यो मेरो मन - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

यो मेरो मन

शर्मिला खड्का (दाहाल)

शर्मिला खड्का (दाहाल)

म मनकै कुरा गर्छु किनभने मलाई मेरो मन नै ठूलो छ । मलाई मेरो मन नै प्यारो छ । मैले मेरो मनलाई जति प्रेम अरू कसैलाई गर्न सकिनँ । मेरो मन नै मेरो ब्रह्माण्ड हो, ऐश्वर्य हो । अनेकौँ  विचार र अनुभूतिको खजाना हो । मेरो मन मेरो लागि सम्पूर्ण हो । यसभित्र धेरै कुरा छन् । धेरै उज्याला पक्षहरू छन्, धेरै अँध्यारा पक्षहरू छन् । धेरै पत्रहरू छन्, धेरै बोक्राहरू छन् । धेरै गुदीहरू छन्, उप्काएर उप्काइ नसक्नु । यसभित्र धेरै-धेरै बाटाहरू छन्, हिँडेर हिँडिनसक्नु । धेरै शाखा बाटाहरू छन्, पहिल्याएर पहिल्याइ नसक्नु । कहिले यता हिँडछु अन्त कतै पुगिसकको हुन्छु । ठम्याएर हिँड्छु भन्छु, बाटो जेलिएको जेलियै हुन्छ । मनभित्र कुवा छ, ताल छ, पोखरी छ, कुण्ड छ । कहिले डुबेको डुबै हुन्छु निसास्सिने गरी । निकासा खोज्छु अनि नदी बन्छु, बग्छु । सागर बन्छु अनि महासागर बन्छु । फेरि बगेको बग्यै हुन्छ, पत्तै नपाउने गरी । यो मनभित्र कहिले पारिलो घाम लाग्छ । कहिले हुस्सुले ढकमक्क दिन ओढेर सुतिदिन्छ । कहिले प्रकाण्ड गर्मीले तातो ज्वाला निकालिरहेको हुन्छ । कहिले शिशिरको चिसोमा कठयाङ्गिएर हल न चल भएर बसिदिन्छ यो मन । कहिले साउने झरीसँगै रोएर बसिदिन्छ यो मन ।
हो, यो मनकै कुरा हो । मनभित्र अनगिन्ती चाहनाहरू छन् । भावनाहरू छन् । अनुभूतिहरू छन् । अनि चार दशकदेखि बिताएका अतीतका खजानाहरू छन् । मनले यसलाई ठूलो सम्पत्ति मानेर मनभित्र लुकाई राखेको छ । कतै पोखिएला कि ! कतै हराउला कि ! कतै चोरी पो होला कि भनेर ठूलो जतनसाथ लुकाइराखेको छ । त्यसैले त ठूलो पीडा हुन्छ । कहिले मनभरि काँडैकाँडाको तीर रोपेर भीष्मपितामहले युद्ध मैदानमा छटपटाएर बाँच्नु परेको पीडा हुन्छ यस मनलाई । कहिले प्रेमिल धुनमा कतै कृष्णको बाँसुरीसँग रमाइरहेको हुन्छ यो मन । यो मन हो, यसमा अटेसमटेस पीडाहरू छन, रोदनहरू छन् । अनि जीवन भोगाइका अनुभूतिहरू छन् । अनि छन् धेरैभन्दा धेरै जीवन- सङ्घर्षका नलेखिएका कथाहरू ।
म आज यस समयमा आएर सोच्छु- किन मेरो मनले उन्मुक्त खुसी लिएर कहिल्यै हाँस्न सकेन ? किन खुसी, हाँसो, सुख, मनोरञ्जन भन्ने कुरा मेरो मनदेखि अछुत भएर टाढै बसिरहे  ? किन खुसीहरू मसँग कहिल्यै खुसी हुन सकेनन् ? ती जहिल्यै रातभर पर्ने शीतझैँ बिहानमा बिलाएर गइजान्छन् । किन ती जहिल्यै पनि विद्रोह, नाकाबन्दी र सत्याग्रह गर्न नै उद्यत रहे ? सायद यस मनले तिनीहरूसँग दरिलो सम्झौता जिन्दगीभर कहिल्यै गर्न सकेनन् ।
