एउटा प्रतिबिम्ब, जुन रहर बनेर आउँछ - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

एउटा प्रतिबिम्ब, जुन रहर बनेर आउँछ

ज्ञानु अधिकारी

ज्ञानु अधिकारी

हरेक चाडपर्व र सांस्कृतिक रिवाजले मान्छेभित्रको संवेदनालाई जागृत गराइदिँदो रहेछ र केही छिनका लागि नै भए पनि अतीततर्फ फर्काइदिँदो रहेछ । चारैतिर सयपत्री, मखमली र गोदावरी फूल फुल्नु, धान पाकेर पहेँलपुर हुनु, बिहानबेलुका चिसोचिसो सिरेटो चल्न थाल्नु र मौसम सफा देखिनुजस्ता पर्यावरणले नेपालीहरूलाई तिहार आएको आभास दिलाउँछ र मन यसै फुरुङ्ग बनाइदिन्छ । प्रत्येक साल तिहार आउँछ र तिहारसँगै जोडिएर हाम्रा सांस्कृतिक, धार्मिक मान्यता र परम्पराहरू पनि आउँछन् । यी सांस्कृतिक परम्परासँग हाम्रो आस्था, विश्वास, भावना र संवेदना पनि अन्तर्घुलित भएर आएका हुन्छन् ।
हाम्रा सांस्कृतिक धार्मिक पर्वहरू प्रायः शरद ऋतुमा नै पर्ने गर्दछ, त्यसैले ऋग्वेद, रामायण, महाभारत र अन्य पुराणहरूमा शरद ऋतुको वर्णन जीवन, समाज र संस्कृतिसँग जोडेर गरिएको पाइन्छ । शरद ऋतुमा पर्ने तिहारलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पाँच दिनमध्ये हरेक दिनको आफ्नै सांस्कृतिक महत्त्व र धार्मिक विश्वास छ । यी पाँच दिनमध्ये पनि मूलतः लक्ष्मीपूजा र भाइटीकालाई विशेष रूपमा लिने गरिन्छ । लक्ष्मीपूजा धार्मिक आस्थासँग बढी निकट देखिन्छ भने भाइटीका पारिवारिक सम्बन्ध र मानवीय संवेदनशीलतासँग जोडिएर आएको हुन्छ । त्यसैले पनि भाइटीकालाई दाजुबहिनी र दिदीभाइको पवित्र सम्बन्धका रूपमा हार्दिकताका साथ लिने गरिन्छ ।
‘भाइटीका’ सँग जोडिएर आएको ‘भाइ’ शब्दसँग म आत्मादेखि नै यति द्रवितहुन्छु कि, यसको सम्बोधन नै मात्र पनि किनकिन मलाई आत्मीय लाग्ने गर्छ । मेरा लागि संसारको सबैभन्दा प्रिय सम्बोधन यदि केही छ भने त्यो केवल भाइ शब्द नै हो । कसैलाई भाइ भनेर बोलाइरहँदा हरेकपटक मेरो आत्माले महसुस गर्छ कि, त्यो मैले बाहिरबाट बोलेको शब्द नै होइन, त्यो त मेरो अन्तर्यले नै पुकारेको शब्द हो । भाइ शब्दमा म किन यति धेरै प्रियता भेट्छु ? भाइ शब्द किन यति मीठो र आत्मीय लाग्छ ? यसका मनोवैज्ञानिक र सांस्कृतिक थुप्रै कारणहरू छन् र ती मेरो अचेतनमा यसरी गढेर बसेका छन् कि जति दबाउन खोजे पनि हरेक वर्ष भाइटीकाको दिन मभित्र जुर्मुराएर उठिदिन्छ ।
