ऊ अग्राखझैँ बाँचेको छ - Aksharang
  • २०७७ माघ ४ आइतबार

ऊ अग्राखझैँ बाँचेको छ

खेम राज पोख्रेल

खेम राज पोख्रेल

अमेरिकाका दलानबाट यतिवेला म उसलाई सम्झिरहेको छु । ऊ जितबहादुर । जितबहादुर विश्वकर्मा हो । ऊ मेरो तुरिया हो । दामल हो । मभन्दा करिब २/४ वर्ष जेठो होला । मेरो बाल्यकाल ऊसँग हाँस्दैखैल्दै बित्यो । त्यसैले ऊ मेरो बालसखा हो ।

उसलाई खोटाङ जिल्लाको बाराहा गाउँबाट करिब ८ वर्षको उमेरमा हाम्रो घरमा नोकर राख्न ल्याएका थिए रे । हो, नोकर राख्न । त्यसको अर्को अर्थ हुँदैन । नोकर शब्द प्रयोग गर्दा ऊसँगको एउटा घटना सम्झन्छु । ऊ कुनै काम गर्दैथियो । मैले भैँसीलाई कुटी काट्नु पर्दैथियो । कुटी काट्नु भनेको पराललाई स–साना टुक्रामा काट्नु हो । म बालक थिएँ तर मभित्र ‘मालिक’ घमण्ड थिएछ त्यो वेला । मलाई लागिरहेको रहेछ त्यो वेला– यो कुट्टी काट्ने काम जितबहादुरको हो । नोकरको हो । मेरोनजिकै कुर्सीमा बसेर मेरा कान्छा हजुरबा मैले कुटी काटेको हेरिरहनुभएको थियो । अनि मैले कान्छा हजुरबालाई भनेछु– अहिले कोही नचिनेको मान्छेले देख्यो भने मलाई यस घरको नोकर भन्दो हो, हगि हजुर्बा !
मैले त्यसो भनिरहँदा ऊ मेरोछेउमै थियो । नोकर शब्दले उसलाई केही फरक परेको थिएन । उसमा फरक पर्ने चेत पनि थिएन । ऊ पनि त केटाकेटी नै थियो । तर मेरा कान्छा हजुर्बा मुसुक्क हाँस्नु भएथ्यो । उहाँ गीतामार्गीका गुरु हुनुहुन्थ्यो । धेरै जिल्लामा नाम चलेको ज्ञानी हुनुहुन्थ्यो । अनि उहाँले ऊतिर इङ्गित गर्दै भन्नुभएथ्यो– ‘कृष्ण, तँलाई जितबहादुर नोकर हो जस्तो लागेको होला, तर होइन । तँ, म, जितबहादुर तथा सबैजना यस घरका नोकर हौँ, बुझिस् ! यही घरको काम गर्ने हो । यसै घरले दिएको खाने हो । यसै घरको नोकरी गर्ने हो र सबैले एकदिन यो घर छोडेर जाने हो ।’

त्यस दिनदेखि मैले कसैलाई नोकर भन्न छोडेको थिएँ । तर मलाई हजुरबाका यी गूढ कुराको अत्तोपत्तो भने थिएन ।

भो यो कुरा छोडौँ । म उसका कुरा–कथा सुनाउँछु । उसका कोही थिएनन् रे । न सम्पत्ति, न बाबु–आमा, न कोही । साँच्चि नै ऊ टुहुरो थियो रे । बिल्लिबाठ थियो रे । हातमुख जोर्न नै निकै ठूलो समस्या थियो रे । खोलेफाँडोको नै समस्या थियो रे । यसो भनेपछि जाहिर छ– ऊ निकै गरिब, निरीह र विवश थियो । ऊ हाम्रो घरमा ल्याइपुर्याउँदा कृशकाय थियो रे । ऊ जिउँदो थियो रे सास फेर्ने । उसको अनुहारको ‘बिउटी बोन’ उचालिएको थियो रे । घाँटी छिनिन आँटेको थियो रे ।
