आइते विश्वकर्माको बकपत्र (भुजङ्गप्रयात छन्द) - Aksharang
  • २०७७ फागुन १९ बुधबार

आइते विश्वकर्माको बकपत्र (भुजङ्गप्रयात छन्द)

आशिष पाठक

आशिष पाठक

उपल्ला र तल्ला, बने जातजाती ।
ठुलै गर्व गर्छन्, फुलाएर छाती ।
भयो आज कस्तो, अनौठो कहानी ?
जवानी भए चल्छ, चल्दैन पानी ।। १

चलेको छ सारा, कला सीप मेरो ।
सदादेखि मेरै, छ बस्ती अँधेरो ।।
नराम्रो बनेँ, के गरेँ काम त्यस्तो ?।
घृणादृष्टि राख्यौ, दियौ नाम यस्ता ।। २

तिमी नग्न हुन्थ्यौ, लुगा त्यो सिलाएँ ।
उठाएर आवास अग्लो दिलाएँ ।।
बनाएर भाँडाकुँडा आज मैले ।
खुसीले पकायौ र खायौ सबैले ।। ४

म औजार निर्माण गर्थें बिचारी ।
सदा अन्न फल्ने भए खेतबारी ।।
म दिन्थेँ बनाएर भाला, नचाए ।
लडे वीर पुर्खा, सिमाना बचाए ।। ५

म नै व्याप्त तिम्रो छु त्यो जिन्दगीमा ।
कहाँ भाग्न सक्छौ र धर्ती भरीमा ? ।।
कतै विश्व देखिन्छ हामी विनाको ?।
नमूना छ मेरै, कलाकारिताको ।। ६

तिमी पुज्दछौ देव मेरै कलाको ।
म नै सिर्जनाकार हो देवताको ।।
गरेको छ हेलाँ, मलाई समाज ।
न मान्छे, न त्यो देवता बोल्छ आज ।। ७


(पाठक चर्चित कवि हुन् ।)
pathakaashish09@gmail.com