केही सनकी अमेरिकी राष्ट्रपतिको कथा - Aksharang
  • २०७७ चैत २९ आइतबार

केही सनकी अमेरिकी राष्ट्रपतिको कथा

शरद निरोला

शरद निरोला

ससारमा सत्ता तथा राजनीतिको फुटबल खेलाइमा सँलग्न हुनेहरूमा यस्ता कैयौँ व्यक्तित्वहरू थिए र छन् जो मानिसहरूको स्मृतिपटलमा गहिरोसँग कुँदिएका छन् । यस्ता व्यक्तित्वहरूमा कतिपय आफ्नो अद्भुत निर्णय क्षमता, दूरदर्शिता र राजनीतिक सुझबुझका कारण लोकप्रिय भएका हुन्छन् भने कतिपय आफ्नो व्यक्तित्वका नकारात्मक र दुर्बल पक्षहरूका कारण पनि चर्चामा आएका हुन्छन् । आज यस लेखमा अमेरिकाका एक वर्तमान र केही विगत राष्ट्रपतिहरूको बारेमा चर्चा गरिने छ जो आफ्नो व्यक्तित्वपरक कमजोरी वा भनौँ कमीहरूको कारण अमेरिकी इतिहासमा सधैँ चर्चित रहिआएका छन् । हुन त हाम्रै देशमा पनि यस्ता विवादास्पद र सनकी व्यक्तित्वहरू नभएका होइनन् तर तिनका बारेमा सबैलाई सबै कुरा थाहा भएको हुनाले त्यतातिर नगएर थाहा नभएको विषयतिर लागिएको हो ।
पहिलो चर्चा गरिन्छ वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्पको । अब यिनका बारेमा कुरा गरेर साध्ये न नुहाएर उपाध्ये ! ट्रम्प ट्रम्प हुन् र उनको बराबरी कसैले गर्न सक्दैन । संसारमा अलिकति विश्वसमाचारको मेसो राख्ने जोकोहीले पनि उनको नाम नसुनेको नहोला । आफ्नो चार वर्षे कार्यकालमा उनले जस्तो रामलीला देखाए त्यस्तो रामलीला त वास्तविक रामलीलामा पनि देख्न पाइँदैन होला । उनी अत्यन्त विवादास्पद त छन् नै साथै एक नम्बरका ढाँट पनि छन् । सार्वजनिकरूपमा भनिसकेको कुरालाई पछि गएर मैले भनेकै होइन भनेर निर्लज्जतापूर्वक अभिव्यक्ति दिनु पनि उनको वैशिष्ट्य हो । उनलाई प्रचार असाध्यै मन पर्छ र त्यसका लागि उनी सदा तत्पर रहन्छन् । आफ्नो आलोचना गर्ने मिडियालाई उनी फुटेको आँखाले पनि हेर्न सक्दैनन् । समाचार संस्था सिएनएनलाई त उनले ‘फेक न्युज’ को उपाधि नै दिए । पत्रकारहरूलाई ठाडै हकार्नु, आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हेय नामले सम्बोधन गर्नु उनका केही अन्य विशेषता हुन् । अन्तिम अवस्थामा आएर हारिसकेको राष्ट्रपतीय चुनाव पनि हारेकै छैन भन्दै २७ वटा मुद्धा अदालतमा ठोक्ने काम पनि उनले गरे। सङ्घीय अदालत र सर्वोच्च अदालत सबैले ती मुद्धा खारेज गरिदिँदा पनि उल्टै अदालतकै आलोचना गरिरहेका उनी आजसम्म पनि जो बाइडेनलाई विजेताको रूपमा स्वीकार गर्ने पक्षमा छैनन् । उनलाई भोट दिने ७ करोड समर्थकहरूको बलमा उनी २०२४ मा फेरि चुनाव लड्न आउने धम्की दिन्छन् । यिनीदेखि स्वदेशका नेताहरू त तर्सिएका छन् नै, विदेशी नेताहरूसमेत उनीबाट बिच्किएका छन् । ‘अमेरिका महान् बनाऔँ’ र