यी मैले सुनेका कथा हुन् उसका बारेमा । उसका बारेमा मलाई बताइएका कुरा हुन् । जसले उसलाई हाम्रो घरमा राखिदियो, उसले मेरा बुवालाई ‘यो गरिबको छोरोलाई पालिदिनू धर्म हुन्छ, सकेको एक लगनी गर्छ, दुई फाँको खान्छ’ भनेर छोडेर गएका रे । किनेको पनि होइन, बेचेको पनि होइन । केवल एउटा परिवेश थियो त्यो, जहाँ कोही दोषी थिएनन् र सबै दोषी थिए ।
म उसलाई उसको पहाडका बारेका केही कुरा सोध्थेँ । बाल्यकालका बारेमा पहाडका केही झझल्कोबाहेक उसैलाई केही थाहा थिएन । ऊ जन्मेको ठाउँको खोला, पहाड तथा बेँसीका खेतको अलिअलि झझल्को आउँछ भन्थ्यो ऊ । ऊ त्यस वेलाको समाजको एउटा प्रतिनिधि पात्र थियो । गरिबीको प्रतिनिधि । छुत–अछुतको प्रतिनिधि । भेदभावको प्रतिनिधि । सीमान्तकृतको प्रतिनिधि । यो सबै हुनमा उसको कुनै दोष थिएन । ऊ कामी कुलमा जन्मनु, गरिब हुनु, खान नपाउने हुनुका कारण ऊ थिएन । को थियो यसको कारण ? यसको जिम्मा कसले लिने ?
मेरा बाल्यकालका बहुमूल्य सम्झनाहरूमध्ये ऊ एउटा हो । तिनताका उसका र मेरा धेरै कुराहरू समान थिए । ऊ पुरुष थियो, म पुरुष थिएँ । ऊ गाई हेथ्र्यो, म पनि हेर्थें । ऊ भकारो सोहोथ्र्यो, म पनि सोहोर्थें । ऊ घाँस काट्थ्यो, म पनि काट्थेँ । उसले र मैले खानेकुरा एकै थिए । लाउने लुगा उस्तैउस्तै हुन्थे । हाइट उत्रै थियो । किनभने ऊ अलि सानो गाँठीको थियो । म अग्लो थिएँ । उसको र मेरो रङ उस्तै थियो । जसरी म सास फेर्थें उसैगरी ऊ पनि फेथ्र्यो । छाला उस्तै थियो । रगत उस्तै थियो । उसमा पनि कुनै भविष्यको चिन्ता थिएन, ममा पनि थिएन । ऊ पनि अलमस्त थियो, म पनि अलमस्त थिएँ । उसको र मेरो जन्माइका प्रकृया पनि एकै थिए । आकाशमा प्लेन देखेर चिलगाडी भन्दै रमाउँदाका उच्छवासहरू एकै थिए । डगरडगर चाहर्दाका स्वाद एउटै थिए । हिलोले खाएका खुट्टाका औँलाका कापमा तेल–बेसार सँगै लगाउँथ्यौँ । भलायोको चोप सँगै लगाउँथ्यौँ ।

तर त्यसैवेला हामीबीच अनेकौँ असमानता पनि थिए । उसको पानी चल्दैनथ्यो । म उच्च कुलीन ब्राह्मण थिएँ । ऊ अछुत थियो । म ‘बाहुनको हड्डी चोखो’ दर्शनका आधारमा पवित्र थिएँ । किनभने ऊ जन्मेपछि कामी जात थियो । म बाहुन जात बोकेर जन्मेको थिएँ । ऊ नोकर थियो, म मालिक थिएँ । उमेरमा मभन्दा जेठो भए पनि ऊ मलाई ‘तपाईं’ भन्थ्यो । म ‘तँ’ भन्थेँ । उसको बाबुआमा कोही थिएनन् । टुहुरो थियो । एकदम टुहुरो थियो । म बाबुआमा, हजुरबुवा हजुरआमासहितको प्यारो बालक थिएँ । उसका बाबु–आमा, हजुरबा–हजुरआमा जे भने पनि मेरै घर थियो । बिहान ऊ र म सँगै घाँस काट्थ्योँ अनि ऊ जङ्गल जान्थ्यो । म स्कुल जान्थेँ । म