कामनै आफ्नो पहिचान हो - Aksharang
  • २०७७ फागुन १७ सोमबार

कामनै आफ्नो पहिचान हो

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

सम्झनाका लहरहरूमा मानिससँगै भूगोल पनि गासिँदो रहेछ । आफूले अनुभव गरेका कामका अनुभूति पनि सम्झनामा आउने रै’छन् । कहीँ मीठो स्पर्शको पलक बनेर, कहीँ यातनाको घाउ बल्झेर । आफ्नो पेसागत जीवनका रमाइला प्रसङ्ग सम्झिएर छुट्टै आनन्दको अनुभूति भइरहेछ यसवेला । म यही रमाइलोमा सलल बग्दैबग्दै अचानक विगतमा फर्किएर आनन्दले जीवनको अनुभूति गरिरहेछु ।
यसका लागि २०४० साल अघिको आँखिझ्याल खोल्छु । जीवनलाई गति दिने क्रममा मैले शिक्षण गरे । मेरो मन परेकै पेसा अन्तर्गत पर्छ शिक्षण पेसा पनि । केही समय एउटा संस्थामा जागिर पनि खाएँ । जागिर पनि मेरो रूचिको विषय सिलाइ सिकाउने जागिर खाँदाका मीठा सम्झनाहरू छन् । तर यी कामहरू छोटो समयमा छाडेँ । अनि आफैँले निर्माण गरेको व्यापार, सीप-तालिम र उद्योग- व्यवसाय अपनाएँ । आज यिनैबारे लेख्न ऊर्जाशील भएकी छु । कुनै कुरा त सम्झँदा मात्र पनि मीठो झन्कार अभिगुञ्जित भएर मनको तारमा झनझनाउने पो रहेछ । कुनै भने क्षणिक बनेर पानीका थोपाझैँ बिलाई सुक्छ ।
अस्तित्वरत जीवनको सिलसिला सुरू भयो विराटनगरबाट मेरो २०३९, ०४० सालदेखि । सुरूमा शिक्षण पेसामा आवद्ध भएँ । अलिपछिदेखि यससँगै सिलाइ- बुनाइ सिकाउने कार्य सुरू गरेँ । हुन त सिलाइ- बुनाइमा अनुभव निकै कम थियो । धरान बालिका विद्यालयमा ९ र १० कक्षामा गृहविज्ञान विषय लिएर पढ्दा बाल्यकालको ज्ञानबाहेक आफूले कहीँ- कहिले तालिम लिएकी थिइनँ तर पनि आँट गरेर सुरू गरेँ । केही समयपछि कहिलेकाहीँ समय मिलाएर जनपथ स्थित अन्जना शिल्पकलामा गएर केही सिक्ने वातावरण मिलाएँ । मेरो अर्ध सीप थाहा पाएर पनि सिलाइ- बुनाइ सिक्न आउने दिदीबैनीहरूको हार्दिकतालाई पनि म यसवेला सम्झिरहेछु ।
काठका तानमा गलैँचा, सिलाइ- बुनाइ, हस्तकला, पेन्टिङ्, बिहेको माला, रूवाको बत्ती कातेर बेच्ने, बुट्टा भर्ने, कार्यक्रममा लगाउने ब्याज बनाउने कति हो कति । जुन काम गर्न पनि सीपयुक्त्त दिदीबैनीहरू ठीक हुने । यज्ञ शिल्पकला नामबाट स्थापित मेरो व्यवसाय यज्ञ स्टोर हुँदै यज्ञ उद्योगमा फैलियो । रोडसेसबाट सुरू भएको व्यावसायिक यात्रा बजार अड्डासम्म पुग्यो ।
