दुःखको नियति - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

दुःखको नियति

सुमन घिमिरे वर्षा

सुमन घिमिरे वर्षा

घरपरिवारको कुरा गर्नासाथ सुरीको आँखा रसाउँछ। मुहारमा मलिनता छाउँछ । यस्तो वेला ऊ सुस्केरा हाल्दै पर क्षितिजसम्म आँखा पुर्याउँछे। कोही टुप्लुक्क आइपुग्छ कि भन्ने आशा बोकेका ती आँखा पुनः बाटोमा केन्द्रित गर्दै आफैँसँग भन्छे- ‘कुरा गरेर मनको पीडा घट्ने भए पो, गरिसाध्य छैन ! एक्लै बसेर रूनुपर्ने लेखेको रहेछ मेरो भाग्यमा ।’
झन्डै एक दशकजति मालिकको घरमा हली बसिसकेको जादुको शरीर अब पुष्ट हुँदैआएको थियो। उसको परिपक्क बन्दै गएको शरीरले एउटी साथीको आवश्यकता महसुस गर्दैथियो । बाटोमा हिँडेका केटीहरूलाई फर्कीफर्की पर पुगिन्जेलसम्म हेरिरहनुले यस्तो कुराको सङ्केत गथ्र्यो । फलस्वरूप उसले किच्चकवध मेलामा कोरली बाछीजस्तै मस्त बैँस फक्रिएकी सुरीलाई देखेपछि मन थाम्न सकेन र सतार जातको संस्कारले दिएको छुटको उपयोग गर्दै उसलाई तानेर भगाएको थियो ।
सुरूमा मालिकले हप्काएजस्तो गरे पनि पछि उनीहरूको चलनअनुसार अभिभावकत्व लिएर केटीको घरमा गई सल्लाह गरेर विवाहको विधि पूरा गरिदिएका थिए । मालिककै जग्गामा जादुले सल्लाह बमोजिम एउटा सानो छाप्रो हाल्यो । मालिक- मालिक्नीले पुराना हाँडाभाडाका साथै भान्सामा चाहिने सरदाम केही दिनलाई जुटाइ पनि दिएका थिए । भर्खर माघ सकिएता पनि जाडो घटेको थिएन । जादुको ओढ्ने ओछ्याउनेले अब दुईजनालाई पुग्ने कुरा पनि भएन । त्यसैले मालिकले नयाँ सिरक र डसना किनेर ल्याउन र बजार घुमेर पनि आउन भनेर पैसा दिएर ठाकुरगञ्ज बजार पठाए । नयाँ घरमा नयाँ सिरक- डसनामा सुन्दर जोडी जादु र सुरीको प्रेम अङ्कुरित हुँदैगयो । जादुको सुरीप्रतिको प्रेम र समर्पण देखेर ईष्र्या नगर्ने को हुन्थ्यो होला र ! वास्तवमा भन्नुपर्दा उनीहरूको प्रेमको चर्चा नगर्ने मान्छे नै थिएनन् त्यो बैँसाबारीमा ।
पछि मालिककहाँ कति दिन हली बस्ने बरू आफ्नै कमाइ गरौँ भन्ने जोईपोइले सल्लाह गरेर मालिकसँग प्रस्ताव राखे । मालिकले जादुको इच्छा मुताबिक डेढ बिगाहा जग्गा र एक हल गोरू खुसीसाथ अधियाँ कमाउन दिए । जादु हलो जोत्थ्यो, सुरी जादुको लागि खाजा लिएर जान्थी । आलीको डिलमा बसेर दुवैजना गफ गर्दै, हाँस्दै एकअर्कालाई ख्वाउँदै रमाउँथे । सिजन अनुसार मनग्य