किन सक्दिनँ म ? - Aksharang
  • २०७७ फागुन १९ बुधबार

किन सक्दिनँ म ?

अम्बिका अर्याल

अम्बिका अर्याल

किन सक्दिनँ म वाणीमा भाव पाेख्न ?
गुम्सेका अनगिन्ती तर्कका ठेली पल्टाउन ?
जुवाका खालमा थापिएका
अस्तित्व मुठीमा खिच्न ?
हृदयका छालहरू बगाएर शब्दसँग
उसले जस्तै हिम्मतकाे
जङ्घार तर्न ?

एउटै सिरानीमा सुते पनि
किन देख्दिनँ उसले जस्तै सपना ?
किन लजाउँछन् सपनीमा पनि
साट्न नसकेर गुम्सिएका चाह ?
किन थर्थराउँछन्  कल्पना
यथार्थमा ओकलिन ?
किन धर्मराउँछन् सपनीकै गल्तीमा
विपनीका पाइलाहरू ?
किन राेकिन्छ रङ्गीन सपना सम्झँदैमा एक मुठी सास ?

निर्धक्क साँटेर सपनाका रमझमलाई
विपनीमा प्यास मेटाइसक्दा उसले
म आफ्नै सपनीका पाेयाे थपेर
आनन्दकाे डाेरी बाट्न किन सक्दिनँ ?
मनभरि तँछाडमछाड गर्दै बहेका हुरी
शब्द लहरमा साँट्न सक्दिनँ,

लाग्छ, बनेका छैनन् मेरा लागि ती शब्द
जसले भाव ओकल्न सकाेस्
च्यातेर शिष्टताका खाेलहरू
सर्वत्र रवाफ भर्न सकाेस्
निसङ्काेच पाेखिएर समाजमा
चुनाैतीका पर्खाल फाेड्न सकाेस्

कसैका काल्पनिक भाेगाइमा
बलजफ्ती पाेखिएका गलत भाव विरूद्ध
शब्दले अर्जुन वाण ताक्न सकाेस्
निभाएर प्यासकाे अग्नि
रस भाव मेरा छर्न सकाेस्

किन राेकिन्छन् रहर मनैमा मेरा
कथाकथित संस्कारी बनेर ?
किन उड्दैनन् आफ्नै लयमा जीवन
निरीहका जालाे च्यातेर ?
किन खिचिन्छन् तागत ?
किन थुतिन्छन् जिब्राे ?
किन लुछिन्छन् अस्तित्व ?
किन बाँधिन्छन् पट्टी नयनमा ?

किन थपिन्छन् कृत्रिम भारी ?
सबै सबै थुनिएका द्वार भत्काएर
राेकिएका पाइला चालेर
आफ्नै लयमा भाकाहरू घन्काउँदै
खुलेआम मानव बनेर
किन डुल्न सक्दिनँ यत्रतत्र ?
किन सक्दिनँ सत्य निर्धक्क खाेल्न
आखिर आफ्नै वाणीमा बाेल्न
किन सक्दिनँ म ?

समय एकै हाे हामी बाँचेकाे
सभ्यता उही हाे सिर्जनाकाे
लय उही हाे जीवनकाे
भाेगाइ उही हाे मानवकाे
इशारा उही हाे सर्जककाे
सुर, ताल, भाका एकै भएर पनि
नृत्य किन फरक छ ?
एउटै मूल्य किन ताेकिन्न दुईकाे
समान खटन र भूमिकामा पनि ?
जानेरै सबथाेक माैनता साँध्नुभन्दा
लडेर लडाइँ सार्थक जीवनकाे
बाँच्नैका लागि बाँच्न किन सक्दिनँ म ?


(अम्बिका अर्याल सक्रिय कवि हुन् ।)
ambiaryal@gmail.com