के पुनर्जन्म सम्भव छ ? - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

के पुनर्जन्म सम्भव छ ?

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

त्यति वेला म सानै थिएँ, जति वेला मेरी हजुरआमाको स्नेही काख मेरा निम्ति सबै थोक थियो । साँच्चै भन्नुपर्दा यो जीवन- जगत्बारे मैले हजुरामाबाट नै बुझ्ने अवसर पाएको थिएँ । लगभग गरिबीको रेखामुनि हुर्केको थिएँ म । तर त्यो गरिबी मेरो हजुरआमाले कहिले पनि मलाई महसुस हुन दिनुभएन । केही नभए पनि सबैथोक छ भन्ने व्यवहार उहाँमा झल्किन्थ्यो र जीवनको अन्तिम पलसम्म पनि त्यही व्यवहार उहाँमा अटल बाँचिरहेको थियो । मेरो पढाइमा उहाँकै आशीर्वाद थियो । ‘पढ्न अल्सी गर्नुहुन्न है !’ भनेर मलाई सधैँ झकझक्याउने उहाँले भने कहिल्यै स्कुल देख्नु भएको थिएन । यो कथा आजभन्दा ४० वर्षअगाडिको हो, जति वेला म शान्ति विद्यागृह, लैनचौरमा अध्ययन गर्थें ।
अक्सर हामीहरू उहाँलाई ‘बुबु’ सम्बोधन गरेर बोलाउथ्यौँ । मेरा दिदीहरूले पनि उहाँलाई बुबु नै भनेर सम्बोधन गर्थे । उहाँलाई किन बुबु भनेर सम्बोधन गरियो त्यो कुरा मैले आजसम्म पनि बुझेको छैन । त्यो ‘बुबु’ नाम हामी सबै नातिनातिनामा प्रिय थियो । बुबु कहिले गाउँमा त कहिले सहरमा बस्नुहुन्थ्यो । हाम्रो घर अहिलेको सामाखुसीचोकबाट उत्तर शिवपुरी हुँदै लगभग १८ किलोमिटरको दूरी समुन्द्रादेवी पारथोकमा पर्छ । अहिले पनि बुबुको पवित्र पैतालाले टेकेको त्यो भूमि त्यहीँ छ । जस्ताको तस्तै छ । बुबुको सम्झना बोकेर बाँचिरहेछन् त्यहाँका बिरुवाहरू आजको दिनसम्म पनि । कैयौँ शिशिर- वसन्त, पतझड, हिउँद, बर्षाद, गर्मी र चिसोको रापतापले त्यहाँका रुखबिरुवालाई छोई भागे तर बुबुको स्नेही सम्झनाको कोमल घाम आज पनि त्यहाँको पाखाभरि लागिरहेकै छ । एउटा सत्य आजको दिनसम्म पनि जीवित छ मेरो आँखामा ।
त्यो सत्य थियो बुबुको अजम्बरी व्यवहार । अहिलेको वाणिज्य भाषामा भन्ने हो भने व्यवस्थापन । जीवनको व्यवस्थापन गर्न नसकेरै हो मानिस गरिब र दुःखी हुने । आजका धनी मानिसहरू धनी भएर पनि उचित व्यावस्थापनको अभावका कारण झन् दरिद्र भएजस्ता देखिन्छन् । बुबुमा एउटा यस्तो व्यवस्थापन थियो कि उहाँसँग नभएको केही थिएन ।
एउटा सन्दुक थियो उहाँको ।