मेरो मन घुम्दैफिर्दै उही आठ- दस वर्षको चञ्चले बालिकाको रूप धारण गरेर ३० सालताकाको धरानको भोटेपुल भन्ने ठाउँमा ठूलो कम्पाउन्डले घेरेको माटोको दुई तले घरमा पुग्छ ।
हो यही घर हो, मेरो मनले दस वर्ष पुग्दा नपुग्दै तीनवटी बहिनी अनि केही समयपछि दुईवटा भाइको दिदी भई उत्तरदायित्व वहन गर्न कटिवद्ध रहिरहनुपर्ने ठाउँ । घरमा जेठी र कान्छी दुई आमा हुनुहुन्थ्यो । हरदम नियन्त्रण, खटनपटन अनि अनुशासनमा रहनुपर्दथ्यो । मेरी जेठी आमा सात वर्षको हुँदा १२ वर्षको बुबाले पहाडमा बालविवाह गर्नुपरेको थियो । विवाह गरेलगत्तै पढाइ र जागिरको खोजीमा बुबा धरान झर्नुभएको थियो । धरानमा गाडीको काम सिकेर जागिरे भएपछि पहाडमा माइतमा रहेको जेठी श्रीमतीलाई पठाइदिन ससुरालाई पत्र लेख्नुभएछ । तर ससुराले छोरी नपठाएपछि बुबाले धरानमा मेरी आमासँग प्रेमविवाह गर्नुभएछ । बुबाले प्रेमविवाह गरेर दुई छोरा जन्माएर घरबार जोडेपछि आमालाई पहाडमा विवाह भएको जानकारी दिनुभएछ । त्यस वेला धेरैजसोको सानैमा विवाह गरिदिने चलन थियो । कतिपयले यसरी सानैमा विवाह गरेका श्रीमतीलाई माइतमानै छोडेर कान्छी श्रीमतीसँग मात्र जीवन बिताउँदथे । यसरी विवाह गरेको श्रीमतीको दयनीय अवस्था हुन्थ्यो । उनीहरू माइतमा अपहेलित भएर बस्नुपर्दथ्यो । उनीहरूको आर्थिक, सामाजिक अवस्था साह्रै दयनीय हुन्थ्यो । कतिपयको त मानसिक अवस्था पनि टिठलाग्दो हुन्थ्यो । बुबाका समपक्षी दौँतरीहरूमा कतिले यसरी पहिलो श्रीमतीलाई माइतमा छोडेर बेवास्ता गर्नेहरू पनि थिए ।
मेरी आमाकी आमा (मेरी अजी ) धर्मात्मा स्वभावको हुनुहुन्थ्यो । उहाँले मेरी आमालाई मिलेर बस भन्नुभयो रे । अन्य इष्टमित्र सबैले ‘जेठीसँग मिलेर बस । बालखमा विवाह गरेर छोडेको स्वास्नी हो पाप लाग्छ मिलेर बसे धर्म हुन्छ’ भनेछन् । धर्मको नाममा अर्को व्यापार यहाँ सुरु भएछ । यहाँ पनि धर्ममा नाममा नयाँ मिसिल तयार भएछ । संसारमा धर्मको आधारमा कानुन बनाउने देश अझै पनि धेरै छन् । हाम्रो देशमा पनि केही समय अघिसम्म धर्मको नाममा नै नारीजातिलाई लोग्नेसँग मर्नुपर्ने बाध्य पारिन्थ्यो । ‘तिमी लोग्नेसँगै सती जाऊ धर्म हुन्छ’ भन्थे । हाम्रा माताहरूले सहर्ष स्वीकार गरे अनि सती गइरहे । ‘होइन सती जानु पाप हो नारीजाति भनेको जननी हो, सृष्टिकर्ता हो । यो मानवता विरोधी कार्य हो’ भनेर समाजमा चेतना भित्रिसकेको थियो । बाहिरी समाजको देखासिकी गरे । ‘तिमीहरू मर्न हुँदैन’ भने । ‘त्यसपछि रुख्खासुख्खा खाएर अरूको आश्रयमा पराश्रित भई बाँच’ भने । अघि ज्युँदै मार्थे भने अहिले मरेर बाँच्न बाध्य पारे ।