ओसारीमा बसेर कखगघ पढ्थेँ, ऊ आँगनमा बसेर दाम्लो बाट्थ्यो । म घरभित्र सुत्थेँ, ऊ घरको बरन्डामा सुत्थ्यो । म घरभित्रको अँगेनामा आगो ताप्थेँ । ऊ घरभित्र पस्न पाउँदैनथ्यो । बाहिर घुर बाल्थ्यो । ऊ दाउरा चिथ्र्यो । उसले चिरेको दाउरा भान्सादेखि पूजासम्म चल्थ्यो । तर ऊ चल्दैनथ्यो । उसले माझेको भाँडा चोख्याउने विधि थियो । तर उसलाई चोख्याउने कुनै विधि थिएन । उसले दुहेको दूध पहिले चल्दैनथ्यो । तर पछि चल्नथालेको थियो । उसले दुहेको दूध चल्थ्यो, ऊ चल्दैनथ्यो । यस्तै थियो ऊ । यस्तै थियो उसको नियति । यो केको सजाय भोग्दै थियो ऊ !
हामीकहाँ आएपछि उसको एक गाँस खान र एक घरो लाउनको समस्या त समाधान भयो । सुत्नका लागि खाट, सुकुल, दरीको व्यवस्था भयो । ओछ्याउनेको व्यवस्था भयो । ओढ्नेको व्यवस्था भयो । उसले यसका लागि आफ्नो जीवननै सुम्प्यो । आफ्नो सारा बल, बैँस, जाँगर, बुद्धि, विवेक र तन्मय सबै लगायो । यति मात्र होइन, मुख्य कुरा उसले इमानदारी दियो । ऊ त्यो घरप्रति कहिल्यै बेइमान भएन । हामी साख्खै सन्तानले घर छोडेर हिँड्यौँ तर उसले आजपर्यन्त छोडेको छैन । भनूँ न उसले त्यस घरका लागि जीवन नै कुरवान गर्यो । तर अछुत भनाइने सामाजिक सजायबाट ऊ कहिल्यै मुक्त भएन । जिन्दगीभरि बोकिरहेको छ । अहिले पनि बोकिरहेको छ ।
अँ त, हाम्रो परिवार पनि एकदम धनी होइन । अर्काकोमा जनिबनी जानुचाहिँ नपर्ने तर खनीखोस्री गर्दा मुस्किलले खान पुग्ने हो । यति भने पक्का हो– ऊ हाम्रो परिवारको एउटा सदस्य नै थियो । हामीलाई चाड आउँदा उसलाई पनि आउँथ्यो । हामीलाई लुगा आउँदा उसलाई पनि आउँथ्यो । उसले पनि हाम्रो घरलाई कहिल्यै पराईघर ठानेन । त्यही घरको ओतमा ऊ हुर्कियो । बढ्यो । त्यसै घरका चारदिबारीमा उसका उच्छवास हाँसे । उसको जीवन पन्पियो ।
म निर्धक्कसँग भन्छु– हामी ६ दाजुभाइ र एक बहिनीको हुर्काइमा, लेखाइपढाइमा र जिन्दगी बनाइमा उसका पसिनाहरू परेका छन् । हाम्रो घरका खलो–खलियान, गुवाली, भकारी, खेतका गह्रा, डिँगा (गाई) तथा समग्र परिवेशमा उसका धुकधुकीहरू छन् । उसले हलो जोतेर हामीलाई स्कुल कलेज पठायो । उसले घाँस काटेर हामीलाई उभ्यायो । उसले हाम्रा उज्याला दिनका लागि आफू अँध्यारोमा बस्यो । उसले संसारको रमझम देखेन तर हामीलाई संसार पुर्यायो । उसले आफैँ लाटिएर हामीलाई बाठो बनायो । त्यसैले ऊ मेरा नजरमा महान् भयो ।
