सपनाको संसार जहाँ ऐठन मात्र छ - Aksharang
  • २०७७ फागुन १७ सोमबार

सपनाको संसार जहाँ ऐठन मात्र छ

मञ्जु विमली

मञ्जु विमली

समयको दासतासँगै हुर्किएको जीवन कहिले प्रेमको पारिला घाममा लुटपुटियो । कहिले प्रेम प्रणयको वासनासँगै तरङ्गित भयो । कहिले वासन्ती पवनसँगै प्रवाहित हुँदै पनि विशाल पीडाका सागरमा पौडियो । जीवन- बाँच्ने क्रममा सुखको अपेक्षा गर्दै, अभावका पोकापन्तुरा बोक्दै, दुःखका छिटा-बाछिटा तर्काउँदै, समयले टेकेका पीडाका डोबहरू कुल्चँदै, अविरल यात्रामा अलमलियो । आज पनि अझै उस्तै छ जीवन । जीवनको अर्थ बुझ्न खोज्दैगर्दा बगेका आँसु अनि सम्झनाका विम्ब- प्रतिविम्बहरू नाकैअगाडि आएर ठोक्किइ रहन्छन् ।
यो जिन्दगी आफैँ एउटा ठूलो पुस्तक नै भइरहेछ । पुस्तक पढ्न सकिन्छ तर जीवन पढ्न कति गाह्रो । मान्छे पढ्न झन् कति मुस्किल । मान्छेकै चरित्र हो जहाँ नीतिका कुरादेखि प्रीतिका कुरासम्म हुन्छन् । म अहंदेखि त्याग र समर्पणसम्ममा होमिँदै परदेसिँदा आँखाभरि सपना र विपनाको घमासान युद्ध लड्दै थिएँ । आमा र माटोको मायावी न्यानो झरीले निथु्रक्क भिजेको मन सुखद जीवनको कामना र चाहनाको अन्यौलमा थियो । डाको छोडेर रुन मन लाग्थ्यो कहिले त ।
सन्दर्भ नोकरीकै हुन्छ जहाँ पनि । हुन त धेरै वर्षअघिदेखि नै नोकरीसित नाम जोडेर आएकी पनि हो । जागिर पाइने आशा र रहरमा एसएलसी सकेपछि ग्रामीण स्वास्थ्य स्वयंसेविकाको तालिम लिएर गाउँमा सेवा पनि गरेँ । गाउँलेहरूको घाउ पुछेर दबाई लगाइदिइरहँदा ‘यो नानी त डाक्टर पो भएछ’ भन्थे । यो सुन्दा गर्वले छाती फुल्थ्यो अनि सेतो कोट लाउने सपना देख्थेँ । सपना पनि छिप्पिदै जाँदैथिए उमेरसँगै ।
समय, देश, काल, परिस्थिति उस्तै रहेन । रहोस् पनि कसरी ?उच्च शिक्षाका लागि घर छाडियो । खाजासामलका झोलामा ठूला आकाङ्क्षा र सपना कोचेर । पढाइ गर्नु पहिलो काम थियो तथापि काम नगरी काठमाडौँमा बाँच्न मुस्किल थियो । दुःख- सुख र सङ्घर्ष गरेर पढाइ पनि पार लाउँदैथिएँ । कामको खोजी पनि गर्नु थियो । शिक्षण पेसाभन्दा अरू विकल्प थिएन । खोज्दैजाँदा त्योभन्दा छिटो एउटा सानो होजियारी कम्पनीबाट सुरुवात भएको थियो मेरो जागिरे जीवन ।
आइए पास गरेपछि सरकारी जागिर खाने इच्छा तीव्र थियो । तत्कालै नपाए पनि पछिसम्ममा केही न केही त पाइएला भन्ने आशामा थिएँ । विभिन्न ठाउँमा खुलेका विज्ञापन हेरी फारम भरेर पढ्न थालिहाल्थेँ । लाग्थ्यो, मेहनत गरेर पढे एक न एकपल्ट त कसो पास नहोइएला ।
