मुटु छ भतभती- म के गरौँ ?? - Aksharang
  • २०७७ फागुन १९ बुधबार

मुटु छ भतभती- म के गरौँ ??

लक्ष्मण नेवटिया

लक्ष्मण नेवटिया

कसैका लागि,
यो अवसर जुटेको छ,
फसाउन- पोखरीका सबै माछा
आफ्नै जालमा ।
कोही लागिपरेका छन्
राजनीतिको ‘बुद्धिचाल’ मा
यता जनता छन् बेहालमा-
म के गरौँ ?

दुनियाँ हाँसिरहेको छ,
हेरी दिनहुँको तमासले
माछा छटपटाइरहेको छ
पानीमै प्यासले
भएर विभेद अति-
रहेर सत्ताप्रति रति,
बिग्रेर मति-
भएको छ यो गति
मुटु- ‘भित्र- भित्रै’ जलेर
छ भतभती-
म के गरौँ  ??

घाइते छ मेरो स्वाभिमान-
म के गरौँ ?
चोटिल छ मेरो आत्मसम्मान-
म के गरौँ  ?
लेख्न त पटक्कै म
चाहँदिन यी शब्दहरू,
आज लेख्नु नै पर्ने भयो-
म के गरौँ ?

स्वादिला, पोषिला, तुक्का- उखानले
बल्दैन चुल्हो, भरिँदैन यो भूँडी-
‘भाषणमुखी ज्ञान’ ले
म के गरौँ  ?

अभावै अभावले गाँजेको छ प्रत्येक क्षण
निसास्सिएर आत्तिएको छ यो जीवन,
म के गरौँ ?

शान्ति, समृद्धि, विकासका कुरा
भोटेताल्चा लाएको कन्तुरमा,
खाट मुन्तिरबाट
हचुवा तालमा,
हठात् बलात् लादिएका निर्णय
लादी हिँड्नुपर्ने सिरमा-
म के गरौँ ?

पुर्खाको पुरुषार्थले आर्जेको,
अखण्ड स्वतन्त्रताको-
उज्ज्वल इतिहास छ हाम्रो !
जनता पनि राम्रो,
देश पनि राम्रो
तर स्वार्थी वृत्तिले-
ठूलो भयो क्षति-
म के गरौँ ?

वेदना छ मनमा,
यातना छ तनमा
मिस्री घोली- मधुमय बोली
अरू पर्ख भोलि!
यो- ‘भोलि- भोलि’ सुन्दै
रित्तिएको छ झोली ।
रिसाउँदा पनि भएन,
रिझाउँदा पनि भएन-
म के गरौँ ?

कहिले यिनको विश्वासमा,
कहिले उनको आशमा-
पर्खंदा- पर्खंदै
लडखडाउन थालेका छन् पाइला,
आफ्नै मझेरीमा-
म के गरौँ  ?

दरिलो मेरो देशको
भ्रमित भएर दिशा
उकुस- मुकुसले बिग्रेको छ दशा-
म के गरौँ  ?


(विराटनगरनिवासी नेवटिया स्थापित कवि हुन् ।)
nevatialk@gmail.com