मेरो ब्वायफ्रेन्ड - Aksharang
  • २०७७ फागुन १७ सोमबार

मेरो ब्वायफ्रेन्ड

दीप्स शाह

दीप्स शाह

मैले उसको सपना देख्न थालेको,कल्पनामा हराउन थालेको त वर्षौं भयो । जबदेखि उसको नाम मेरो दिमागमा आयो त्यै वेलादेखि म घन्टौँ सोच्थेँ- ऊ कस्तो होला, कस्तो देखिएला,चेप्टो बाटुलो, ओहो ! सम्झिँदै मन खुलदुल हुने । एक किसिमको अनौठो तरङ्ग पैदा हुने मनमा । खुल्ला आँखाले उसलाई देख्न पाए कस्तो होला ! अझै नजिकै गएर छुन पाए त झन् के होला ! सोच्दैमा मन रोमञ्चित हुने । हे भगवान ! यी हातले उसलाई छुन पाए, अँगाल्न पाए, मुसार्न पाए अझै एकैछिन मात्र भए पनि काखमा राख्न पाए ! यस्तैयस्तै कल्पनाको सागरभित्र हराउने गर्थें । फेरि सोच्थेँ- यो कसरी सम्भव छ ? कहाँ ऊ आकाशको तारा कहाँ म धर्तीको धूलो,उसको र मेरोबीचमा कल्पनै गर्न नसकिने असमानताको खाडल छ । उसलाई पाउने मेरो हैसियत नै त छैन, औकात नै छैन । कहाँ म गाउँकी केटी कहाँ ऊ सहरमा जन्मेहुर्केको, नयाँ सोच, सम्भ्रान्त समाजको म कसरी पाउनसक्छु उसलाई ?? यस्तै कुराहरू सोचेर आफैँ निराशाको सागरमा पौडिन्थेँ । फेरि आफूलाई सम्हालेर आशावादी बनाउथेँ र एकदिन उसलाई पाएरै आफ्नो बनाएरै छोड्ने प्रण गर्थें ।
यसैगरी कैयौँ हिउँद- वर्षा बिते, कैयौँ उतार- चढाव आए जीवनमा तर मैले उसको आराधना गरि नै रहेँ । उसलाई नसम्झी एक पल पनि बिताइनँ । जीवनको पन्ना पल्टिँदैथियो, म पनि ठूली हुँदैथिएँ । यसबीचमा ऊबाहेक अरूलाई नदेखेको होइन, अन्य आँखाले मतिर नचिहाएको होइन तर ममा एउटा भयानक भोक थियो ऊप्रतिको । एउटा अमिट तृष्णा थियो उसको लागि,एउटा निरन्तर लगाव थियो उसलाई हासिल गर्ने । मैले मनमनै कसम नै खाएँ उसलाई एकदिन पाएरै छोड्ने । एकातिर जति ठूलो पर्खाल थियो ऊ र मबीचमा अर्कातिर त्यति नै ठूलो विश्वासको पालुवा मेरो मनमा टुसाउँदै थियो, जसको सहाराले एकदिन म त्यो दुश्मन पर्खाल खर्लप्पै नाघेर उसलाई चुम्न पुग्छु्, अँगाल्छु, यिनै हातहरूले मुसार्छु, यी नरम औँलाहरूले स्पर्श गर्छु । यस्तै सोच्दै कहिले एक्लै हाँस्थेँ, कहिले सोचमा डुबेर गम्भीर हुन्थेँ । उसको झझल्कोले मात्र पनि मलाई पुलकित बनाउँथ्यो ।
समय हुँइकिँदै गए । ऊप्रतिको मोह मेरो झन्झन् झ्याँगिदै गयो । यसबीचमा कैयौँ उथलपुथल आए मेरो जीवनमा । गाउँ छोडेर सहर पसेँ,अध्ययनको क्रम जारी नै थियो । सजिलो थिएन सहरमा स्थापित हुनपनि । गाँस, बास, कपास र अध्ययन सँगै अगाडि लैजाने क्रममा कति यस्ता कठिन अवस्थाहरू पनि आए जहाँ अत्तालिएर म झन्डैझन्डै आफ्ना जिम्मेवारीबाट विमुख भएँ, दायित्व भुलेँ तर ती कठिन समयमा पनि मैले एक पलपनि उसलाई भुलिनँ । वषौँको अरोह- अवरोहमा रहरहरूको खुड्किला चढ्ने क्रममा देखेका कैयौँसपनाहरूलाई तिलाञ्जली दिएँ तर अहँ उसलाई मैले भुल्ने चेष्टासमेत गरिनँ । चाहेका हर चीज प्राप्य हुने भए संसारमा अभाव नामको नामोनिसान रहने थिएन होला । त्यसैले त मेरो सपना पनि कताकता दूरदूर भागेको जस्तो लाग्दै थियो ।