मकै अनि धान फलाए । मालिकलाई अधियाँ बुझाएर सामान्य वर्षभरिको गर्जो टार्न पुग्ने भयो । यो सुखी परिवारलाई लाग्न थालेको थियो, यही खेतीपातीको काम गर्नु, किनमेल गर्न बजार जानु र चाडपर्वमा मीठोमसिनो खानु नै जीवनको सार हो । सुरीको माया, साथ र सहयोगले जीवनको आमभोगाइका थकान सबै बिर्सेको थियो जादुले । यो अवधिमा खुसीको पर्याय बनेका उनीहरू यदि प्रेम हुँदो हो त गरिबीमा पनि कति सन्तुष्टि मिल्दोरहेछ भन्ने कुराको उदाहरण नै बनेका थिए ।
अब बिस्तारै सुरी कोरली बाछी रहिन । उनीहरूको प्रेमको पहिलो फूल डुम्री आँगनमा फुली । सुरी जादुलाई सघाउन खेतमा जान सकिनँ । बरू उल्टै जादुले पनि घरको कामधन्दामा सहयोग गर्नुपर्ने भयो । डुम्री जन्मेको एक वर्ष नपुग्दै खड्री जन्मी । एकपछि अर्को जिम्मेवारी थपिँदै गयो जादुलाई ।
मालिकका जम्मा दुईभाइ छोराहरू थिए र उनीहरू दुवैजना अस्ट्रेलिया गइसकेका थिए । उताबाट आमाबुबालाई झिकाएपछि मालिकले जादुलाई थप जग्गा अधियाँ गर्न भनेका थिए तर जादुले नसक्ने कुरा बताएपछि अरूलाई नै जग्गा ठेक्का लगाएर मालिक- मालिक्नीनै अस्ट्रेलिया गएपछि जादुको सुखदुःखको सहारा पनि टाढा भए । मालिक- मालिक्नी नभएपछि जादु केही हतासिएको थियो । यद्यपि सुरीको माया र छोरीहरूको मासुमियताताले जादुलाई काम गर्ने ऊर्जा मिलिरहेको थियो । छोरीहरू हुर्किंदै गएपछि फेरि सुरी खेतीपातीको काममा निस्कन थाली । घर फर्किंदा कहिले ठूली छोरी हिलोमा गाडिएकी हुन्थी त कहिले सानी नानीको नाकवरिपरि झुम्मिएका झिँगाको रोइदोहोलो हेरिरहेकी हुन्थी ।
असारको खेत रोप्न भ्याए पनि मङ्सिरको धान थन्काउन भ्याइन सुरीले तर जादु खुसीले तीन भित्ता माथि उफ्रिएको थियो सुफल जन्मिँदाको त्यो क्षण ।
एक दिन स्वयंसेवक दिदीले छोरालाई खोप दिन स्वास्थ्यचौकी जाँदा सुरीलाई भनेकी थिइन्- ‘यसरी बर्सेनि छोराछोरी जन्माए आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुँदैन । बन्ध्याकरण गरे हुन्छ । नत्र अस्थायी उपाय पनि छ ।’ स्वयंसेवक दिदीको कुरा सुनेपछि सुरीले जादुसँग सल्लाह गरी । जादुले नै बन्ध्याकरण गर्न तदारूकता देखायो तर सुरीले कताकता सुनेकी थिई- बन्ध्याकरण गरेपछि मान्छे कमजोर हुन्छ, भनेर । घरको एक मात्र कमाइ गर्ने मान्छे नै कमजोर भएपछि कसरी यत्रो व्यवहार उतार्ने भन्ने सोचेर सुरी आफैँले बन्ध्याकरण गरेकी थिई । यद्यपि जादु सुरीको यस निर्णयको विपक्षमा थियो ।
