अपेक्षा विपरीत भएपछि - Aksharang
  • २०७७ माघ ४ आइतबार

अपेक्षा विपरीत भएपछि

शरद निरोला

शरद निरोला

कुनै पनि विधा चाहे त्यो साहित्य होस् वा सङ्गीत त्यसमा फ्यान अर्थात् प्रशंसकहरूको अहम् भूमिका हुन्छ । यो वर्ग नहुँदो हो त कुनै पनि सर्जक आफ्नै चौपर्खालभित्रको संसारमा रूमलिन बाध्य हुन्छ । मानिसहरूले उसले गरेको सिर्जना नपढिदिने, नसुनिदिने, नमनपराइदिने वा नअनुसरण गरिदिने हो भने त्यो सर्जक आफ्नो सिर्जना आफैँसँग राखी बाहिरी संसारबाट अदृश्य हुन्छ । कसैले उसलाई त्यस अन्धकार परिवेशबाट बाहिर निकालेर ल्याउँछ भने पनि जबसम्म प्रशंसकहरूले उसलाई भरथेग गरी उचाल्दैनन्, तबसम्म ऊ बेनाम नै रहिरहन्छ । यो ध्रुवसत्य हो ।
कुरा गरौँ लेखन । साहित्यको विशाल फाँटमा अहिले लाखौँलाख सर्जकहरू आ-आफ्ना सिर्जनारूपी हलो चलाइरहेका छन् । तिनमध्ये कतिका खेतमा बाली लाग्लान्, कतिका खेत बाँझै रहलान् । जसका खेतमा बाली लागे उनीहरूले त्यो काट्लान् पनि । तर त्यो बाली घरमै भकारीमा थन्क्याएर राख्ने वा बजारमा लगेर बेचबिखन गर्ने ? बजारमा अरूका बालीहरू पनि ल्याएर थुपारिएका हुन्छन् । यस प्रचण्ड प्रतियोगितात्मक बजारमा आफ्नो माल सजिलोसँग र सबैभन्दा धेरै बिकाउन गर्न सर्जकले एक्लै सक्दैन । उसलाई सहयोग चाहिन्छ र त्यो सहयोग केवल प्रशंसकहरूले मात्र दिनसक्छन् । एकपल्ट प्रशंसकहरूले उठाइदिएपछि त्यो सर्जक आफ्नो विधामा स्थापित हुनपुग्छ । त्यसैले कुनै पनि सर्जकले आफ्ना प्रशंसकहरूको भावनालाई ठेस पुर्याउने काम गर्नु हुँदैन । नकारात्मक अभिव्यक्तिहरूलाई पनि प्रशंसकको व्यक्तिगत सोचाइ हो भन्ने मानी उसको कदर गर्नुपर्दछ । माथि भनिएझैँ विभिन्न विधाका सर्जक हुन्छन् । यी पङ्क्तिहरूमा म लेखन साहित्यसम्बन्धी आफ्नो एक प्रशंसकको चर्चा गर्न चाहन्छु ।
उपर्युक्त सम्बन्धमा चर्चा गर्नुभन्दा पहिले अर्को एक विषयमाथि चर्चा गर्नु उपयुक्त होला । लेखन- साहित्य (उपन्यास, नाटक, कविता, कथा, निबन्ध, नियात्रा, लेख आदि) का पाठकहरूले सम्बन्धित सर्जकका बारेमा आफ्नो एउटा खास धारणा बनाएको हुन्छ । यदि उसले सर्जकलाई जीवनमा पहिले कहिल्यै नदेखेको अवस्था छ भने उसको मानसपटलमा उसले उक्त सर्जकको एउटा काल्पनिक छवि कैद गरेर राखेको हुन्छ । यस्तो छविको संरचना उसको उक्त कृतिमा सर्जकको प्रदर्शित व्यक्तित्वमाथि आधारित हुन्छ । सम्पूर्ण सिर्जना पढिसकेर यस्तो लेख्नसक्ने व्यक्तिको शारीरिक व्यक्तित्व यस्तै हुनुपर्छ भन्ने कल्पना गरी उसले त्यो छवि आफ्नो मस्तिष्कमा कुँदेको हुन्छ । यही तथ्यमाथि आधारित मेरो एउटा व्यक्तिगत अनुभव म यहाँ वर्णन गर्न चाहन्छु ।
