क्रस फायरिङ् - Aksharang
  • २०७७ चैत २९ आइतबार

क्रस फायरिङ्

धीरकुमार श्रेष्ठ

धीरकुमार श्रेष्ठ

यस गाउँमा त्यस्तो कहिल्यै भएको थिएन, जस्तो त्यस दिन भुइँ । गाउँ त्यस्तै थियो, जस्तो परापूर्व कालदेखि थियो । उही रीतिरिवाज, उही संस्कृति, उही चालचलन, उही सोचाइ, उही चेतनास्तर । सबै–सबै परम्पराका नाममा चल्दैआएका थिए । नवीनताको ‘नु र परिवर्तनको ‘पु’ ले छुन सकेको थिएन । गाउँलेहरू पितापुर्खाको बिँडो थाम्न सकेकोमा गर्व गर्थे । त्यसैलाई आफ्नो जीवनको अमूल्य उपलब्धि ठान्थे । कसैले उनीहरूको त्यस गौरवलाई चलाउन खोज्यो अथवा जिस्क्याउने साहस गर्यो भने एकमुखले जाइलाग्थे, ‘उइले- उइले हाम्रा बाजेबराजुका पालादेखि चलिआएको चलनमा बडो भाँजो हाल्न आउँदो रै’छ । कत्ति न जान्ने भइटोपलेको होला ! दुईचार साउँअक्षर फुटाउन के जान्या’थ्यो, यसका प्वाँख उम्रिहाले । खुट्टा भुइँमा न भाँडामा भए ।
गाउँका जान्नेबुझ्ने भइटोपलेकाले यति भन्न भ्याएका हुँदैनथे, बाँकी अरू साउँअक्षर फुटाउन जान्नेको खेदो खन्न थालिहाल्थे । थाल खाऊँ न भात खाऊँ पार्थे । धुइरो लागेर खेदेपछि चेत बाबा काशी पारेर मात्र छाड्थे । त्यहाँभन्दा न इन्च कम न एक इन्च बढी ।
‘भो बाबा भो, अब तपैँहरूका कुरा काटेर आफ्नो काल आफैँ निम्त्याउनु छैन । भुलेर पनि कुरा काटे मै मरिजाम् । बिरालो बाँधेर सराद्धे गर्न नछाड्नूस् !’ भन्दा पनि पछि लागेपछि लागे लागे । सनासोले छाड्ला, ती छाड्दैनथे- ‘भुइँमा हिँड्न छाडेर आकाशमा उड्न खोज्दा उठ्नै नसक्ने गरी पछारिएलास् बाबै । वेलैमा होस पुर्या !’ पानीखेदो गरेर आत्मसमर्पण गर्न बाध्य पारेपछि पनि भर्खर साउँअक्षर फुटाउन जान्नेका अगाडि सगर्व विजयको घोषणा गर्न बाँकी राख्तैनथे । उछित्तो काढेपछि काढे- काढे ।
तर,
त्यस रात उनीहरूको सगर्व विजयको घोषणासामु झन्डा गाड्न आइपुग्यो पहिले कहिल्यै नदेखिएको दृश्य । दृश्य थियो :
चुलो बल्ने प्रायः घरमा भातभान्साको जोहो हुँदै थियो । गृहिणीहरू चुलोचम्को गर्ने तयारीमा थिए । गृहस्थहरू चौतारीगफ सकेर भर्खर गृहप्रवेश गर्दैथिए । केटाकेटीहरू धुलौटे शरीर लिएर कोही गृहिणीको सारीको सप्कोभित्र घुस्रिरहेका थिए भने कोही गृहप्रवेश गरिसकेका गृहस्थको काखमा गुडुल्किएका थिए । अब यति भनिसकेपछि यो भनिरहन परोइन कि उमेरले डाँडा काटिसकेकाहरूफेरि एकपटक आफ्ना बलेका दिन सम्झिँदै अगेनोमा ढाड सेकाइरहेका थिए ।
हो,
त्यही वेला अकस्मात् कहिल्यै नदेखिएका अनुहारहरू ग्वारग्वार्ती देखिए । सलहले ढाकेजस्तो गरी चारैतिर छ्यापछ्याप्ती देखिए । कोही कसैलाई कसैले चिन्न सकेको होइन । कोही कसैलाई कसैले ठम्याउन सकेको होइन । ‘ठ्याक्कै यै हो भनेर कोही कसैले भन्न सकेको होइन । अघिपछि फूर्ति लाउनेहरूको ओठमुख सुक्यो । डिङ हाँक्नेहरूको तालु सुक्यो । सबैको बातो बस्यो । सातो हराएजस्ता भए ।