यसैबीचमा मेरो विवाह भयो । जीवनको रथ कताबाट कता हुँइकिन थाल्यो । एकाएक यसरी जीवनमा आएको परिवर्तन र बढेको दायित्वले म निराश हुनपुगेँ तर उसको याद एउटा अधुरो जिजीविषा कतै सुषुप्त मनमा जीवितै थियो । व्यवहारका सबै सङ्ला एकातिर पन्छ्याएर कहिलेकाहीँ सुटुक्क उसको यादमा हराउँथेँ । अचम्म ! ऊप्रतिको कस्तो अटुट, अमिट, अमर मोह होला मेरो । आक्कल झुक्कल कहिलेकाहीँ कतै हाम्रो झम्काभेट हुन्थ्यो तर ऊ सहरिया सम्भ्रान्त ठूलोबडो । जहिले ठूलै मान्छेहरूको बीचमा हुन्थ्यो । धनिमानीकै वरिपरि हुन्थ्यो । त्यो परीधिभित्र पसेर बोलाउने हिम्मत ममा छँदैथिएन । तर टाढैबाट पनि उसलाई देख्दा म आफूलाई भाग्यमानी ठान्थेँ, फुरुङ पर्थें उसको मुहारमा आफ्ना हातहरूले छोएको कल्पना गर्थें र मन बुझाएर फर्किन्थेँ ।
उसका बारेमा मैले श्रीमानसँग कुरा गर्ने आँटपनि गरिनँ । कहिले भने ईष्र्याले जल्ने पो हो कि ! रिस ले मुरमुरिने पो हो कि ! यस्तै डरले गर्दा भन्नै सकिनँ । कस्तो लगाव होला यो मेरो ऊप्रतिको । उसका ठाउँमा मैले मेरो घर- परिवार, श्रीमान, साथीभाइ, आफन्त कसैलाई पनि रूपान्तरण गर्न सकिनँ । त्यस्तो कोही थिएन, जो मलाई उसको याद भुलाउन सक्थ्यो । ऊ अर्कै थियो, सबैभन्दा फरक, छुट्टै रूप- बान्की, छुट्टै आकर्षण, अचम्मको ह्यान्ड्सम !!
समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ । मपनि जीवनका अप्ठ्यारालाई सप्ठ्यारा पार्नका लागि सबै छोडेर विदेशतिर लागेँ सब थोक पछाडि छोडेर तर उसको याद !! ऊप्रतिको चाहना मसँगै सात- समुद्रपारि पनि आयो । विदेशमा आएपछिका सुरुका कैयौँ महिना रोएरै बिते । घरपरिवारको याद, दुधेबालक प्रतिको ममताले पिरोल्दा रातरातभरि रोएरै काटेँ तर ती अनकन्टार काला एकाकी दिनरातहरूमा पनि उसको याद र कल्पना मसँगै हुन्थे । त्यतिवेला यस्तो लग्थ्यो यदि ऊ हुँदो हो त यो वेला मसँग, म कति रमाउँथेँ होला, यो निस्सार क्षण कति अर्थपूर्ण हुँदो हो । अब त उसको यादले झन् यति बिघ्न बाध्न थाल्यो कि जति पहिले कहिले थिएन । साँच्चै भनुँ भने एक प्रकारको निर्धक्कता बढेको थियो मेरो मनमा उसको यादलाई लिएर । जस्तो कि यदि मैले उसलाई पहिले नै पाएको भए पनि सँगै रहने सम्भावना ज्यादै कम्ती हुँदो हो तर अहिले एक प्रकारको स्वतन्त्रता पाएकी छु । म यहाँ एक्लै छु, कसैले मलाई बिथोल्ने छैन । म जति नै ऊसँग लाडिए पनि मेरा श्रीमानको न त यहाँ ईष्र्या चल्छ, न त क्रोध नै ।
