पिटरदाइ - Aksharang
  • २०७७ माघ ४ आइतबार

पिटरदाइ

रमण घिमिरे

रमण घिमिरे

जब मेरो स्मृतिमा पिटरदाइ सलबलाउन थाल्छन् अनि उनीसँगै दुई महान् हस्तीहरू- निबन्धकार शङ्कर लामिछाने र सङ्गीतकार अम्बर गुरुङ पनि सँगसँगै जसो झुत्तिखेलिरहन्छन् । अलि टाढाबाट हेर्दा ठूलो शरीरबाहिरको अनुहारमा सदा गाम्भीर्यको लेप लगाएर बस्ने व्यक्तिजस्तो लाग्थ्यो । पिटरदाइको शरीर र अनुहारभन्दा भित्र कमनमा नौनी नै नौनी रहेछ भन्ने मैले धेरैपछि थाहा पाएँ ।
म कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागजिनमा आवद्ध भएको अलि समयपछि उनी काठमाडौँ पोस्ट्मा कपी एडिटर भएर आएका थिए । त्यस वेला उनलाई म ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यासका सर्जकका नाताले टाढैबाट मात्र चिन्थेँ । क्यान्टिनमा चिया खान झर्दा उनी पनि एउटा टेलबमा प्रायः एक्लै बसिरहेका भेटिन्थे । म टाढैबाट उनलाई नमस्कार गर्थें तर उनको नजिक हुन उनको त्यही विशाल काय र गाम्भीयले ओतप्रोत अनुहारले दिँदै दिँदैनथ्यो । त्यसैले लामो समय उनले त्यहाँ काम गर्दा म हामीबीचको मुस्किलले तीन सय मिटरको दूरी फड्केर उनीसँग दोहोरो एक वाक्य पनि बोल्न सकिनँ । हाम्रो कार्यालय दुई भिन्नाभिन्नै भवनमा थिए । र, पब्लिकेसन्स र टेलिभिजनकर्मीहरूको भेटघाटको साझा थलो त्यही क्यान्टिन हुन्थ्यो । पिटर दाइलाई म त्यही क्यान्टिनमा कहिले कफी पिउँदै गरेको र कहिले खैनी माड्दै गरेको भेट्थेँ । तर नमस्कार आदान- प्रदानबाहेक हामीबीच सम्बन्ध र सम्पर्कको सेतु थप तन्किएन ।
म त्यहीँ हुँदै काठमाडौँ पोस्ट् छोडेर रिपब्लिका आवद्ध भएर, त्यहाँबाट पनि निवृत्त भएर कोपुन्डोलको आफ्नो घरमै उनी डाक्रेजीवन व्यतीत गरिरहँदा मात्र उनीसँग मेरो निकट भयो र नौनी मनका उनका खारिएको घ्युजस्ता विचार नजिकबाट अनुभूति गर्ने अवसर पाएँ ।
मस्किलले हामीबीच यस्तो सम्बन्ध पाँच या छ वर्ष रह्यो होला । त्यसपछि त उनी सदाका लागि दुनियाँबाटै सम्पर्कविहीन भइहाले ।
पिटर दाइ अर्थात् पिटर जोन कार्थक आस्थाले क्रिस्टियन थिए । नामका बारेमा जिज्ञासा राख्दा उनले भनेका थिए- इसुका निकटका दुईजना चेला थिए- पिटर र जोन । उनले क्रिस्टियन धर्म अँगालेपछि यी दुवै चेलाको सम्मानमा आफ्नो नामकरण गरेको बताउँथे । तर छोटकरीमा जोनको ‘जे’ मात्र राखेर आफ्नो नामको बीचमा झुन्ड्याउँथे । सायद कतिलाई आज पनि ‘जे’ भनेको जोन हो भन्ने कुरा थाहा नहुनसक्छ ।
उनी अम्बर गुरुङका प्रशंसक मात्र होइन साख्खै चेला पनि थिए । उनी भन्थे-  ‘सन् १९६० तिर दार्जीलिङमा अम्बरको आर्ट अफ एकाडेमी नामक संस्था थियो । हो, म त्यही एककाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन्गो- पाल योन्जन, शरण प्रधान, रनजित गजमेर, अरुणा लामाहरू ।’