हो, आजभन्दा ५०-५५ वर्षअघिको कुरा थियो । पुरुषहरू सहजै दु्ईवटी, तीनवटी राख्न पाउँदथे । स्वास्नी रोगी भई, छोरी मात्र पाई आदि बहानामा समाजमा रवाफका साथ जति पनि स्वास्नी भित्र्याउँदथे पुरुषहरू । बस्, मात्र उनीहरूलाई कुनै एउटा बहाना चाहिन्थ्यो । महिलाहरू निर्दोष भए नि दोष त आफैँ आविष्कार गरिहाल्थे किनभने आवश्यकता नै आविष्कारको जननी हो भन्ने कुरा उनीहरूलाई थाहा थियो । यसमा कुनै रोकटोक थिएन । कुनै बन्धन थिएन । कसैले विरोध गर्दैनथे । उल्टै पुरुषहरूलाई सर्वशक्तिमान बनाउँदथे । हौसला प्रोत्साहन दिन्थे । ‘मर्दको दसवटी’ भन्थे । न त कानुन थियो, न त सामाजिक चेतना । यो अवस्थामा मेरी आमाको अधिकारलाई धर्मको नाममा अर्को सती चढाइयो ।
दुई आमाका दसजना सन्तान एउटै घरको छतमुनि अनि एउटै भान्सा । एउटै आमाका एउटै भान्सामा त कति भाँडाकुँडा बज्छन्, बालबच्चामा कति कुटामार हुन्छ भने हाम्री दुई आमाका सन्तान अनि छेउछाउमा काकाका सन्तानहरू बग्रेल्ती थियौँ । आफ्नै घरमा अगुल्टाका झिल्काहरू, आक्रोशमा फिलुङ्गाहरू उडिरहन्थे । घरमा सधैँजसो होहल्ला तनाव भइरहन्थ्यो ।
मेरी आमाले आफ्ना छोराछोरी, लोग्ने र कमाइ सबै जेठी आमाको हातमा सम्पनुभएको थियो । धरानबजारमा हिरोइनजस्ती भएर फिल्म हेर्न जान पाए र माइतीमा बसेर गफ चुट्न पाए हुन्थ्यो उहाँलाई । सौताले सबै घरव्यवहार धानिदिएपछि आमालाई हाइसुख भएछ । सायद आमाको यो रहर चाहना मात्र नभई बाध्यता पनि थियो । मेरी आमा केही पढेलेखेको र बाहिरी ससार देख्नुभएको थियो । उहाँको मनलाई पनि यस्तै बाध्यतात्मक परिस्थितिले जेलेको जेलै हुनुपर्छ । कहिल्यै नफुकिने मनको जालोलाई उहाँले त्यसै छोडिदिनुभयो । तब उहाँ सबै कुरालाई विश्राम दिएर सौता र लोग्नेप्रति पराश्रित भई निस्फिक्री जीवन बिताउन चाहनुभयो ।
म केही काम गर्नसक्ने हुँदादेखि नै मलाई काममा जोताइरहन्थे । ममाथि मेरी आमाका दुई छोरा, जेठी आमाका एक छोरा थिए । ती छोराहरू घरमा गाग्राबाट पानी सारेर पनि खाँदैनथे । ममाथि जेठी आमाकी एक छोरी थिइन् । उनको र मेरो उमेर आठमहिनाको फरक थियो । तिनी सानोमा निकै रोगी थिइन् । खासै काम गर्न सक्दिन थिइन् । त्यसपछिको छोरीमा म मात्र बलियो, हट्टाकट्टा काम गर्नसक्ने थिएँ । बिहान उठेदेखि म काममा जोतिइरहनु पर्दथ्यो । बिहान उठेर पूजाको भाँडा माझ्नु । मही पार्नु । घर लिप्नु । धारामा पानी थापेर