हात - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

हात

दिनेश अधिकारी

दिनेश अधिकारी

स्वास्थ्य- विज्ञानका केही मान्छेहरू
अचेल भन्न थालेका छन्-
तिम्रो हात, तिम्रो सबभन्दा ठूलो शत्रु हो
यसबाट आफूलाई जोगाएनौ भने
मृत्युको बलियो कारण हुन सक्छ- यो !

तर कसरी कल्पना गरूँ म हात विनाको जीवनको ?
यिनै हातहरू टेकेर उभिन सिकेको हुँ मैले
यिनकै सहायताले
भात खान र लुगा लगाउन जानेको हुँ मैले
थिएनन् भने यी हातहरू
कसरी सम्भव हुन्थ्यो
किताब च्यापेर स्कुल जान,
कोदाली मच्चाएर खेत खन्न,
बगैँचाको फूल टिपेर प्रेमिकालाई दिन,
खुट्टामा काँडा बिझेपिच्छे
सधैँ हातले त्यसलाई झिकेको छ
मिलमा तोरीझैँ पीडाले पेलिँदा
सधैँ- सधैँ आँसु पुछ्न हात नै अगाडि सरेको छ
मेरै टाउको ताकेर बैरीले हानेको ढुङ्गा
आफू घाइते भएर यही हातले धेरैचोटि छेकेको छ
फेरि कसरी शत्रु हुनसक्छ यो हात ?
डोली उठाउन यही सहाय भएको छ
जिउको मयल छुटाउन
यसैले औजारको काम गरेको छ
पिठो पनि मुछेकै छ
फोहर पनि पुछेकै छ
ई ! अहिले पनि म
हातकै सिरानी हालेर निदाउने तरखरमा छु
बिहान, यिनैले उघार्ने छन् घरका झ्याल- ढोकाहरू
र, मैले भोलिको उज्यालो संसार देख्न पाउने छु

बरु भने हुन्छ नि-
सधैँ- सधैँ जीवनलाई गति दिने
आफ्ना हातहरूलई माया गर,
सधैँ- सधैँ
विपत्तिका पहाडहरू पन्साउने
आफ्ना हातको तिमी जतन गर,
यदि यो सत्यलाई स्वीकार गर्न कोही तयार छैन भने
उसका लागि तम्तयार छ मेरो जवाफ-
स्वैर- कल्पना बिर्साउने मलाई तिम्रो उपदेश चाहिँदैन !
बिरामी पर्दा
खोलबाट छोडाएर
औषधीका गोलीहरू ख्वाउने यी हातहरूलाई
म आफ्नो शत्रु मान्न किमार्थ तयार छैन !!


(अधिकारी स्थापित कवि हुन्)
dhadhikari@gmail.com