त्यस वेला दार्जिलिङमा बेस गिटार बजाउने उनको दाँजोमा अर्को कलाकार थिएन । अम्बर गुरूङ नेपाल पसेपछि उनी केही समय रानो हराएको मौरीजस्तै भएर दार्जिलिङको डाँडोमै भौँतारिए र सायद अलि पछि रानो खोज्दै नेपाल आए । यस क्रममा उनले यहाँ धेरै हन्डर खाएको दुखेसो गर्थे । सुरूमा वीरगञ्जमा शिक्षक भएर नेपाल पसेका उनी त्यहाँबाट पनि खाइ जीविका खासै नहुने ठानेर उनका गुरूकै वरिपरि बस्ने निर्णयका साथ काठमाडौँ पसे । उनका गुरू त राजा महेन्द्रको बोलावटमा नेपाल आएर तत्कालीन नेपाल राजकीय प्रज्ञा- प्रतिष्ठानमा आवद्ध भई दुई छाकको गर्जो राम्र्रसँग टार्ने हैसियतमा थिए । तर पिटर त यहाँ आएपछि झन् कुइरोमा दिशा हराएको कागजस्ता भए । प्रज्ञा- प्रतिष्ठानका सामान्य जागिरे अम्बर सरको पनि उनका लागि कतै भनसुन, सिफारिस गर्नसक्ने अवस्था थिएन । अनि उनी कहिले टेकका हिसाबले रेडियो नेपालमा गिटार बजाउने र कहिले के गर्दै बढो कष्टसाध्य जीवन बिताउन बाध्य भए । यस क्रममा उनले कहिले पुल्चोकको इन्जिनियरिङ कलेजमा पढाए त कहिले जीवनमा कहिल्यै नगरेको पूर्व- पश्चिम राजमार्ग बनाउने काममा लागेर आफ्नो डुङ्गा जेनतेन चलाउन थाले । भन्थे- ‘म इन्जिनियरिङ कलेजको प्राध्यापनबाट निवृत्त भएर महेन्द्र राजमार्गको हेटौँडा- बुटवल खस्यौली खण्डको निर्माण कार्यमा संलग्न भएँ । त्यहीवेला हो मैले ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास लेखेको ।’

त्यस उपन्यासमा उनले त्यस समयको दार्जीलिङको सामाजिक अवस्थालाई सूक्ष्मरूपले वर्णन गरेका छन् । त्यस उपन्यासले एउटा दुखान्त घटनालाई बोकेर अन्त्यसम्म जति कष्टकर यात्रा गर्छ, त्यस उपन्यासको रचनागर्भदेखि प्रकाशनसम्मको यात्रामा पिटरले पनि त्यति नै कष्टकर यात्रा गरेको कुरा सुनाउँथे । उनले यस उपन्यासको पहिलो मस्यौदा सिद्ध्याएपछि अम्बर गुरूङलाई देखाएछन् । गुरूङ उपन्यास पढिसकेर पुलकित हुँदै पिटरलाई भनेछन्- ‘यसको भूमिका शङ्करले लेख्छन् ?’ शङ्कर लामिछाने त्यस वेलाको साहित्यको शिखरमा थिए । र, पिटरलाई लामिछाने र गुरुङबीचको आत्मीय र भावनात्मक सम्बन्धबारे राम्रोज्ञान थियो । पिटरको गुरूङकै डेरा ज्ञानेश्वरमा लामिछानेसँग चिनजानी र धेरैपटक भेटघाट पनि भइसकेको थियो । त्यसैले आफ्नो अम्बर सरले ‘म शङ्करलाई भन्छु, यसमा उसले भूमिका लेखिदिन्छ अनि तिम्रो उपन्यासले प्रसिद्धि पाउँछ’ भनेपछि उनले नाइनास्ती गर्ने कुरै भएन ।
अनि सुरू भयो ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ का लागि पिटरको कष्टसाध्ययात्रा । त्यस वेला पनि शङ्कर लामिछानेसँग समय लिएर मात्र भेट्न सकिन्थ्यो । यति चर्तापुर्जा थिए लामिछाने । एक दिन गुरूले फोन गरेर कारणसहित लामिछानेसँग भेट्ने समय मिलाएर गुरूचेला पाटनको कोयोनानी भन्ने ठाउँमा पुगे लामिछानेलाई भेट्न नेपाल डिस्टीलरीको एक बोत भोड्का कोसेली बोकेर । मापसे गर्दै पिटरको उपन्यासमाथि सामान्य चर्चा हुँदैथियो । पिटरकै शब्दमा ‘शङ्कर दाइ त दुई पेगमै ओछ्यानमाथि नै लमतन्न परेर फ्वाँफ्वाँ भए ।’ त्यस दिन उनीहरूले लामिछानेलाई सुताए मात्र उपन्यासको भूमिकाका लागि उठाउन सकेनन् । त्यो भोट्का गुरूचेला मिलेर त्यहीँ घुट्क्याएर रित्तोहात फर्के । त्यसपछि पटकपटक गुरूचेला भोड्का र ‘प्रत्येक ठाउँ’ बोकेर लामिछानेकहाँ धाइरहे । पिटरदाइ भन्थे- बाहिरतिर शङ्कर लामिछाने खुब पिउँछन् भन्ने हल्ला थियो । तर पिकनिकतिर जाँदा पनि अरू पिउँदै नाचगान गरेर, तास खेलेर रमाइलो गर्थे, उहाँचाहिँ एकदुई पेग चढाएपछि सुतिहाल्नुहुन्थ्यो । अनि कतिवेला फेरि ब्यूँझिेर भन्नुहुन्थ्यो- ‘अलिकति थप न !’ त्यतिवेलासम्म बोतल रित्तिसकेको हुन्थ्यो ।