असफल हुँदा पनि त्यति दुःख लाग्दैनथ्यो । बाआमाको अर्ति याद आइहाल्थ्यो- ‘जीवनमा कहिल्यै हार नमान्नु, असफलता नै सफलताको प्रतीक हो ।’बाआमा टाढा भए पनि सँगै भएको सम्झिरहन्थेँ । कहिलेकाहीँ लाग्थ्यो, देशमा सानोतिनो लगन र धैर्यले मात्र काम बन्दैन । जहाँ बोली बिक्थ्यो, नातावाद, कृपावाद चल्दथ्यो । तैपनि परीक्षा दिन छोडिनँ । सामाजिक संस्कारअनुरूप विवाह बन्धनमा पनि बाधिएँ । जीवनको गाडी गुडि नै रह्यो, कहिले पिचरोड, कहिले ग्य्राबल बाटो हुँदै ।
त्यही वेला अस्थायी कर्मचारीको रूपमा दर्ता हुने अवसर प्राप्त भयो सरकारी कार्यलयमा । लोकसेवा पास गर्न सकिरहेकी थिइनँ । अस्थायी जागिर, सधैँको धरमरधरमर । लोकसेवा पास गरेका व्यक्तिहरू अरू पदको लागि नियुक्ति लिएर आएको देख्दा आफ्नो जागिरको पनि आयु लामो छैन भन्ने लागिरहन्थ्यो । कुन दिन ‘सेवाको लागि धन्यवाद भनेर’ पत्र थमाइदिने हो भन्ने डर लागिरहन्थ्यो ।
बसाइकै क्रममा झन्डै दसवटा वसन्त बिते बेलायतमा । अनेक विषम परिस्थितिको सामाना गर्दै एउटै अस्पतालमा झन्डै आठ वर्ष बित्यो काम गर्दै । काम फेर्न मन भए पनि सकिरहेकी थिइनँ ।
‘काम पाउन गाह्रो त्यसलाई टिकाउन झन् गाह्रो ।’
धेरै मेहनत गर्नुपर्ने काम । गाउँघरमा हलो- कोदालो गरेजस्तो सजिलो थिएन । सरसफाइमा चलाएका केमिकल र अस्पतालको गन्धले प्रायः दुखिरहन्थ्यो मेरो टाउको । प्रायः उभिएरै लगातार गरिरहने कामले कम्मर दुखेर छिन्लाझैँ हुन्थ्यो ।
नियमित कामबाट बिदा लिँदै आफ्नो योग्यता बढाउने सिलसिलामा डेन्टलसम्बन्धी अध्ययन गर्ने बाटो रोजेँ । सामान्य अङ्ग्रेजी जान्ने मैले कसरी पार लगाऊँला र भन्दैगर्दा जादुमय तरिकाले मैले डेन्टल बोर्डको परीक्षामा सफलता हासिल गर्दा म आफैँ छक्क परेकी थिएँ । विदेश गएर नै आङमा सेतो कोट लगाई बिरामीको सेवा गर्न पाउँदा आफ्नो सपना पनि पूरा भएको अनुभूति हुन्थ्यो । पछि नेपाल आएपछि आफ्नो देशमा पनि सेवा गर्ने रहरले काम गरेँ केही वर्ष ।
लाग्दैथियो,‘जीवनमा घटनाहरू सबै अकल्पनीयरूपमै आउने रहेछन् ।’नसोचेकै भैरहेको थियो साँच्चिकै ।
काठमाडौँ बस्ने रहरै नपुगी सबैले सपनाको स्वर्ग मानेको अमेरिकाको लागि ढोका खुल्यो । बेलायत बसिसकेकी मलाई विदेशको मोहभन्दा पनि अर्काे धु्रव अमेरिकाबारे केही उत्सुकता, कौतुहलतासाथै तनाव सबै एकै भाँडोमा थिए । निकै महिना बितिसक्दा पनि अन्योलको बादल उघ्रिएको थिएन । कुहिरोको कागजस्तैभएकी थिएँ म ।
