‘आजकल’ देवकोटाको हातमा - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

‘आजकल’ देवकोटाको हातमा

जनकलाल शर्मा

अध्यापक, प्राध्यापकको त कुरै छोडौँ माननीयदेखि, प्रधानमन्त्रीसम्मका उमेदवार आउँथे यहाँ । यहाँ आउनेमा मन्त्री, प्रधानमन्त्री, राजदूत, कल्चरल अटासे, भाइसचान्सलर, माननीय, सम्माननीय, खेलाडी, जुवाडी को के भएन, सबैभन्दा बिग्रको त मै छु । यस्तो व्यक्तिको जमघट हुने ठाउँमा पत्र–पत्रिका हुनु पनि जरूरी नै भयो र त्यो खाँचो लप्टनको होटलले टाथ्र्यो । पत्रिका हेर्न पनि मानिस यहाँ जम्मा हुन्थे । हाम्रो छेउमा बसेका एक जना मित्रले एउटा पत्रिका उठएर ‘यसको डिजाइन कस्तो लाग्यो यहाँलाई’ भनेर महाकवि देवकोटालाई सोध्यो । देवकोटाले समजीलाई सोधे । समजीले पत्रिका मतिर बढाएर भन्नुभयो, ‘तपाईं त आजकल रेडियोमा कलासम्बन्धी लेख सुनाउनुहुन्छ सुनौँ न यसको पनि व्याख्या !’ मैले उत्तरमा ‘राम्रो लाग्यो’ यति मात्र भनेँ । समजीले भन्नुभयो, ‘राम्रो लाग्यो भनेपछि राम्रो लाग्ने कारण पनि त होला, सुनौँ न त्यसको व्याख्या !’ त्यस समय काठमाडौँ नगरपालिकाबाट एउटा पत्रिका निस्कन्थ्यो ‘जनचेतना’ । यसको आवरणपृष्ठको माथिल्लो भागमा घोप्टो श्रद्र्धचन्द्रकारजस्तो रूप बनाएर ‘जनचेतना’ लेखिएको थियो र त्यसको सीधै तल बीचमा एउटा बल्दै गरेको दीयो अङ्कित थियो । दीयोको ज्वाला जनचेतना लेखिएको ठाउँमा पूरै ढाक्ने गरेर चारैतिर फैलिएको थियो । मैले समजीलाई सोधेँ, ‘दिनैपर्यो मैले उत्तर ?’ उत्तर पाएँ, ‘हो, दिनैपर्यो ।’ समजीको आज्ञा लिएर मैले छोटो उत्तर दिएँ, ‘जनचेतनामा डढेलो लागेछ, त्यस कारण मलाई राम्रो लाग्यो ।’ मेरो उत्तरपछि सबै गलल हाँसे । समजी क्यै नभनी रातो मुख लगाउनुभयो । यसको डिजाइन समजीले नै बनाउनुभएको रहेछ, त्यो कुरा पछि मात्र थाहा भयो । यदि यो कुरा पहिले थाहा पाएको भए म त्यो उत्तर दिने नै थिइनँ । यस्तै गफ र ठट्टा भइनै रहन्थेँ त्यहाँ ।