शङ्करले त्यो उपन्यास पढेर भनेका थिए- पिटर भाइ यसलाई तिमीले मलाई चित्त बुझ्ने गरी जबसम्म पुनर्लेखन गर्दैनौ, यसमा म भूमिका लेख्दिनँ ।’ पिटरसँग हुन्छ भन्नुको विकल्प पनि थिएन । हुन त शङ्करले आफ्नो चेलालाई यसरी पेलेकोमा अम्बर सर पनि खुसी थिएनन् । एकपटक त उनले गुरूङ झ्वाँक देखाउँदै भने पनि– ‘पिटर ! अब पनि शङ्करले आनेकानी ग¥यो भने यसको भूमिका म आफैँ लेखिदिन्छु, तिमी हतास नहौ ।’ तर पिटरलाई त यस उपन्यासको भूमिका लामाछानेबाटै लेखाउनु थियो । किनभने यसअघि उतैबाट आएकी पारिजातको ‘शिरीषको फूल’ उपन्यासमा लामाछानेको भूमिकाले प्रसिद्धि पाएको मात्र होइन, त्यही भूमिकाका कारण त्यस उपन्यासले मदन पुरस्कारसम्म पाएको हो भन्ने चर्चा राजधानीको साहित्यिक जमातमा व्याप्त थियो । त्यसैले लामिछानेको भूमिकामा कति दम थियो भन्ने पिटरले बुझेका थिए र यसका लागि जति नै जतिपटक पुनर्लेखन गर्न पनि पिटर तयार थिए ।

तर उनले तुरून्तै त्यसको पुनर्लेखन गर्न भ्याएनन् । त्यसवेला उनी त्यही सडकको कामले अत्यन्त व्यस्त थिए । दिनभरि दौडधूप गर्र्नुपथ्र्यो । तर थोरै समय उभ्रिँदा पनि उनले शङ्करदाइले कहाँ मन पराए र कहाँ मन पराएनन् भन्ने बुझेर सच्याउने प्रयत्न भने गरिरहे ।

यसरी लगातार पाँचपटक पुनर्लेखन गरेपछि उनको मनले अब ‘योभन्दा बढ्दा गर्न सक्तिनँ है’ भन्ने भएपछि पाण्डुलिपि बोकेर एक दिन एक्लै पुगेशङ्करको डेरा कायोनानी, पाटन । तर उनी भेटिएनन् । त्यतिवेला दुइटा शङ्कर एक भएका थिए अर्थात् शङ्करदाइ शङ्र होटलमा काम गर्थे । पिटरदाइले त्यहीँ भेटेर उनको हातमा पाण्डुलिपि राखेर, जे मन लाग्छ लेखिदिनु म योभन्दा बढी मिलाउन सक्तिनँ भनिराखेर फर्किए ।