ठूलाठूला गाग्रामा भर्नु । चिया पकाउनु अनि भातभान्सा तयार गर्नु आदि दैनिकी हुन्थ्यो । हुन त काम गर्ने अरू मानिसहरू पनि हुन्थे, भनौँ सहयोगीहरू हुन्थे । तर काम पनि हात नबिसाई गरिरहनुपर्दथ्यो । मेरो स्टाटस त्यही सहयोगीसरह थियो । जति काम गरे पनि कसैको मनमा कहिल्यै सन्तुष्टिका टुसा उम्रँदैनथे । त्यस वेलाको समाज पितृसत्तात्मक पुरातनवादी सोचले ग्रसित थियो । मेरी आमामा नारीवादी धारणा निकै थियो तर ती गुजुल्टिए गाँठो परेकापरै हुन्थे । तिनले फुक्ने अवसर नै पाएनन् । जेठीआमाले कुनै अक्षर नचिनेकी र बाहिरी संसार पनि नदेखेकी हुनाले रुढीवादी धारणाबाट ग्रसित हुनुहुन्थ्यो । त्यस वेलाको समाजले उहाँलाई त्यही पढाएको थियो । पहाडबाट आएर तीन सन्तान जन्माउन्जेल उहाँ घरको हर्ताकर्ता भइसक्नु भएको थियो । यसमा मेरी आमाका केही कमजोरी पक्षहरू पनि थिए । जेठी आमाका कुटनैतिक व्यवहार निकै उच्चकोटीका थिए । उहाँ प्लास्टिकजस्तै व्यवहारलाई कसरी तन्काएर वा खुम्चाएर मिलाउन सकिन्छ भन्ने कुरामा खप्पिस हुनुहुन्थ्यो । कुन वेला तन्काउनुपर्छ र कुन वेला कसरी खुम्चाउनुपर्छ भन्ने ज्ञानमा सिद्धहस्त नै हुनुहुन्थ्यो । यति कुशलता नभएको भए उहाँलाई पनि दुई छोराहरू पाएर घरजम गरिसकेको सौता र लोग्नेलाई रिझाएर सम्पूर्ण व्यवहार हातमा लिन त्यति सजिलो कदापि हुने थिएन होला । त्यस वेलाको समाज पुरातनवादी सामन्ती संस्कारबाट ग्रसित थियो । दैनिकजसो तिमीहरू ‘छोरीमान्छे अर्काको भित्ता टाल्ने जात किन पढ्नुपर्यो’ भन्नेजस्ता लैङ्गिक विभेदकारी वाक्यहरू क्षेप्यास्त्र बनेर मुटुमा बज्रन आइपुग्थे । त्यस वेला धेरै चलेका विभेदकारी उखानहरूमा ‘छोरी मरी ठूला घर परी ।’ ‘भैँसीले खाएको वन छोरीले खाएको धन ।’ ‘छोरीको जन्म हारेको कर्म ।’ ‘छोरीको काम मुतको न्यानो ।’ आदि थिए ।
बाल्यकालको माया र वात्यल्यता के हो थाहा नपाई ममा किशोरवस्था प्रवेश गरिसकेको थियो । मेरो मन अलिक चेतलशील, विद्रोही र स्वाभिमानी थियो । जे कुरा पनि छिटो सिक्ने अनि कुनै काम गर्न पनि पछि नहट्ने बानीले म मात्र काममा पिस्लिरहन्थेँ । घरमा छोराछोरीमाथि गरिने विभेदकारी व्यवहारहरू म नजिकबाट विश्लेषण गर्दथेँ । कतिपय अवस्थामा आमासँग गुनासाहरू पोख्दथेँ । तर ती गुनासाहरू गुम्सेका गुम्से हुन्थे । ती कहिल्यै फुक्दैनथे । म धेरै पढ्न खोज्ने, नयाँ- नयाँ कुरा सिक्न खोज्ने जिज्ञासु थिएँ । पढ्नलाई किताबहरू खोज्थेँ, पाउँदिनथेँ । कतै पाइए पनि लुकिलुकी पढ्नुपर्दथ्यो । गीत सुन्न मनाही थियो । नाचगान त धेरै