कार्यक्रम क्याम्पसको एक तलामाथि थियो । पारिजात दिदीले बसेर कविता पढ्नुभयो, आफ्नो मन्तव्य दिनुभयो । उहाँले कुन कविता पढ्नुभयो, लामो समयसम्म के-के बोल्नुभयो त्यो त मैले बिर्सिएँ । तर कार्यक्रम सकिएपछि क्याम्पसको मैदानमा दिदीलाई ल्याउँदा उहाँ हामीसँग हुनुहुन्थ्यो । त्यस वेला मलाई कविताबारे भन्नुभएका सबै कुराहरू स्मृतिमा अटाउन सकिनँ । यति चैँ हो कि कविता लेख्ने प्रेरणाका भावहरू मेरी दिदी शान्ता पछि पारिजात दिदीबाट नै पाएँ । त्यस वेला उहाँसँग हामी आमा–छोरीले फोटो खिच्यौँ । अहिले सम्झनाका ती क्षण प्रिय बनेर तरङ्गित हुन्छन् मेरो मानसमा । त्यसपछि आफूले लेखेको त्यो कविता पारिजातको जीवनसँग एकाकार भएझैँ लाग्यो । अनि म चिरनिद्राबाट जागेँ र पारिजातका छायाँछविले मलाई साँच्चिकै यस क्षेत्रमा निरन्तर लाग्ने हौसला दियो । पछि कृतिमा त्यो कविताको शीर्षक नै ‘पारिजात’ राखेँ । अनि मैले त्यसै वेलादेखि साहित्यिक यात्रामा लाग्ने दृढ सङ्कल्प गरेँ ।
त्यस वेला अनेक अवरोध पनि नआएका होइनन्, तर म सधैँ बाधा व्यवधान र व्यस्तताहरूसँग जुध्दै साहित्यलाई साथै लिएर हिँडिरहेँ । यसरी आजसम्म पनि कहिले रमाएर हिँडेँ, कहिले दुःखेर हिँडेँ तर हिँडिरहेँ । साहित्यिक यात्रामा जसरी हिँडे पनि आत्मसन्तुष्टि, आत्मसम्मान र आत्मविश्वाका साथ २०४१ सालदेखि निरन्तर हिँडिरहेछु । कहिले हिँडेर थाक्दा पनि साहित्यको अनन्तयात्रामा म नौलो आयामको अपरिमित सौन्दर्य अनुभूति गर्दैछु ।
‘बिस्कुनले थिचिएका खुसीहरू’ शीर्षकको कविता पहिलोपटक २०४१ सालमा मित्र नारायण तिवारीको सम्पादनमा ‘चाँदनी’ पत्रिकामा प्रकाशित भएको देख्दा म कम्ती रमाएकी थिइनँ । त्यसपछि फाट्टफुट्ट पत्रिकामा मेरा रचनाहरू प्रकाशनमा आउनथाले । यसरी लेख्नु र कार्यक्रममा कविता वाचन गर्नुसँगै विविध विधाका मेरा रचनाहरू छापामा आउनथाले । मेरा कविताहरूलाई समेटेर पुस्तक निकाल्ने कुनै तरिका, योजना र ढङ्ग भने पटक्कै थिएन । यो पनि समयकै कुरो रहेछ, एउटा सुखद् सयोग जुट्यो। कथाकार परशु प्रधानदाइ विराटनगर छाड्ने वेलामा ‘तपाईंको कविताको किताब छापिदिन्छु’ भनेर मसँग कविताको पाण्डुलिपि माग्नुभयो । मैले केही विचार नगरी जथाभावी लेखेका कविताको डायरी जस्तो थियो त्यस्तै उहाँलाई दिएँ । त्यसपछि पनि कहिलेकाहीँ लेखेका कविताहरू पठाइरहेँ । पछि ‘यौटा बाटो खोजिरहेछ जीवन’ नामक कविता–सङ्ग्रह प्रकाशित गरिदिनु हुने परशु दाइलाई मेरो कवितायात्रामा सधैँ सम्झन्छु ।