‘फलको आशा नराखी कर्म गर्दै जानु र पूजा नै कर्म होे’ भनिएको गीताको भावमा पनि एकाकार हुन्छु । मलाई लाग्छ, काम नै आफ्नो पहिचान हो र काम गरेर नै मैले अनगन्ती खुसीहरू भेटेकी छु । ओहो ! त्यसवेला त स्विटर दोकानको नामले परिचित यज्ञ उद्योग भित्री कोठामा, बाहिर यज्ञ स्टोर । के चाहियो र उत्पादन आफ्नै उद्योगमा बिक्री आफ्नै स्टोरबाट । मेसिनले बुनेका, हातले बुनेकाका, क्रुसले बुनेका जस्तो ग्राहकको रूचि त्यस्तै । ३-४ महिना त बाफ रे कति बेच्नु स्विटर । नयाँ-नयाँ डिजाइनका स्विटर दिनदिनै बदल्दै कति लाउनु हो ! विराटनगरका प्रायः स्कुलका स्विटर पनि यज्ञ स्टोरमा बुन्ने र बेच्ने वातावरण थियो । अन्य सीप सम्बन्धित काम गर्ने र स्विटर बुन्ने दिदीबहिनीहरू लगभग साठी जना पो हुनुहुन्थ्यो त ! कोही ग्रृहिणी, कोही विद्यार्थी, कोही जागिरे, कोही स्कुल- कलेज पढाउने शिक्षकका श्रीमती, कोही अधिकृतका श्रीमती । अहिले उहाँहरू कहाँ हुनुहुन्छ होला ! कसैकसैसँग त भेट हुन्छ कहिलेकाहीँ तर थुप्रैसँग नभेटेको निकै समय भइसक्यो । कोही स्मृतिमा हुनुहुन्छ, कोही विस्मृत पनि भै’सक्नु भयो । जिन्दगीको यात्रामा कहिलेकाहीँ त जिन्दगीलाई हस्तक्षेप नगरौँ भन्यो मन आफ्नै सुर नछाडी मभित्र शासन जमाउँछ । कत्रो आँट यस मनको । यति हुँदा पनि म मनलाई नै प्रेम गरिरहेछु । किनभने मन मेरो शरीरभित्रको नदेखिने तत्त्व बनेर उधुम गर्छ अनि विगतलाई ल्याएर मेरो मस्तिष्कमा थपक्क राख्छ ।
जीवन कुन वेला के अवस्थाको हुन्छ । न योजना हुने, न जान्न नै सकिने । जन्म्यो, हुक्र्यो, पढ्यो, लेख्यो, पौरख गर्ने वेलामा एउटा उद्देश्य राख्यो अर्को कर्मको तारतम्य कसोकसो आफैँ मिल्ने रै’छ । योजना अनुरूपको जीवन नभए नि आफ्नो पेसागत जीवनमा सन्तुष्ट हुँदाका केही कुराहरू टप्पटप्प टिपेर गीत सुसेल्नुको मज्जा लिँदैछु म त एकतमासले । व्यापार- व्यवसायका ती याद अक्षरमा रङ्गाउन म निकै उत्साहित छु । जीवनमा साना- साना कुराले पनि प्रभाव परिरहेको हुनेरै’छ । जिन्दगीका पानाहरू पल्टिँदै जान्छन् र कति झुलेका यादहरू गाढा हुँदैजाने र कति च्यातिँदैजाने । केही हराएजस्तो केही चलमलाएजस्तो मर्म सबैको भोगाइ हो । व्यवसायमा अल्झनुपर्दा बालख छोराछोरीलाई समय दिन नसकेकोमा मलाई यसवेला नरमाइलो लाग्छ । व्यवसायलाई गति दिने क्रममा छोराछोरीको बाल्यकाल पनि खोस्न वाध्य भएँ । अझ जेठी छोरी सविना १०-११ वर्षको उमेरदेखि नै घर, पसलमा मलाई सहयोग गर्ने मेरो प्रतिच्छायाँ भई । जानेर, नजानेर, चाहेर, नचाहेर छोराछोरीको बाल्यकाल खोसेँ, त्यो कतिको उपयुक्त थियो मलाई थाहा छैन तर त्यो समयको परिस्थिति त्यस्तै भयो ।