सन् ९० को दशक नेपाली महिलाले पनि विदेश जान श्रम स्वीकृत पाउन थालेपछि नेपाली महिलाहरू कुवेत, इजरायल साथै खाडीमुलुक जानका लागि होडबाजी नै चल्यो । जुन क्रम अहिलेसम्म निरन्तर छ । आफ्नो मुलुकमा बेरोजगारीको समस्या बढ्दै गएको विकराल अवस्थामा अझ कृषिमा आश्रित व्यक्तिहरू जति नै दुःख गरे पनि जीवन धान्न नै धौधौ परेपछि पुरूष मात्र नभएर विदेश जाने महिलाको पनि लर्को लाग्नथाल्यो । वैदेशिक बजार फस्टाइरहेको त्यस समय गाउँगाउँमा म्यानपावर कम्पनीका एजेन्टहरूले सोझासाधा नौजवानहरूको आँखामा सपनाको ठूलाठूला महलहरू ठड्याइदिन्थे । दुईचार वर्ष विदेश बसेर गाउँ फर्केकाहरूको फूर्तिफार्ती देख्दा गाउँमा दुःख गरेर बसेका जो कोहीको पनि विदेश जाने चाहना तीव्र भएर आउँथ्यो र म्यानपावर कम्पनीमा परामर्शका लागि ठोक्किन पुग्थे ।
सुरीको छोरा जन्मेको साल कुवेत गएकी झुमा अढाइ वर्षपछि एक महिनाको बिदामा गाउँ फर्किएकी थिई । विदेशमा झुमाले पैसा कमाएर पठाएको र उक्त रकमले कान्छाले घरअगाडि बाटोमा घुम्तीपसल खोलेको कुरा जग जाहेर नै थियो । एघार वर्षकी छोरी र नौ वर्षे छोरा छोडेर गएकी झुमा अहिले झन् कलकलाउँदी भएर आएकीछे । कालो अनुहार उसको भरभराउँदो रातो भएको छ । छोरा र छोरी त मख्ख हुने नै भए । आमा विदेश जानुअघि दुई छाक राम्रोसँग खान नपाएका उनीहरूले अहिले भनेजस्तो खान पाएका छन् । आफूलाई मनलागी गर्न र खेल्न पाएका छन् । झुमाको लोग्ने कान्छा त झन दङ्ग छ । उसको आर्थिक हैसियत बढ्नुका साथै फेरि भनेजस्तो सँग झुमा विकल्पमा भेट्टाएपछि उसको खुसीको सीमा छैन । यसरी घरपरिवारले साथ दिएपछि झुमा गाउँमा सबैकी हाइहाई भएकी थिई ।
झुमालाई देख्ने जोकोही उसका साथीसङ्गीको मनमा विदेश जाने लड्डु फुट्ने मात्र होइन, त्यहाँ जान सकिने सम्भावित उपायहरू सोध्नेगर्थे । झुमाले जस्तै घरपरिवारलाई खुसी दिने चाहनामा विदेश जाने सपना सलबलाउन थाल्छ सुरीको आँखामा पनि । झुमा उसलाई विदेश जानलाई सोध्नेजति सबैलाई आफू गएको ठाउँ अनि म्यानपावर कम्पनीको नाम, ठेगाना बताइदिन्थी । साथसाथै भन्थी- ‘मुटु दर्हो भएको मान्छे मात्र हो विदेशको दुःख खपेर बस्ने । सबैको वशको कुरा होइन विदेश, धेरै सोचेर कदम चाल्नू । विदेश सजिलो छैन, बाबै !’
