भउजी - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

भउजी

चेतना शर्मा

चेतना शर्मा

‘तरकारी लैलो, तरकारी !’
बाथरुममा लुगा धोइरहेकी म, भउजीको आवाज सुनेपछि धोइरहेको लुगा हातबाटै फालेर बर्दलीतर्फ दौडिन्छु।
‘के तरकारी ल्यायौ भउजी तिमीले ?’
‘पालुङ्गो, गोऽपी ।’
‘कस्तो छ ?’
‘ठीकै छ ।’
‘कसरी ?’
‘पचास रुपैयाँ किलो ।’
‘घटाउन मिल्दैन् ?’
‘नाइँ, मिल्दैन ।’
‘किन ?’
‘खै, यस्तै रेट छ ।’
मेरो र भउजीको मोलमोलाइका लागि एउटैप्रकारले हुने संवादहरूमा उनको अन्तिम निष्पन्न जवाफ पछि मेरो मोलमोलाइमा कुनै असर पार्दैनथ्यो । ग्राहकबाट पाएको पैसालाई सुर्केथैलीमा कस्दै अनुहारमा अरूले चाल नपाउने स्वाभाविक गाम्भीर्य बोकेर आफ्नो बाटो लाग्थिन् भउजी ।
टेरिकटनको नीलो धोतीमा रातो रङको हर्कुलसको चित्र भएको पुरानो डन्डीवाल एट्लस साइकलको पछाडि तरकारी बाँधेर सधैँ आउँथिन् उनी । हाम्रा जीवनका कतिपय कुराहरू स्वतः चलिरहे जस्तै भउजीले तरकारी बेच्न आउने र मैले तरकारी किन्ने क्रमहरू चलिरहेकै थिए । संवादहरूमा तन्काइ थिएन तर भउजी र मेरो संवादरहित आत्मीयताको सम्बन्ध गाँसिएको सिलसिला भने दिन वा महिना मात्र नभएर वर्षभन्दा बढी नै भएको थियो ।

०००
त्यो दिन भउजी अलि ढिला गरेर आइन् ।
‘दिदी तरकारी लिने भए छिटो आउनूस् तल ।’
‘के छ र  ? ’तल जान अल्छी लागेर मैले माथिबाटै सोधेँ ।
‘भान्टा र बोडी अलिकति बचेको छ ।’
‘खान त मन छैन, ल त्यै पनि जोख्दै गर न, म आउँछु ।’
म उनको नजिक पुग्छु । तरकारी जोखिरहँदा भउजीको हातबाट अचानक ढक तल झर्छ । झरेको ढक उठाउन उनी निहुरिन्छिन् । मैले उनी निहुँरिदा च्यातिएको चोलीबाट स्तनवरिपरि नीला डामहरू प्रस्ट देखेँ । शरीरको अन्य भागमा चिथोरेका राता टाटाहरू पनि थिए । पिँडुलामा घाउहरू बनेका थिए ।
मनलाई चिसो बनाइरहका ती दृश्यहरू सामान्य थिएनन् । म आफ्ना सशङ्कित नजर अन्यत्र पनि दौडाउँछु । भउजीका आँखाहरू सुन्निएका थिए । कृष्णवर्णको लाम्चो आकर्षक अनुहार आज सुषुप्त थियो । उनको कस्सिएको जिउमा लेहङ्गा खुकुलो भैरहेको थियो ।
तरकारीको टोकरी हातमा लिँदै म गेटभित्र छिर्छु । जाने आतुरता उनीपनि देखाउँछिन् । सधैँ‘खै’ मा जवाफ फर्काउने उनकोे स्वभावका कारण कुनै प्रश्न गर्न सकिनँ । तरकारी लिएर बहिरी भर्यांगबाट ममाथि आइसक्दा भउजी टुटेको पाइडल हुत्याएर गइसकेकी रहिछन् । ठाउँठाउँमा च्यातिएको लेहङ्गाको फेर साइकलको तिल्लीमा अड्किन्छ जस्तो लागिरह्यो । मैले आज भउजीसँग तरकारीमा मोलमोलाई गर्नपनि बिर्सेछु ।
भउजीलाई के भएको होला ? अड्कलबाजी गर्छु । पक्कै पनि राती श्रीमानले रक्सी खाएर रगतै खान तम्सेको सिंहझैँ झम्टेर शरीर लुछ्यो होला वा अरू केही कारण  ! सोचेँ- अर्कोपटक सोध्नेछु ।