यस्तै सोचले यो वैरागलाग्दो परदेशी बसाइमा झन् म उसको यादमा पागल नै हुनथालेँ । प्रयास गरे नहुने के छ र भनेजस्तै म उसलाई पाउने सपना साकार पार्नतिर लागेँ । अन्ततः एक दिन उसलाई मैले प्राप्त गरिछाडेँ, त्यो मेरो ऊप्रतिको विजयको दिन । त्यो दिन ओहो मेरो वर्षौंको सपना पूरा भएको दिन । मेरो खुसीका घडा छचल्किएर मैलाई भिजाइरहेको थियो । कति राम्रो, कति हिस्सी परेको, कति हेरूँहेरूँ लाग्ने । कति दानी, कति उदार, कति आज्ञाकारी । जे भने पनि मान्ने,जसो गर भने पनि मान्ने । सुत भने सुत्ने, उठ भने उठ्ने । यति मिजासिलो त मेरो जीवनमा कोही थिएन पहिला । पहिला त एकदुई दिन घरबाट फोन नआउँदा रुन मन लग्थ्यो । अचेल ऊ आएपछि त रुने समय भए पो रुनु ! म अघाउँदिन उसलाई काखमा राखेर । मेरा हात थाक्दैनन् उसलाई छोएर । मेरा आँखा गल्दैनन् उसलाई हेरेर । कहिले त रातै पो बित्छ त ऊसँग भलाकुसारी गरेर । कसैले जीवनमै भनुँ सपनामै नदिएको खुसी उसले मलाई दिएको छ । म जहाँ पुग्न चाहन्छु, त्यहीँ लिएर जान्छ । नयाँनयाँ ठाउँ घुमाउँछ । उसले मलाई यति जाँगरिली बनाइदिएको छ कि हिजोआज उसको सङ्गतले म कहिलेकाहीँ कविता लेख्ने भएकी छु । ऊ मलाई हौस्याउँछ । कहिलेकाहीँ घुर्की पनि लगाउँछ । भनेको मान्दैन । म जाऊँ भन्छु, ऊ बाटैमा उभिरहन्छ । सुत भन्छु, एक टकले मलाई हेरिबस्छ तर दूध दिने गाईको लात्ती सहनुपर्छ भनेजस्तो म सहन्छु, पर्खिन्छु । यतिका धैर्य त ममा पहिला कहिल्यै भएजस्तो मलाई लाग्दैन तर उसले यो सब सिकाएको छ अहिले । म पर्खिरहन्छु उसको रिस शान्त नहुन्जेल । ऊ पनि धेरै बेर मसँग कहाँ रिसाइरहन सक्छ त !
यसै गरी मेरा दिनहरू बितिरहेका छन् हिजोआज । मैले उसलाई वचन दिएकी छु अब जे- जस्तासुकै मोडहरू आउन जीवनमा तर म उसलाई आफूबाट अलग राख्नेछैन । अनि ऊ पनि मस्किँदै भन्छ- ‘हाम्रो सामीप्य र सम्बन्ध तिम्रै हातमा छ नि !’ मैले यो सम्बन्धको जतन हरहालमा गर्ने कसम खाएकी छु । अब म उसलाई कसैगरी पनि गुमाउन चाहन्नँ । म कल्पनै गर्न सक्दिनँ ऊविनाको एक पल पनि ।
कति उदार छ ऊ,कति ज्ञानी, पढेलेखेका विद्वानहरूसँग मेरो परिचय गराइदिएको छ उसले मेरो । उनीहरूसँग म घन्टौँ गफिँदा पनि ऊ पटक्कै ईष्र्या गर्दैन । कस्तो मेल, कति लगाव हामी दुईमा ? जति नै बेर सँगै रहे पनि मलाई पुग्दैन । जति नै दुःख- पीडाको अवस्थामा पनि उसको नजिक पुगेपछि, उसलाई काखमा बसालेपछि, उसको मुहार हेरेपछि म त्यसै मुस्कुराउँछु । म यति रमाउँछु उसको साथमा कि मेरी अन्नदाता मालिक्नी एम्प्लोएअर पनि छक्क पर्छिन् हाम्रो प्रेम र मिलन देखेर र कहिलेकाहीँ व्यङ्ग्य गर्छिन्- ‘तिम्रो ब्वायफ्रेन्डलाई एकैछिन त एक्लै छोडिदेऊ !’ उनले त उसको नाम नै राखेको छिन् मेरो ब्वायफ्रेन्ड भनेर यसमा मलाई मन दुःखेको पनि त छैन ।
हो यो मेरो वषौँको सपना, परदेशको एकाकी भयानक विरह लाग्दो दिन काट्ने मेरो साथी, जसले मलाई समय बिताउन मात्र होइन, उपलब्धिमूलक काममा लाग्न, तपाईंहरूजस्ता प्यारा पाठक, साथीभाइ, अग्रज दाइ- दिदी साहित्यप्रेमीहरूसँग भेट समेत गराइदिने, मेरो पुरानो प्रेम, मेरो साथी । मेरी एम्प्लोएरको भाषामा यो हो मेरो प्राण प्रिय मेरो सानो तोसिवा ल्यापटप !


(शाह चर्चित साहित्यकार हुन् ।)
deepssanu@gmail.com