मेक्सिको र अमेरिकाबीच पर्खाल खडा गर्न मेक्सिकोलाई नै पैसा तिराउने नारा बोकेर चुनावी मैदानमा ओर्लिएका उनले अमेरिकालाई महान् बनाउन त परै जाओस् झन् उल्टो विश्वमा लाजमर्नु पारे । अर्कोतिर मेक्सिकोले, हिन्दीमा भनेझैँ, ‘ठेंगा’ देखाइदिएको हुनाले पर्खाल पनि बनेन । उनलाई सामाजिक सञ्जाल ट्विटर कस्तो प्रिय छ भने उनी अधिकांश नीति तथा आफ्ना धारणाहरू ट्विट गरेरै प्रकट गर्ने गर्दछन् । उनका गालिगलौजले भरिएका धम्कीपूर्ण ट्विटहरू दिनहुँजसो आइरहन्छन् । उनलाई धेरै मानिसहरू ‘बुली’ अर्थात् आफूभन्दा सानो वा कमजोरलाई हेप्ने व्यक्ति मान्दछन् ।

अब वर्तमानबाट अतीततर्फ लागौँ । अमेरिकी इतिहासमा बडो गजबको स्वभाव भएका राष्ट्रतपतिहरूले शासन गरेका छन् । अमेरिकाको दोस्रो राष्ट्रपति जोन एडम्स (१७९७–१८०१) को पहिले चर्चा गरौँ । उनी नचिनेका मानिसहरूको सम्पर्कमा बडो असजिलो अनुभव गर्थे । उनी जहिले पनि प्यारानोइड (कुनै अनिष्ट हुन्छ कि भन्ने कल्पना गरिरहने) व्यक्ति थिए । उनी अरूहरूलाई नबोलेरै मौन सजाय दिन्थे । स्वाभाविक कद भए तापनि उनी आफूलाई जहिले पनि फुच्चे छु भन्ने ठान्थे । एकपल्ट उनले सङ्ग्रहालयबाट शेक्सपियरको कुर्सीको एउटा टुक्रा सुटुक्क उठाएर ल्याएर आफ्नो अफिसको टेबलमा राखेका थिए । उनी प्रेस सेन्सरसिपका हिमायती भएकाले पत्रकारहरू उनलाई ‘बूढो, झगडालु, अन्धो, अपाङ्ग, थोते एडम्स’ भन्नेगर्थे ।
चौथा राष्ट्रपति जेम्स म्याडिसन (१८०९–१८१७) सबैभन्दा होचा थिए । उनको कुल वजन १०० पाउन्ड मात्र थियो । उनी सधैँ कमजोर रहन्थे र उनको आवाज अत्यन्तै मसिनो थियो । उनी आफू पाको र बुद्धिमान भएको देखाउन कपालमा सेतो पाउडर लगाउने गर्थे । उनी आफूलाई एक ठूलो वैज्ञानिक हुँ भन्ने ठान्थे र प्रायजसो खरायो मारी त्यसको डाक्टरी चिरफार गर्थे ।
सनकी हुने काममा छैटौँ राष्ट्रपति जोन क्विन्सी एडम्स पनि कम थिएनन् । उनले एउटै ह्याट दस वर्षसम्म लगाए । उनलाई नयाँ ह्याटको कमी थियो र ? तर होइन, उनको हठ त्यही पुरानो ह्याटसँगै थियो जसलाई उनले राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै लगाउँदैआएका थिए । उनी स्यानो कुरामा पनि तुरुन्त माइन्ड गर्ने व्यक्ति थिए । उनलाई धेरै कम मानिसहरूले मन पराउँथे । त्यसैले उनले आयोजना गरेका पार्टीहरू बहिस्कृत हुने गर्थे । कोही पनि नआएपछि तिनीहरूको भर्सेलै परोस् भन्ने सोच्दै बूढाबूढी मात्र पार्टीको आनन्द उठाउँथे । उनले ह्वाइट हाउसमा एउटा गोही पनि पालेका थिए । उनको सनकीपनको अर्को नमुना हो उनको प्रत्येक दिन पोटोम्याक नदीमा नाङ्गैभुतुङ्गै पौडी खेल्न जानु । आफू मात्रै हो र उनी आफ्ना कर्मचारीहरूलाई पनि नाङ्गै पौडी खेल्न कर गर्थे ।