०००
त्यसपछि त्यो आवाज हाम्रो टोलमा आउन छाड्यो । धेरैपटक उनको आशामा छतसम्म पुग्थेँ । झ्यालबाट हेर्दथेँ । कता गइन्, के भयो होला भउजीलाई ? एकमनले सोच्थेँ- मैले भउजीलाई रोकेर उनको अवस्थाको कारण किन सोधिनछु ? घरको ठेगानाका बारेमा सोधेको भए पनि हुने नि ! एकदिन सोधेकै त हो क्यारे  ! तर बिर्सेछु ।
हाम्रो टोलमा ‘तरकारी लैलौ’ भन्दै अर्की भउजी तरकारी बेच्न आउन थालिन् अर्थात पुरानीको स्थान नयाँ भउजीले लिएकी थिइन् ।
कतै बसाइँ सरेर अन्तै गइन् वा कतै संसारैबाट त गइनन् ? मनमा नराम्रा विचार आउनु एक प्रकारले स्वाभाविक थियो । समय बित्यो । केही समयको अन्तरालपछि पुरानी भउजीको सम्झना मेरो स्मृतिबाट धुमिलिँदै गएको थियो । उनको अवस्थाकाबारेमा बिस्तारै चासो पनि घट्दै गयो । सधैँ हतारमा चलिरहेका व्यस्त जिन्दगीका दिनचर्यामा कति अरूलाई मात्र सम्झेर बस्न सकिन्छ र ?