यस्तै प्रसङ्गमा एउटा हिन्दी पत्रिका आयो सामने । त्यस समय दिल्लीबाट ‘आजकल’ नामक हिन्दी मासिक पत्रिका निस्कन्थ्यो । यसमा ‘विश्वदर्शन’ नामक पत्रिका पनि गाभेर संयुक्त रूपमा आउँथ्यो । हाम्रो समने भएको ‘आजकल’ मई १९५३ को कविता–अङ्क थियो । यो अङ्क रवीन्द्रनाथको जन्मदिवसमा निकालिएको हुँदा आवरणपृष्ठमा रवीन्द्रनाथ ठाकुरको आकर्षक चित्र पनि दिइएको थियो । अतः यसमा सबैको ध्यान जानु स्वाभाविक कुरा हो । पल्टाउँदै जाँदा विश्वदर्शन भागमा ‘नेपाली महाकवि देवकोटा’ भन्ने ठूलो अक्षरमा शीर्षक देखियो र त्यसभन्दा तल लेखकमा राहुल सांकृत्यायन लेखिएको थियो । सबैका आँखा उत्सुकतापूर्वक त्यतै लागे । देवकोटालाई यसमा अरू चाख भयो र लेख पढ्दै गए । लेख यसप्रकार थियो–
‘जनवरी १९५३ मे मैं पाँचीवी बार नेपाल गया। उस दिन नेपाली कवियों और साहित्यकारों की गोष्ठी में एक सहृदय कवि ने जब मेरा स्वागत करते हुए ‘विदेशी अतिथि’ का शब्द प्रयुक्त किया, तो मेरे हृदय में एकाएक सुई–सी चुभ गई । नेपाल स्वतन्त्र देश है, उसकी स्वतन्त्र राष्ट्रीय एकाई है, इस लिये राजनीतिक तौर से उसे मैं भारत के अन्तर्गत भारतका एक प्रदेश नहीं मानता । किन्तु और कितनी ही बातें है जिसके कारण मैं उसे विदेश नहीं मान सकता । उसी हिमाचल के वरद्पुत्र हमारे पन्त है, जिसके दूसरे श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा हैं । यह कैसेहो सकता है कि पन्त को तो मैं हमारा कहूं, और देवकोटाको विदेशी ? अब की यात्रा में देवकोटा की प्राप्ति मेरे लिये एक नया आविष्कार था । नेपाली साहित्यका आदिकवि भानुभक्त १८६९ ई. मे उसकी मृत्यु हुई । नेपाली कविता–साहित्यका आरम्भ इस प्रकार १९ वीं शताब्दीमध्य में हुआ । हिन्दी कविताको १६ वीं सदी से २० वीं सदी के मध्य तक जिन अवस्थाओं से गुजरना पडा, नेपाली कविता को हमारी चार शताब्दीयों की मन्जिल एक शताब्दी में पूरी करनी पडी । परन्तु इस जल्दी के कारण उसे अपरिपक्व नहीं समझना चाहिए । इस का एक सबूत महाकवि देवकोटा हैं, जिन में हम अपने हिन्दी के पन्त–प्रसाद–निराला को ही पूर्ण रूप में नहीं पाते, बल्कि उन में एक ओर यदि हम ‘प्रियप्रवास’ के कवि ‘हरिऔध’ को विकसित रूप में देखते हैं, तो दूसरे ओर एक दूसरी भी महाकवि को पाते हंै, जो कि अभी हिन्दी में पैदा नहीं हुआ । देवकोटा जनता की सरल और सुचलित भाषा में मुना–मदन’,‘कुन्जिनी’ के महान् गायक है ।
एक तरफ उनको कविता मेँ हम देखते हैं–
समय सुन्दर सान्ध्य सुवर्णको ।
मनमन्दिरमा वन पर्णको ।।
जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन् पृथ्वीतिर मेनका ।