राष्ट्रपति एन्ड्र्यु ज्याक्सन ( १८२९–१८३७) चाहिँ मापाकै थिए भन्दा हुन्छ। उनीसँगै हुर्किएका मानिसहरू भन्थे–‘यदि एन्ड्र्यु ज्याक्सन राष्ट्रपति हुनसक्छ भने जो कोही पनि हुनसक्छ ।’ उनीभन्दा पूर्वका राष्ट्रपतिहरू उनलाई ‘खतरनाक’ र ‘जङ्गली’ भन्नेगर्थे । उनले आफ्नी श्रीमतीलाई दुईपल्ट बिहे गरे । उनको राष्ट्रपतीय शपथ ग्रहणको दिन अचानक दर्शकहरूकामाझ चलेको रक्सीजन्य झडप र त्यसको प्रतिफलस्वरूप भएको तोडफोडबाट भागेर उनी एउटा होटेलभित्र छिर्न पुगेका थिए । उनले राष्ट्रपति भएको पहिलो रात ह्वाइट हाउसमा होइन होटेलको एउटा स्यानो कोठामा बिताए । उनलाई दुइटा गोली लागेको थियो । गोली लागेको बीस वर्षपछि उनले एउटा गोली निकाल्न दिए । अर्कोचाहिँ मुटुको अत्यन्तै नजिक रहेको हुनाले खुत्रुक्कै होइएला कि भन्ने डरले उनले निकाल्न दिएनन् र त्यसलाई उनले जिन्दगीभर पालेर राखिरहे । त्यसको कारण उनको स्वास्थ्य जहिल्यै पनि ठीक रहँदैनथ्यो । उनलाई भाले जुधाउन खुब मन पथ्र्यो, त्यसैले उनले ह्वाइट हाउसमा थुप्रै कुखुरा तथा अन्य पक्षीहरू पालेका थिए । भनिन्छ, उनको एउटा सुगा पनि थियो जो छाडा बोली बोल्नमा खप्पिस थियो ।
सनकी राष्ट्रपतिहरूको पङ्क्तिमा विलियम हेनरी ह्यारिसन (मार्च ४, १८४१–अप्रिल ४, १८४१) अमेरिकी इतिहासमा सबैभन्दा छोटो अवधिका लागि शासन गर्ने राष्ट्रपति भएका छन् । उनले जम्मा ३१ दिन मात्र राज गरे । तर त्यही छोटो अवधिमै पनि उनी आफ्नो सनकका कारण प्रसिद्ध भए ।
निर्वाचित भइसकेपछि उनले इतिहासको सबैभन्दा लामो राष्ट्रपतीय भाषण दिन्छु भनेर ढिप्पी गरे र त्यो बर्फिलो मौसमको दिन, गरमकोट, गलबन्दी र पन्जा नलगाई उनले घन्टौँ धूवाँदार भाषण गरे । त्यसको प्रतिफलस्वरूप उनलाई निमोनियाले समात्यो र त्यसैको कारण एक महिनामै उनको मृत्यु भयो ।
अमेरिकाका ११औँ राष्ट्रपति जेम्स के. पोल्क (१८४५–१८४९) साह्रै नियास्रा भोजभतेर आयोजना गर्नका लागि नामुद थिए । उनका यस्ता पार्टीहरूमा न त सङ्गीतको प्रबन्ध हुन्थ्यो न त सुराकै । नृत्यको पनि कुनै गुञ्जाइस हुँदैनथ्यो । उनीमा कुनै प्रकारको सेन्स अफ ह्युमर थिएन । अत्यन्त खल्ला थिए । उनलाई बैङ्कहरूमाथि पटक्कै विश्वास थिएन । त्यसैले उनी आफ्ना नगद पैसा बोरामा पोको पारी घरमैँ राख्थे ।
अब्राहम लिङ्कन (१८६–(१८६५) को भने धेरै सनकी स्वभाव थिएन मात्र एउटा बाहेक । उनको शासनकालमा उनलाई प्रायजसो मार्ने धम्कीले भरिएका चिट्ठीहरू आउँथे । उनले चिट्ठीहरू दर्जनवटा जति एउटा खाममा हालेर आफ्नो टेबलमा राखेका थिए र प्रत्येकपल्ट अफिस आउँदा त्यस खाममाथि आँखा गाड्दै उनी सोच्थे– मलाई किन कोही मार्न चाहन्छ ?