उसले जीवनसँग कहिल्यै गुनासो गरेन । जिन्दगीलाई कहिल्यै थुकेन । जीवनसँग गुनासो गर्नुपर्छ भनेर हेक्का नै पाएन उसले । समयले उसका थाप्लामा जे दियो सहर्ष बोक्यो । कुनै विद्रोह वा असन्तोष गरेन । ८ वर्षे जस्तो बालक केटो हाम्रो घरमा आएको थियो रे र अहिले ऊ झन्डै ७० वर्षको भयो होला । यत्तिका वर्षसम्म ऊ अझै हाम्रै सेवा गरिरहेको छ । अहिले उसको एउटा आफ्नै घर छ । श्रीमती छिन् । छोरा छ । तर ऊ आफ्नै तरिकाले हामीलाई नै रेखदेख गरि नै रहेको छ । हामीले उसको रेखदेख होइन कि उसले हामीलाई अझै रेखदेख गरिरहेको छ । मेरा बूढा भएका बाबुआमाको ऊ नै सहारा भएको छ आजपर्यन्त । ऊ नभएका दिन मेरा बुवाको हात भाँचिन्छ । ऊविना मेरो बुवाले एक्लो महसुस गर्नुहुन्छ । उसले मेरो बुवालाई जीवनपर्यन्त मुख लाएन । रिसाएन । खिसिक्क हाँसिरह्यो ।
जब ऊ हाम्रो घरमा आयो, कहिल्यै भोकै बस्नु परेन । कहिल्यै नाङ्गो बस्नु परेन । यद्यपि खाने सामग्री र लाउने लुगाका स्तर सामयिक थिए । हाम्रा पनि त्यस्तै थिए । उसका पनि त्यस्तै थिए । आखिर खाएका सामग्रीको परिणति त बिस्टा न हो जे खाए पनि । लाएका लुगाको चहलपहल पनि क्षणिक न हो, झिलिमिली मात्र त हो । पुरानो भएपछि चिथ्रा न हो । च्याथ्रा न हो । आखिर खानु र लाउनु नै जीवनको बचाइ त होइन नि ! ऊ त्यो खानलाउनभन्दा अलि गतिलो बाँचेको छ । त्यसैले ऊ गजब बाँचेको छ ।
ऊ निरक्षर छ । मैले उसलाई क ख ग सिकाउन खोजेको थिएँ बाल्यकालमा । सिकाएको होइन, सिकाउन खोजको मात्र थिएँ । तर उसले त्यतातिर मन दिएन । ध्यान दिएन । किनभने उससँग पढ्ने समय थिएन । आवश्यकता थिएन । चेत पनि थिएन । नपढ्दा हाम्रा छेपारीमा सिर्कना बज्रिए । सिर्कनाका डरले पनि पढ्नुपथ्र्यो । उसले नपढेबापत सिर्कना खाएन । किनभने उसको घरायसी काम कहिल्यै सकिन्नथ्यो । बिहानदेखि नसुतुञ्जेलसम्म ऊ लगनीहरू गरिरहन्थ्यो । वा यसरी भनूँ २४ घन्टा ऊ तम्तयार भएर बस्नुपथ्र्यो । उसले सुत्दा पनि त्यही घरको सपना देख्नुपथ्र्यो । किनभने रातबिरात डिँगा फुके कि त्यो उसैले हेर्नुपथ्र्यो । झरी, हुरी सबैको हेक्का राख्नुपथ्र्यो । खोला, पैनीको काम पनि त राती नै हुन्थ्यो । त्यो पनि उही गथ्र्यो । हामी पनि गथ्र्यौं तर मुख्य ऊ थियो । खासमा हामी सबैको चेत पनि थिएन, महत्त्व पनि थाहा थिएन । त्यो वेला म त उसले पढ्न नपरेकोमा आहारिस गर्थें । उसैलाई भाग्यमानी ठान्थेँ । त्यसैले उसले पढ्न मन गरेन । उसलाई कसैले पढ्न बाध्य पारेन । र अहिले ऊ निरक्षर छ ।
म घर गएका कुनै एक दिन उसकी श्रीमतीले मलाई नै भनेकी थिइन्– तपाईंहरूले धेरै पढ्नुभयो । तर खोई त तपाईंहरू मालिक भएर उहाँ (उसको श्रीमान् याने कि ऊ) लाई अक्षरसम्म पनि चिनाउनु भएन त !’