परको कुरा थियो । छोरीमान्छेले धेरै पढ्न हुँदैन भनिन्थ्यो । मलाई लाग्थ्यो, म समयभन्दा धेरै छिटो जन्मेछु । म गलत समयमा जन्मेछु र गलत ठाउँमा जन्मेछु । मेरो भावना र चाहनहरू बुझ्ने कोही हुँदैनथेँ । उज्यालो भएदेखि त्रास र हैरानीमा समय बित्दथ्यो । मलाई यति धेरै व्यावहारिक बनाइयो कि मैले बाल्यकाल के भन्ने बुझ्नै पाइनँ । पछि बुझ्ने हुँदा मेरो भाग्य नै यस्तो रहेछ भनेर आफ्नै मनलाई बुझाउन पुगेँ ।
त्यस वेला यस्ता बालबालिका सबैका आँखाका तारो हुन्थे । बालमनोविज्ञान भन्ने कुरा के हो कसैले मतलब राख्दैनथे । ठूलाबडाहरू बालबालिकालाई हाँसोको पात्रो बनाउदथेँ । उनीहरूको भावना, चाहना र स्वाभिमानको कुनै हेक्का राख्दैनथे । उनीहरूको अधिकारको कुरा त कुन चराको नाम हो जस्तै थियो । यस्तो गर्नेमा पढेलेखेका बुबाका भाइभतिजा, भान्जाहरू नै हुन्थे । जो हाम्रै घरमा बुबाको आश्रयमा बाँचेका हुन्थे । यी कुराहरूबाट म निकै संवेदनशील हुन्थेँ । यस्ता कुराको म विरोध गर्दथेँ । यसरी विरोध गर्ने बालक त्यो पनि छोरीमान्छे छ भने उछितो काढ्थे । ‘यसले मुख लगाई’, ‘यो उत्ताउली भई’, ‘यो भनेको मान्दिनँ’, ‘जब्बरे, घमन्डी, मुखाले, छिटै पोइलजान्छे’ भन्ने विभूषणले विभूषित गराउँदथे ।
छोरीमान्छेले धेरै कुरा सिक्न खोजेको र जान्न खोजेको राम्रो मानिन्दैनथ्यो । छोराहरू त जन्मँदादेखि घरका असली हकदार हुन्थे उनीहरूलाई खासै असर पदैनथ्यो । उनीहरूलाई जे गरे नि छुट थियो । ती कुराहरू मेरा बुबा, काकाहरूले सिकाएका थिए । तर म त छोरी मान्छे थिएँ । छोरीमान्छे यो गर्न हुँदैन, यो बोल्न हुँदैन, यहाँ जान हुँदैन, अर्काका सिकोबासो भन्ने वाक्यहरूले जहिले पनि वन डढेजस्तो मनलाई डढाइरहन्थ्यो ।
बाल्यकालको जीवन खेल्ने रहर कसलाई हुँदैन र ? तर कहिलेकाहीँ गोटी खेल्दाखेल्दै घरमा कुचो नलगाएको वा काम नसघाएको निहुँमा कपालका जगल्टाले सास्ती पाइसकेका हुन्थे । तिता भन्ने खेल खेल्न निकै हुरुक्क हुन्थेँ म तर खेल्दाखेल्दै कहिले खुट्टाले लौरो झटारो खाइसकेको हुन्थे । हरदम सास्ती, त्रास, डरले जीवनलाई नियन्त्रित बनाउनु पर्दथ्यो । खै खुसी ? खै रहर ? खै चाहना ? खै अधिकार ? घरायसी व्यवहारको दाम्लोले सबै खुसीहरू किलामा बाँधिएका बाधियै भएँ । कहिल्यै स्वतन्त्र हुन नपाई ती वयस्क बने ।
यो मन उन्मुक्तिको उडान भर्न चाहन्थ्यो तर खै सहारा ? धेरै माथि पुग्न चाहन्थ्यो तर खै प्रोत्साहन ? खै माया ? खै आत्मीयता ? खल्लोखल्लो नुन नहालेको तरकारीजस्तो । आफूमा पनि कुनै आत्मविश्वास पलाउन सकेन । बुबा बिहान सबेरै उठेर हिँडेपछि बेलुका निकै रात परेपछि आउनुहुन्थ्यो
