तिमी र म - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

तिमी र म

कमला राई

कमला राई

म र तिमी
तिमी र म
म छु र नै तिमी तिमी छौ ।
तिमी छौ र नै म म छु
मेरो यात्रा जहिल्यै तिमीसम्म
र पर्खिरहन्छु तिम्रो आगमन
मसम्म ।
मेरो सबभन्दा ठूलो आकर्षण तिमी
तिमीतिरै बढिरहन्छन् मेरा कदम हर क्षण
मेरो सबभन्दा ठूलो प्रतिस्पर्धी पनि तिमी
मेरो हरेक कदम जोखिरहन्छौ जहिल्यै
तिमी ।
तिमी पूर्ण छौ आफूमा जसरी
पूर्ण छु आफैमा म पनि उसरी ।

यात्राहरूमा, परिस्थितिहरूमा
मेरो बैशाखी तिमी
तिम्रो बैशाखी म
तर मञ्जुर कहाँ छ तिमीलाई
केवल मेरो बैशाखी हुन
न मलाई नै स्वीकार्य छ
तिम्रो बैशाखी मात्र बन्न ।

यात्राहरूमा, परिस्थितिहरूमा
हावा हुन्डरी म थाम्छु भन्छौ तिमी
खेत खलिहान म जोत्छु भन्छौ
ढुङ्गेपहरा मै फुटाउँछु भन्छौ
डढेलो पहिरो मै रोक्छु भन्छौ
म नि के रमिता हेरिरहन्छु र ?
तिमी हावा हुरी थाम्न पसिना बगाइरहेको बेला
म त्यसैको मुहानमा बाँध बाँधिरहेकी हुन्छु
तिमी बञ्जर खेत जोतिरहेको बेला
म झरी बनेर धरती सिँचिरहेकी हुन्छु
तिमीले ढुङ्गा पहरा फुटाइरहेको बेला
तिम्रो बलियो हातको हम्मर म नै हुन्छु ।
डढेलो पहिरोमा जल्ने र भत्कने
म र मेरो अस्मिता सिवाय अरु को हुन्छ र !

यात्राहरूमा, परिस्थितिहरूमा
तिमी उडान भर्छौ आकांक्षाहरूको पखेटाले
म तिम्रा पखेटामा शक्ति भरिरहेकी हुन्छु
तिमी जीवन-युद्धमा लङ्गडो हुन्छौ, अपाङ्ग हुन्छौ
म तिमीलाई हर बखत डोराइरहेकी हुन्छु
तिमी जब देशकोनिम्ति शहीद हुन्छौ
म जीवनभर तिम्रो वलिदानको भारी बोकिरहन्छु ।

यात्राहरूमा, परिस्थितिहरूमा
तिम्रा बाटाका अँध्याराहरूमा हमेशा
म आफूलाई बालेर हिँडेकीहुँ तिम्रो अघि
तिम्रो अहम् को कुरूपतालाई ढाक्न
मैले आफैलाई जलाएर हाँसेकी हुँ तिम्रोअघि
कति कमजोर छौं तिमी र म एकलो एकलो
हात फैलाएर हरबखत दौडिरहन्छौँ एकार्कातिर तिमी र म

तर पनि
यो यात्रामा
तिमी र म
म र तिमी
न तिमी कहिल्यै मसम्म आइपुग्नसक्यौ
न म नै तिमीसम्म कहिल्यै पुग्नसकेँ !


(मिरिक, दार्जिलिङ निवासी राई चर्चित साहित्यकार हुन् ।)
kamalarai1948@gmail.com