उसकी श्रीमतीको यस जिज्ञासाले मेरो मन रन्थनिएको छ । यद्यपि सम्पत्तिका हिसाबमा हामी ६ भाइले जति अंश पायौँ त्योभन्दा बढी बुवाले उसलाई दिनुभएको थियो । दिनुभएको मतलब उसको श्रमबापत दिएको हो । फोसा होइन । बुवाले उसको बिहे र जग्गाजमिनको व्यवस्था गरिदिनुभएको छ । सरदर गरिब, विपन्न, असहाय परिवारको एउटा टुहुरो निरक्षर केटाले त्यस जमानामा गर्ने तरक्की त्यो पर्याप्त थियो भनेर व्याख्या गरिन पनि सक्छ । तर पनि उसले किन पढ्न पाएन ! उसको शिक्षाको अधिकार कुन संविधानमा खोजूँ म ! कुन सिद्धान्तमा खोजूँ म ! भात ठूलो कि पुस्तक भन्ने वादविवादको गोलचक्करमा आइपुगेको छु म यतिवेला । प्रसिद्ध चिनियाँ विद्वान्–साहित्यकार ल्युसुनको एउटा संस्मरण पढेको थिएँ– जब भुँडीमा भोक लाग्छ र खानका लागि भाँडामा चामल हुन्न तब कुनै साहित्यको सिर्जना हुनसक्दैन । कुनै दर्शन बुझ्दैन मान्छे । भुँडीमा तीव्र भोक र खानको लागि एक गेडो नहुनुको परिस्थिति थोरै साहित्यकारले मात्र भोगेका हुन्छन् होला । मैले त यस्तो अवस्था भोगेको छैन । त्यो सामन्तवादी र चेतनाशून्य युगमा नोकरचाकरको शोषण गरी वर्षौंवर्ष काममा जोताएर ऋण बोकाएर बाँधा बनाउने परिपाटीका वेला मेरो बुवाले उसको घरजम गरी, जग्गा–जमिन उसकै नाममा दिएर जीवनको एउटा स्थायित्व त पूरा गरिदिनुभएको हो । तर पनि म त्यो युगसँग प्रश्न गरिरहेको छु, उसको बाल–नैसर्गिक अधिकार खोइ ? उसको शिक्षाको अधिकार खोइ ?