‘जानु अगाडि एकपटक राम्ररी सोच्नु है सुरी !’ झुमाले हडबढाउँदै सुरीलाई सचेत गराएकी थिई ।

सुरीको मनमा विदेश जाने भूतले राम्रोसँग डेरा जमाइरह्यो यद्यपि झुमा बिदा सकेर फर्कि सकेकी थिई । विदेश जानलाई तत्काल पैसा नलाग्ने अनि पुगेर काम गर्न थालेपछि मात्र पैसा पठाउँदा हुने भएपछि सुरी विदेश जान झन हौसिई । सुरूमा जादुले सुरीको विदेश जान राखेको प्रस्तावलाई ठाडै अस्वीकार गर्यो । ‘सधैँको अभावमा कति दिन गुजार्ने हामी । ठीक छ म नजाऊँला, मेरो साटो तिमी नै जाऊ !’ सुरीले जादुलाई भएपनि विदेश जान दबाब दिएपछि जादु तयार भयो । गरिबी, अभाव अनि दबाबले मायाभन्दा माथि उठेर जादुका भावनाहरू अतिक्रमण गर्न थालेपछि ऊ म्यानपावर कम्पनीले खटाको सबै औपचारिकताहरू पूरा गर्दैगयो । तर दुर्भाग्य उसको एक्सरेमा ऊ सानो छँदा टिबी भएको प्रमाणको छाप छातीमा रँदैरहेछ । जसले गर्दा उसको विदेश गएर स्वास्नी र छोराछोरीलाई सुख दिने उद्देश्य माथि तुषारापात हुन्छ ।
जादुलाई भन्दा ठूलो चोट सुरीलाई पर्छ । हुनत सुरीलाई त्यति सानी छोरी र काखको छोरा छोडेर विदेश जाने रहर त थिएन तर गरिबीले निम्त्याएको उसको बाध्यतालाई आत्मासात् गरेकीथिई । त्यसैले जादुको विदेश जान नमिलेपछि सुरी फेरि आफैँ भएपनि जान भनेर जादु गएकै म्यानपावर कम्पनी पुगी । सुरीलाई झुमा गएकै ठाउँ कुवेत जान मन हुँदाहुँदै पनि म्यानपावरको सल्लाह बमोजिम लेवनानमा अझ राम्रो कमाइ हुने भनेर ऊ त्यहाँको यात्रा तय गर्न सात वर्षकी डुम्री र तीन वर्षको सुफललाई जादुको जिम्मा लगाएर सुदूर पूर्वबाट म्यानपावर कम्पनीको एजेन्टसँग काठमाडौँ गई ।
कान्छी छोरी खड्री पैसाको अभावमा बचाउन नसकेको तितो अनुभवले सुरीको मन सधैँ घोचिरहन्थ्यो । धामीझाक्री त कति गरे भनेर साध्य छैन । घरमा पालेको बीउ भालेसमेत देवीलाई भोग चढाएका थिए खड्रीलाई बचाउन सुरी र जादुले । हेल्थपोस्ट्ले अञ्चल अस्पताल रिफर गरेको थियो तर पैसाको अभावले सहरको ठूलो अस्पतालमा लैजाने आँट भएन उनीहरूको । अन्ततः सानी छोरी एक वर्षअघि चार वर्षको उमेरमा मेची नदीको बगरमा अत्येष्टि गर्नुपरेको पीडाले नै हो सुरी जस्तोसुकै सङ्घर्ष गर्नलाई मानसिकरूपले तयार भएकी । काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट लेवनानतर्फ उडी सुरी । ऊसँगै उडेका थिए उसका जिन्दगीका सपनाहरू । विमान चढ्ने वेलामा उसका खुट्टा एकाएक लुला भएका थिए । छोरा र छोरीले क्वाँक्वाँ गर्दै सुरीको घाँटी हातले बेरेर धेरैबेर रोएको सम्झी, उसले । कहिल्यै सुरीलाई एक्लै नछोड्ने जादु- जसको संसार सुरीबाट सुरू भएर सुरीमै सकिन्थ्यो, झलझली सम्झी