०००
फूलबारी जाने बाटोमा पर्ने मुक्त-कमैया बस्ती बसेको निकै समय भइसकेको थियो । त्यस बस्तीमा मुक्त-कमैया लक्षित परियोजनाको काम चलिरहेको थियो । आज बिहानै सोही कामविशेषले म त्यता गएकी थिएँ । त्यस बस्तीमा स-साना झोपडीहरू आपसमा टाँसिएका थिए । साँघुरो स्थानमा मानिसको सङ्ख्या भने बढी थियो । सिँगाने कलिला बालबालिकाहरू यताउता नाङ्गै खेलिरहेको थिए । थालमा भातमात्रै बोकेका बालबालिकाहरू भातको डल्लै मुखमा हालिरहेका थिए । वरिपरि झिँगाहरू रमाइलो मान्दै भन्किरेका थिए । प्रायः सबैले त्यहाँ सुँगुर पालेका थिए । सुँगुरलाई खान राखेको भात कुहिएर प्रदूषित भएको थियो । मेरो नाकमा त्यहाँको दुर्गन्धित हावा ठोक्किएर गयो । ती छाप्राहरूका बाहिर एउटा चौतारो थियो । त्यहीँ आसपासमात्र अलि खुकुलो स्थान थियो । थोरै काम सकेर म त्यो चौतारोमा बस्न जान्छु । त्यो समय चैतको महिना सुख्खा हुरी चल्ने समय थियो । हिजो पनि अचानक हुरी आउँछ भन्ने पूर्वसम्भावना मौसमले जनाइसकेको थियो । हुरीबतास आइहालेको खण्डमा कता जाने भन्ने डर मनमा पलाउँछ । पहिलोपटक यहाँ आएकी हुनाले कसैसँग चिनजान थिएन ।
यत्तिकैमा, एकजना कमजोर र जीर्ण शरीरकी महिला मेरो अगाडि आउँदै गरेको देख्छु । छिरबिरे रङको मैलो एकसरो धोती उसको शरीरमा बेरिएको थियो । खुट्टाहरू नाङ्गा थिए भने चाल असन्तुलित थियो । निकै समयदेखि नमिलाइएका कपालमा लट्टा परेका थिए । मेरो स्मृतिपटलमा गढिएर बसेको अनुहारसँग मिलेको अनुहार थियो त्यो अनुहार । त्यो अनुहार भउजीकै थियो । तर त्यस अनुहारमा हुने गरेको गम्भीर्य थिएन् ।
‘भउजी !’ अनायासै मेरो मुखबाट निस्किन्छ ।
मसँग तर्कंदै उनी अगाडि बढ्छिन् । अझ टाढा जान्छिन् ।
म चिच्याउँछु ‘भउजी भउजी !’
ती महिला मबाट टाढा पुगिसकेकी हुन्छिन् । लहरै बनेका झोपडीहरू मध्ये कुनै एउटा छाप्रामा पसिन् क्यारे । मैले उनलाई न त पछ्याउन सकेँ, न त ठम्याउन नै । म फेरि चौतारामै फर्केर बस्छु ।
एकजना अधबैँसे चौधरी महिला मतर्फ आइरहेकी देखेँ । १४-१५ वर्षकी युवतीलाई हात तान्दै कतै लगिरहेकी थिइन् । युवतीका प्रत्येक अङ्गमा यौवनको चिह्नहरू ओतप्रोत थिए । उसको अनुहारमा लाली लतपतिएको थियो तर यौवनको प्रकृतिक लालिमा भने झर्लाझैँ भैरहेको थियो ।
‘रात-रातभर कता जान्छे । कति धन्दा गर्छे । अब त गौना गरिदिने हो । आफ्नै ससुरालीमा गर्नु जे गरेपनि । मलाई त यस्को चालचलन खपिनसक्नु भैसक्यो । यस्को बापनि पोर इन्डिया काम खोज्न जान्छु भनेको अहिलेसम्म घर मरेको छैन ।’
तिनका वार्तालापले ती दुई आमा छोरी हुन् भन्ने बताइरहेको थियो । ती महिलाले भन्दै गरेको ‘धन्दा’ सामान्य धन्दा होइन भन्ने पनि मैले बुझिसकेकी थिएँ ।
‘दिदी  ! एकछिन पर्खनू त !’ ती चौधरी अधबैँसे महिलालाई बोलाउँछु ।
‘के भयो र म्याडम ?’ मैले बोलाएपछि ती महिला म नजिक आउँछिन् ।
‘सुन न ! अहिले यताबाट जाने एकजना महिला कता गइन्, केही थाहा छ ?’
‘को रामकुमारी !’
‘खै नाम त थाहा भएन् ।’
‘किन म्याडम ?’
‘भेट्नुछ ।’
‘ए ल मेरो पछि आउनू न त !’
म तिनलाई पछ्याउँदै गइरहेकी हुन्छु । वरिपरि एउटा झुन्डमा महिलाहरू एकअर्काका जुम्रा हेर्नमा व्यस्त थिए । महिलाले मलाई बस्तीको छेउतिर नाली नजिकैको एउटा झोपडीभित्र लगिन् । त्यस छाप्रोको ढोकामा पातलो पारदर्शी पर्दा टाँगिएको थियो भने ठाउँठाउँमा प्वाल परेको छानो थियो । यसपालिको हुरीले छानो रहँदैन भन्ने पक्का थियो । कुनामा चुलोसँगै डेक्ची लडिरहेको थियो । दाउरामा माकुराको जालो थियो । बाँकी त त्यो स्थान धेरैकुराबाट रित्तो र खाली थियो ।
भउजी भित्तामा अडेस लाएर खुट्टा तानेर बसिरहेकी थिइन् । पर्दा खोल्दा प्रवेश गरेको उज्यालोले तिनलाई असहज भएको थियो ।
‘को हो ?’ उनले जुरमुराउँदै भनिन् ।
त्यस अनुहारलाई राम्ररी हेरेँ मैले । मैले ती आँखाहरूलाई चिनेँ ।
‘भउजी !’ म बोलाउने आँट गर्छु ।
केही नबोली उनी म तर्फ दृष्टि अड्याएर मेरो अनुहारको मध्यभागमा हेरिरहिन् । माानसिक विक्षिप्तताको लक्षण थियो त्यो हेराइमा ।
‘तिमीले तरकारी बेच्न छाडिसक्यौ ?’ भउजीतर्फ प्रश्न गर्छु ।