त्यो सन्दुक यति क्लासिकल थियो कि त्यो भित्र सबथोक अटेका थिए । जब सानै थिएँ । बुबुले सन्दुक खोलेपछि म झम्टेर सन्दुकनजिक जान्थेँ । आजसम्म पनि सन्दुकभित्रबाट आएको त्यो गुधुली बासना म सम्झिन्छु । नजिक गैसकेपछि म हात थाप्थेँ । उहाँले बुझ्नुहुन्थ्यो र मेरो हातमा घ्यु, मह वा सक्खर केही राखिदिनुहुन्थ्यो । अनि हात चाट्तै म आफ्नो पढ्ने स्थानमा जान्थेँ ।
म यस्तो कल्पना गर्थें कि त्यो सन्दुक भनेको हामीले दैनिक खाने चीजबीजको भण्डारण हो । त्यहाँभित्र सबै कुरा उत्पादन हुन्छन् । एक दिन बुबु बाहिर बसेर जुठो भाँडा माझ्दै हुनुहुन्थ्यो । एक छिमेकी आमोईलाई केही चीज दिनपर्यो। बुबुको हात जुठो थियो। उहाँले आफ्नो गलाबाट साँचोको झुप्पो निकाल्न लाउनुभो मलाई र भन्नुभो-‘त्यहाँ एक गोल्टिन घ्यु छ, झिकेर देऊ !’ बुबुले आफ्नो साँचो कहिले पनि अरूलाई दिएको देखेको थिइनँ मैले । बुबुको गलाबाट साँचो झिकेर म भान्सा कोठामा गएँ ।
पित्तलको पहेँलो ताल्चा थियो र त्यही प्रकारको साँचो थियो । सन्दुक खोलेँ । खोल्नासाथ एक प्रकारको मीठो महक चारैतिर फैलियो । त्यस महकमा सारा प्रकृतिको सान्निध्य सुगन्ध विस्फारित भएजस्तो लाग्यो। सन्दुक खोलेर यसो निहारेँ । सारा संसार थियो त्यहाँभित्र । तुल्सीको काठ, धूपबत्ती, मह, घ्यु,फिडकिरी,जौ, तिल, अबिर, केशरी, कसार, चिउरा, सक्खर, सुन, पैसा आदिआदि । घ्युको गोल्टिनबट्टा निकालेँ । बाहिर उभिरहेकी छिमेकी आमोईलाई दिएँ । र फेरि पढ्न–लेख्न थालेँ । साँचो तात्कालै बुबुलाई नै दिएँ ।
त्यो सन्दुक कहिले पनि रित्तो भएन। मलाई थाहा छैन उहाँले कहिले हो यी सबै कुराले त्यो सन्दुक भरेको । आधा घन्टाअगाडि म आफैँले सन्दुक खोलेर हेर्दा त्यहाँ मालाबाउ केरा थिएन । पछि भात खाँदा दूधसँग केरा खान्छस् भनेर सोध्नुभयो । केरा कतै बाहिर नै होला भन्ने सोचेँ । पछि उहाँले सन्दुक खोल्नुभयो र एक काइँयो मालाबाउ केरा निकाल्नु भो । पाकेर पटपटी फुटेका पहेँला केराको हाता देखेर म अचम्मित भए । सन्दुक खोल्दा गहिरिएर हेरेको थिएँ तर केरा थिएन। अनायास सोचिरहेँ केरा आफैँ कसरी उत्पत्ति भयो ? चकित भएँ ।
हजुरामा कति दयालु, कति धर्मात्मा, कति पवित्र हुनुहुन्थ्यो भन्ने कुरा अब म बिस्तार गर्छु। ७० वर्षको उमेरसम्म उहाँ आफ्ना लागि आफैँले सबै काम गरिरहनु भयो । मेरो स्कुल जाने लुगासमेत उहाँले नै धुनुहुन्थ्यो । सामाखुसीचोकमा एउटा सरकारी धारो थियो । त्यस धारोमा पानी लिन भने मैले बुबुलाई सघाउँथेँ । घरमा भात खाने वेलामा कोही पाहुना आए भने उहाँले पहिला पाहुनालाई ख्वाउनुहुन्थ्यो । पाहुनाले खाएर बाँकी रह्यो भने बल्ल आफू खानुहुन्थ्यो। भुसको