एउटै भाषा बोल्दै आएका गाउँलेका सामु नवागन्तुकहरूले फरक भाषा बोले, जो तिनको समझमा आएन । आफूभन्दा फरक बोल्नेको भाषा बुझ्ने शब्दकोश उनीहरूसँग थिएन तर त्यस दिन आफूसँग नभएको शब्दकोशको शब्द सुन्न ती बाध्य थिए । किनभने नवागन्तुकहरूको एकै खालको पहिरनले तिनलाई छुट्टै सन्देश दिइरहेको थियो । जुन तिनका शब्दकोशका शब्दले दिँदैनथे । शब्दकोशका शब्द असमर्थ र अपाङ्ग थिए । त्यस अवस्थामा पनि नवागन्तुकका एकै खालका पहिरनबाट प्रसार हुने सन्देश तिनका कानमा चौतारीगफविनै प्रवेश गरिरहेका थिए । अझ नवागन्तुकका हातका अनौठाअनौठा सरजामले सबैका नेत्र विस्फारित थिए । विस्फारित नेत्रमा कालोभूतले तर्साउँदा नतर्सेको डर थियो । डर तपतप चुहेर कहिल्यै सिँचाइ नपाएका बन्जर भूमि सिञ्चित भइरहेको थियो । चुहिन नसकेका दहहरू लबालब थिए ।
गाउँलेको यही मनस्थितिको भेउ पाएका नवागन्तुकहरू आँगनआँगनमा उभिएर सम्झाउन व्यस्त थिए । आफ्नो उपस्थितिमा गाउँले नभड्किऊन् भनी आश्वस्त पार्दै थिए, ‘हामी तपाईंहरूकै भाइभतिजा र छोराछोरी हौँ । हामीलाई पराई नठान्नुभए हुन्छ । शोषितपीडित जनताको मुक्तिका लागि घरबार छाडेर हिँडेका मुक्तियोद्धा हौँ । जबसम्म तपाईंहरूलाई स्वतन्त्र पार्दैनौँ तबसम्म विश्राम नलिने शपथ खाएर हिँडेका छौँ । हाम्रा सन्ततिलाई सफल पार्न तपाईंहरूले सक्दो योगदान गर्नुपर्यो । यसैका लागि तपाईंहरूको घरआँगनमा आएका हौँ !
‘हामीसँग के छ र दिन सक्छम् ! पितापुर्खाका पालादेखि कसैलाई छुन नदिएर जोगाएको एउटा परम्परा छ । हाम्लाई राम्रै था’ छ, त्यो थोत्रो भइसकेकोले तपैँहरूजस्तालाई काम लाग्दैन । मक्किसकेको त्यल्लाई, उचाल्न खोज्नुभो भने पनि पन्ध्र ठाउँमा भाँच्चिएर टुक्राटुक्रा हुन्छ ! साउँअक्षर फुटाउन जान्नेका अगाडि एकमुख भएर जाइलाग्नेहरूलाई भन्न मन लागेको हो तर कसैको बक फुटेन । मन्त्रिएर पानी छर्की लाटा बनाएजस्ता भए । अघिपछिको फूर्तिले रत्तिभर काम गरेन । कता सुइँकुच्चा ठोक्यो कता । कसैले पत्तै पाएनन् । सबै मन्त्रमुग्ध भए । अघिपछि सुन्न नचाहेका शब्दकोशका शब्द सुन्न उनीहरू बाध्य थिए ।
आश्वासनको बिस्कुन सुकाउँदै गरिएको अर्को आँगनमा नवागन्तुकहरूलाई घेरेर गाउँलेहरू गुजुमुज्ज थिए । त्यहाँ पनि सुनाइँदै थियो, ‘हामीले परिवर्तन चाहेका हौँ । यथास्थितिले कसैलाई केही दिएन । हाम्रा नाममा जान्नेबुझ्नेले कुम्ल्याउनुसम्म कुम्ल्याए । हामीलाई केही दिएनन् । दिएजस्तो गरी सबै आफैँले लिए । हाम्रा हातमा केवल शून्य परे । हाम्रो श्रमको शोषण भुइँ । हाम्रो पसिनाको शोषण भुइँ । त्यही शोषणका विरूद्ध लड्न हामीले मुट्ठी कस्यौँ । हाम्रो लडाइँ तपाईंहरूका लागि हो । यसैले तपाईंहरूको पनि हो । यसलाई एक भएर लडौँ !