तिनताक (विक्रम संवत् २०२६ सालतिर) मेरा एकपछि अर्को जासुसी उपन्यासहरू प्रकाशित भइरहेका थिए र तिनको लोकप्रियता पनि बढ्दै गइरहेको थियो । म त्यसवेलाको अति लोकप्रिय साप्ताहिक पत्रिका ‘नयाँ सन्देश’ मा सहसम्पादकको रूपमा काम गर्थें । प्रधान सम्पादक रमेशनाथ पाण्डे र म मिलेर सम्पूर्ण सामग्री सङ्कलन र सम्पादनको कार्य गथ्र्यौं । त्यस पुरानो जमानाको काठमाडौँली घरको दोस्रो तलाको भित्री कोठामा रमेशजीको र बाहिरी कोठामा मेरो अफिस थियो । उहाँको स्वामित्वमा प्रकाशित हुने उक्त साप्ताहिक पत्रिकामा उहाँ राजनीतिक एवं आर्थिक समाचारहरूको लेखन-सम्पादन गर्नुहुन्थ्यो र मचाहिँ फिचर लेख एवं स्थायी-स्तम्भहरूको व्यवस्था गर्थे ।
एक दिन आफ्नो अफिसमा बसेर म प्रश्नोत्तर स्तम्भका लागि पाठकका प्रश्नहरू छाँट्ने काम गर्दैथिएँ त्यसैवेला तलबाट पिउन केदारले आएर ‘हजुरलाई कोही भेट्न आएको छ’ भनेर सुनायो । मलाई आश्चर्य लाग्यो मलाई भेट्न को आउन सक्छ र ? भनेर । ‘मलाई कि रमेशजीलाई भेट्न ?’ मैले सुनिश्चित गर्न सोधेँ । ‘हजुरकै नाम लियो,’ केदारले जवाफ दियो । बड़ो गज्जब भयो भन्ने सोचेँ र पठाइदेऊ भनेँ ।
केही छिनमै आगन्तुक माथि मेरो कोठामा आयो । यस्तै २२-२४ वर्षको, जवान, आकर्षक व्यक्तित्वको देखिन्थ्यो ऊ । नमस्कार गर्दै ऊ मेरा अगाडि उभियो ।
‘भन्नोस्, कति कामले आउनु भयो ?’ मैले उसलाई बस्ने सङ्केत गर्दै सोधेँ । मेरो अगाडिको मेचमा बसिसकेपछि उसले जवाफ दियो- ‘शरद निरोला सर यहीँ काम गर्नु हुन्छ भन्ने थाहा पाएँ । उहाँलाई भेट्न आएको ।’
मैले तुरुन्त आफ्नो परिचय दिन चाहिनँ । के थाहा को मान्छे हो, कस्तो मान्छे हो ?
‘शरदजीसँग के कति काम थियो कुन्नि  ?’ मैले पहिले कुरो खोतल्न चाहेँ ।
‘वास्तवमा म उहाँका उपन्यासहरूको प्रशंसक हुँ । धेरै समयदेखि उहाँलाई भेट्ने, उहाँलाई हेर्ने धोको छ । म पोखरादेखि यही कामको लागि मात्र काठमाडौँ आएको हुँ । उहाँलाई भेट्न सकिएला ?’