चुलो थियो हाम्रो। त्यसमा ढुटो बेस्सरी खाँदिन्थ्यो। भुसको चुल्होमा हाल्ने दाउर उहाँ आफैँ खोज्नुहुन्थ्यो। वा हामी गुर्जेका तामाङहरूसँग दुईतीन रुपैयाँमा दाउरा किन्थ्यौँ । खानको लागि उहाँको नाउँमा एउटा खेत थियो न्यारकोटे । त्यही खेतको आयस्ता आउँथ्यो। एउटा कोठाथियो, त्यहीँ धानको भकारी थियो । बुबु खाटमा सुत्नुहुन्थ्यो म भैँमा गुन्द्री ओछ्याएर सुत्ने गर्थें । आफूसँग नभएको कुनै चीज कसैले उहाँसँग माग्यो भने उहाँ आफैँले किनेर भए पनि त्यो चीज दिनुहुन्थ्यो । उहाँको भान्सा कसैले छुने सम्भावना थिएन। मैले पनि सधैँ अलग बसेर खाएँ किनभने मेरो व्रतबन्ध गरेको थिएन ।
कहिलेकाहीँ उहाँलाई गाह्रो भएको वेलामा भन्नुहुन्थ्यो- ‘मने तेरो व्रतबन्ध गरेपछि मलाई भात पकाएर ख्वाउलास् नि !’ म पनि कहिलेकाहीँ बुबालाई भन्नेगर्थें- ‘बुबा मेरो व्रतबन्ध छिटो गरिदिनू ! बुबु हरेकपटक बाहिर छिमेकीको घरमा जाँदा वा बजार गएर फर्की आउनासाथ आफूले लगाएको पूरै कपडा बदल्नु हुन्थ्यो । खाना भलै भुसको चुलीमा पकाए पनि उहाँ धोतिपाटा फेरि पकाउनुहुन्थ्यो । बाथरुम जाँदा लगाएको कपडा धोएर मात्रै पुनः प्रयोग गर्नुहुन्थ्यो । बिहान चार बजे उठेर नित्यकर्म सकी पूजा- प्रार्थना गरेर मलाई समयमै उठेर पढ्न लगाउनुहुन्थ्यो । खाना खाँदा सकेसम्म नबोल्ने, सधैँ सात्विक भोजन गर्ने ।
धर्म, कर्म, दान, दातव्य, मानवसेवा, सुग्घर- सरसफाइ आदिमा उहाँ कहिल्यै चुक्नु भएन । घामको प्रकाशमा किटाणु नाश गर्ने क्षमता हुन्छ भन्ने कुरा मैले पहिलोचोटि जानेको थिएँ उहाँबाटै । सिरक र अरूलुगाफाटाहरू चिसो नहुँदा पनि घाममा सुकाएको देख्थे । उहाँको निधारमा सधैँ सेतो चन्दनको टीका देख्थेँ म । म सोच्थेँ कि बुबु विधवा भएकाले यो सेतो टीका निधारमा लगाउनुभएको होला भनेर । आरतीपछि सेतो चन्दन र बिगुत घोटेर निदारमा लगाउनुहुन्थ्यो । सधैँ सफा लुगामा सधैँ कपाल सपक्क कोरेर बस्दा कुनै देवीमाताको अगाडि छु कि जस्तो अनुभूति गर्थें म । उहाँका तीनतीन बुहारीहरू (मेरा माताहरू) थिए तर कहिले पनि उहाँले अरूको बोझ बन्न रुचाउनु भएन । कहिलेकाहीँ बिरामी पर्दा मलाई भन्नुहुन्थ्यो- ‘तेरा बाउहरूले होइन मलाई तेरै हातले दागबत्ती दिएस् बाबु !’ त्यसो किन भन्नुभएको हो ?त्यस्ता कुरा म बुझ्ने भैसकेको थिइनँ । आमाप्रति गर्नुपर्ने कत्र्तव्य छोराहरूले नगरेपछि नै चित्त दुख्दा एउटी आमाले भन्ने कुरा हो भन्ने कुरा मैले १० कक्षा पुगेपछि मात्रै थाहा पाएँ ।