‘हामीसँग के छ र ! लडुम् ! लड्नका नाममा आलीकान्ला र भीरपाखादेखि बाहेक अन्त कतै लड्न जानेका छैनम् । जानेकै भनुँ भने बिजुलीपानी धोकेर कैलेकाहीँ मूल बाटोमै पसारो परेकोसम्म हो । त्यसलाई के लडेको भन्नु । खोइ ! तपैँहरूका कुरा त बुझेनम् है गाँट्ठे । खसोखास भन्नुपर्दा हाम्रा गोबर भरिएका दिमागमा क्यै घुसेको भए मरिजाम् । सत्ते होला । ढाँटेको होइन ! तिनलाई भन्न मन लागेको हो । तर कोही अघि सरेनन् । ‘स्वर्गका अगाडि इन्द्रको बयान’ भन्ने ठानेर हुन् अथवा ‘लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ’ भनेर लड्न चाहेनन् । कसैको रूद्रघण्टी चलेन । अघिपछि किक्लिक–किक्लिक तलमाथि गरिरहने रूद्रघन्टी चल्नै बिर्सिएजस्तो टक्क अडिएको अडिएकै भुइँ ।
गाउँमा शून्यता छायो । नवागन्तुकले जसोजसो भने गाउँलेले त्यसैत्यसै गरे । कार्यक्रममा जाऊँ भने । गए । भाग लिऊँ भने । लिए । सांस्कृतिक कार्यत्रस्म हेरौँ भने । हेरे । भाषण सुनौँ भने । सुने । खाना खान देऊ भने । दिए । सुत्न देऊ भने । दिए ।
कुनै प्रतिवाद गरेनन् । आवश्यक ठानेनन् । आफ्ना गुम्सिएका आवाज नवागन्तुकका माध्यमबाट धाराप्रवाहरूपमा बाहिर आएको अनुभव गरे । निडर ती आवाजमा आफ्नै हृदय मिसिएको पाए ।
दृश्य यतिमा सीमित भएन । दृश्यको अर्को पाटो पनि थियो :
नवागन्तुकले गाउँ छाडेको केही बेरमै उस्तैउस्तै लाग्ने दोस्रा नवागन्तुकहरूले प्रवेश गरे । तिनले पनि पहिलाकाले जस्तै आँगनआँगनमा भेला भएर सम्झाउलान् भन्ने ठाने गाउँलेले । तर दोस्रा नवागन्तुक सबैले गाउँ प्रवेश गरेनन् । केहीले गरे । बाँकी अरू स्कुलचउरतिर लागे ।
गाउँ प्रवेश गरेकाहरू गाउँलेका आँगनमा देखा परे । आँगनका बीचमा उभिएका तिनले कसैलाई क्यै सम्झाएनन् । बरू सम्झिन आएकालाई घरभित्र बस्न कडा निर्देश जारी गरे । जारी गरिएका निर्देशलाई गाउँलेले आज्ञाकारी भएर पालन गरे । पहिले पनि गरेकै हुन् । के फरक पथ्र्यो ! गरे । फरक कसैलाई पर्यो भने युवालाई । घरभित्र बसेका तिनलाई छानीछानी बाहिर निकालियो । बलियाबाङ्गा र खाइलाग्दा कोही बचेनन् । बाहिर निकालिएका तिनलाई आफ्नै आँगनकाबीचमा घोप्टो परेर सुत्न भनियो ।
आफ्नै घरआँगनमा आफन्तका सामु अपराधीजस्ता भए । तिनको त्यो दृश्य हेर्ने छुट आफन्तलाई थिएन । कसैले त्रुटिवश झ्यालढोकाका कापबाट चियाएर हेरे मोहरी सोझिन्थ्यो । सोझिएको मोहोरीले आगो नओकोलोस् भनी आफन्तजति घरभित्र एकै ठाउँमा गुजुमुज्ज बसे । तिनको बसाइ देख्दा लाग्थ्यो ‘मरे एकै चिहान हुन पाइयोस् । बाँचे सबै सँगै बाचौँ !’ तर समूहका महत्त्वपूर्ण सदस्य आँगनको बीचमा घोप्टो परेर सुतेको कल्पनाले तिनको मन झसङ्ग हुन्थ्यो । कमाएर खुवाउनुपर्ने अभिन्न सदस्यको दुर्दशा सम्झेर मन भरङ्ग हुन्थ्यो । मन झसङ्ग अथवा भरङ्ग जे भए पनि ती ओठ सिएर बस्न बाध्य थिए । बसे ।