आजको अत्यन्त आधुनिक विश्वमा राष्ट्रप्रमुख वा सरकारप्रमुखहरूको वस्त्रालय एकसे एक डिजाइनर वस्त्रहरूले भरिएका हुन्छन् । पुरानो जमानाको अमेरिकाको कुरा गर्दा त्यसवेला पनि त्यसवेलाको फेसनअनुसार नै लुगा सिलाइन्थे होला । तर १७औँ राष्ट्रपति एन्ड्र्यु जोन्सन (१८६५–१८६९) भने इन्द्रेका बाबु चन्द्रे आए पनि बाहिर बनाएर ल्याइएका लुगाहरू लगाउँदैनथे । उनलाई सिलाइ–बुनाइ राम्ररी आउने भएकाले उनी आफ्ना राष्ट्रपतीय पोसाकहरू आफैँ सिउँथे ।
त्यस्तै, युलिसिस ग्रान्ट आफैँमा विरोधाभासपूर्ण थिए । बाबुले सम्पति अंशबन्डा गरेर दिँदा यो मैले कमाएको होइन, म लिन्नँ भन्थे । उनी अत्यन्त कम बोल्थे त्यसैले कुनै समारोहमा उनलाई बोल्न अनुरोध गर्दा उनले भनेका थिए–‘म उठिरहेको छु (सिटबाट) ता कि यो भन्न सकूँ कि मलाई केही भन्नु छैन ।’
सायद यो विश्वसनीय लाग्ला नलाग्ला तर बीसौँ राष्ट्रपति जेम्स ए. गार्फिल्ड (मार्च ४, १८८१–सेप्टेम्बर १९, १८८१) मानिसहरूलाई अभिवादनको जवाफ दिँदा कुकुरलेझैँ भुक्ने गर्थे । उनको कुकुरको नाम भिटो थियो र उनी त्यसैको भाषा सिक्ने कोसिस गर्थे भनेर मानिसहरू ठट्टा गर्थे । थियोडोर रुजभेल्ट (२६ औँ, १९०१–१९०९) पक्का रोमान्टिक थिए भन्दा हुन्छ किनभने उनी ‘विवाहमा सजिएकी प्रत्येक दुलहीजस्तै’ र ‘मलामीमा लगिएको प्रत्येक शवजस्तै’ विशिष्ट हुन चाहन्थे । आफ्नो धुनका उनी कस्तो पक्का थिए भने उनीमाथि गोली प्रहार गरिँदा पनि अस्पताल नपुर्याउञ्जेल उनले आफ्नो भाषण जारी राखे ।  भनिन्छ, दिनको एक घन्टा उनको हाँस्ने आदत थियो ।
त्यस्तै, विलियम ट्याफ्ट (२७ औ, १९०९–१९१३) पनि कम थिएनन् । आफ्नो ३३२ पाउन्डको भारीभरकम शरीरको कारण उनलाई अमेरिकाको सबैभन्दा स्थूल राष्ट्रपति मानिन्छ । त्यस्तो विशालकाय शरीर हुँदा पनि उनलाई सर्फिंग गर्नुपथ्र्याे, नाच्नु पथ्र्यो अनि टेनिस खेल्नु पथ्र्यो । एकपल्ट उनी बाथटबमा अड्किएर निस्कन नसक्दा ह्वाइट हाउसका स्टाफलाई आच्छुआच्छु परेको थियो ।
उदेकका सोख पाल्नेहरूमा क्याल्भिन कुलिज पनि पर्छन् जो सधैँ काँधमा राकुन (एकप्रकारको ढाडे बिरालोजस्तो देखिने जनावर) राखेर हिँड्नेगर्थे । त्यस्तै फ्रंक्लिन रुजभेल्ट समयका कस्ता पाबन्द थिए भने उनले आफ्नो कार्यालयमा ९ वटा घडी राखेका थिए।