‘बिहे नगरुन्जेल मात्रै हो छोरा आफ्नो हुने बिहेपछी बुहारीले छोरालाई खोस्छे बाबु’ भनेर बुबुले भनेको कुरा आजपनि म सम्झिन्छु । सबै छोराबुहारी नातिनातिना भएर पनि एउटा रित्तो र एकलास चरीजस्तो अनुभूति गर्नुहुन्थ्यो उहाँले र आँखाबाट आँसु झार्नुहुन्थ्यो । बुबा पहाडबाट आउँदा मैले बुबु रोएको कुरा सुनाउँथे बुबालाई । बुबाले पनि त्यति सुनेजस्तो लाग्दैनथ्यो । मैले एसएलसी दिएर आइए ज्वाइन गरेपछि बुबु हामीसँगै बस्न थाल्नुभो । हजुरआमासँग मैले बिताएका ती सुनौला पलहरू आज सम्झिँदा उहाँ अझैसम्म हामीसँगै भएको अनुभूति हुन्छ।
चराचर जगत्का हरेक सिर्जनाप्रति उहाँले देखाएको माया म अझै सम्झिन्छु । उहाँ जीवलाई मात्रै होइन, निर्जीव चीजलाई पनि माया गर्नुहुन्थ्यो भन्ने कुरा मैले बुझेको थिएँ । उहाँ भन्नुहुन्थ्यो- ढुङ्गालाई पनि दुख्छ । उहाँ भन्नुहुन्थ्यो- रुखलाई नकाट । रुख नतास ।  त्यहाँबाट पनि रगत बग्छ । हरेक पूर्णिामामा, हरेक एकादशीमा उहाँ निराहर व्रत बसेको आज पनि मलाई सम्झना छ । आजको मान्छे, पैसाले भौतिकताले सम्पन्नत छ तर त्यो सम्पन्नताभित्र पनि मान्छे यति धेरै दुःखी छ कि ऊ कतै एकान्तमा बसेर धुरुधुरु रोइरहेको देखेको छु मैले ।
बुबुलाई हरेक कुराको पूर्ण ज्ञान थियो । हरेक कुराको तर्क उहाँले महाभारत गीता र रामायणसँग जोड्नुहुन्थ्यो । निरक्षरी मेरी बुबुलाई यी सबै कुराको ज्ञान कसरी भएको होला अचम्मित हुन्थेँ म । प्राचीन कालका ऋषिमुनिमा जस्तै बुबुमा जुन दया, माया र मानवतावादी सोच थियो साँच्चै ती सम्झनयोग्य गुणहरू हुन् उहाँका । सधैँ हँसिलो मुहार, सदैव सत्कर्मप्रति उत्प्रेरित, सदैव परसेवाप्रति दत्तचित्त, सदैव प्रकृतिप्रति झुकाव, सत्यवादी र आफ्नो कर्ममा सदैव विश्वास राख्ने बुबु एकदिन खाना खाँदै गर्दा अचानक बेहोस हुनुभो । खाना खाँदाखाँदै बान्ता भो उहाँलाई । बोकेर ओछ्यानमा लगेँ । एक्कासि आकाश आफ्नै टाउकोमा खसेजस्तो भो । केही महिना मात्रै भएको थियो उहाँ सामाखुसीबाट हामी बसेको भाडाको कोठामा हामीसँगै बस्ने गरेर आउनुभएको ।
म जागिरे भैसकेको थिएँ । सोचे अब म मेरी हजुरआमालाई पाल्नसक्ने भएको छु । निधारमा सेतो बिगुत चम्किरहेको थियो । ढल्दा यसरी ढल्नु भो कि कुनै आँधीले एउटा बलियो रुखको जरासहित उखेलेर पाखा लगाइदिएको छ र हामी नातिनातिना बोटवरिपरि उम्रेका कलिला मुना हौँ । धेरै बोलायौँ । उहाँमा होस आएन । निको नहुने भएपछि हामीले