आँगनमा घोप्टो परेर सुत्ने जतिलाई स्कुल–चउरमा पुगेर पुनः घोप्टो परेर सुत्न भनियो । तिनले त्यसै गरे । कसैले घोप्टो परेको आँखा उचाले अपराध ठहरिन्थ्यो । त्यसैले अपराध गर्न कोही अघि सरेनन् । फलस्वरूप घोप्टो परेर सुत्नेहरूलाई आफूदेखि बाहेक अरू कोको छन् भन्ने पनि थाहा भएन । थाहा नपाएका तिनलाई आफ्नो अपराध ‘के हो ?’ भन्ने पनि थाहा थिएन । थाहा नभएको अपराधको सजाय भोग्न विवश थिए ती । भोगिरहेका थिए ।
परिवारका महत्त्वपूर्ण सदस्यलाई स्कुलचउरतिर लगेपछि बाँकी बचेकाले आँगनको डिलमा उभिएर हेर्न खोजे । त्यो अवसर पनि उपलब्ध भएन । कारण थियो आफूतिर सोझिएको मोहरी । मोहरीको भाषा कसैले नसिकाईकन बुझ्नसक्ने भएकाले तिनको शब्दकोशमा एउटा नयाँ शब्दले प्रवेश पायो । त्यस शब्दको आज्ञापालक भए । गाउँ सुनसान बस्तीमा परिणत भयो । सुनसान बस्तीको साक्षी कि त दोस्रा नवागन्तुक भए कि त स्वयं बस्ती, बस्तीवासी होइन ।
साक्षीको अभावमा दोस्रा नवागन्तुकले इसाराइसारामा गरेका संवाद दृश्यमा उपस्थित थिए । उपस्थित दृश्यको भाषा गाउँलेकोभन्दा फरक थियो । फरक भाषाको शब्दकोशसमेत फरक थियो । फरक शब्दकोशका शब्दमा अभिव्यक्ति थियो, ध्वनि थिएन । ध्वनिविहीन शब्दहरू अनवरत प्रसार हुँदा थिए । त्यो गाउँलेको समझभन्दा परको विषय थियो । त्यसैले गाउँ सुनसान थियो ।
सुनसान गाउँको दृश्यमा घोप्टो परेर लमपसार सुतेकाहरूले चलमलाउन हुन्नथ्यो । चलमलाए आफूभन्दा गह्रौँ भारले थिच्थ्यो । आवाजविहीन रूपमा थिचिएपछि चेतनाशून्य हुन्थे । चेतनाशून्य ती, कति बेर अचेत हुन्थे थाहा हुँदैनथ्यो । थाहा नपाएका ती, कहिले बौरिँदै, कहिले अचेतिँदै थिए ।
यस्तैमा पश्चिमले घुम्टो ओढ्न थाल्यो । घुम्टो बाक्लिँदै जाँदा गाढा कालो छाउँदै गयो । छाएको कालोमा केवल उभिएका आकृति ठम्याउन सकिन्थ्यो घोप्टो परेर सुतेका होइनन् ।
घोप्टो परेर सुतेकाहरू सुतेकोसुतेकै भए । क्यै थाहा पाएनन् । थाहा पाउनेमा गाउँले नै पहिला भए । तिनले थाहा पाउँदा पूर्वले घुम्टो उघारिसकेको थियो । घुम्टो उघारेको पूर्वको सेतो उज्यालोमा तिनले देखे घोप्टो परेका आफन्तका ढाडमा सानो प्वाल परेको थियो । त्यही प्वालको बाटो पहिल्याउँदै जाँदा तिनले देखे आफन्तका क्षतविक्षत छातीले रातो आगो ओकलेको । अलिकता रातो तिनका मुखबाटसमेत हुलुक्क बगेको थियो । त्यो देखी सबै एकटक पूर्वतिर हेर्नथाले ।
त्यस वेला गाउँमा न त प्रथम नवागन्तुक थिए, न त दोस्रा । थिए त केवल गाउँले र तिनका सुनसान गाउँ । अरू होइन ।


(श्रेष्ठ चर्चित साहित्यकार हुन्।)
dhires@gmail.com