अब धेरै सस्पेन्स राखिराख्न ठीक छैन भन्ने ठहर गरेँ र मैले आफ्नो परिचय दिएँ- ‘शरद निरोला भन्ने व्यक्ति म नै हुँ ।’
यो सुनेर ऊ अवाक् भयो । अवाक् के, स्तम्भित नै भयो । उसको अनुहारमा आएका भावहरू हेर्दा यस्तो लाग्थ्यो मानौँ उसको मनमा संशयको चट्याङ परेको छ, अविश्वासको बिजुली सरसराएको छ ।
‘तपाईं शरद निरोला ?’ अविश्वासको अतिरेक रोक्ने प्रयत्न गर्दै ऊ बर्बरायो ।
‘हजुर, मैँ हुँ शरद निरोला,’ मैले मुस्काऊँदै र उसको हैरानीको मजा लिँदै जवाफ दिएँ- ‘किन ? पत्यार लागेन ?’
उसले मेरो प्रतिप्रश्नको तुरून्तै जवाफ दिएन । उसको अनुहारमा आश्चर्य, नैराश्य, अविश्वास अनि हैरानीका भावहरू एकपछि अर्को गर्दै बगिरहेका थिए ।
निकै बेरपछि उसले मेरो अनुहारमा आँखा गाड़दै भन्यो- ‘हुनै सक्दैन । तपाईं कुनै हालतमा पनि शरद निरोला हुनै सक्दैन ।’
अब आश्चर्य मान्ने पालो मेरो थियो । ‘किन हुन सक्दैन ?’
‘किनभने त्यस्तो खतरनाक र रोमाञ्चक उपन्यास लेख्ने मान्छे कुनै पनि हालतमा तपाईंजस्तो दुब्लो, जवान र साधारण हुन सक्दैन ।’
मेरो शारीरिक बनोटप्रतिको उसको झन्नैझन्नै अपमानजनक धारणा सुनेर म एकछिन त अवाक् भएँ । निकै खरो बोल्ने केटो रहेछ भन्ने ठानेँ ।
मैले उसको त्यस भनाइप्रति कुनै प्रतिकृया जनाउनुभन्दा पहिले नै उसले थप्यो- ‘मैले त मेजर अशोकजस्तो प्रभावशाली व्यक्तित्वलाई जन्म दिने लेखकका बारेमा अर्कै धारणा बनाएको थिएँ । के तपाईं साँच्चै नै शरद निरोला स्वयम् हो ?’
‘मैले भनिहालेँ नि मैँ हुँ भनेर । तपाईंले मेरा बारेमा कस्तो छवि बनाउनु भएको थियो ?’
उसले लामो सास तान्यो र दाहिने हातले कपाल सम्याउँदै जवाफ दियो- ‘मैले त सोचेको थिएँ मेजर अशोकको सर्जक हृष्टपुष्ट शरीरको, वयस्क उमेरको, फ्रेन्चकट दारीजुँघा भएको, हेर्दै खुङ्खार जासुस टाइपको होला । तर तपाईंलाई हेर्दा त …!’ उसले वाक्य अपुरै छोडिदियो ।
मैले सोचेँ उसको कल्पना गलत थिएन । तिनताक म कम उमेरको युवा नै थिएँ- २०-२२ वर्षको । शरीर पनि पातलो नै थियो । अधिकांश मानिसहरू लेखक-कवि भनेका वयस्क, परिपक्व व्यक्ति हुन्छन् भन्ने सोचाइ राख्छन् । म त्यस वर्गमा नपरेको हुनाले उसलाई पत्यार मान्न गाहारो परिरहेको थियो । फेरि, ‘जस्तो उपन्यासको हिरो त्यस्तै उपन्यासको लेखक’ वाला उसको सिद्धान्त यथार्थमा आधारित नभए पनि चाखलाग्दो चाहिँ अवश्य थियो ।
‘हेर्नोस !’ मैले उसलाई कल्पनाको संसारबाट धरातलमा ओराल्ने हेतुले भनेँ- ‘तपाईंको स्वच्छ कल्पनामा विम्बित मेरो छवि यथार्थमा फरक हुन गएकोमा मलाई खेद छ । तपाईंले मेरो त्यसप्रकारको छवि आफ्नो मनमा बनाउनुभयो-  त्यसका लागि म अनुगृहीत छु । लेखकले कल्पनाको संसारमा बसेर आफ्नो रचना गर्दछ । यदि मैले मेरो हिरोलाई मजस्तै बनाउँदो हुँ त सायद आज तपाईं यहाँ मलाई भेट्न आउनुहुने थिएन । मेरा उपन्यासमा वर्णित घटनाक्रमका लागि कस्तो व्यक्तित्व उचित हुन्छ भन्ने सोचेरै मैले मेजर अशोकको व्यक्तित्व रचेको हुँ । तपाईंले मलाई मेजर अशोकसँगै दाँजेर हेर्नुभयो, म त दङ्ग परेँ !’