त्यसको १५ दिनपछि अम्बर सरले डाकेर उनी हतारहतार ज्ञानेश्वर पुगे, त्यहाँ शङ्करदाइ भूमिका बोकेर पुगेका रहेछन् । उनले कोटको खल्तीबाट भूमिका निकालेर अम्बर र पिटरलाईपढेर सुनाइसकेपछि भने- ‘उपन्यास मैले सोचेजस्तै भएछ । तर मलाई भूमिका लेखेको पारिश्रमिक चाहिन्छ ।’ त्यतिवेला लामिछाने विना पारिश्रमिक अरूका लागि आफ्नो नामसुद्ध नलेख्ने साहित्यकार भनेर चिनिन्थे । पिटर पनि के कम ! खल्ती छामेको एक रूपियाँको नयाँ नोट भेटियो । उनले शङ्करलाई त्यही एक रूपियाँ पारिश्रमिक दिए । शङ्करले पनि त्यसलाई सहर्ष स्वीकार्दै खल्तीमा हाले । तर शङ्करलाई पहिला पिटरको उपन्यास चित्त नबुझेजस्तै उनीहरूको जमाताका एक सदस्य तुलसीनाथ ढुङ्गेलले शङ्करको भूमिकामापनि चित्त बुझाएनन् । ढुङ्गेलले मुखै फोरेर शङ्करलाई भने पनि- ‘तिम्रो भूमिका खत्तम छ शङ्कर, फेरि लेख !’ र शङ्करपनि ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को भूमिका दुईदुई पटक पुनर्लेखन गर्न बाध्य भए । यो पनि एउटा संयोग नै थियो ।
भूपि शेरचन, शङ्कर लामिछाने, तुलसीनाथ ढुङ्गेल, अम्बर गुरूङ, उत्तम नेपालीहरूको एउटा जमात थियो । त्यस जमातले पनि लामिछानेको भूमिकामा लालमोहर लगाउनुृपथ्र्यो । जे होस् । पिटरको उपन्यासमा लामिछानेले लालमोहर लगाएर लेखेको भूमिकामा पनि जमातको सर्वसम्मतिबाट लालमोहर सदर भयो । ‘त्यस दिन मेरो जीवनकै अविस्मरणीय दिन थियो, हामीले अम्बर सरको डेरामा बसेर शङ्कर दाइको भूमिकालाई अनुमोदन गरेका थियौँ ।’ पिटरले पुराना स्मृतिका पृष्ठहरू पल्टाउँदै भनेका थिए ।
तर त्यसपछि….! त्यसपछि त झन् ठूलो व्यवधान खडा भयो- शङ्कर लामिछानेले भूमिका लेख्नुअघि गराएको होमवर्कभन्दा कष्टकर । ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को प्रकाशन प्रज्ञा- प्रतिष्ठानले गरिदिन्छ, त्यहीँ देऊ’ भन्ने उनका गुरु र शङ्करकै सल्लाहले उनी बढो उत्साहका साथ प्रज्ञा- प्रतिष्ठानको परिसरभित्र छिरे र एकजना प्राज्ञलाई भेटेर (प्राज्ञको नाम अहिले बिर्सें) पाण्डुलिपि बुझाए । त्यसवेला प्रज्ञा- प्रतिष्ठानको माथिल्लो कुर्सीमा बस्ने प्राज्ञहरू पनि उतै दार्जिलिङतिरबाटै आएका थिए । उनलाई यसले थप उत्साहित पा¥यो । ठाउँको नाताले पनि धरै महत्त्वराख्छ नि !पिटरले सोचे- शङ्करदाइ र अम्बर सरले भनेपछि र ती प्राज्ञहरू पनि आफ्नै माटोका भएकाले यसले एक हप्तामै स्वीकृति पाउँछ र छपाइमा जान्छ । त्यसमाथि शङ्करदाइको भूमिकाले महत्त्वपूर्ण झन् भूमिका लेख्ने भयो ।
तर उनको विचार, सोचाइ, धारण र विश्वास सारा धूलिसात् भयो । अदालतमा तारिख धाउँदा धाउँदा हतास भएको व्यक्तिलाई जब अन्तिम पेसीमा पनि फैसला आफ्नो पक्षमा नहुँदा जुन चरम पीडा र विषाद हुन्छ, पिटरदाइ पनि ठीक त्यस्तै तिक्तअनुभव भोग्न विवश भए । प्रज्ञा- प्रतिष्ठानले ‘अहिले यो उपन्यास नछाप्ने’ या‘उपन्यास छाप्न धेरै समय लाग्छ’ भन्ने खालको तोक लगाइदियो । तोकमा हस्ताक्षर गर्ने उनकै माटोबाट उताको बाटो हिँड्दै यता आएकै व्यक्ति थिए । पिटरले भनेका थिए- ‘यो सुनेर त मलाई, मैले किन उपन्यास लेख्ने धृष्टता गरेछु भन्नेपीडाबोध भयो । मलाई आफूले आफ्ना ठानेका मान्छेहरूले नै निरास पारेका थिए ।’ प्रज्ञा- प्रतिष्ठानको यो निर्णय सुनेर अम्बर गुरूङ जति दुःखी भए, त्योभन्दा कता हो कता शङ्कर लामिछाने आक्रोशित भएका थिए । लामिछानेले आफ्नो भूमिकाको अवमूल्यन भएको पनि अनुभूति गरेका थिए ।
तर प्रज्ञा- प्रतिष्ठानको निर्णय गलत ठहरियो । साझा प्रकाशनले ‘प्रत्येक ठाउँ…’ प्रकाशित गरिदिएन मात्र यस उपन्यासलाई त्यस वर्षको साझा पुरस्कारबाट समेत पुरस्कृत गर्यो । यी उनले सुनाएका कथा हुन् ।

