समयको पटाक्षेप जीवन - Aksharang
  • २०७७ माघ १० शनिवार

समयको पटाक्षेप जीवन

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

कला चेतना जीवनको सुन्दर लयमा बग्ने मीठो अभिलेख या भनौँ जीवनवादी दर्शन हो । ननिदाई आँखा बन्द गरेर कलाबारे कल्पना गर्नुले मात्र पनि जीवनलाई रोमाञ्चित बनाउँछ । चित्र कोर्नु कला, मूर्ति बनाउनु कला, लेख्नु कला, अनि अभिनयका अनेकौँ भावतरङ्ग ल्याउनसक्नु कला, गीत गाउनु कला, सङ्गीतको धुन तिखार्नु कला, नक्कल गर्नु कला, नानाथरीका मञ्चमा उभिएर सन्दर्भसापेक्ष प्रस्तुत हुनु कला, जीवनको दैनिकीमा जीवन भर्नु कला । केके हुन् केके कलाका आयमहरू । अझ जीवन बाँच्ने कला । जीवन बाँच्ने कलामा त जीवनको सुन्दर अर्थ भेट्न सकिन्छ सायद । त्यसैले कलालाई समयको पटाक्षेप जीवन भनेको होला । जीवनको अर्थमा कला र कलाको सौन्दर्यमा जीवन भरेर सधैँसधैँ उभिइरहेका हुन्छौँ हामी । फेरि सोच्छु के यो हुनैपर्ने हो त जीवन बाँच्नलाई ? यसमा म आफैँ निरुत्तरित हुन्छु । जीवन कलाको पर्याय हो या कला जीवनको अपरिहार्य तत्त्व ? म अन्योलको अनन्त क्षितिजबाट फर्किएर मनोवाद गर्छु र युगीन चेतनाका कलाविज्ञ भर्तृहरिको भावलाई चिन्तन गर्छु । उनले ‘कला त्यस्तो चीज हो, जुन हामीलाई परम्ब्रह्मामा लिन गराउन सक्छ । कल्पनाको अभिव्यक्ति दिनु नै कला हो ।’ भने ।
कला र कलाकारिताका तह र विषयहरू फरकफरक छन् । त्यस्तै कलाका आयतन र रूपका अनगिन्ती आयम छन् । यस लेखनीमा कलाका केही आयाम नछोई अभिनय कलाका प्रसङ्गमा बहकिने तरखरमा छु । अभिनयकला भौतिक सत्तालाई प्रस्तुत गर्ने एउटा माध्यम हो भन्ने विद्वान्हरूको भनाइ छ । शुक्राचार्यको ‘नीतिसार’ नामक ग्रन्थमा कलाको बारेमा बोलीविनाको लाटोले पनि अभिनयद्वारा आफ्नो जिन्दगीको भाव व्यक्त गर्नसक्छ भनेका छन् ।
कलामा मानवीय सत्य हुन्छ, जुन स्वयं मानवीय सत्ताले बनाबटी भाव आविष्कार गर्छ । जसमा शारीरिक र मानसिक यत्नद्वारा गरिने प्रदर्शनको पराकाष्ठा हो । अनि जीवनको महत्त्वलाई ध्यान दिएर प्रस्तुत गर्ने एउटा कायदा अभिनयकला हो जस्तै लाग्छ मलाई । मानिसको जीवन हरक्षण अभिनय नै अभिनय–मञ्चन गर्ने, गरिरहने एउटा सुन्दर कढी हो भन्दा फरक नपर्ला । त्यसैले अभिनयकलाको उद्विग्नतालाई समयको पटाक्षेप जीवन भन्न मिल्ला त !