अब पालो आउँछ ३६ औँ राष्ट्रपति लिन्डन बी.जोन्सनको ( १९६३–१९६९)। राष्ट्रपति जोन केनेडीको हत्यापश्चात् रिक्त रहन आएको राष्ट्रपतिको पदमा उपराष्ट्रपतिको नाताले उनले प्रवेश पाए। उनको टेम्पर अत्यन्तै कडा थियो त्यसैले उनी जोसँग पनि झनक्कै रिसाइहाल्थे । उनी अरूमाथि सधैँ आफ्नो व्यक्तित्वको रोब जमाउन खोज्थे । उनका सहायकहरू उनको मूडको मापन उनले दिनभरिमा कतिवटा पेन्सिलको टुप्पा भाँचे त्यसबाट लगाउने गर्थे । उनी खानमा अति लुब्ध थिए अर्थात्, अर्को तरिकाले भन्नुपर्दा, खानाका सोखी थिए र त्यस काममा उनलाई कुनै लाज लाग्दैनथ्यो । सबैका अगाडि, उनलाई मुड चल्यो भने ढ्याउढ्याउ डकार्थे पनि। भोजभतेरहरूमा दायाँ–बायाँ बसेका व्यक्तिहरूका प्लेटबाट सुटुक्क खाना झिकेर उनी आफ्नो प्लेटमा राख्थे। आफ्नो पार्टीमा आएका महिलाहरूलाई स्वागतका रूपमा म्वाइ खाँदाखाँदा उनको अनुहारभरि लिपिस्टिकको छाप बसेको हुन्थ्यो ।उनी पनि सनकी थिए भन्ने कुराको एउटा प्रमाण के हो भने इटलीको भ्रमणमा जाँदा क्रिस्चियनहरूका धर्मगुरु पोपले उनलाई चौधौँ शताब्दीको एउटा अत्यन्त महङ्गो पेन्टिङ् उपहार दिँदा उनले चाहिँ पोपलाई लिन्डन् बी. जोन्सनको (आफ्नै) फ्रेमजडित तस्बिर दिए।
लिन्डन जोन्सनलाई सुन्दर आइमाई मनपर्ने हुनाले उनले ह्वाइट हाउसमा सुन्दर महिला सेक्रेटरीहरू राख्थे । उनलाई बात मार्न अति नै मन पथ्र्यो, त्यसैले उनले ह्वाइट हाउसभरि टेलिफोनको जाल नै बिछ्याएका थिए । त्यति मात्र होइन, उनले आफ्ना कार, बोट (नौका), हावाजहाज, स्विमिङ्ग पुल र बाथरुममासमेत टेलिफोन जडान गर्न लगाएका थिए ताकि उनलाई बात मार्न सजिलो होस् । बाथरुममा भएकाले घन्टी बजेको सुनिएन भनेर कसैले भन्नै नसक्ने स्थिति उनले बनाइदिएका थिए।
अमेरिकाका ३८ औँ राष्ट्रपति जेराल्ड आर. फोर्ड (१९७४–१९७७) पनि अचम्मकै थिए । अफिस टेबलमा बस्दा उनको दाहिने हात चल्थ्यो भने उभिएको अवस्थामा देब्रे । अमेरिकी इतिहासमा उनी मात्र यस्ता राष्ट्रपति हुन् जसले आफ्नो लागि जोक्स मात्र लेख्ने सहायक भर्ना गरेका थिए । राष्ट्रपतिका लागि केवल जोक्स लेख्नुबाहेक उसको अरू कामै हुँदैनथ्यो ।
यसरी संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय इतिहासमा कैयौँ व्यक्तिहरू राष्ट्रपति हुन आए जो आफ्नो असामान्य स्वभावको कारण सदा चर्चाका पात्र बनिरहे । यिनमध्ये कोही आफ्नो शारीरिक असमर्थताका कारण त्यस्ता स्वभाव धारण गर्थे भने कोही आफ्नो सनकीपनका कारण । जेहोस् अमेरिकी राजनीतिक क्षेत्रमा जहिले पनि कुनै न कुनै आश्चर्यजनक कुराहरू भइरहनु यस देशको परिपाटि रहिआएको छ ।
(तथ्य साभारः क्याथलिन क्रल तथा क्यादरिन हिविटलिखित पुस्तक ‘लाइभ्स अफ द प्रेसिडेन्ट्स– फेम, शेम, एन्ड ह्वाट द नेबर्स थट्’)


(हाल मेरिल्यान्ड, अमेरिकानिवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् )
snirola7@gmail.com