सार्वजानिक यातायातको साह्रै सुविधा । हरेक पाँच मिनेटमा ट्रेन- बस आउँथ्यो । दुईतले गाडीमा चढेर आनन्दले बसिदियो र समयमा काममा पुग्यो, कुनै तनाव हुँदैनथ्यो । आफ्नै साधन हुनु जरुरी थिएन बेलायतमा । तर अमेरिकामा त्यो सुविधा थिएन । हातमा कारको चाबी भए पनि सधैँ पातमाथि ज्यान राखेर हिँड्नु पथ्र्याे । काममा एक्लै पुग्नसक्ने हुनसक्नुपथ्र्याे । पहिले त आफँै गाडी हाँक्नसक्ने क्षमतावान हुनपर्यो । गाडी सिक्न पाउने अनुमतिपत्र पाउन सजिलो थिएन । पूरा समय दिएर यो सबै व्यवस्था मिलाइ दिनुहुने दाजु राम विमलीप्रति कृतज्ञ छु । नतमस्तक छु ।
सुरुका दिनमा एउटा सब- वेमा काम सिक्ने मौका मिल्यो । जीवनमा पहिलोपल्ट देखेका खानाहरूको नाम जान्न सजिलो थिएन । त्यो कम्पनीकी मालिक्नीको नाम सम्झँदा पनि त्रसित हुन्थ्यो मन । निद्रामा पनि खानाका नाम र बनाउने तरिका सिकिरहेकी हुन्थेँ । झस्किँदै रटिरहन्थेँ । भित्तामा टाँसेको कामको सेड्युलमा बल्लबल्ल आफ्नो नाम परेको देख्दा अत्यन्त हर्षित भएकी थिएँ । विविध कठिनाइभित्रबाट डलर दुहेर निकाल्न निकै मुस्किल थियो ।
त्यहाँको ज्याला दिने प्रणाली बुझ्न पनि कैयौँ दिन लाग्यो । हरेक दुई हप्ताको तलबको चेक पाइन्थ्यो । पाएको पैसाले आधरभूत आवश्कता पूरा गर्नै पनि नपुग्ने थियो । एकजनाको कमाइले तीन जनाको पेट पाल्नुथियो, बचाउन त झन् कहाँ हो कहाँ ।
बेलायतमा आर्जन गरेको ज्ञान, आफ्नो योग्यता र क्षमताअनुसारको काम पाउने स्रोत पत्ता लगाउनै गाह्रो । त्यो सब- वेभन्दा अर्काे विकल्प पनि देखिएन त्यहाँ । चिनजानका मान्छेप्रायः सब- वेमै काम गर्ने रहेछन् । या त ग्याँस स्टेसनमा ।
धरावासीजीको खुट्टाको समस्या थियो । बुद्धिले भन्दा बलले गर्नुपर्ने काम प्रायः उभिएरै । खुट्टा दह्रा चाहिने । लेखकलाई जेलजत्तिकै भयो घर बसाइ । कहीँ जानु थिएन । मेरो कामको बेठेगान र उहाँकोदिनभरि घर बसाइलेगर्दा नैराश्यले छुन थालिसकेको थियो । भेला भएपछि एकअर्कालाई हेर्दै भावुक हुन्थ्यौँ । दुवै भन्थ्यौँ- ‘यो हाम्रो रहर होइन, बाध्यता हो ।’अवाक् थियौँ ।स्थिति तनावपूर्ण हुन्थ्यो । त्यहाँकोअवस्था देखेर अरू साथीहरूको सल्लाहमा अलिक बाक्लो नेपाली समुदाय साथै कामको अवसर भएका ठाउँतिर सर्ने मनस्थिति बनाउनु भएछ उहाँले । नेपालबाट दोस्रोचोटि अमेरिका पस्दाखेरिपुरानो ठाँउमा नगईकन भर्जिनियातर्फ ओर्लनुभयो ।