बच्चादेखि नै अङ्कुराएर अनेकौँ शृङ्खलामा जकडिँदै अन्जानमा पनि अभिनय भइरहेको हुन्छ । यसरी बालकले आफ्नै सुरमा गरिने अभिनय मनमोहक हुन्छ । उसको आफ्नो अनुभूतिलाई प्रस्तुत गर्ने माध्यम रूनु, हाँस्नु, मुख अनि हात–खुट्टा फ्याक्नुको हाउभाउ र यताउता फर्कनु अनेक हुन्छन् । यी कुराहरू समयसँगै विकास भएर अभिनय गर्ने क्रियाकलाप पनि विकसित हुन्छन् र जुनसुकै अवस्थामा पनि मञ्चन गरिरहन्छन् । बाल्यकालमा गरिने अभिनयशृङ्खलाले रङ्गमञ्चका दक्ष कलाकारका भन्दा मनमोहक हुन्छन् ।
‘अभिनयकला अनुकरणयोग्य बनाउन सक्नुपर्छ’ भन्ने अरस्तुले आफ्नो धारणा राखेका छन् । हरेक आवाज वा शरीरका अङ्गद्वारा गरिने जुनसुकै भाव र हाउभाउको प्रदर्शनलाई हामी सरसर्ति अभिनय ठान्दछौँ । अभिनेता या अभिनेत्रीले कथाअनुसार मिल्ने पात्र बनेर रङ्गमञ्चमा अभिनय गर्छन् । अनि प्रायः जीवनको दैनिकीमा मान्छेले घरघरमा चेतन, अवचेतन अवस्थामा मनमा स्पर्श गर्ने अभिनय गरिरहन्छन् ।तर उनीहरूले आफ्नो क्षमतालाई आकलन गर्न सक्दैनन् र अघि बढ्दैनन् । यसरी घर–व्यवहारमा अभिनयको सिलसिला सृष्टिको सुरुवातदेखि नै चलिरहेछ । अनि कहिलेकाहीँ भने कुनै सन्दर्भमा नचाहँदानचाहँदै पनि अभिनय गर्नुपर्ने परिस्थिति अरूलाई जस्तै मलाई पनि परेको सम्झनाले आफैँलाई अभिनय गर्नसक्ने कलाकार भनेर घोषित गर्न उद्वेलित भएका अनगिन्ती सम्झनाहरू छन् ।मञ्चनमा मात्र नभई जीवनको दैनिकीमा पनि कलाकारिताको एउटा सशक्त पाटो ममा छ भन्ने मेरो भ्रम हो या यथार्थ मलाई थाहा छैन् । तर यस्ता अनुभवहरू मैले प्रशस्त गरेकी छु । यसैले मलाई लाग्छ, अभिनय भनेको जीवनयात्रामा आफूसँगसँगै हिँडिरहने अवसर हो । यस अवसरलाई जीवन बचाइको सौन्दर्य ठान्दै आफूले गरेका स्वाभाविक र अस्वाभाविक अभिनय सम्झेर रमाइरहन्छु । अनि जटिलताबीच र सहजताबीच अभिनय गर्नु मेरो जीवनमा महत्त्वपूर्ण सार बनेर कला प्रतिपादन भएको छ । उही उमेरअनुसार हिजोको अभिनयका पद्धतिमा आज आफूलाई बगाउन सक्दिन् । तर अभिनय त गरिरहेकी छु नि आज पनि समयको छायाँ टेकेर आफ्नै तरिकाले । अभिनयसँगै यस जीवनले जति सिकायो त्यसबाट कतिकति समस्याको समाधान त गरेकी छु ।
घरमा, यात्रामा, अफिसमा, किनमेलमा, बच्चा जन्मिँदा या मान्छेको मृत्युमा हरेक सन्दर्भ र जीवनका हरेक गतिमा अभिनय–मञ्चन भैरहेछ । अभिनयका अनगिन्ती स्रोत र साधन हाम्रो आफ्नै जीवनमा हुन्छन् । अर्थात् अभिनयको परिभाषा सारांश र निष्कर्ष नै जीवन हो भन्दा अनर्थ नहोला जस्तो लागछ मलाई त । सिद्धान्तको कुरा भने अर्कै होला । सिद्धान्तलाई लिएर हिँड्यो भने त माथि उल्लेख गरिएका कुराहरू मिल्न पनि नसक्ने हुन्छन् । अभिनयका पद्धति तह र प्रक्रियाअनुसार लेख्न मेरो सामर्थ नै छैन् नि ! हल्का भन्नुपर्दा स्वस्फूर्त गरिने, तालिम प्राप्त भएर गरिने र देखासिकी नक्कल गर्ने अभिनय हुन् सायद ।