जवाफमा उनले मुखमा धोतीको फेर छिराउँदै टाउको झुकाइन् मात्र ।
‘रामकुमारी कहिले काहीँ मात्र बोल्छिन् म्याडम ।’ मसँग आएकी चौधरी दिदी बताउँदै हुन्छिन् ।
‘ए हो  ! किन ?’
‘चार वर्ष भयो, यस्तै छ । यिनको दुर्भाग्यले यिनको जीवन बदलियो म्याडम । चर्चमा गएर प्रभुलाई प्रार्थना गर्दा पनि केही फरक भएको छैन ।’
‘किन दिदी ?’
‘यहाँ बस्तीमा हाम्रो जीवन पनि के जीवन । पहिले जातले ठग्या अनि कर्मले ।
यस्को पहिलेको लोग्ने इन्डिया काम गर्न गएको थियो, उतै बित्यो । एउटी दुई वर्षकी छोरीलाई छाडेर ।’ चौधरी महिला भन्दै थिइन् । म मूकदर्शक भएर सुनिरहेकी थिएँ ।
‘अनि ?’
‘केही समयपछि यसको टाढाको देवर नाता पर्नेसँग प्यार भयो । भागेर आई छोरीसहित । त्यसले दुई वर्षसम्म छोरी र यसको शोषण गर्यो म्याडम ।’
‘अनि !’
झोपडीमा मौनता । शून्यताले मेरो मनलाई चिथोरिरहेको थियो ।
भउजी मलाई देखेर उठिन् र घोसेमुन्टो लाएर थ्याच्च भुइँमा बसिन् । कैयौँ समयदेखि हाँसो बिर्सेका उनका ओठहरू कम्पित भइरहेका थिए । सायद केही भन्न आँतुर हुँदै थिए । आँसुले फाटेको उनको ब्लाउज पूरै भिज्दै गइरहेको थियो । स्तनहरू नाइटोसम्म लत्रिएका थिए । तिनमा कुनै अकर्षण गर्ने शक्ति थिएन बरु विकर्षण पैदा गराइरहेको थियो । आभा विनाको शरीर टिठलाग्दो बनेको थियो ।
‘अनि के भयो ?’ भउजीका बारेमा जान्ने मभित्रको आतुरता चरममा थियो मानौँ, म कुनै सिनेमाको दृश्य हेरिरहेकी थिएँ त्यहाँ ।
‘रक्सी खाएर यस्को र यस्को छोरीको बलात्कार गथ्र्यो । आफू मात्र होइन अरू दूरदूरबाट जन्ना ल्याउँथ्यो । ’म अवाक् सुनिरहेकी थिएँ ।’
‘एकदिन राती खै कति वेला धेरै मान्छे आए र यस्की छोरीलाई लगेर गए ।’
‘बस्तीका बस्ने तिमीहरूले विरोध गरेनौ ?’
‘बाहिरका मान्छेहरू थिए । कसैले बोल्न सकेन । रामकुमारी भने चिच्याइरहिन् । त्यसै दिनदेखि यी मरे सरह छिन् ।’
‘रामकुमारीकी छोरीलाई कता लग्यो केही थाहा भयो र ?’
‘अहँ ।’
‘पुलिसमा खबर गरेनौ तिमीहरूले ?’
‘पुलिसले के रक्षा गर्छ र म्याडम हाम्रो ? हामी ना कानुनको बात जान्छ हामी ना पुलिसको ।’
‘बस्तीमा कुनै घटना हुँदा त पुलिस आउँछ नि, बरु हाम्रै छोराहरूलाई त्यत्तिकै पक्रेर लैजान्छ । दुइचार दिन थुनामा राख्छ । फेरि छाडिदिन्छ । यस्को छोरीको बारेमा सोध्यो भने-‘तिमीहरू कति कचकच गर्छो मात्र भन्छ ।’
‘हामीलाई सरखारले मुक्त गरेको कति वर्ष भइसक्यो हेर्नू न ! के पाएका छौ यत्तिका वर्षसम्म ? एक बन्धनबाट मुक्त भएर अर्को बन्धनमा परेछौँ ।’ भउजीको सुक्कसुक्क गरिरहँदा मौनतालाई खुल्दै थियो । चोली र लेहङ्गामा चिटिक्क पर्ने भउजीको स्वरूपमा आकाश-पातालकै फरक भएको थियो ।
‘किन आएकी थियौ  तिमी यस्तो राक्षससँग भउजी ?’
‘मान्छे कस्तो छ भनेर बाहिर कसरी थाहा लाग्छ  ? जनमभर प्यार गर्छु भनेर जतायो । विश्वास गरेँ मैले छोरीको भविष्यका लागि आए । फेरि कहिलेकाहीँ मर्द चाहिने यस शरीरलाई कति सम्झाएर राख्न सक्थेँ । पटकपटक लुछिरहने इज्जत जोगाउन पनि त एउटा मर्द चाहिन्छ । कसैले प्यार जताएपछि शङ्का गर्न सकिनँ दिदी ।
कस्तो क्रन्दन-कुण्ठित स्वरमा बोलिन्- ‘जुन हालतमा पनि उसैका साथ आउन ठीक लाग्यो ।’
‘तिम्री छोरीको केही खबर छ ?’
‘खै कसैले बर्डरपार लगेर बेचेको छ भन्छन् । मैले कता गएर खोज्न सक्छु र उसलाई  ? पासो लाउन पनि रस्सी छैन दिदी मसँग ।’
‘अनि तिम्रो तरकारीबारी ?’
‘मेरो थिएन त्यो, अँधियाको थियो । अब कस्का लागि बेच्नु ? मैले त थाहै नपाई सबैथोक त बेचिसकेछु दिदी ।’
पीडामा लतपतिएकी भउजी मतर्फ हेरिरहेकी थिइन् । त्यस हेराइले कुनै अस्फुट याचनाका भावाभेगहरू जन्माइरहेका थिए । बिल्कुलै निष्कपट यौवनबाट कत्ति छिटो रूपान्तरित भएको स्वरूप थियो त्यो । सहानुभूति जाहेर गर्नुबाहेक मैले केही गर्नसक्ने अवस्था थिएन । म बाहिर निस्कन्छु । सिमसिम बर्षात भइरहेको थियो । झोलामा छाता भएकाले झरीले भिज्ने डरबाट म सुरक्षित थिएँ तर भउजीको कहालीलाग्दो दुःखले शरीर र मन भिजिरहेको थियो ।


(शर्मा केही वर्षदेखि साहित्यमा निरन्तर कलम चलाउँदै आएका स्रष्टा हुन्)
chetana50@gmail.com