ट्याक्सीमा राखेर वीर हस्पिटलमा भर्ना गर्यौं । वीर हस्पिटलमा डाक्टर सत्याल हुनुहुन्थ्यो त्यहाँका प्रमुख । बेलुकी सबै रिपोर्ट आयो । बुबुको एक्कासि प्रेसर बढेर ब्रेन ह्यामरेज भएको छ । उहाँको टाउकाको एउटा मसिनो नसा फुटेर ब्रेनभरि रगत जमेको रहेछ । ‘ब्रेनमा पोखिएको रगत सुकाउन र चुँडिएको मसिनो रक्तनलीबाट बगेको रगत थाम्नको लागि हामीले विशेषज्ञको रिपोर्टिङ् अनुसार औषधी, स्ल्याइनपानीको माध्यमबाट दिइरहेका छौँ’ डाक्टर सत्यालले यसो भनिरहँदा बुबा, काका, फूपू र म अगाडि थियौँ ।
दुई दिन बित्यो, तीन दिन बित्यो, चार दिन बित्यो । बुबुको अनुहारमा उस्तै छ दीप्ति, उस्तै छ जूनकीरी उज्यालो, उस्तै छ रुमानी चमक, उस्तै छ ओठमा ॐकार उहाँ मात्रै बोल्नु हुन्न। मात्रै उहाँ होसमा हुनुहुन्न । सबेरै भाउजूले निधारमा दलिदिनु भएको बिगुतको टीका यस्तो देखिन्थ्यो कि निर्मल आकाशमा पूर्णचन्द्रमा झुल्किएको छ । म हजुरआमालाई लगातार कुरिरहेछु । ओखती र उपचारमा कुनै कमी थिएन । सातौँ दिनको दिन उहाँले हात चलाउनु भो । म उहाँको सिरानीमै थिएँ । हरेक घन्टाघन्टामा उहाँको पैतालामा मालिस गर्दिन्थेँ । अलिकति आशाको दियो बलेर आयो । बुबुले केही भन्न खोजेजस्तो लाग्यो । आँखा खोल्नु भैदिए कस्तो आनन्द हुन्थ्यो भनेर आशावादी हुन्थेँ । बुबा र काका वार्डमा आउनु भो । बुबुले हात चलाएर केही भन्न खोजेको कुराहरू उहाँहरूलाइ व्यक्त गरेँ ।
आमा निको भएर घर लैजान पाए कति खुसी हुन्थेँ म भनेर बुबाले गहका डिल भिजाउनु भो । सँगै बस्नुभएकी भाउजूको मुहारमा अलिकति खुसी छायो । तर त्यो खुसी धेरै समय रहेन । बुबुको एक्कासि मुटुको धड्कन बढेर आयो । सास फेर्न गाह्रो भएजस्तो लाग्यो  । ‘बाबु लौन हजुरआमालाई चाप्यो ।’ भाउजू आत्तिनु भो ।  म दौडेर काउन्टर पुगेँ । दुइजना नर्सहरू आउनु भो । त्यतिनै वेला बुबुलाई भेन्टिलेटरमा हालियो । भेन्टिलेटरमा हालिएको चौथो दिन पनि उहाँको स्वास्थमा प्रगति नदेखिएपछि हामीले डाक्टर सत्यालसँग सोध्यौँ । बुबुलाई बाहिर ल्याइयो । आफ्नै सामान्य बेडमा । बुबुको शरीरभरि इन्जेक्सन र अन्य सुइराहरूले घोचेको घाउ देखेर बेस्सरी रोएँ म । शरीर सुन्निन थालिसकेको थियो । ओठ मा ॐकार थिएन । निधार खाली थियो । बिगुतको टीका कतै उडेर गैसकेको थियो । हातमा कुनै तातो थिएन । मुहारमा देखिने त्यो जुनेली उज्यालो अस्ताउन लागेको भान हुन्थ्यो । मलाई सम्झना थियो कि उहाँले आफू सद्दे हुँदा भन्नुभएको एउटा कुरा- ‘कथम्कदाचित्त म बिमार परेर बोल्न नसक्ने अवस्थामा पुगेँ भने मेरो अन्तिम समय नबिगारिदेओ है । म भगवान श्रीपशुपतिनाथको पाउमा मृत्युवरण गर्न पाँऊ ।’ यो कुरा बुबाहरू र फुपूहरूलाई पनि थाहा थियो ।