उसको अनुहार । सुरी हिँड्ने वेला हेर्न नसकेर कस्तरी रोएको थियो, घर पछाडि घुँक्कघुँक्क गर्दै । छिमेकी दिदी, आइतबारकी आमाले सम्झाएकी थिई जादुलाई । र सम्झी, खड्री जसलाई गुमाउनु परेको थियो त्यही अनाम पैसाको कारण । पैसाको अभावमा अब उप्रान्त त्यस्तो दिन भोग्नुपर्ने छैन भन्ने सोचेर सिटमा पुगेर बसेपछि सिट बेल्ट जस्तै कसेकी थिई सुरीले उसको मन पनि ।
लेवनानको भव्य एयरपोर्ट बेरूतमा सुरी उत्रिएपछि, एउटी महिला लिन आएकी हुन्छे । अनपढ सुरीलाई एजेन्टले सबै कुराको निर्देशन गरेको भएपनि ऊ एकैछिन अलमलमा पर्छे । लिन आउने मान्छेलाई नभेटिन्जेल सुरी खुबै आत्तिन्छे । सुरीको फोटो र हुलिया थाहा पाइसकेकी उताबाट लिन आउने एजेन्टले सुरीलाई चिनिहाल्छे । एजेन्टले सुरीलाई पहिले अफिसमा पुर्याउँछे । त्यहाँ अफिसको औपचारिकता सकेपछि सुरीको पासपोर्ट त्यहीँ बुझाएर एउटा घरमा लैजान्छे र एउटी अधबैँसे महिलालाई सुरी जिम्मा लगाएर ऊ जान्छे ।
भिन्न ठाउँ, बेग्लै परिवेश र नौला मान्छेहरू देखेर पहिले सुरी निकै हतास हुन्छे । एक महिना त सुरीलाई कुरा बुझ्न र भाषा सिक्नै लाग्यो । सुरीले सोचेजस्तो सजिलो थिएन काम । तर मनलाई दृढ बनाएकी थिई सुरीले । घरको दुःख सम्झेरै परिवारलाई झुमाले जस्तै खुसी दिन आफ्नो दुःखलाई स्वीकार्दै गई सुरी ।

सुरीले काम गर्ने घरमा तीनजनाको परिवार थियो । पच्चीस वर्षको लक्का जबान छोरा र उसको बाउ र आमा । तीनै जना दिनभर बाहिर काममा जान्थे । सुरी ती आमाले अह्राएका सबै काम गर्ने गर्थी । घरका दुई पुरुष अर्थात् बाउ र छोरासँग बोल्ने अनुमति थिएन उसलाई । सामान किन्न महिनामा एक दिन आइतवार ती दुई लोग्नेस्वास्नीसँगै कारमा बसेर बजार जानु पथ्र्यो सुरीले । बाहिरी संसार देख्न पाउने त्यही वेला हो सुरीको नत्र घरको मूलढोकाबाट बाहिर निस्कने पनि अनुभूति थिएन उसलाई । बिहान उठेदेखि सुत्न अघिसम्म कामैकाम मात्र थियो सुरीको संसार । त्यसमाथि अझ ती महिलाको किचकिच र पिटाइ पनि सहनुको विकल्प थिएन उसलाई । तीनचार महिना त राम्रै कट्यो सुरीको । अब त्यो बन्द जेल जस्तो घरमा सुरीले दिउँसो छोराको यौनशोषणको सिकार बन्नुपरेको थियो भने राती बाउको । एकपटक सारै गाह्रो भएर ती महिलालाई सुनाउँदा उल्टै नचाहिँदो कुरा लगाउछेस् भनेर शरीरभरि नीलडाम हुनेगरी कुटेर मरणासन्न हुनुपरेको थियो सुरीले । त्यसैले सुरी जे जति ज्यादती पनि चुपचाप सहन थालेकी थिई ।
