आमा र म - Aksharang
  • २०७७ माघ ४ आइतबार

आमा र म

अहिल्या सुवाल

अहिल्या सुवाल

आमा !
सम्झिरहेछु तिमीलाई
आज सात समुद्रपारि छु
सुविधासम्पन्न हस्पिटलको शय्यामा
प्रसव व्यथामा छटपटिँदा मैले तिमीलाई सम्झिएँ
तिम्रो दूधको भारालाई

तिमीले ती भीरपाखामा
त्यो हिलोमैलोमा
न अक्सिजनको पाइप
न सल्यान, न रगतका पोका,
फोहर, गोठजस्तै घरमा
कसरी सह्यौ आमा ?
मेरा पति मेरो हात सुमसुम्याउँछन्
कहिले पाउ
नर्सवरिपरि घुमेर दिइरहेका छन्
यमराजलाई पहेरा
अहं भित्र पस्न दिँदैनन्
मसामु त फिटिकै आउन दिदैनन् यमराज

सम्झन्छु आमा
अस्पतालका ढोका नटेकाका तिम्रो पाइला

तिमी भन्थ्यौ-
मलाई घाँस काट्दाकाट्दै
घाँसको भारीसँगै पाएको रे
सालनालसँगै मलाई बोक्दा
छोडेकै थिएनौ रे घाँसको भारी
पहिलोपटक मलाई देख्दा
खुसीले भन्दा दुःखले धेरै रोयौ रे छोरी भनेर
आमा ! हेर यहाँ म छोरो पाउँदा पनि
तिमीजत्तिकै दुःखी छु
तिमीलाई सम्झेर

आलो सुत्केरीको यादै रहेन तिमीलाई
पतिको घृणा, सासूको निन्दा
पीडामा बितेका तिम्रा ती दिनहरू सम्झन्छु
सुविधासम्पन्न ओछ्यान बिझाउँछ मलाई
नरम खाना अड्किन्छ
प्रत्येक गाँसमा तिमीले ढुङ्गा भेट्यौ
प्रत्येक रातमा तिम्रो सिरानी भिज्यो

हिजो सात वर्षको छोरो बोक्न खोज्दा
एक पाइला सार्न सकिनँ आमा
जवान छोरीलाई बोकेर परीक्षाकेन्द्र
हस्पिटल ओहोर- दोहोर कसरी गर्यौ
के छोरा ढुङ्गाजत्तिकै गह्रौँ  र
छोरी फूलजत्तिकै हलुका हुन्छन्  ?

माफ गर आमा
आमाको दूधको कुनै मूल्य हुँदैन
म कसरी तिर्नसक्छु
म कसरी तिर्नसक्छु र !


(बेलायतनिवासी सुवाल विगत एक दशकअघिदेखि सिर्जनाफाँटमा कलम चलाउँदै आएकी स्रष्टा हुन् ।)
duwakot@gmail.com