बाह्रौ दिनको दिन । बुबुको धुकधुकी कुरेर हामी सबै बसिरहेका थियौँ । बुबुलाई अझै निको हुन्छ भनेर मैले नै हस्पिटलबाट पशुपति लैजान दिइरहेको थिइनँ । मेरी ठूली दिदी रुँदै आउनुभो र भन्नूभो- ‘मने अब जिद्दी नगर बुबुको अन्तिम इच्छा हामी सबै मिलेर पूरा गरिदिनुपर्छ ।’ हस्पिटलले पनि आशा मारिसकेको थियो । मैले पनि सोचेँ, घाटमा गएका बिमारीहरू पनि त निको भएर फर्केर घर आएका घटनाहरू छन् नि ! घाटे वैद्य र अरू डाक्टरहरू पनि त्यहाँ हुन्छन् भन्ने कुरा थाहा पाएपछि त्यही दिन करि २ः३० बजे बुबुलाई हस्पिटलको बेडबाट उठाएर पशुपति लग्यौँ । पशुपति लैजाँदै गर्दा बुबुको अवस्था अत्यन्तै नाजुक भैसकेको थियो । त्यो अन्तिम सास बुबुले श्रीपशुपतिनाथको आगनीमा फेरिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । गाडीबाट निकालेर सिधै ब्रह्मनालमा लगेर सुतायौँ । मुखमा जल राख्यौँ । निधारमा रक्तचन्दनको लेप र बिगुत लगाइदियौँ । बुबुको ममतामयी काखमा हेरिरहेँ । एकछिन जिन्दगीको अतीत सम्झिएँ । आराध्यदेवको पशुवाटिकामा हेरेँ । आँसुका धाराहरू गुड्दै खसे बुबुको काखमा । बुबुका कानका लोतीहरू लत्रिए । एकछिन त्यो मुहार धपक्कै बल्यो । उज्यालो पार्नु भो आफ्नो वरिपरि आफ्नै बलले । र देखेँ त्यो अजरा अमर अजन्म हंस उडेर माथि गएको । र उहाँले एउटा लामो प्रश्वास लिनु भो र आफ्नो देह यो धरालाई चढाउनुभो ।
बुबुको पार्थिव शरीरलाई एकै क्षणमा आगोले खायो । बुबुको भौतिक रूप खरानी भयो । बुबुलाइ महासमुद्रतिर लिएर गइन बागमतीले । अब बुबु यस लोकबाट परलोकको यात्रामा गइन् ।
कुरो यतिमात्र थिएन । म घोत्लिन थालेँ बुबु खै  ? करिब सातआठ महिनासम्म बुबुको सम्झनाले म धेरै रोएँ । बुबुको त्यो महायात्रा कति टाढाको थियो या बुबु यतै कतै अर्को जुनी लिएर घुमेकी पो छिन् कि भन्ने तर्कनाले मलाई राम्रोसँग निन्द्रा पनि पर्न छोडेको थियो । बुबुको त्यो महाप्रस्थानबाट मेरा बुबाहरू कति दुःखी थिए मलाई थाहा छैन तर मभित्रको ‘म’ धेरै महिनासम्म रोइरह्यो । आँखा अगाडि मैले पहिलोचोटि आफ्नै मान्छेको मृत्यु देखेको थिएँ । मलाई यो तर्कना पनि आउँथ्यो- के मानिसले अर्को जुनि लिन्छ त ? के मान्छेको पुनर्जन्म हुन्छ त ?