साहित्यप्रतिको अनुराग नरित्तिने गरी मेरो मुटुको अन्तरकुनामा टाँसिएको छ । सोच्छु युगौँदेखि साहित्यबाट मानिसलाई चेतना दिने, बालकहरूलाई सत्य र इमानदारको भाव पैदा गर्ने लोकप्रिय साधन र सामाजिक चित्रलाई दर्साउने पद्धति होला । नेपाली साहित्य आकाशका ख्यातिप्राप्त स्रष्टाहरूको स्नेह, सामीप्य र आशीर्वचनले मलाई मार्गनिर्देशन प्राप्त भइरहेको छ । साहित्यलाई आत्मसात् गरेकाले आज मैले आफ्नो जीवन अलिकति जान्न सकेँ । यसैले मलाई देश घुमायो, विदेश घुमायो, कहिल्यै नभेटिएका मानिसहरूसँग पनि परिचित गरायो । समयमा सुमसुम्याउने न्यानो स्पर्श र चोटैचोटले रक्ताम्मे घाउका कटुस्मृतिमा मलम बनेर थुप्रै संवेदनशील मनहरूसँग मलाई जोड्ने अजस्त्र साहित्यले मलाई बेफुर्सदी बनायो, सक्रिय जीवन बाँच्ने मन्त्र सिकाउने आत्मिक साथी भैदियो । मेरो जीवनको मूल्य, मान्यता अनि ऐकान्तिकतामा आफ्नो अस्तित्व निर्माण गरेर खुसीको संवाद बाँड्ने समय चेतना र हृदयलाई स्पर्श गर्ने संवेगात्मक भाव चित्र मेरो साहित्यिक कर्म नै ठान्छु । जीवनको सुन्दर चित्र कोर्नेसक्ने साहित्यसाधना नै मेरो मन, मस्तिष्कलाई स्वस्थ राख्ने थेरापीजस्तो सञ्जीवनी भएको अनुभूत गर्दछु । साहित्य लेख्न नथालेको भए सायद म रहने थिएँ कि थिइनँ भन्न सक्तिनँ ।
बत्तीको उज्यालो आफ्नै हातमा हुन्छ तर बत्तीको उज्यालोले संसार हेर्न पुग्दैपुग्दैन भनेझैँ जीवनका अनगिन्ती सपनाहरूसँगै साहित्यमा लागेर रमाइरहेछु । जीवनका ती कठोर दिनहरूमा खुसीखुसी मलाई साथ दिने मेरा छोरीहरू सविना, सरिता र छोरो सञ्जय मेरा लेखनका ऊर्जा भए । हृदयको धुकधुकी छामेर राम्रा, नराम्रा, कोमल, कठोर, अँध्यारो र उज्यालोका कुरा देख्ने आँखीझ्यालजस्तो साहित्यक यात्रामा पक्षीजस्तै स्वतन्त्रताको आभासमा रमाउनु, रुँदा आँसुको भेलजस्तै बग्नु हो भने सौन्दर्य आफैँ प्रतिपादित हुन्छ । सुन्दरता त टाढाबाट राम्रो देखिने तत्व हो । तर सुन्दरता कस्तो हुन्छ भन्ने अनुभव नभए पनि साहित्यिक भावमा आफ्नै प्रकारले छाम्न सकेकी छु । अनुशासन र कत्र्तव्यको साङ्लोले बाँधेर मेरा पखेटाहरू कमजोर बने पनि पाउन आँटेको जीवनको लय भेट्नु आहा ! समुद्रकिनारमा उभिएर एकाकार भएको वेला लहरसँग लहरिने तरङ्ग । साहित्यमा लागेर म आकाशसँग, माटोसँग, जूनसँग, घामसँग, पहाडसँग, पानीसँग, चरासँग, माछासँग, हावासँग, रुखसँग अर्थात् ब्रह्माण्डका हरेक अवयवहरूसँग संवाद गर्नसक्ने भएँ । सबैको भाषा सिकाउने साहित्यको शक्तिलाई म सम्मान गर्छु। जब अक्षरहरू फूल बन्छन्, तब ममा पनि वसन्त–बहार छाउँछ र मन फुरफुर गर्छ । मनले एउटा कुरा चाहँदा शरीरले गर्ननसके पनि अक्षरको साथले सुमसुम्याएका कति ती पल, बिर्सनु कसरी ? अन्ततः चाहनाहरूको सन्दुकमा राम्रा नराम्रा भावनाहरू सारा दुःख–सुखका खोलीहरू यो मनभित्र नै अँटाएर राख्नसक्ने र कसैले नाश गर्न नसक्ने यो साहित्यिक वातावरण नहुनु हो त संसार कस्तो हुन्थ्यो होला?