मैले छोटो सङ्गतमा बुझे अनुसार पिटर जे कार्थक एक नम्बरमा सङ्गीतकार थिए, त्यसपछि आख्यानकार र तेस्रो नम्बरमा पत्रकार । उनले खाइ जीविकाको क्रममा अनेकौँ ठाउँ र अनेकौँ परिस्थितिसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यताले पहिलो नम्बर अर्थात् सङ्गीतलाई धेरैअघि नै बिदाइ गरेका थिए । तर दोस्रो नम्बरलाई अर्थात् लेख्न भने छोडेनन् । उपन्यासपछि ‘पिटरका कथा’ लिएर उनी पाठकमाझ फेरि उपस्थित भए । बीचको लामो अन्तरालमा उनी कामकै सिलसिलामा फेरि कताकता बरालिए, सिर्जनाका लागि उनको कलम र कागजसँगको नातै टुट्यो । उनी तेस्रो नम्बर अर्थात् पत्रकारितासँग जोडिन पुगे । तर बीचमा ‘प्रत्येक ठाउँ…’ लाई आफैँ अङ्ग्रेजीमा अनुवाद गरेर ‘एभ्री प्लेस एभ्री पर्सन’ निकाले । अङ्ग्रेजी भाषामै अर्को मौलिक उपन्यास लेखे- ‘काठमाड्र्युइड्स्’ । जीवनको उत्तरार्धमा नेपाली सङ्गीतका साधकहरूलाई शब्दमा उतारेर अङ्ग्रेजीमै अर्को सशक्त कृति दिए-  ‘नेपाली म्युजिक मेकर्स’ ।

