पृथ्वीको बकपत्र - Aksharang
  • २०७७ चैत २९ आइतबार

पृथ्वीको बकपत्र

डा. सम्पदा भट्टराई

डा. सम्पदा भट्टराई

पैतालाबाट उचालेर उत्साह,
भरेर मुटुमा हिम्मत र जोश,
चेपे र दरौंदीको किनार छिचोल्दै,
बिषे नगर्चीले बनाइदिएको भोटोको खल्तीमा
घुसारेर एक- मुठ्ठी दृढ सपना
चढाएर देउरालीमा फूलपाती,
छरिएका टुक्राहरू समेट्दै,
छरिएकात्यान्द्राहरू बटुल्दै,
छरिएका थुङ्गाहरू सोहोर्दै,
हिँडेको हो बनाउन सिङ्गो देश !
र जोगाउन,
आँधीले उडाउन नसक्ने,
बाढीले बगाउन नसक्ने,
दुई ढुङ्गाको बीचमा रहेको
एक ढिक्का स्वाभिमान !
अनि
चन्द्रागिरीको टुप्पोबाट,
रगत र पसिनाकाअक्षरहरूले,
एउटै डिकोमा लेखेको हो,
“नेपाल”

नलेखिएको भए यो नाम,
नरचिएको भए यो इतिहास,
बस्ने थियौ शायद,
पराईको पिँजरामा कहीँकतै,
थिचिएर, मिचिएर, मिल्किएर, छरिएर,
बाटेको डोरीबाट निस्किएको त्यान्द्राझैँ,
विशाल नदीबाट उछिट्टिएको भङ्गालो झैँ,
बथानबाट छुट्टिएको भेडा झैँ,
एक्लो..कमजोर…उपेक्षित…
अनि,
कहाँ उचाल्थ्यौ गर्वले शिर ?
कहाँ टेकाउँथ्यौ ढुक्कले पैताला ?
कहाँ उराल्थ्यौ पक्ष- विपक्षका नारा ?

थाहा छ तिमीलाई,
सानो दुःखले आर्जिन सकिँदैन मुलुक,
सानो चेतनाले लेखिँदैन दिव्योपदेश,
सानो विवेकले बन्न सक्दैन मुठ्ठी,
तर किन ?
टिष्टामा बगेर गएछ मेरो पसिना,
पुरिएछ लिपुलेकमा दिव्योपदेश,
सुस्तामा सुस्ताएछ एक टुक्रा सपना,
कालापानीलाई ढाकेछ कालो छायाँले,
कतै निदाएका त छैनौ तिमी ?
कि लठ्ठिएका छौ पराइले पिलाएको मदिरामा ?
बेहोश छौ, ढुङ्गाझैँ लडिरहेछौ,
उठ ! अब जाग्ने बेलाभयो
मस्तनिद्राको भ्रामक सपनाको धूनमा,
पोखिएलान् पोल्टाबाट विपनाहरू
र फेरि बगेर जालान् टिष्टाकै पानीबाट,
फिक्का हुँदै जालान् सिमानाका डोबहरू,
जोगाऊ ! जोगाइराख !! बचाइराख !!!
यो विशाल पृथ्वीमा,
मैले रचेको यो सानो पृथ्वीलाई !!!!


(डा. भट्टराई सक्रिय कवि हुन् )
sampadabhattarai139@gmail.com