जीवनको सबैभन्दा प्रिय र आत्मीय सम्बन्ध नै दिदीभाइको हुन्छजस्तो लाग्छ मलाई । हुन त आफूसँग नभएको र आफूले प्राप्त गर्न नसकेका सम्बन्ध सबैभन्दा प्रिय लाग्दाहुन् सबैलाई, तर पनि भाइ शब्दमा एकप्रकारको मिठास र विश्वास लुकेको हुन्छ । नेपाली बृहत् शब्दकोशमा ‘दाइ’ शब्दलाई जेठो उमेरको पुरुष व्यक्ति वा आफूभन्दा जेठो व्यक्ति भनेर अथ्र्याइएको छ भने ‘भाइ’ शब्दलाई आफूभन्दा कान्छो कुनै पनि व्यक्तिलाई स्नेहले सम्बोधन गरिने शब्द भनेर अथ्र्याइएको छ । यसको अर्थ दाइ शब्दको तुलनामा भाइ शब्द स्नेहसँग निकट भएको कुरा यसको कोशीय अर्थमा समेत देखिन्छ ।तिहारको यस पर्वलाई पनि दाइटीका नभनेर भाइटीका भनिनुमा यस्तै कारण रहेको हुनुपर्छ ।
जीवनमा धेरैलाई भाइ भनेर सम्बोधन गरेको छु । यसरी सम्बोधन गरिएका भाइहरू वास्तवमा मलाई यति प्रिय लाग्छन् कि मानौँ, ती सामान्य मान्छे मात्र नभएर मेरा आफ्नै कोही हुन् । जीवनयात्रामा कैयौँलाई भाइका रूपमा माया गरेर आत्मविभोर भएको छु । कतिले ‘मेरो प्यारो दिदी’ भनेर सम्बोधन गरिदिँदा खुसीले भावुक बनेको छु र भाइको अभावलाई बिर्सिदिएको छु । तर अचम्म के छ भने, जब भाइटीकाको दिन आउँछ अनि तीन सय चौसट्ठी दिनसम्म आफ्नै लागेका भाइहरू सबै हराउँछन् र म भाइबिनाको दिदी बन्न पुग्छु । जब मैले भाइ मानेका, भाइ ठानेका र भाइलाईजस्तै व्यवहार गरेका सबै भाइहरू आफ्ना दिदीबहिनी तथा नातेदारसँग टीका लगाइरहेको देख्छु अनि अनायास कहिल्यै नदेखेको र यस लोकमा नै नभएको भाइको प्रतिबिम्ब आँखामा आइदिन्छ ।
सांस्कृतिक र धार्मिक पर्वहरूमध्ये केही पर्वहरू अन्धविश्वासमा आधारित र विभेदपूर्ण देखिन्छन्, जसलाई समयअनुसार परिवर्तन गर्नु जरुरी हुन्छ भने केही पर्वहरूले मानवीय सभ्यता र संस्कृतिलाई जीवन्त राखेका हुन्छन् । नाता र सम्बन्धलाई आत्मीय र प्रगाढ बनाउने यो पर्व नेपालीहरूको प्रिय चाड हो । नेपालका बहुसङ्ख्यक मानिसले मनाउने यस पर्वले दाजुभाइ, दिदीबहिनीको सम्बन्धलाई प्रेमपूर्वक बाँधिदिन्छ । तीजमा सात डाँडापारि बिहे गरेर गएकी दिदीलाई लिन जाने भाइको दिदीप्रतिको प्रेमको सन्दर्भ होस् या तिहारमा भाइको लामो आयुको कामना गरेर टीका लगाई यमराजबाट भाइलाई बचाउने दिदीको सन्दर्भ होस् यस्ता मिथक वा किंवदन्तीहरूबाट नै हाम्रा संस्कार र धारणाहरू बनेका छन् । म यस्तैयस्तै कथा, किंवदन्ती र मिथकहरू सुनेर हुर्किएको मान्छे हुँ । यस्ता परम्परित संस्कार र संस्कृतिको प्रभाव मभित्र कतै न कतै बसिरहेको छ भन्ने कुराको प्रमाण हो मनमा कहिलेकाहीँ आउने भाइको प्रतिबिम्ब । त्यसैले हरेक वर्षको तीज होस् या तिहार भाइको अनुपस्थिति मनभित्र कतै बल्झिदिन्छ ।