‘नेपाली म्युजिक मेकर्स’ को पनि कथा छ । यसको पाण्डुलिपि हिमाल बुक्सका वसन्त थापालाई बुझाएपछि पिटर दाइ आरामले बसे । तर यसमा उल्लेख भएका व्यक्तिहरू सान्दर्भिक तस्बिरहरू खोज्न थापालाई पहाड फोड्नुजस्तै भयो । उनले पुराना सङ्गीतकारका तस्बिरहरू खोजिदिन मसँग पनि आग्रह गरे । मसँग भएका नारायणगोपाल, नातिकाजी र केही सङ्गीतकारहरूको तस्बिर मैले उपलब्ध गराएँ । शिवशङ्करको तस्बिर पनि उनका छोरासँग सम्पर्क गरेर थापालाई पठाइदिएँ । तर सबैभन्दा कठिन भयो- कुनै समयमा चर्चित गायक- सङ्गीतकार, दार्जिलिङका जितेन्द्र बर्देवाको तस्बिर खोज्न । वर्षौं अघि दिवङ्गत भइसकेका बर्देवाको तस्बिर पाउनु मुसाको सिङ खोज्नुजस्तै भयो । त्यही वेला दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन पुनः ब्यूँतिएको थियो । त्यता सम्पर्क गर्न असम्भव थियो । तर कसरी कसरी बिहे भएर वर्षौं अघि धरानमा आएकी बर्देवाकी छोरी गौरी कार्कीसँग मेरो सम्पर्क भयो र केही तस्बिर प्राप्त भयो । यसरी पिटरदाइको अन्तिम कृतिमा काम गर्न पाएकोमा मलाई पनि उहाँले मलाई लगाएको अकुत ऋणमध्ये केही तिर्ने अवसर प्राप्तभयो ।
उनका गुरू अम्बर गुरूङ भन्थे– ‘म र मेरो सङ्गीतलाई नजिकबाट बुझ्ने कोही छ भने त्यो पिटर हो ।’ अम्बर गुरूङको निधन हुँदा उनका बारेमा सबैभन्दा बढी ‘कोट’ पनि पिटरकै आएको थियो । अम्बरलाई मात्र होइन शङ्कर लामिछानेलाई पनि नजिकबाट बुझ्ने उनै पिटर थिए । हामी यी दुई प्रतिभाहरूको रिपोर्टिङ् गर्न निस्किँदा पहिला ठोक्किने व्यक्ति पनि उनै पिटरदाइ नै थिए । उनलाई एक समयका नारायणगोपाल, गोपाल योञ्जनलगायतका सङ्गीतज्ञहरूबारे पनि प्रशस्त सूचनाहरू थिए । ‘नेपाली म्युजिक मेकर्स’ ले यसैको उदाहरण हो ।
नेपालमा बन्दाबन्दी सुरू हुँदा उनी चिकन गुनिया भन्ने रोगले थलिएका थिए । उनका त्यसै त मोटा पिँडुला, रोगले सुन्निएर हात्तीका खुट्टाजत्रा भएका थिए । त्यसपछि एकदुईचोटि भेट भयो । तर त्यसपछिका झन्डै आठ- नौ महिना हामीबीच कुनै भेटघाट, वार्तालाप भएन । बन्दाबन्दीको मध्यतिर एक दिन बिहानै वसन्त थापाको फोन आयो । उनी बन्दाबन्दीले आफ्नो गृहनगर धरानमा थुनिएका रहेछन् । उनैले प्रिय पिटरदाइको देहावसानको खबर सुनाए । म कोभिडको महामारीमा उनको पार्थिव शरीरमा एक थुँगा फूल चढाउन जान पनि सकिनँ । उनलाई हृदयदेखि नै श्रद्धाञ्जली भनेँ । एक दिन लामो निश्वास छोड्दै पिटरदाइले भनेका थिए- ‘भाइ अब त ती दिन कहाँ गए गए । त्यस जमातको सङ्गातिमध्ये एकजना अम्बर सर मात्र हुनुहुन्छ । उहाँ पनि अस्वस्थ हुनुहुन्छ ।’ त्यसलगत्तै अम्बर गुरूङ पनि गए । र अन्ततः पिटरदाइ पनि उतै लागे । मन नमीठोसँग बाउँडिएर आउँछ । अब पिटरदाइ पनि कहिल्यै नफर्किने गरी गए । म पिटरदाइकै ठाउँमा उभिएर सोच्छु- ‘ती दिन अब कहिल्यै नफर्किने गरी कहाँ गए गए !’

तस्बिर:  रमण घिमिरे


raman.ghimire@gmail.com