कोही नभएको वेला छोराछोरी र जादुलाई सम्झेर सुरीको आँखाबाट मेची नदीको पानी उर्लेर लेवनानमा बाढी जान्थ्यो र हल्लाउँथ्यो उसको मथिङ्गल अनि धिक्कार्थी आफ्नै कर्मलाई । घरबाट आएको वर्ष दिन हुनलाग्दा सम्म पनि फोन गर्न पाएकी थिइन्  घरमा । झुमाले ल्याइदिएको मोबाइलको नम्बर दिएको थियो सुरीलाई कान्छाले र भनेको थियो- सजिलो हुन्छ कुरा गर्न । ‘तिमी त्यताबाट पहिले एक रिङ्ग गरेर मिसकल गर्नु म जादुलाई मेरो मोबाइल ल्याइदिन्छु पाँच मिनेटपछि कल गरिहाल्नु’ तर त्यस्तो दिन कहिल्यै आएन सुरीको ।
उता सुरी विदेश हिँडेपछि जादुको अवस्था कारूणिक बन्दै गयो । सुरीको मायामा भुलिएको टुहुरो जादु दिन प्रतिदिन निराश र एकोहोरो टोलाउन थाल्यो । राम्ररी खेतीपाती गर्न सकेन । हुनत सुरीले मरिहत्ते गरेर खेती नगर्न भनेकी थिई । उताबाट पठाएको पैसाले घरखर्च गर्ने कुरामा सहमति भएको थियो तर भने जस्तो सहज र सोचेजस्तो दुरूस्त त कहाँ हुदो रहेछ र जीवन ! आमा हिँडेपछि सुफल पनि बिरामी परिरहन्थ्यो । माइती नजिकै भएकोले सुरीको आमाले सुफलको हेरचाह गरिदिन्थिन् तर आफू पनि रोगी भएर होला उमेरै नभई बूढी अनि कमजोर भएकी थिइन् । आफ्नै जिउ सम्हाल्न गाह्रो थियो उनलाई । पहिले नै लोग्ने परलोक गएपछि छोराबुहारीसँग बस्दै आएकी थिइन् । काम गर्न सकिन्जेल ठीकै थियो तर आजकल उनलाई आफ्नो जिउ भार भएजस्तो लागेको छ । त्यसैले उनि बर्बराउँदै भन्छिन्-  ‘मेरो सानो नातिलाई कालले लानुको सट्टा मलाई लानु नि ! भगवानको मुटु छैन हो हो भगवान नै छैन ।’
सासूआमाले सुफलको हेरचाह गरिदिएपछि सल्लाह गरेरै धानकाटा गर्न नेपाल आउने ठाकुरगञ्जको बङ्गाली व्यापारीको घरमा महिनाको एक हजार भारू दिने गरी सहयोगीको रूपमा राख्ने सर्तमा डुम्रीलाई पठाएको थियो जादुले । भाइको उपचारको खर्चको जोहो गर्न भनेर बाबुको सर्त चुपचाप मानेर आँखा भित्रभित्रै आँसु दबाइ इन्डिया गएकी थिई, डुम्री । हिँड्ने वेलामा बङ्गालीले एक हजार भारूको नोट निकालेर डुम्रीकै अगाडि जादुलाई दिँदै भनेको थियो  ‘तिम्रो छोरी मेरो पनि छोरी हो आजदेखि ।’
पैसा पाएपछि जादुले छोरालाई जँचाउन मेची अञ्चल अस्पतालमा लगेको थियो । डाक्टरले उल्टै जादुको सातो लियो- ‘यस्तो अन्तिम भएपछि ल्याउने ।’ विचारा जादुको ओठमुख सुक्यो, ऊ अक्क न बक्क पर्यो । अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै पनि सुफलको जीवन बचाउन सकेन आखिर डाक्टरको पनि केही सीप लागेन । बिरामी छोरा लिएर गएको जादु छोराको लास लिएर अस्पतालबाट फर्कियो र खड्रीलाई गाडे जसरी मेची किनार छेउकै खाली बगरमा गाउलेहरूले मिलेर गहिरो खाल्डो खनी सुफलको लासलाई पनि गाडेका थिए ।