दिदीभाइको प्रेम, स्नेह र आत्मीयताका बारेमा हाम्रा वैदिक कालीन ग्रन्थ र पौराणिक ग्रन्थहरूमा मात्र नभएर लोककथा, लोकगाथा र ग्रामीण जनजीवनमा पनि प्रशस्त व्याख्या र चर्चा भएका पाइन्छन् । यसैले पनि दिदीभाइको सम्बन्धप्रति मेरो लगाव र भरोसा अझ बलियो भएर आएको हुनसक्छ । तिहारमा मानिने भाइटीकाको जुन प्रसङ्ग आएको छ त्यसको आधिकारिक स्रोत खोज्दै जाने हो भने सर्वप्राचीन ग्रन्थ ऋग्वेदसम्म पुग्नुपर्ने हुन्छ । ऋग्वेदमा यमको प्रसङ्ग आउँछ । वैदिक कालमा यम र यमी दुवैलाई देवता र मन्त्रद्रष्टाका रूपमा मानिएको छ । यमी यमकी बहिनी हुन् । यम दक्षिण दिशाका दिक्पाल देवता, मृत्युका देवता र मृत पितृहरूका अधिपति मानिन्थे । तिनको लोकलाई यमलोक भन्ने गरिन्थ्यो । वैदिक ग्रन्थमा सूर्यको श्रापका कारण प्राणीहरूको प्राणको हरण गर्ने काम यिनले गर्नुपरेको सन्दर्भ दिँदै यम र यमीबीचको स्नेह र प्रेमको चर्चा गरिएको पाइन्छ । यसैगरी पौराणिक ग्रन्थहरूमा भने यम र यमीलाई यमराज र यमुनाका रूपमा वर्णन गरिएको छ । यमुनाले यमराजलाई आफ्नो घरमा बोलाउँदा सूर्यका सातवटा घोडाहरूका प्रतीक सात रङहरूसँगै आउनू भनेर बोलाएकाले सप्तरङ्गी टीका लगाउने चलन चलेको मानिन्छ । सूर्यमा सात रङ हुन्छन् र सूर्यको जस्तै तेज होस् भन्ने कामनासहित वरदान दिएकाले भाइटीकाको दिन प्रतीकात्मक रूपमा यस्तै टीका लगाउने गरिन्छ ।
हाम्रा शास्त्र र पुराणहरूमा तिहार र भाइटीकालाई जेजसरी व्याख्या गरिएको भएपनि दिदीभाइ र दाजुबहिनीका बीचको प्रगाढ र आत्मीय सम्बन्धलाई देखाउनु र वर्णन गर्नु नै यस पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ । हामीले आज मनाउँदै आइरहेको तिहार पर्व पनि यिनै परम्परागत सांस्कृतिक मान्यता र विश्वासकै आधारमा निर्माण भएका सांस्कृतिक चाड हो । पछिल्लो समय समाजमा महिला र पुरुषका बीचमा देखिएको जुन विश्वासको सङ्कट छ, त्यस सङ्कटलाई दिदीभाइको यस आत्मीय र पवित्र सम्बन्धले मेटाउने छ र एकअर्काप्रति सम्मान र स्नेहभाव जगाउन अभिप्रेरित गर्नेछ । जे होस् सम्पूर्ण दाजुभाइ, दिदीबहिनीलाई नजिक बनाउने र आत्मीयताको अनुभूति दिलाउने यो पर्व व्यावहारिक रूपमा पनि सान्दर्भिक देखिन्छ । यसैले पनि मलाई यस पर्वले अलि बढी संवेदशील बनाउँछ र लाखौँ भाइहरूका बीचमा एउटा अलौकिक भाइको प्रतिबिम्ब कोर्न लगाउँछ । नजिकै आइपुगेको तिहारको अवसरमा शरद ऋतुको शीतल हावा र आँगनमा फुलिरहेका फूलहरुले दिएको वर्णातीत सौन्दर्यबोधले द्रवीभूत हुँदै यतिवेला संसारभरिका दाजुभाइहरुका लागि स्नेहसिक्त शुभकामना अर्पण गर्छु ।


(अधिकारी चर्चित साहित्यकार हुन् ।)
shabdaga@gmail.com