मैले त्यसो भन्दा ऊ मुसुक्क हाँस्यो । ‘सरले त आफ्ना किताबहरूमा आफ्नो फोटो पनि राख्नुहुन्न । फोटो पहिले नै देखेको भए यस्तो कल्पना गरिँदैनथ्यो होला ।’ उसले गुनासो पनि गर्यो ।
म पनि मुसुक्क हाँसेँ । भनेँ- ‘आफ्नो कल्पना भताभुङ्ग हुनेहरूमा तपाईं मात्र होइन अरू पनि कैयौँ छन् । म स्वयम् पनि छु । तपाईंलाई जस्तै मलाई पनि निराशाको मुख हेर्नुपरेको थियो त्यसवेला जब मेरो अति मनपर्ने लेखकको फोटो मैले उसको अन्तिम उपन्यासमा देख्न पाएँ । त्यसअघिका दर्जनजति उपन्यासहरूमा उनले आफ्नो फोटो कहिल्यै छापेनन् । एलसटिएर म्याक्लिन नामका ती बेलाइती लेखकका विश्वप्रसिद्ध उपन्यासहरूमध्ये ‘ह्वेयर इगल्स डेयर’, ‘फोर्स टेन फ्रम नाभरोन’, ‘व्हेन एट वेल्स टोल’, ‘नाइट विदाउट एन्ड’ आदि चलचित्रका रूपमा पनि प्रदर्शित भएका छन् । उनका उपन्यासहरूमा सधैँ एउटै व्यक्ति मुख्य पात्र हुँदैन । भिन्नाभिन्नै हुन्छन् । तर उनका उपन्यासका मुख्य पात्रको व्यक्तित्व कस्तो प्रखर रहेको हुन्छ भने त्यसको प्रभावबाट पाठक मनमुग्ध हुन्छ । मैले उनका उपन्यास पढ्दा तपाईंले जस्तो एउटै नायकको प्रभावबाट वशीभूत भएर सोच्नु परेन किनभने पात्रहरू भिन्दाभिन्दै स्वभावका थिए । तर त्यस्ता जटिल पात्रहरूको सिर्जना गर्नसक्ने लेखक यथार्थमा कस्तो होला भन्नेचाहिँ खुबै सोच्ने गर्थें । मैले पनि उनको बारेमा एउटा खास छवि बनाएको थिएँ जुन उनको फोटो देखेपछि चकनाचुर हुनपुग्यो । उनी त अधेड़ उमेरका, ख्याउटे अनि साधारण शारीरका व्यक्ति पो देखापरे ! अब आफैँ भन्नोस्, मेरो कल्पनाको छवि कसरी भताभुङ्ग भयो होला ?’
‘साँच्चै नै बडो बेस्वाद हुँदोरहेछ, उसले मेरो कथनको समर्थनमा टाउको हल्लाउँदै भन्यो ।
‘त्यसैले म भन्छु यस विधामा लेख्ने लेखकहरूले आफ्ना कृतिमा आफ्नो फोटो नराखेकै बेस ।’
‘अनि पाठकले कसरी चिन्ने त ?’
‘किन चिन्नु पर्यो ? चिनेर तपाईंलाई के हुन्छ ? तपाईंले चिनेर उसलाई के फरक पर्छ ? के तपाईंको उससँग दिनरात भेट भइरहने हो र ? बरू उल्टै आफ्नो अपेक्षाको प्रतिकूल छवि देखेर तपाईंमा पछुतोको आभास मात्र हुनेछ । हुनसक्छ कुनैकुनै अवस्थामा तपाईंको उसप्रति वितृष्णा नै उत्पन्न होस् ? तर फोटो देखेको छैन भने कम्तीमा तपाईं त्यस लेखकका कृति पढ्दा आफ्नो कल्पनाको लेखकसँग दङ्ग पर्दै कथामा बग्न त सक्नुहुन्छ ? तपाईंलाई सन्तुष्टि त हुन्छ !’