छोरो मरेपछि जादु बौलाहा जस्तै भयो । पीर पनि कति हो । उसलाई एक पछि अर्को वज्रपात पर्यो । बिहान उठेदेखि रक्सी खान थाल्यो । खाएको, सुतेको, उठेको केही थाहा नपाउने भयो । सुरीको केही अत्तोपत्तो थिएन । गएदेखि कहिले फोन पनि आएको छैन । कान्छालाई जादुको अवस्था देखेर दया लागेर आयो र उसले सुरीलाई पठाउने म्यानपावरको अफिसमा गएर छोरा मरेको खबर गरिदियो । जसरी नि सुरीलाई झिकाउन आग्रह गर्यो ।
जादुको अवस्था झन्झन् नाजुक बन्दै गयो । केवल रक्सी मात्र खाएपछि उसको शरीर सुकेर बाँसजस्तै भयो । दिनभर भाँडा माझ्ने अनि जति भने नि रक्सी खान दिने भएपछि ऊ चिया पसलमै काम गरिदिएर ढुकीढुकी रक्सी खान थाल्यो । अलिपछि त काम गर्न पनि नसक्ने भयो । दिनभर घरको धापमा खोकेर लडिरहन्थ्यो । कहिले आइतबारकी आमाले त कहिले कान्छाले भात खान दिन्थे । तर पछिल्लो समय ऊ भात पनि निल्न नसक्ने अवस्थामा पुग्यो ।
सुरीलाई खबर गरेको महिना दिन बितिसक्दा पनि ऊ नआएपछि फेरि कान्छा म्यानपावर कम्पनी पुग्यो । उसले चेतावनीका साथ धम्की दिएपछि एजेन्टले तुरून्त झिकाउने आश्वासन दिएपछि ऊ घर फर्किएको थियो ।जादुको स्थिति गम्भीर बन्दै गइरहेको कुरा गाउँको सबैले मान्ने व्यक्ति माझी हडाम कहा पुग्यो । उसले जादुको अवस्था बुझेपछि अस्पताल लान व्यवस्था मिलायो । जादुको सुकिसकेको जिउ अहिले सुन्निएर भुक्क फुलेको थियो । अनुहारमा खुन नभएर कालो अनुहार खरानी रङको जस्तो देखिन थालेको थियो । मान्छेहरू भन्दैथिए अस्पताल लानु बेकार छ । कान त सबै फर्किसकेका छन् । त्यही पनि माझी हडामको कुरा कसले काट्न सक्छ । धिमालधुराबाट ठेला गाडी ल्याएर जादुलाई अस्पताल लगियो । कान्छा पनि सँगै अस्पताल गयो । ऊसको अनुहार धेरै नै मलिन थियो । ऊ घरिघरि मोबाइल हेरिरहन्थ्यो- कतै सुरीको फोन आइहाल्छ वा केही खबर आउँछ कि भनेर होला सायद ।
जादुको त्यस्तो अवस्था देखेर हो या अरू नै कुराले कान्छाको मनमा के असर गर्यो कुन्नि झुमाको फोन एक हप्ता मात्र नआउँदा पनि ऊ आत्तिन थालेको थियो । फोनमा झुमालाई घर आउन दबाब नै दिनथाल्यो कान्छाले । तर यतिवेला ऊ झुमाको फोनको अपेक्षाभन्दा पनि सुरीको खबर आऊँला भनेर मोबाइल हेरिरहेको थियो । तर अहँ सुरीको खबरको केही अत्तोपत्तो आउँदैन । जादुको बाँचेकी एउटै मात्र छोरी डुम्रीलाई कान्छाले एक्कासि सम्झिन्छ र उसलाई बाउको मुख हेर्नका लागि बोलाइदिन भनेर ऊ ठाकुरगञ्ज जान्छ तर डुम्री घर छोडेर भागेको र पुलिसमा रिपोर्ट पनि गरेको जानकारी पाउँछ । कान्छा त्यहाँ पनि निरास हुन्छ र फेरि अस्पताल नै फर्कन्छ ।