त्यसवेला सिनेमा हेर्ने प्रसङ्ग सम्झेर हाँस उठछ । ग्राहक पनि अनेक खालका कुनै सिनेमाका कलाकारले लगाएको स्विटरको राम्रो पैसामा अडर गर्थे । त्यसको परिपूर्तिका लागि पनि जसलाई बुन्न दिने हो उसलाई सिनेमा हेराउन लान्थेँ । उसो त त्यसवेला म सिनेमाको खुब सोखिन थिए । कहिलेकाहीँ छोराछोरीसँगै पनि हेर्न जान्थे । धरानमा सानिमाका छोरा लीला सिटौला पढ्न बस्दा कहिलेकाहीँ उनी विराटनगर आउने या म धरान जाने र सिनेमा हेर्ने गरेको बिर्सन्नँ । विराटनगरका हिमालय हल, जलजला हल र जुटमिलनेरको अरूण सिनेमा हल अझ जोगवनी फारबिसगञ्जका हलसम्म गएर कतिकति सिनेमा हेरेको सम्झन्छु । अहिलेको जस्तो साहित्यिक वातावरणमा घुलमिल नभएका कारण तनावयुक्त जीवनलाई अलिकति खुसी पार्ने अवचेतन मनको सिलसिला पनि हुनसक्छ त्यसवेला यो । जोगवनी, फारबिसगञ्ज स्विटर बुन्ने धागो लिन या कुनै सरसामान लिन जाँदा जति साथी भयो त्यति सजिलो हुने हुनाले स्विटर बुन्ने कुनै न कुनै दिदीबहिनी साथी भइरहन्थे । त्यसवेला जीवन त्यति मात्र रहेछ भन्ने सम्झेर रमाउथेँ ।
जोगवनीबाट तराजुमा नापेर धागो ल्यायो अनि बुन्नेलाई पनि नापेर दियो र बुनिसकेको स्विटर नापेर लियो र ग्राहकलाई पनि नापेरै दिने उपाय निकालेर विश्वास कमाएको मेरो खुसी अझै त कहिलेकाहीँ देखापर्छ ।
यसै सन्दर्भमा ५-६ वर्ष पहिलेको एउटा रमाइलो कुराको सम्झनामा आयो । काठमाडौँमा मोरङ समाजको तीज कार्यक्रममा मलाई कविका रूपमा आमन्त्रण गरिएको थियो । त्यो कार्यक्रम पुरानो वानेश्वरको कुनै पार्टी प्यालेसमा भएको थियो । मोरङेको भेला जहाँबाट मेरो जीवनका उज्यालो सम्भावनाका अनेकौँ आयमहरू उद्घााटित भएका थिए, त्यसमा पनि कविका रूपमा नजाने कुरै भएन । यो रमाइलो सरगममा म गएँ । कोही चिनेका, केही चिनेर पनि भुलिसकेका, कोही भुलेर पनि चिनेचिने जस्तो लाग्ने, कोही नचिनिएका मानिसहरूको भीडभित्र मुस्कुराउँदै औपचारिकताका भाव प्रकट गरेँ । एकछिनमा कार्यक्रम सुरू भयो र मलाई कविता पाठ गर्न बोलाए अनि मैले कविता वाचन गरेर आफ्नो ठाउँमा आएर बसेँ । त्यसैवेला चिनेचिनेजस्तो लागेकी तर नाम भुलिसकेकी एउटी बैनी म भएठाउँमा आएर ‘दिदी तपाईँसँग कुरा गर्नुछ, फेरि एकछिनमा छिन्नभिन्न हुइन्छ पछाडि जाऊँ न !’ भनिन् । के कुरा गर्न आँटिन यिनले मनमनै सोच्दै उनीसँग पछि लागेर गएँ । पछाडि ५-६ जना महिला-पुरुष बसेको ठाउँमा मलाई बसाइन् र ‘दिदी लौ न पहिलेको जस्तै एउटा स्विटर बुन्दिनू न, मेरा बूढालाई !’ भनिन् । म हाँसेँ, म हाँसेको देखेर ‘साँच्चै दिदी त्यो स्विटर छिद्राछिद्रा भएर पनि एकदिन न एकदिन त तपाईंसँग भेट हुन्छ भनेर नमुनाका लागि राखेकी छु । जहाँ भन्नुहुन्छ त्यहीँ पुर्याइदिन्छु । ल्पिज दिदी !’ भनेर अनुनय गरिन् । अनि मैले उनलाई भनेँ ‘बैनी अहिले म स्विटरको काम त गर्दिनँ नि । स्विटर बुन्नेहरूसँग पनि सम्पर्क छैन’ भनेँ । त्यसो भन्दा पनि ‘तपाईं नै बुन्दिनू न !’ भनेर जिद्दी गरिन् । बरा उनलाई के थाहा र डिजाइन, नाप-नक्सा भन्न म पर्फेक्ट भए पनि स्विटर बुन्न त अरू दिदीबैनीहरू नै पर्फेक्ट थिए । मैले बुनेका एउटै स्विटर नभएर पनि यति सफल देखिनुको संजोग सम्झेर खुसी लाग्छ र आनन्दित हुन्छु ।
जुन काम गरे पनि त्यसमा निष्ठाका साथ अविरल लागिरहनु साँच्चै एउटा उद्देश्यमा पुग्नुरहेछ । पसलमा बस्दा पनि मैले कहिले रमिता हेरेर समय बिताइन् । केही न केही गरिरहनुले मेरो दिनचर्यामा प्रशस्त सन्तुष्टि मिसिएको अनुभूत हुन्थ्यो । सिर्जनाका नयाँनयाँ आयामको परिकल्पना गर्नु र चिन्तन गर्नुमा मैले आनन्द अनुभव गरेका अनुभूतिहरू असरल्ल छन् । जसले गर्दा अरू महङ्गा तयारी स्विटरका व्यापारीहरूको विभिन्न कारणले प्वाल परेका स्विटरको समस्या पारिश्रमिक लिएर सीपसहितको बुनाइबाट समाधन गरेका कुराले मलाई उत्साहित बनाउँछ । साथै त्यसवेला इन्दिरा प्रसाईंले मप्रति गरेको सदाशयता र मेरो व्यवसाय फस्टाउन गरेको सहयोग सम्झिरहेछु । हाम्रो नाताभन्दा गहिरो आत्मीयता लामो समयसम्म रहनुमा एकअर्कालाई बुझ्नु हो जस्तो लाग्छ ।
खुसी हुनु, सन्तुष्ट हुनु, रमाउनु भनेको आनन्दको अनुभूति गर्नु हो सायद । कति ठाउँमा आफ्नामा बनाएका सीपको प्रदर्शन गरेर व्यवसाय फस्टाउन सकेका प्रसङ्गले पनि आह्लादित हुन्छु । यही व्यवसायको नामबाट आइएलओको सम्मेलनमा बैङ्कक जान पाएँ । यसमा मोरङका पत्रकारभाइहरू मोहन भण्डारी र अनन्त न्यौपानेको सहयोग सम्झिरहेछु । त्यस्तै घरेलु महासङ्घमा हुदाँ उद्यमी महिलाहरूको दिल्लीमा भएको अन्तर्राष्ट्रिय भेला र देशका विभिन्न जिल्लामा सहभागी भएका रमाइला, नरमाइला पलहरू याद बनेर रहेका छन् ।
मानिसहरू प्रायः केही समयको अन्तरालपछि एकनासको जीवन छाडेर फरक जीवन बाँच्न चाहन्छ । यसरी फरक बनेर बाँच्नु कसैको बाध्यता हुन्छ, कसैको रहर । तर मैले लगभग २५ वर्षसम्म कहीँ खुसी, कहीँ दुःखले गरेको मेरो काम छाड्नुमा वाध्यता र रहर दुवै संजोग मिल्यो । बाध्यता आफूलाई सघाउने जेठी छोरीको बिहे हुने भयो र कान्छी छोरी सरिता, छोरो सञ्जय पढन विराटनगर बाहिर थिए, अनि रहर अक्षरको आगनीमा जाने अभीष्ट । जीवन चलाउन जे पेसा अपनाए पनि लामो समयसम्मको अनुभव