अनि म एकतमासको भएर सोचिरहन्छु– उसलाई हाम्रो घरमा राख्नु जायज थियो कि थिएन ! उसको बालश्रमको शोषण गरिनु उपयुक्त थियो कि थिएन ! उसलाई निरक्षर बनाउनु जायज थियो कि थिएन ! यो पृष्ठभूमिमा म सोचिरहेको छु । त्यो एउटा जमाना थियो । त्यस जमानामा मेरी आमा लगभगलगभग निरक्षरजस्तै नै हुनुहुन्थ्यो । मेरा हजुरबा र हजुरआमा पनि लगभग निरक्षर नै हुनुहुन्थ्यो । नाउँ गाउँ लेख्न नै मुस्किल थियो । मेरा बुवा साक्षर हुनुहुन्थ्यो । बुवाले पनि स्कुल तथा गुरुकुलको मुख हेर्न पाउनु भएन । त्यो समय नै त्यस्तै थियो । त्यस समयमा ऊ निरक्षर हुनु हाम्रो परिवारको मात्र दोष हो र ! यसै भनेर चित्त बुझाउने प्रयासमा छु ।
अहिले मेरा दिमागभरि असरल्ल प्रश्नहरू छन् । एउटा प्रश्न हो, उसले जीवन बाँच्यो कि मैले ? हो म ऊसँग आफ्नो तुलना गर्दैछु । म मेरा जीवनसँग अहिले पनि गुनासाहरू गर्दैछु । अहिले याने जीवनको उत्तरार्धमा आइपुग्दा पनि । देशप्रति असन्तोष गर्दैछु । समाजप्रति असन्तोष गर्दैछु । सरकारप्रति असन्तोष गर्दैछु । परिवारसँग असन्तोष गर्दैछु । आफैँसँग असन्तोष गर्दैछु । समग्रमा म असन्तोष, गुनासा, कुण्ठा र परिवेशीय आक्रोशको कठघरामा बाँचेको छु । चारमुखे ज्वालाको तप्कामा राँकिएको छु । जीवनका अनेकौँ जस्केलाहरूमा ठगिएको महसुस हुन्छ मलाई । हेपिएको बोध हुन्छ मलाई । भित्र र बाहिरका छटपटीहरूले डामिएको महसुस हुन्छ मलाई । जोरिपारीका ठोसाइले झिल्का निकालिएको महसुुस हुन्छ मलाई । शान्तिको सास फेर्न कल्पिन्छु । भौतिक र आध्यात्मका दर्शनभित्र पसेर शान्तिका सूत्र खोज्छु । तर उफ ! शान्ति खोज्न कहाँ जाऊँ म !
ऊ भने भयमुक्त छ । जीवनसँग कुनै गुनासाहरू छैनन् उसका । असन्तोषहरू पनि छैनन् । आक्रोशहरू पनि छैनन् । उसलाई जीवनले ठग्यो कि ठगेन भन्ने हेक्का पनि छैन । परिवेशले सीमान्तकृत बनायो कि बनाएन भन्ने पनि मतलब छैन । आवश्यकता पनि छैन । भगवान छ कि छैन भन्ने गोलचक्करमा पनि छैन ऊ । तीर्थ जान नपाएर चिन्तित पनि छैन । धर्म यज्ञादि गर्न नसकेर पनि कुनै पछुतो छैन उसलाई । राजतन्त्रमा जन्म्यो । त्यो सामन्ती विभेद खेप्यो । प्रजातन्त्र देख्यो, भोट हाल्यो, प्रतिनिधि पनि छान्यो । उसको जीवनमा केही खालो सरेन । गणतन्त्र भोग्दैछ । साँढेका रडाकाहरू सुन्दैछ । अरू आशान्त छन् । तर ऊ एकदम शान्त छ । किनभने राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रको ऊ कुनै परिभाषा जान्दैन । यिनले गरेका काममा कुनै फरक भएको पनि उसले अनुभूत गरेको छैन । नेताका गफ एककानले सुनेको छ । अर्को कानले उडाएको छ । माग्ने, जोगी, फकिर आए दिन्छ । सभ्रान्त नेता, कर्मचारी, बुद्धिजीवी तथा मै हुँ भन्ने देश लुटेर खान्छन् । ऊ लुटेर खाँदैन । गरेर खान्छ । ऊ मगन्ते पनि छैन, पाखुरी बजाएर खान्छ । र, आफ्नो परिवेशले दिएको काममा लगातार लागिरहन्छ । ऋण पनि छैन । धन पनि छैन । योजना पनि छैन । पछुतो पनि छैन । बस जिन्दगी चलिरहेको छ । खाने वेलामा उसको जिब्रोले खस्रो–मसिनु केही भन्दैन । ऊ अघाउँदी खान्छ । बेलुका खानेबित्तिकै उसलाई मीठो नीद लागिहाल्छ । ओछ्यान जस्तोसुकै होस्, सुतिहाल्छ । मतलब छैन । उसले औषधीका चाङले शरीर जोगाउनु परेको छैन । अड्याउनु परेको छैन । थिग्य्राउनु परेको छैन । खातैखात लुगा पनि छैनन्, मनमा बाउँठा कुरा पनि छैनन् । ऊ सनातन बगिरहेको छ । पवित्र बगिरहेको छ । सङ्गलो बगिरहेको छ ।
तर मेरो जिब्रो सन्किएको छ । खानेकुरामा क्यालोरी खोज्न थाल्छन् । घरभरि खानेकुरा छन्, तर म अघाउँदी खान पाउँदिनँ । डाक्टरले मैले खानेकुराको मापन गरिदिएका छन् । डाइटिङ्का नाममा भोक मेरा भुँडीभरि कुदिरहन्छ । असन्तोष र गुनासाहरू बोक्दाबोक्दा १२ इन्चको गद्दामा पनि म निदाउन सक्तिनँ । औषधीका चाङले पनि नीद दिँदैन । मेरा रातहरू छटपटीमा बित्छन् । खुइय्य र सुस्केराहरूमा चोइटिइरहेछ मेरो जीवन । म फ्यातुल्लो जीवनबोध लिएर घस्रिँदैछु । म अधकल्चो बाँचेको छु । म फोहोरी बग्दैछु । धोका, पीडा र अबरोधी बग्दैछु ।
अहिले कल्पना गर्दैछु– सायद मर्दा हामी दुवैका पञ्चतत्त्व विलीन हुने एकै ठाउँ होला । तर एउटा कुरा भने पक्का हो, म मर्दा औपचारिकताका लागि मात्र रुन्छ समाज । र म मरेको भोलिपल्ट दुई दिन हुन्छ । किनभने मैले समाजका लागि केही गरेको छुइनँ । मैले पढेको छु– मेरा लागि, कमाएको छु– मेरा लागि । खाएको छु, लाएको छु– फगत मेरा लागि । तर ध्यान दिएर हेर्यो भने ती सबैलाई मैले आफ्नै बिस्टा बनाएको छु । केवल बिस्टा बनाएको छु । मेरा लागि मात्र हुन् ती सब । तर ऊ मर्दा समाज साँच्चै रुन्छ । किनभने उसको मृत्युले चार गाउँका कामहरू रोकिन्छन् । उसको मृत्युले चार गाउँलाई क्षति हुन्छ । त्यो क्षतिपूर्ति हुन गाह्रो छ । हरेक अड्किएका पलमा समाजले उसलाई सम्झन्छ र भन्ने छ– के गर्ने कस्तो अखट्टै पर्यो । जितबहादुर थियो नि, मरिहाल्यो ।
उसका मलामी थोरै भए पनि ऊ विशिष्ट मर्छ । मेरा मृत्युमा धेरै मलामी भए पनि म आम मर्छु । मेरो मृत्युमा समाज कृत्रिम रुन्छ । मेरो मृत्यु बेकामे हुन्छ ।
र यो विन्दुमा आइपुग्दा मेरा दिमागमा एउटा प्रश्न आइरहेछ लगातार, लगातार र लगातार । उसले धर्म गर्यो कि मैले ? ऊ पौरखी हो कि म ? उसले मान्छेको जीवन बाँच्यो कि मैले ? ऊ सामाजिक हो कि म ? उसको जन्माइ ठीक कि मेरो ?
र सारमा एउटा निक्र्यौलमा पुग्छु– म फ्यातुल्लो बाँचेको छु, ऊ अग्राखझैँ बाँचेको छ । अग्राखझैँ तगिरहेको छ ।

नाभेम्बर २७, २०२०
सान एन्टोनियो, अमेरिका