जबसम्म अक्षर मार्ग हिँड्न सकिनँ तबसम्म म हराइरहन्थेँ, भौतारिरहन्थेँ । यस यात्रामा हिँड्न थालेपछि मलाई केही नकेही भेटिएको अभास भएको छ । त्यसैले जीवनको किताब पहिला आफैँले पढ्नुपर्ने रहेछ । अनिमात्र अरूपढ्न सकिनेरहेछ भन्ने अनुभव हुँदैगयो ममा । पूर्णकालीन समय साहित्यिक यात्रामा लागेपछि मैले मेरो अनु्कूलतामा जहिल्यै साथ दिने साथी भेटँे । त्यसपछिको कुनै लडाइँ लड्न म एक्लै भइनँ । बरु उदार हृदयका अग्रज मानवमनसँग मिसाएर आफ्ना सारा पीडा जसरी पनि पोख्ने शब्दहरूका बाढी भए । साहित्यकै रङले विराटनगरमा मलाई स्नेह गर्ने दिदी देवकुमारी थापा, भाषाविद् बालकृष्ण पोखरेल, गुरूहरू डा. नरेन्द्र चापागाईं, दधिराज सुवेदी, इन्दिरा प्रसाईंलगायतका साहित्य धरोहरहरूसँग गाँसिने अवसर पाएँ । काठमाडौँमा अनिल पौडेल भाइले मेरो साहित्यिक पत्रकारिताका लागि उक्स्याउनु भएकाले मेरो अक्षरमार्गले अर्को इतिहास रच्न पायो । ती दिनहरूमा राजेन्द्र शलभ, विवश पोखरेल भाइको सहयोग पनि सम्झनामा उतिकै छन् । विराटनगरमा मेरो कर्मशील जीवन खुसी र आँसुका तानाबानामा लगभग २५ वर्ष बित्यो । यसरी बिताएको विराटनगरलाई चटक्कै छाडेँ भन्न नसके पनि २०६०, ०६१ सालदेखि पूर्णरूपमा काठमाडौँमा बसाइँ सरेर आएँ।
साहित्यमा रङ्गिनु जीवनको सौन्दर्य मानेर हिँडिरहेँ र हिँडिरहेछु । जीवनबाट अलग्ग हुनै नसक्ने अक्षरको सारत्वसँग हाँसीहाँसी जीवन भर्न सकेर म भरपुर आनन्दित छु । साहित्यलाई यति मन पराएपछि जीवन र साहित्यको तारतम्य के हो कसरी भनौँ अब ? यसको रहस्यमा नअलमलिई अघि बढ्नु नै ठीक होला । साहित्य बालकहरूको तोतेबोलीजस्तो मीठो र निश्छल होस्, निर्मल र निर्दाेष जीवनको गीत होस्, जसमा छलकपट, धोका र लोभ–लालच नहोस् । बालकहरूको क्रियाकलापमा वासन्ती फूल लहराएको जस्तै र शब्दमा ईश्वरको छायाँ होस् र पात्रहरूको पहिचान गर्न अक्षर हुन् । भ्रमको आरोहण नगरी क्षितिजबाट प्रकृतिका सौन्दर्य सौरभको आकलन गर्न सकियोस् । गुलाफ फुलेको देख्दा मदहोस भएझैँ साहित्य संगममा वसन्त–बाहार छाओस् । बस् यति भए पुग्छ ।


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन् ।)
lakshmiuprety@gmail.com