–शाकुन्तल ३/२६

अथवा,
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्त भाव अघिका, पर्दा लगाऊँ यता ।।
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वन्दावन ।।

–शाकुन्तल १९

जहाँ इस जगह हम उनकी कविता को संस्कृत से लदी देखते हैं, वहां कवि के अपने प्रियकाव्य ‘मुना–मदन’ में ग्रामीण–गीत–झ्याउरे मेँ हम कितनी ही सरल, कोमल और सरस भाषा पाते हैं ः
‘पृथ्वीतिर न हेर मुना ! म पनि आउँछु,
आँखामा आँसु लिएर चिनो म भेटेन आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु,
कसरी खायो आगोले आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ, ती मुनालाई छातीमा लगाऊँ ?
खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना ! म यहाँ बस्दिनँ !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ !’
‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती ।’
‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रूनेछैनँ ! गएर भोलि भेटुँला तिन्लाई !
हे दैव पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !’

–मुनामदन

वाल्मीकि करूण रस के महाकवि थे । ‘रघुवंश’ के अजविलाप को देखकर कालिदास को करूण रस का कवि माना जा सकता है, उसी तरह देवकोटा भी प्रधानतः करूण रस के महाकवि हैं । दूसरे प्राचीन सजातीय कवियों के वैयक्तिक जीवन के बारे में हमें पता नहीं इसलिये, हम नहीं कह सकते कि उनको अपने जीवनका उनकी कविता पर कितना प्रभाव पडा, लेकिन देवकोटाका जीवन तो बाल्यकाल से ही दुःखी और संघर्षका जीवन रहा । प्रौढ अवस्था में एक के बाद एक तीन पुत्रों को खो चुके हैं, ऐसी हालत में यदि उनके बारे में कोई लिखता है–दुःख से विदीर्ण हृदय रखते भी वह मुंह पर जबर्दस्ती हंसी की रेखा लाना चाहते हैं, तो कोई आश्चर्य नहीं है।
‘गत अतीत जीवन के किसी दिन में भीषण दुःखान्त घटना होने के पश्चात् एक वेदना उनमें पैदा हुई, जो कि जितनी–जितनीउनकी उमर बढती गई, उतनी ही बढती गई ।’ ‘उनको पहली बार ही देखते समय कोई भी आदमी आसानी से समझ सकता है, कि वह किसी पुंजीभूत वेदना से मरमाहत हो छटपटा रहे हैं । सिगरेट उनका चिर साथी है, भावना चिर सहचरी और वेदना जीवन के वरदान जैसी उनके लिये है ।’
यसैप्रकार महाकवि देवकोटा महापण्डित राहुल सांकृत्यायनले आफ्नू विषयमा लेखेका लेखका पङ्क्ति पढ्दैगए र एक ठाउँमा गएर उनी एकाएक रोकिए । त्यहाँ यस्तो लेखिएको थियो–‘देवकोटा नेपाली के पन्त–प्रसाद–निराला तीनों हैं, इसमेंअतिशयोक्ति नहीँ है । निराला के दूसरे गुण भी उन में मौजूद हैं, यद्यपि उतनी मात्रा में नहीं । निराला को रांची ले जाने की बात ही भर कितनी ही बार उठी, किन्तु जब देवकोटा को घरवालों ने विक्षिप्त समझ रांची ले चलने के लिए कहा, तो उन्हों ने जरा भी आपत्ति नहीं की और रांची के पागलखाने में कुछ दिन रह भी आये ।’

दुर्वासा देवकोटा
यो पङ्क्ति पढिसकेपछि देवकोटा रिसले अग्निशर्मा के भनौँ दुर्वासा भए । उनका गाला फुलेर राताराता भए । आँखा रगत चुहुन लागेझैँ देखिए । देवकोटालाई रिस उठेपछि काम्न थाल्थे त्यो मैले एक–दुईपल्ट देखेको थिएँ । उनी मतिर फर्केर मलाई औँलो ठडयाउँदै भन्न थाले, ‘यस मूर्खलाई गलत सूचना दिने तैँ होस् अर्को मूर्ख ।’ मैले कति अनुनय–विनय गरेँ, मेरो केही लागेन । उनी होटलबाट बाहिर आए । साइकिलको साँचो मैसित थियो–साँचो खोलेँ । मलाई एक धक्का दिएर साइकिल लिए । उनी साइकिल चढेर अघि लागे, १० पाइला पर गएपछि म पनि पछिपछि दगुरेँ ‘मामा–मामा’ भन्दै । उनी म दगुरेको देखेर पुनः साइकिलबाट ओेर्लिए । हामी मैतिदेवीको पीपलको रूखमा पुग्यौँ । सधैँत्यहाँ पुगेपछि आफ्नू घर जान आग्रह गर्थे मसित तर आज त्यसो नगरी लुरुलुरु घरतिर लागे । साइकिलको साँचो झिकेर उनको खल्तीमा हालिदिएँ, तैपनि केही भनेनन् । र म आफ्नू डेरातिर लागेँ । त्यो दिन साह्रै खल्लो लाग्यो मलाई । राति पनि त्यै सपना देखेँ मैले । जस्तै आपत्तिमा पनि निद्रा एउटा ओखती हो । म निद्रादेवीको शरणमा पुगेँ ।