उहाँ केही समय बसेर त्यहाँको वातावरण बुझेपछिमैले पनि सानो छोरासहित भर्जिनियातिरै जान झोला कसेँ । ‘आफन्तको काख छाडेर जानु छ, अझै झन् गाह्रो हुने पो हो कि !’ डर लागिरह्यो । गह्रौँ मन पारेर बिदाइका हात हल्लाएँ र लागेँ अर्काे स्टेटतिर । त्यहाँको वातावरण बुझ्न केही समय लाग्यो नै । ‘ताईको माछा भुङ्ग्रोमा परे जत्तिकै हो अमेरिकामा एउटा स्टेटबाट अर्काे स्टेटमा सर्नु, अझ त्यसमा पनि भर्जिनिया पस्नु भनेको’ भन्थे अरू । झन्डर लाग्थ्यो । त्यस्तै पनि लाग्थ्यो प्रारम्भमा ।
माकुराको जालोझैँ बाटाहरूमा गाडी कुदाएर खानु भनेको ठूलै जोखिम उठाउनु थियो । लामो ड्युटीमा सङ्घर्ष गर्दागर्दै मेरो ढाडको नशा चेपिइसकेको थियो अलावामामै । पछाडिपट्टिकम्मरको बीचमा दुखिरहन्थ्यो । हुँदाहुँदा दाहिने खुट्टातिर सरेर भुइँमा टेक्दा आगोले पोलेको जस्तो झनननन झन्किइरहन्थ्यो । हरेकपल हातले हिर्काइरहनुपर्ने तिघ्रामा । लाग्थ्यो बटुकामा पानी राख्यो भने पनि उम्लिेलाजस्तो । सुत्दासम्म पनि आराम भएन । निदाउनै गाह्रो । तनावले सधैँ टाउको दुखिरहन्थ्यो । पेन किलर खाँदै उज्यालो पार्न खोज्थेँ अनुहार । ऐनामा आँखा पुगे भने पनि रुन मात्र आउँथ्यो ।
स्टेट फेरेपछि स्वास्थ्य इन्सुरेन्स पाउन नौ महिना लाग्नेरहेछ । चेकजाँच गर्न जान पाइएन । प्राइभेटमा जाँदा खर्चले धान्न नसकिने । एकपटक त गएँ पनि । परामर्शका लागि मात्र चार सय डलर तिरेर आएँ त्यस अभावको वेला । अनि खालि दुखाइ कम गर्ने दबाईकिनेर खाँदै काम खोज्नका लागि मनलाई बलियो बनाउँदैगएँ । काम गर्नैपर्ने बाध्यता थियो । जबरजस्ती अनुहारमा खुसी बटुलेर कामको खोजी गरेँ । अनलाइनमा जति फारम भरे पनि कहिल्यै बोलाएन । अन्त्यमा पर्शुराम भण्डारीको सहयोगले भर्जिनियामा पहिलो कामको थालनी गरियो ।
एउटा अमेरिकन पन्जाबी परिवारमा मैले काम पाएँ बच्चा हेर्ने । अन्तरवार्ताको लागि पुग्दा काखीमा नानी च्यापेकी युवतीले ‘आन्टी बच्चा धेरै ज्ञानी छ, दुःख दिदैँन’ भन्दै आफ्नो बच्चाको गुणगान गाउन लागी । आफ्नो बच्चा कसलाई मन पर्दैन र ? हेर्दा पनि फूलजस्तो सुन्दर बच्चा देख्नेबित्तिकै मलाई पनि मनपर्यो तर उनीहरूलाई पनि म मनपर्नु पर्यो नि ! दुई हप्तापछि मात्र काम थाल्नु थियो । घर बसुन्जेल त्यही बच्चो आइरह्यो दिमागमा ।