अन्ततः कान्छाको मोबाइलमा म्यानपावर कम्पनीको फोनको घन्टी बज्छ । ऊ केही राहत महसुस गर्दै फोन उठाउँछ- ‘सुरी काठमाडौँको एयरपोर्टमा आइसक्यो अब भोलि सम्ममा हाम्रो मान्छेले उसलाई यहाँ ल्याई पुर्याउँछ ।’ फोनमा म्यानपावरको मान्छेले कान्छालाई यति जानकारी गराउँछ । उता अस्पतालमा डाक्टरले कान्छालाई भनिसकेको थियो- ‘अब ऊ बाँच्दैन किड्नीले काम गरेको छैन, कलेजो सबै खत्तम भइसक्यो । सायद भोलि भन्दा उता जाँदैन होला । तपाईं उसको आफ्नो मान्छे, को को छ खबर गरिदिनू ।’ डाक्टरले त्यसो भनेपछि निराश भएर कान्छा जादुको अनुहारमा एकोहोरो हेरिरहन्छ र भगवानसँग प्रार्थना गर्छ- ‘भोलिको दिनसम्म जादुलाई केही नहोस् ।’
नभन्दै कान्छाको प्रार्थनाको सुनवाई भएजस्तो हुन्छ । रातीको बस चढाएर सुरीलाई बिहान सिधै हस्पिटल ल्याइन्छ । ऊ जादुलाई चिन्दिन । जादु अस्पतालमा अन्तिम श्वास लडिरहेको हुन्छ । पानी- पानी भन्दै ऊ बर्बराउँछ । कान्छाले सुरीको हात समाएर जादुलाई पानी ख्वाउँछ। सुरीको हातबाट एक चम्चा पानी खाएपछि जादुले प्राण त्याग्छ। सुरीले जादुलाई नचिने पनि जादुले पानीको घुट्की लिँदा सुरीलाई हेरेर आँसु झारेको थियो सायद उसले सुरीको स्मृति मस्तिष्कबाट पुछ्न सकिसकेको थिएन ।
माझी हडाम लगायत गाउँका अरू मान्छेहरू अस्पताल परिसरमा भेला हुन्छन् । जुन ठेलागाडीमा जादुलाई अस्पताल ल्याइएको थियो, त्यही ठेलामा मेचीकिनारको बगरमा पुर्याइन्छ । जहाँ जादुको छोरी- छोरालाई पहिले नै बगरले आफ्नो गर्भमा राखिसकेको थियो । सुरीलाई जादुको मृत्युले केही असर गर्दैन । उसले न आफ्ना छोराछोरीको नै खोजी गरी न आफूलाई जन्म दिने आमालाई नै चिनी । न घर नै चिनी न ठाउँ न परिवेश न साथीभाइ । एउटा जिउँदो लासझैँ सुरी निष्क्रिय घरको धापमा बसेर टोलाउँदै कहिले एक्लै हाँस्छे कहिले रून्छे ।
जादुको मृत्युसंस्कार सकिएपछि आइतबारकी आमा र झुमा भएर सुरीलाई अस्पताल लैजान्छन् । सुरीले डिप्रेसनको औषधी खान थालेको महिनौँ दिनपछि आज पहिलो पटक लोग्ने र छोरा दुवैको मृत्यु भइसकेको कुरा थाहा पाएर आमाको अँगालोमा धेरै बेर रून्छे । हराएकी ठूली छोरी डुम्री फर्केर आउँछे भन्ने आशले पारिबाट आएका मान्छेलाई बाटोमा हिँडेको देख्नेबित्तिकै डुम्रीलाई कसैले बाटोमा कतै देख्यौ कि भनेर सोध्न दौडेर बाटोमै पुग्छे । उनीहरूको जवाफले सुरी निराश हुँदै पुनः घरको घापमा नै टोलाएर बस्छे । कसैले उसको घरपरिवारको कुरा गर्नसाथ उसका आँखाहरू रसाउँछन् । मुहारमा मलिनता छाउँछ । यस्तो वेला ऊ सुस्केरा हाँल्दै भन्छे- ‘कुरा गरेर मनको पीडा घट्ने भए पो, गरिसाध्य छैन ! कसैले त मेरी छोरी डुम्रीलाई ‘देखेको छु’ भने हुन्थ्यो नि !


(विगत एक दशक अघिदेखि सिर्जनाफाँटमा सक्रिय वर्षाको एउटा उपन्यास प्रकाशित भइसकेको छ ।)
sumanbarsha.np@gmail.com