‘पागल’ को रचना र व्यक्तिगत आक्षेप
बिहान उठेर हातमुख धुन मात्र के लागेको थिएँ, एउटा मानिस मकहाँ आयो र भन्यो, ‘साहिँलामामाले बोलाउनुभएको छ तपाईंलाई । अहिले नै उतै खाने गरी जानु अरे ।’ यो खबर पठाउने उनै महाकवि देवकाटो थिए । मनमनमा हाँसो उठ्यो,‘त्यसै रिसाए । कुरै नबुझी । उनको बारेमा के गलत सूचना दिएको थिएँ र मैले । उनी राँची गएको कुरा उनैले भनेका हुन्, पूरै फाइल पनि हेरेको छु मैले ।’ मनमा लाग्यो ‘मानिस त सनकी नै हुन् । आज के काण्ड गर्ने हुन् ।’
मेरो डेराबाट उनको घर पुग्न १० मिनेटको बाटो थियो, पुगेँ हस्याङफयाङ गर्दै । म त्यहाँ पुग्दा उनी कागजका अनेक पत्र तह लगाउँदै थिए । मैले नमस्ते गरेपछि बडो आदरसाथ आफ्नूछेउमा बसाए । हिजोका दुर्वासा आज करूणाका मूर्ति थिए । मैले हिजोको घटनामा माफी मागेँ । उनले उत्तरमा भने, ‘होइन भान्जा, माफी त मैले पो माग्नुपर्ने, कहाँ तपाईं अघि सर्नुभो । त्यसै कारण त तपाईंलाई दुःख दिएको एकाबिहानै, एउटा कविता सुनाऊँ भनेर ।’ कविताको नामले म अरू उत्सुक भएँ र भनेँ, ‘सुनौँ न मामा, कविता ! के लेख्नुभएको ?’ उनले तिनै अघि बटुल्दै गरेका कागज देखाउँदै भने, ‘आजै राति लेखेको ।’ म अझै उत्सुक भएँ कविता सुन्न । कविताको शीर्षक थियो ‘पागल’ । पूरै कविता सुनेपछि म अवाक् भएँ । हँ, त्यसमा एक ठाउँ उनले, ‘तिम्रा महापण्डित राहुल मेरा मूर्ख’, भनेका थिए त्यसमा, ‘कुनै व्यक्तिको नाम किन लिने ? महापण्डित भनेपछि पुगिहाल्छ नि मामा !’ भन्दा उनी ‘राहुल’ तीन अक्षर कविताबाट झिक्न राजी भए । यसपछि म उनका सामने अझै नतमस्तक भएँ र आज पनि छँदैछु । यो कविता पढ्दा आज पनि ती दिन याद आउँछन् झलझल्ती । देवकोटाले यस लोकबाट भाद्र २९ गते २०१६ तदनासुर १४ सेप्टेम्बर १९५९ मा सदाका लागि बिदा लिए तर उनको ‘पागल’ कविता नेपाली साहित्य रहेसम्म जीवित रहनेछ ।
यो कविता ‘प्रगति’ द्वैमासिक पत्रिकाको भाद्र–आश्विन २०१० को वर्ष १ अङ्क ३ मा सर्वप्रथम छापियो । जुन यसप्रकार छ–

पागल
१. जरूर साथी ! म पागल !
यस्तै छ मेरो हाल !

२. म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु बास्नालाई स्वाद लिन्छु;
आकाशभन्दा पातला कुरालाई छुन्छु…
ती कुरा जसको अस्तित्व लोक मान्दैन,
जसको आकार संसार जान्दैन
म देख्छु ढुङ्गालाई फूल
जब जल किनारमा जल चिप्ला ती कोमलाकार,
चाँदनीमा, स्वर्गकी
जादूगर्नी मतिर, हाँसेर पत्रिएर, बास्निएर,
उप्सिएर,
बिउँझिएर, बदलिएर नर्मिएर, बाक्लिएर,
झल्किएर, उठ्दछन्–
मूक पागल झै–फूल झैँ एकै किसिमका
चकोर फूल !
म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् मसँग,
एक भाषा ! साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न,…
जुनेली । गङ्गा किनार, छाल आउँछ तिनको भाषा, साथी
छाल, छाल !
जरूर साथी ! म पागल !
यस्तै छ मेरो हाल !