त्यहाँ पुग्न मूलसडकमा निकै जोखिम मोलेर बाटो काट्नु पथ्र्यो । बगेको खोलोझैँ अविरल आउने गाडीहरूबाट जोगाएर लानुथियो आफ्नो गाडी । बानी हुनका लागि सुरुमा एउटै बाटो धेरैचोटि ओहोरदोहोर गरेँ । बाटो देख्न सजिलो पार्ने साधन रहेछ जिपिएस भन्ने । सबैका सल्लाहमा किनेर पुग्नुपर्ने ठेगाना सेट गरियो । कति सजिलो भयो भयो । पुरानो ठाउँमा त्यसबारे जानकारी नै थिएन ।
काम सुरु भयो । एउटा केराको कोसो र स्याउ झोलामा हालेर गाडी चलाएँ जानलाई। बिहानको आठ बज्दा पखिस्रहेका हुन्थे, हिँड्न तयार गर्दै आफनो काममा उनीहरू । ढोकाको लक खुल्लै हुन्थ्यो प्रायः मेरा लागि । सरासर भित्र पसी हात धोएर भान्सामा लागिहाल्नुपर्ने, शुभ बिहानीको अभिवादनसँगै । उनीहरूलाई नास्ता र दिउँसोको लागि खाना बनाइदिन हतारहतार गर्नुपर्छ । ठूलो तीनतले घर थियो । म भान्सामा हुँदा दोस्रो तलाबाट साना केटाको आवाज पनि ठोक्किरहन्थ्यो मेरो कानमा । अघि उठिसकेको हुन्थ्यो ऊ । बिहान बाबुआमालाई अल्झाइरहन्छ, तयार हुन दिँदैन । छोड्छन् भन्ने पनि बुझेको हुँदो हो । प्रायः उसलाई छक्याँउदै तयार हुन्छन् । मायालु भाकामाउसलाई भन्छन्- ‘गो डाउन् आन्टी इज हिअर ।’ ऊ मान्न तयार हुँदैन । एकछिनपछि छोड्छन् भन्ने उसलाई डर र चिन्ता छ । आफ्ना बाआमा हुँदा हुँदै को मान्छ त अर्कासँग ।
मान्छे जन्मेपछि उसको जीवन सुरु हुन्छ रुनुबाट । सानो छउन्जेल रोइदियो, घुर्की लगायो भनेको जस्तो नपुर्याइदिए भुइँमा लडीबुडी गर्दियो । आहा ! कति मज्जाका दिन । आफूले पनि त्यस्ता दिन काटेँ हुँला र ? जस्तो लागिरहन्छ । परिस्थिति पृथक थियो । होस सम्हालेदेखिका ती दिन सम्झँदा पनि कति आनन्द ! पहाडमा जन्मियो,काम गर्नसक्ने हुन नपाउँदै धेरै आइसकेका थिए जिम्मेदारीहरू । अहिलेका बच्चाको जस्तो कहाँ थियो हाम्रो समय ? घर बाहिर र भित्रको काम । यो त अमेरिकी बच्चो ।
श्रीमान्, श्रीमती र सानो छोरो भएका यिनीहरूका कहिले को कहिले को पाहुना आइरहन्छन् । कोही लामो समयसम्म बस्छन् पनि । आमाबाउ आउँछन् इन्डियादेखि । मैले त्यहीँ काम गर्दागर्दै रोटी पकाउन सिकेँ । त्यस्तै विभिन्न परिकार पनि पकाउन सिकेँ । मैले कहिल्यै पनि यो मात्र मेरो काम हो भनिनँ । मेरो इमानदारी देखेर उनीहरू कहीँ घुम्न गए पनि केही न केही ल्याइदिन्थे । बोली नै नफुटेको सानो नानी बिस्तारै तोते बोल्न थाल्यो । दिनभरि आफैसँग भएको हुनाले उसले मलाई बोलाउँदा पनि ‘मम्मा’ भनेर बोलाउँथ्यो । मलाई उसले भनेको त्यो शब्द सुन्दा आफ्नै छोराको याद आउँथ्यो । भरखर बोली फुट्न थालेको बच्चालाई छाडेर बेलायत गएको याद आउँथ्यो । अहिले त ऊ हुर्किएर ठूलो भएको आफैँसँग थियो तर उसको बालककालको त्यही समयको अनुभवचाहिँ दुर्लभ थियो ।
बेलायत छँदा जर्ज र डाफ्नी ह्यारिसले अचम्मसँग मनाइदिएको मेरो जन्मदिन मानसपटलबाट कहिल्यै नगएजस्तै सिम्रनहरूले पनि मनाइदिएको जन्मदिनको सम्झना दिमागमा अझै छँदैछ । कामका सुरमा आफ्नो जन्मदिन बिर्संदै गरेको वेला आफैँले हेरेको सानो बच्चाले जन्मदिनको शुभकामना भन्दै हातमा खाम दिएको अनि सिम्रनले फलफूलको केक काट्न लगाएर भावविभोर बनाएका थिए । उनीहरूले मलाई कहिल्यै पनि काम गर्ने मान्छेका रूपमा हेरेनन् । आफ्नो परिवारको सदस्यझँै व्यवहार गरे । आन्टी सम्बोधनबाट सुरु भएको त्यो नाता अहिलेसम्म पनि कायमै छ ।
त्यत्तिका असल परिवार भेटिइरहँदा बेलायतमा हुँदा घनी नामकी एक पाकिस्तानी महिलाकहाँ काम गरेको याद आउँथ्यो । त्यो जत्ति दुच्छर त कुनै महिला पनि भेटेको छैन ।
दिनहरू त्यतिकै बितिरहे । मैले त्यो फूलजस्तो बच्चाको जिम्मा लिएर सँगै बिताएको पनि दुई वर्ष भएको थियो । यस्तो बच्चा छाडेर काममा जानुपर्ने कस्तो बाध्यता होला उनीहरूको पनि ! उनीहरूको बाध्यतासँग आफ्नो पनि विगत खर्लप्पै आइरहन्थ्यो । बच्चा छाडेर वर्षौं अर्काको देशमा कडा परिश्रम गरेकी थिएँ ।
सुरुमा बच्चा मात्र हेर्ने काम भने पनि दिनभरि रहँदा–बस्दा पकाउने, सफाइ गर्ने, लुगा मेसिनमा हाल्ने, झिक्ने, पट्टयाउने, आइरन गर्ने, भ्याकुम लाउने कति हो कति काम लाम लागेर आउनथाल्थे । बच्चाले झन्झन् काम बढाइदिन्थ्यो । उसलाई नुहाइदिनु, तेल मालिस गर्नु । पहिले युकेमा पनि अरूका बच्चालाई तेल मालिस गरिरहँदा आफ्नो बच्चाको याद आइरहन्थ्यो । लाग्थ्यो- ‘यो मालिस मेरो बच्चासम्म पुगोस् ।’ अहिले पनि त्यही झल्को आइरहन्थ्यो । सन्तान बढेको कहिल्यै देख्दैनथ्यो आमाको मन ।
चारपल्टसम्म डाइफर फेरिदिनु र सफा गर्नुपर्ने हुन्थ्यो । आफ्नै बच्चा सम्झी घिन केही नमानी काम सम्झेर गरिरहेँ, केही कुराको कमी हुन दिइनँ । त्यति गर्दा पनि ऊ रोएमा डर लाग्थ्यो । बच्चाको जिम्मा लिनु असाध्यै ठूलो जिम्मेवारी थियो त्यो ।