‘उसो भए तपाईं आफ्ना कृतिमा लेखकले आफ्नो फोटो राख्नु हुँदैन भन्ने सोच्नुहुन्छ ?’
‘अवश्य यही सोच्छु । म चाहन्छु, रहस्य- रोमाञ्च वा जासुसी कृतिहरूमा लेखकले आफ्नो छवि नराखून् । पाठक स्वयंलाई गर्न दिनोस् तपाईंको व्यक्तित्वको परिकल्पना । उसले तपाईंका बारेमा बनाएको भव्य छविलाई आफ्नो अनुहार देखाएर छताछुल्ल पर्न नदिनोस् । रहस्य- रोमाञ्च र जासुसी परिवेशमा कृतिकारलाई पनि रहस्यमय, रोमाञ्चक र छद्म नै रहन दिनोस् । ढुक्क हुनोस, त्यसो गर्दा तपाईंको अनुभव बढी रोमाञ्चक हुनेछ ।’
मेरा कुरा सिद्धिएपछि ऊ गम्भीर सोचमा डुब्यो । केही बेरपछि उसले भन्यो- ‘शरद सर ! तपाईंका कुराले मेरो चित्त बुझ्यो । साँच्चै नै तपाईंलाई यथार्थरूपमा देख्दा मेरो तपाईंप्रतिको छवि भताभुङ्ग भयो । सायद तपाईंले भनेको कुरा ठीकै हो । अब तपाईंको आगामी उपन्यास पढ्दा तपाईं कस्तो हुनुहोला भन्ने मेरो सोचाइ निकै नै बदलिने छ । पहिलेको जस्तो कुतूहल रहने छैन ।’
‘मैले भनेका कुरामा गम खानोस् । मेरा वा अन्य कसैको पनि उपन्यास पढ्दा त्यसका लेखकको बारेमा नसोचेर घटना तथा पात्रहरूभित्र मात्र आफूलाई सीमित राख्नोस् । एकप्रकारको भिन्दै मज्जा आउनेछ ।’
ऊ केही छिन घोरियो । त्यसपछि उसले मेरा आगामी कृतिहरूका बारेमा जानकारी लिन चाह्यो । मैले ‘लेख्दै छु’ भनेँ । त्यसपछि हामी दुईबीच यताउताका केही कुरा भए । निकैबेर पनि भइसकेको थियो । उसलाई पनि हतारो थियो क्यारे । त्यसैले उठ्दै उसले भन्यो- ‘हस् त शरद सर, अब म लागेँ । पोखरा फर्कनुछ आजै । तपाईंसँग भेटेर सार्है खुसी लाग्यो ।’
‘खुसी लाग्यो कि आफ्नो अपेक्षाविपरीत भएकाले दुःख लाग्यो ?’ मैले ठट्टा गर्दै भनेँ ।
त्यसको जवाफमा खिसिक्क हाँस्दै नमस्कार गरेर ऊ भर्याङतिर लाग्यो । मैले पनि रोकिराखेको काम सुरू गरेँ । मसँग प्रत्यक्षरूपमा भेट गर्न आउने मेरो पहिलो प्रशंसक मसँगको भेटबाट कति प्रसन्न भयो त्यो उसको अनुहारमा देखिएको नैराश्यबाटै अनुमान गर्न सकिन्थ्यो । तर ऊसँगको भेटले मलाई भने नयाँ ऊर्जा प्राप्त भएजस्तै अनुभूति भयो ।


(हाल: मेरिल्यान्ड, अमेरिकानिवासी निरौला स्थापित आख्यानकार, पत्रकार हुन् ।)
snirola7@gmail.com