बुबालाई कुन छोराछोरी कतिमा पढ्दैछसम्म थाहा हुँदैनथ्यो । दसवटा छोराछोरीको उमेर कसको कति हो भन्ने कुरा पटक्कै थाहा थिएन । कसलाई के भइरहेछ, सरोकार नै हुँदैनथ्यो । को बिमारी भएको छ, कुनै मतलव हुँदैन्थ्यो । कतिपय अवस्थामा कुनैकुनै कुराचाहिँ थाहा हुन्थ्यो । बुबासँग हामी आँखा जुधाएर दोहोरो कुरा गर्दैनथ्यौँ  र गर्न पनि सक्दैनथ्यौँ । बुबालाई मात्र पैसा, ठेक्कापट्टा अनि गाडीसँग सरोकार हुन्थ्यो । बुबाले आफ्नो परिवारमात्र नभइ पहाडमा बसेका दाजुकाकाहरुका छोराछोरी र भाइहरूको समेत जिम्मा लिएर पढाइ र अन्य कुरा गराउनुहुन्थ्यो । यसको लागि बुबा धेरैभन्दा धेरै आफ्नो ठेक्कापट्टा र व्यवसायमा मात्र व्यस्त रहनुहुन्थ्यो । बुबाले आर्थिक वृद्धि गरेर सम्पन्नताको मोहरछाप लगाइदिनुभएको थियो तर अन्य किसिमको दायित्वबाट पन्छिनुभयो । बुबाको अभिभावकत्व प्रायः कुनै छोराछोरीले पाउन सकेनौँ । उहाँले आर्थिक आम्दानी प्रशस्त गरिदिनुभयो । त्यसैले हाम्रो घरलाई आर्थिक अभावको खडेरीले कहिल्यै जलाउन सकेन । तर आम्दानी प्रशस्त भए पनि त्यसको सही सदुपयोग र व्यवस्थापन हुन भने पटक्क सकेन ।
सायद मेरो मनै थियो, जसलाई कहिल्यै माया, प्रेम र आत्मीयताको व्यापार फलिफाप भएन । माटोको दुईतले घरपछि अर्को सिमेन्टको तीनतले पक्का घर बन्यो । तर मेरा खुसीहरू कहिल्यै पक्का र स्थायी भएनन् । त्यत्रो ठूलो घर, त्यत्रो ठूलो परिवारमा मैलेजतिको तनाव, बुहार्तन अरू छोराछोरीले पाएनन् । एउटै बाउका सन्तान, एउटै आमाका सन्तानमा कति विभेदकारी व्यवहार थियो । कोही चर्को मूल्य तिर्ने बोडिङ् स्कुलमा पढ्ने भए । कोही कान्छा भएर माया पाए । कोही कान्छी भएर माया पाए । कोही रोगी भएर माया पाउने भए । कोही जन्मदै भाग्यमानी भन्ने मोहर पाएर माया पाउने भए । कोही सुन्दरी भएर माया पाउने भए तर ममात्र यस्तो पात्र थिएँ जसलाई ती कुनै कुराले छोएन । मात्र जेठीबाठी र गर्नसक्ने र गर्नुपर्ने भन्ने उत्तरदायित्वको बोझ बालकैदेखि बोकाइराखियो ।
लाहुरे समाजले छपक्कै ढाकेको बस्ती थियो । माइकल ज्याक्सन, बिटल्स, म्यारोडोना, शोले, लभस्टोरीका गीतहरूले गाउँघर गुन्जायमान हुन्थ्यो । नयाँ समय, नयाँ चेतनाले नेपाली समाजको ढोका ढकढकाइरहेको थियो । तर हाम्रो घर यो नयाँ चेतनाले कतै विध्वंस ल्याउने हो कि भन्ने त्रासले त्रसिद थियो । मतवाली गाउँघर भएकाले भागीविवाह गर्ने चलन प्रशस्तै थियो । तर क्षेत्रीबाहुन समाजमा भागीविवाहलाई