अभिनयकला समयको पटाक्षेप हो वा जीवनको पटाक्षेप हो, बुझ्न सकिन्न । प्रायोजितरूपमा गरिने प्रहसन, नाटक क्यारिकेचर आदिबाट मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने अभिनयको उद्देश्य होला । रङ्गमञ्चमा गरिने नाटकको अभिनय सुसंस्कार समाज र जीवनपद्धतिको एउटा पद्चिन्ह हो भन्ने मलाई लाग्छ । जसमा कलाकारले शारीरिक अङ्गबाट पनि यथार्थभाव प्रकट गर्ने तरङ्ग पैदा गर्छ । केही व्यक्तिको हाउभाउसहितको बोली र विभिन्न प्राणीको बोलीको अनुकरण जस्ताको तस्तै प्रस्तुत गर्छन् । त्यस्तै विभिन्न व्यक्तित्त्वको हाउभाउसहितको बोली र अन्य खाले आवाजका ध्वनिहरू सुनेर, देखेर कहिलेकाहीँ त मलाई अनौठो खुसीले बहकाउने गर्छ । अर्काको नक्कल गर्ने कला मान्छेले मात्र नभई अन्य प्राणीहरूमा मान्छेको नक्कल गर्ने क्षमता हुन्छ र गर्छन् पनि । जस्तै सुगा मान्छेले सिकाएको बोली बोल्नु, बाँदरले मान्छेको नक्कल गर्ने अभिनय आफ्नै पाराले गरिरहेका हुन्छन् ।
अभिनय गर्ने क्षमता नभए नि रुचि भएपछि अलिअलि त पारा आउँछ जोकोहीलाई पनि । हुन त जे कुरा पनि गर्दैजाँदा पोख्त भइन्छ । फेरि रुचि हुने सबैको क्षमता पनि कहाँ हुन्छ र ? अनि रुचि हुँदा पनि पूर्ण ज्ञान हुनै नपाई कतिको जीवन टुङ्गिन्छ । त्यसैले जेजति जानिएको छ, त्यसैलाई सम्मान गर्दै जीवन रहुन्जेल अघि बढ्नु नै ठूलो कुरा रहेछ ।
नृत्य, नाटक या सङ्गीत, कवितावाचन र मञ्चन, कथावाचन हरेक विधामा अभिनयले आनन्द दिन्छ । यी सबै साहित्यको आविर्भाव हुन् । मैले आफ्नो कुरा गर्नुपर्दा कवितावाचन गर्ने अभिनय रोकिएन तर नाटक अभिनय गर्ने सिलसिला २०२९ सालपछि रोकियो । गीत गाउने धङ्धङी भने अझै छ । कक्षा नौमा पढ्दा मैले पनि एउटा नाटकमा अभिनय गरेको सम्झना नबिर्सने छ । पात्र दुई जाना हुन्छौँ। प्रहरी पोसाकको सर्ट र लामो हाफपेन्ट लगाएर रेडियो भिरेको रिकुटे पात्र म । लाहुरबाट घर फर्केर आफ्नो गाउँ पुग्दा वरै बाटोमा बसेको गाउँले दाइले भाइ तिम्री श्रीमती विधवा भइन् भनेर सुनाउँछन् । विधवा श्रीमतीको अवस्था सम्झेर धरधरी रूने मुर्ख लाहुरे भएको म पात्रको अभिनय सम्झेर मन अझै त नाच्छ। त्यस नाटकका संवाद पनि निकै रोचक छन् । विधुवाको बूढो भएर गरेको त्यस अभिनयमा निकै वाह वाह पनि पाएकी थिए ।
अभिनयकला र रङ्गमञ्चको निर्माण वैदिक कालमै भएको पाइन्छ । यो कुरा रामायण, महाभारत, हरिवंश र कठपुतलीबाट देखाइने नाटकबाट पनि सजिलै अनुमान लगाउन सकिन्छ । रामलीलाको अभिनय हेरेर आनन्दित प्रहसनहरू बरै ! सम्झनामा हराएका छैनन् । पहिलेको समयमा महिला पात्रको अभिनय पनि पुरुषबाट नै महिलाको साजसज्जामा सजिएर गर्थे । अहिलेको समय त्यस्तो छैन ।
अलिकति सिद्धान्तको कलेवरमा रङ्गिएर भन्नुपर्दा कथाको मर्मअनुसार शरीरका अङ्गद्वारा त्यसको अर्थ प्रस्तुत हुनुलाई आङ्गिक अभिनय र वाचिक अभिनय वाणीको प्रभावद्वारा प्रस्तुत हुनु अनि सात्विक अभिनय कामेर, आँसु बगाएर, स्वर बिगारेर, विनाशको चालमा गर्जेर, वनजङ्गलको आभास आदि मुद्रामा प्रस्तुत हुनु र स्थूल या नेपथ्यमा रहेर देश, स्थिति र समयको प्रतिनिधित्व गर्ने कलाकारको अभिनय र रङ्गमञ्चको सजावटलाई आहार्य अभिनय मानिन्छ ।