पुर्वजन्मको पापले गर्दा यस्तो भो अब अर्को जुनीमा मलाई यस्तो कहिले नहोस् भनी मानिसहरूले कुरा गरेको सुन्थेँ  म ।
मृत्यु मानिसको सबैभन्दा रहस्यमय महायात्रा हो । धेरै सत्यमध्ये यो एउटा ध्रुवसत्य हो । जीवनयात्राको अन्त्य नै मृत्यु हो । के मृत्युुले परलोक या यस लोकको दोस्रो ढोका खोल्छ त ? आजको विज्ञानले पनि भन्छ- चेतनाको मृत्युु हुँदैन । हाम्रा वैदिक शास्त्रहरूमा पनि पुनर्जन्म सम्बन्धी धेरै व्याख्यान-उपव्याख्यानहरू भएका छन् । विश्वको सर्वश्रेष्ठ ग्रन्थ गीताको खण्ड २.२० मा भगवान् श्रीकृष्णले भनेका छन्- आत्माका लागि न कहिल्यै जन्म छ न नै मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिँदैन र जन्मिने छैन । ऊ अजन्मा छ, ऊ नित्य छ, ऊ शाश्वत छ र सनातन छ । शरीर मर्दा ऊ मर्दैन । आत्माको देहान्तरण सम्बन्धमा एउटा सम्मानित र प्रमाणिक ग्रन्थ हो गीता । यसले पुनर्जीवन वा पुनर्जन्म सम्बन्धी प्रक्रियालाई सूक्ष्म ढङ्गले परिव्याख्या गरेको छ । यसले भन्छ- भौतिक देह र पराभौतिक आत्मा कहिले पनि एक रूप हुन सक्तैन ।
विचार गरूँ- हाम्रा शरीरमा जसरी सात वर्षअगाडि जीवित रहेका जीवकोष वा अणुहरू सात वर्षपछि नयाँ हुन्छन् । तिनीहरू आफैँ मर्छन् र फेरि पलाउछन् । हरेक सात वर्षमा हाम्रै शरीरको कोषको देह परिवर्तन हुन्छ । परिवर्तन नहुने आत्माचेतना मात्रै हो । जसरी हामी बालक युवक हुँदै वृद्ध अवस्थामा परिवर्तन हुन्छौँ तर हाम्रो आत्मा सधैँ उस्तै रहन्छ । न बालक हुन्छ, न युवा हुन्छ, न वृद्ध हुन्छ । त्यो आत्मा भनेको ‘म’  हो । त्यो त्यस्तै रहन्छ । यो संसारको गोप्य तथ्य भनेको यहाँ कोही पनि मर्दैन । हाम्रो शरीर आत्मारूपी भगवान् राख्ने मन्दिर हो । यो मन्दिर कालान्तरमा भत्किएला, उजाडिएला, नासिएला किनभने भौतिक तत्त्व विनाशी छ । तर मन्दिरभित्र विराजमान त्यो अमर अजन्मा आत्मा अविश्रान्त बसिरहन्छ । बरु त्यो देवले फेरि अर्को मन्दिर पाउँछ, फेरि आरती पाउँछ, फेरि पूजा र प्रार्थना पाउँछ । मन्दिर फेरिएको हो भगवान त उनै एक हुन् जुन हिजो थिए, आज छन् र भोलि पनि रहिरहने छन् ।

हजुरआमा बितेको प्रातडनाले एउटा वैराग्य वा वितराग मनभित्र श्लेष्म घुमिरहेको थियो ममा । उहाँ बितेको केही महिनापछि हाम्रो परिवारमा एउटी सुकन्या पुत्री जन्मिइन् भाउजुको कोखबाट । बुबाले सधैँ भन्नुहुन्थ्यो- मेरी आमा फेरि जन्मिएर हाम्रै घरमा आउनुहुन्छ । बुबालाई सायद पुनर्जन्म माथि विश्वास थियो ।
र भाउजू पनि हजुरआमालाई अति नै माया, श्रद्धा र भक्ति गर्नुहुन्थ्यो । भाउजूको गर्भबाट पहिलो छोरी जन्मिएपछि बुहारीको कोखबाट मेरी आमा जन्मनु भो भनेर बुबा असाध्य खुसी हुनु भो । र त्यस दिनपछि बुबाको अनुहार आजसम्म मैले अँध्यारो देखेको छैन ।


(सिटौला चर्चित साहित्यकार हुन्)
laxmanrajsitaula@gmail.com