पोइल जानु भनिन्थ्यो । यसरी छोरीहरू पोइल गए भने हाम्रो क्षेत्रीबाहुन समाजमा ठूलो भुइँचालो जान्थ्यो । जेठी छोरी पोइल गए अरू छोरीको विवाह हुन्न अनि समाजमा मुख देखाउन पनि लाजमर्दो हुन्छ भन्ने भाइरल आतङ्कले हाम्रो घर आतङ्कित थियो । यो भाइरस आतङ्क कोरोनाको भाइरसभन्दा खतरनाक थियो । भाइरसबाट जोगिन हामी छोरीहरू सँधै लकडाउनमा नै हुन्थ्यौँ । त्यसमा पनि म हुर्केको अलिक सबैभन्दा ठूली भएको हुनाले मचाहिँ आइसोलेसनमा नै बस्नुपर्दथ्यो । त्यसले बाल्यकालभन्दा किशोरावस्था अझ जटिल र कठोर बन्दै गएको थियो मेरो ।
चेतनाको अभावमा बाध्यात्मक र विवशताको हुरीले कुनै उज्यालो गल्ली समाउन नपाउँदै मैले विवाह गर्नुपर्ने भयो । कस्तो बिडम्बना ! हुर्केका दाजुहरूका केटीको लागि र हुर्कंदै गरेका बहिनीहरूका लागि म आफ्नै जन्मघरमा धेरै भएँ अर्थात् नअटाउने भएँ । म कतै फ्याँकिनुपर्ने भयो । विवाहका लागि चारैतिर समाचारहरू सम्प्रेषण भए । तर दुर्भाग्य मेरी आमा नेवार भएको कारण कुनै क्षेत्रीको छोराले विवाहका लागि माग्न आएनन् । त्यसबेलाको समाज जातीयतामा अत्यन्त सङ्कीर्ण थियो । मेरो अध्ययन र व्यक्तित्व- विकासमा कसैले पनि कुनै महत्त्व दिएनन् । एसएलसी राम्रै डिभिजनमा पास गरेको भए पनि उताको पढाइमा ब्रेक लाग्यो । सात कक्षादेखि तिमीहरू छोरीमान्छे अर्काको सिसोबासो के पढनु पर्यो ? विवाह गरेर दिने हो भन्ने अभिव्यक्ति सुनिरहनुपर्ने ठाउँमा मेरो एसएलसीको पढाइ नै ठूलो हो भन्ने धारणा विकास गरिएको थियो । मेरो जीवन अँध्यारो बाटोमा डोरिन थाल्यो । अन्त्यमा अँध्यारो गोरेटोले अँध्यारो गल्ली नै समाउन पुग्यो । रेलगाडीले रेलको लिक नै समाउँछ । गाडीले गाडीको बाटो नै समाउँछ भनेझैँ मेरो जीवनको गाडी आफैँले हाँक्नुपर्ने ठेलागाडीमा परिणत भयो । मेरो मन, मेरो घर, मेरो थर, सबै कुरा ठेलागाडीमा राखेर अर्कैको घर, अर्कैको थरमा बसाइँ सराइयो । अनेकौँ हुरीबतास हावापानी सहँदै म मेरो जीवनको ठेलागाडी आफैँ धकल्दै अघि बढ्नथालेँ ।
यस मनभित्र धेरै आवाजहरू छन् । कतिपय रेकर्ड भएर रहेका छन् । कतिपय रकर्ड हुन नसकेका छन् । कतिपय रेकर्ड भएर पनि सुनाउन नमिल्ने छन् । कैयौँ कथाहरू छन् । कतिपय लेख्न मिल्ने, कतिपय लेख्न नमिल्ने । यी कथाका क्याइमेक्स कहिले आउँछन्, म त्यस समयको पर्खाइमा छु । यस मनले जीवनको आधा समय बिताइसक्यो । अब ती खजानाहरू, अनुभूतिहरू समयले देखाउन माग गरिरहेछन् । अब म त्यो समयको पर्खाइमा छु ।


(दाहाल चर्चित साहित्यकार हुन्)
shakhada2011@gmail.com