सर्कसमा मृत्युको छायाँ टेकेर मानिसलाई मनोरञ्जन दिन्छन् र मनै झस्कने जीवनको खेल खेल्ने खेलाडीले अभिनय गर्छन् । अनि दर्शकको झस्किएको मन थुमथुम्याउन कोही जोकर बनेर अनेक लीला देखाउँछन् । चलचित्रमा कलाकारले गरिने अभिनयमा शृङ्गारिक चेत जीवन्त हुन्छ । भिडियो या डकुमेन्ट्री तयार गरेर प्रदर्शन गरिने यसको पद्धति फरक हुन्छ ।
लामो, छोटो, एकल वा सामूहिक नाटकको अभिनय दक्ष कलाकारको प्रत्यक्ष जीवनवादी प्रहसन हो । कथा–पटकथाविनाको ध्वनियन्त्रको उपयोगमा शारीरिक हाउभाउ र अनुहारको भावभङ्गीको भाषा मूक अभिनयले गर्छन् । यस अभिनयका नायकका रूपमा चार्ली च्याम्पिनलाई प्रस्तुत गर्न सकिन्छ । मान्छेको जीवन हाँस्नु र हसाउनु हो । यदि कुनै दिन मान्छे हाँसेन भने उसको त्यो दिन दुर्भाग्यपूर्ण हुन्छ भनेर चार्ली च्याप्लिनले भनेका छन् ।
अभिनयको मूल स्रोत भनेको नै लेखन हो । लेखकले आफ्नो मन–मष्तिष्कमा एउटा विषयको आविष्कार गर्छ र त्यसलाई कुन कलेबरमा सजाउने हो प्रज्ञाबोधद्वारा चिन्तन गर्छ । अनि पात्रहरू उभ्याउँछ र सोहीअनुसारको वातावरण, परिवेश र समय मिलाएर सिर्जना गर्छ ।यसरी गरिएका सिर्जनालाई चलचित्रमा पद्धतिअनुसार कलाकारले अभिनय गर्छन् । अनि त प्लेटोले ‘अभिनयकला सत्यको अनुकृतिको अनुकृति हो’भनेका छन् ।
चलचित्र र नाटकमा साहित्यको सिर्जनाबाट हर्ष, विस्मात, उल्लासका गति भरिन्छ, जसले दर्शकलाई कुनै दृश्यमा आह्लादित र कुनैमा कारूणिक बनाउँछ । चलचित्र र नाटकको अभिनयगर्ने परम्परागत विशेषत पुरानो हो तर कविता, कथामा यसवेला अभिनयको नवीनतम प्रयोग हुँदैआएको छ ।
विश्वइतिहासमा नाटक क्षेत्रमा नै प्रसिद्धि कमाएका इटालीका विलियम शेक्सपियरले अभिनयबारे ‘अभिनय गर्ने पात्र एउटा र यो दुनियाँ एक रङ्गमञ्च भन्ने सोचेर आफूले आफ्नो जीवनमा केही अभिनय गरेर पात्रको भूमिका निर्वाह गर्नुपर्छ’ भनेका छन् । नेपाली नाट्यक्षेत्रका इतिहास बनिसकेका बालकृष्ण सम नाट्यसम्राट हुन् । उनका नाटकहरूकोपछिल्लो पुस्ताले सम्मान गरिरहेका छन् । सेनेमा हल, रङ्गमञ्च, सर्कस, सिनेमाहल, प्रेक्षागृह, रङ्गशाला,नाट्यशाला वा नृत्यशाला आदिमा स्क्रिनमा देखाइने सिनेमा, साहित्यका विविध विधा– वाचन, नृत्य, नाटक, सर्कस खेल आदिको प्रदर्शन हुन्छ । पश्चिमी देशमा यस्तोलाई थिएटर वा अपेरा भनिन्छ । हुन त अब यता पनि यी नामहरू प्रचलनमा आउन थालेका छन् । हाल नेपालमा जनस्तरबाट नै नाट्यक्षेत्र स्वर्णिमरूपमा देखापर्न थालेको छ । विभिन्न नामका थिएटर र नाटयशालाहरू नाटकपरम्पराको विकासमा व्यावसायिकरूपमा नै जोडदार लागिपरेका छन् । यसका माध्यमले नाटकक्षेत्रको विकास हुन्छ भन्दै अभिनव क्षितिजको कल्पनामा म रमाइरहेछु ।


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन् ।)
lakshmiuprety@gmail .com