कुट्नु त के गाली गर्न पनि मनाही थियो । बालबच्चा र बूढाबूढीको साह्रै होसियारीपूर्वक हेरबिचार गर्नु पहिलो प्राथमिकता थियो । सरकारी कानुन थियो । चारैतिर सिसी क्यामेरा जडान गरेको हुन्थ्यो । त्यसको कनेक्सन उनीहरूको मेबाइलमा हुन्थ्यो, सबै छर्लङ्गै । बच्चा सुतेको वेला घरका जहान सबैका लागि बेलुकाको खाना रोटी वा अरू कुनै चीज बनाइ दिनुपर्ने । पकाएर मात्र हुँदैन, ती भाँडाकुँडा सबै माझेर यथास्थानमा राख्नुपर्ने । बेलुका ६ बजे मात्र उनीहरू आइपुग्थे । कहिले आएर पनि चियाखाजा बनाइमाग्थे । आफूलाई भने कतिखेर त्यस जेलबाट मुक्त हुनुजस्तो लाग्थ्यो ।
दिउँसो बच्चोसित खेल्दै लुगा पट्याउँदै आफ्नो अतीत सम्झिरहन्थेँ । बढी याद आफ्नै आमाको नै आउँथ्यो । आमा तपाईंका त्याग, तपस्या र बलिदानले नै आज म यो तपाईंले कल्पनासम्म पनि नगरेको ठाउँमा आइपुगेकीछु । अमेरिका गएपछि म डेन्टल क्षेत्रमै काम गर्नसक्छु भन्ने अठोट त थियो तर परिस्थिति त्यस्तो रहेनछ । मैले फेरि सुरुबाटै पढेर सर्टिफाई गर्नुपर्ने रहेछ । त्यसका लागि केही समय लाग्ने रहेछ । सिम्रनले ‘आन्टी तिमी सक्छौ धैर्य गर’ भन्दै ढाडस दिन्थिन् । बालबच्चा र वृद्ध आमाबाको स्यहारसुसारमै बित्यो अमेरिकी समय । अमेरिकामा फेरिपनि सेतोकोट लगाउने रहर पूरा गर्न पढी सर्टिफिकेट त पाएँ पुनः क्लास लिएर । काम पनि पाएको हो तर त्यस कमाइले घर चलाउन सक्ने थिएन । धेरै घन्टे कामपट्टि नै जानुपर्यो ।
इन्सुरेन्स अप्रुभ भएपछि एमआरआइ गर्दा थाहा भयो मेरो ढाडको डिस्क लोकेटभएर नशा चेपेको रहेछ । दुखाइ कम गर्न भनेर एउटा सुई लगाइदियो । दुई हप्ता काँढो झिकेझैँ भयो । केहीपछि उस्तै दुखाइ । फेरि अर्को अन्तिम कोसिस भनेर उस्तै इन्जेक्सन हानिदियो । केही काम गरे पनि पूर्णरूपले निको भएन । उपचारका लागि धेरै ठाउँ धाएँ । शल्यक्रिया नै अन्तिम विकल्प हो भने । अमेरिकाको यो ठूलो उपहारलाईअप्रेशनबाहेक अरू नै उपचार- विधिबाटै आराम पाउने अपेक्षा राख्दै थेरापी गर्दै पर्खिरहेकी छु, विगत सम्झँदा मात्र पनि ऐठन हुन्छ । स्वास्थ्यभन्दा ठूलो कुरा अरू के नै छ र ? यसरी स्वास्थ्यले साथ नदिएपछि स्वदेश फर्केर अहिले आराम गरिरहेकी छु । सुख- दुःख जे पर्दा पनि आमाको काखै प्यारो, विदेशिनु त बाध्यता हो ।
पलपलको दुःख र सङघर्षबाट लुछेर लिएको सानो खुसी नै रहेछ जीवन त ।


(विमली विगत डेढ दहकदेखि सिर्जनामा कलम चलाउँदै आएकी स्रष्टा हुन्)
bimalimanju@googlemail.com