व्यापार, तालिम र उद्योगलाई मैले ०५४, ०५५ सालतिर चटक्कै छाडेर बैनी सावित्रा रेग्मीलाई जिम्मा लगाएँ र म पूर्णकालीन समय अक्षरको लहरमा मिसिन आएँ । सावित्रा अहिले क्षेत्र नम्बर १ की सभासद् छन् । उनले मैले निर्माण गरेको उद्योग छाडेपनि यज्ञ स्टोर चलाइरहेकी छन् । त्यहाँ जाँदा एकछिन पसलभित्र पहिले आफू बस्ने ठाउँमा बस्दा आनन्द लाग्छ र बस्छु । जहाँ मेरा जीवनका थुप्रै नबिर्सने यादहरू गाँसिएका छन्, जुन यादहरू कति प्रिय छन् कति अप्रिय छन् । त्यहाँ बस्दा विगतमा छाडेर आएका केही खुसी सम्झेर रमाइलो लाग्छ । अर्थात् दुःखहरूबीच दरिलो आस्था बनेर स्पर्श गर्छन् विगतका खुसीहरूले ।
के समाऊँ, के छाडौँ ! भन्न नै नसकिने रै’छन् अनुभवले अनुभूत गराएका जीवनका सर्गहरू । जीवनलाई पछाडि फर्किएर सोचेको त जीवनका कथाहरू कतिकति लेख्न बाँकी नै रहेछन् । जीवनले भोगेका सबै दुःख-सुखलाई अक्षरको बाटो हिँडाउन पनि नसकिने रैछ । कति भावहरू लेख्न छुटे र कति छुटाए । अविरल सम्झनामा बगे पनि कतिकति छाडिए, कतिकति छुटाउन वाध्य हुन्छ यो मन । शब्दलाई कसैले स्पर्श गर्न नसके पनि शब्दले सबैलाई स्पर्श गरिरहने रै’छ । खुसीका लागि मात्र कसैले यात्रा गरेनन् होलान् सायद । यात्रामा दुःखका जँगार झन् तर्नुपर्ने हुन्छ । भारी बोकेर हिँड्न अभ्यस्त जीवनले एउटा भारी बिसाएर अर्को भारी बोक्दा नै सजिलो मानेर रमाइलो अनुभूति गरिरहेछु । जीवनले जीवनलाई बिर्सने दुःखका कुनै कुरा उज्वल हुन्नन्, खुसी हुनेले दुःख पनि बुझ्छ सायद । त्यसैले हाँसो र आँसुको समीकरणमा अनुबन्ध हुन सकिन्नँ । ममा स्विटरको आकर्षण र सिलाइको रहर अझै छ । पेन्टिङ् गर्ने लहड भने यसवेला चलेको छ । त्यसैवेलाको व्यवसायबाट ठाउँठाउँमा सानातिना घडेरी पनि किन्न सकेथेँ । ती किन्दा कोही लोभीपापीको फन्दामा पनि परेको केही नमीठा सम्झना छन् । जीवनका अनगिन्ती सपनाहरूलाई बिर्सिएर आफूलाई टाढा राख्न खोजे सपनाको अर्थ र जन्मनुको सार के नै होला र ! जहाँको परिवेशमा पनि एकाकार भएर जीवनलाई आनन्दित बनाउन घाम-जूनको उज्यालोमा नै जित ठानेर निर्बन्ध भाव खोतलिरहनु पनि नहुने । समय कहिले अन्यायको यायावर त कहिले योजनावद्ध हुँदोछ । जीवन अलिअलि बुझेपछि जीवन नजान्नुभन्दा जान्नुमा कैयौँ गुणा जटिल हुनेरै’छ । म जान्नुको तिखो वाणमा रोपिएर पीडा सहिरहेछु भीष्म पितामहको त्यो जटिल समयचित्र जसले सबैको मन नै चस्काइरहेछ ।


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन् ।)
lakshmiuprety@gmail.com