३. तिमी चतुर छौ, वाचाल ! (क+ख) वर्ग तिम्रो
क२+कख+ख
हरहमेशा चलिरहेको छ,
मेरा गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ,
तिमी पाँच इन्द्रियले काम गर्दछौ, म छैटौँले
तिम्रो गिदी छ साथी ! मेरो मुटु
तिमी गुलाफलाई गुलाफसिवाय देख्न सक्तैनौ ?
म उसलाई हेलेन र पद्यिनी पाउँछु ।
तिमी बलिया गद्य छौ, (म) तरल पद्य छु,
तिमी जम्दछौ जब म धमिलिन्छु
र ठीक त्यसैको उल्टो ! तिम्रो सँसार ठोस छ–
मेरो बाफ,
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस
कठोरता तिम्रो यथार्थ छ म सपनालाई समात्न
खोज्दछु,
जस्तो तिमी त्यो चिसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटलो सत्यलाई,
मेरो काँढाको वेग छ साथी ! तिम्रो सुनको र हीराको ।
तिमी पहाडलाई लाटा भन्छौ म भन्छु वाचाल,
जरूर ! साथी मेरो एक नशा ढिलो छ,
यस्तै छ मेरो हाल !

४. म माघको ठन्डीमा ताराको सेतो, प्राथमिक
राप तापेर
बसिरहेको
देख्दा, दुनियाँले मलाई तङ्गी भने !
भश्मेश्वरबाट फर्कंदा सात दिन टोलाएको
देखेर भूत लागेको भने,
तिम्रो एक केशमा ४५ वर्षको तुषाराको छिर्को
परेको देखेर म
चालीस दिन रूँदा मलाई छटाएको भने,
मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको
देख्दा बहुलाहा भने,
एक शूनसान औँसीले मलाई
निराश भएर म प्रलयवेदनाले उफ्रें ,
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे ।
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई राँचीमा बुज्रुगहरूले भेजिदिए ।
म एक दिन आफूलाई मरेको सम्झेर लम्पसार थिएँ,
मलाई एक साथीले चिमटेर(१) भने
‘रे बहुलट्ठी ! खै तिम्रो मासु अझ मरेको छैन”
मैले नवाबको मदिरालाई खून भनेको छु–
रन्डीलाई लास भनेको छु,
राजालाई गरीब, सिकन्दरलाई मैले गाली गरेको छु,
महात्मालाई निन्दा गरेको छु,
नगण्य व्यक्तिलाई सातौँ आश्मानसम्म तारीफको पुलमा
चढाएको छु
तिम्रा महापण्डित(२)मेरा मूर्ख, तिम्रो स्वर्ग मेरो
नरक,
तिम्रो सुन मेरो फलाम,
साथी ! तिम्रो धर्म, मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौँ,
उहाँ म देख्छु तिमीलाई बिल्कुल लाटा,
तिम्रो उन्नति मेरो अवनति साथी !
यस्तै छ मेलमोलाइको उलट
साथी ! तिम्रो विश्व मेरो बाल !
जरूर साथी ! म बिल्कूल चन्द्राहत छु ! चन्द्राहत !
यस्तै छ मेरो हाल !

५. म अन्धकारलाई दुनियाँको अगुवा देख्छु !
गुफा तपस्वीलाई भगुवा देख्छु,
मिथ्याका मञ्च चढेकालाई काला नटुवा देख्छु,
जालीलाई सफल देख्छु, साधुलाई विफल देख्छु,
प्रगतिलाई अगति देख्छु,
या हुँला मै ऐँचाताना, या हुँला मै दीवाना !
साथी ! मै दीवाना !

६. निर्लज्ज नेतृत्वको निरस रसनाको–रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
हीराका नाममा बिकेका आजकलका फुटेका काँच हेर !
जब भँगेर टाउके छापाको कालो मिथ्याले
मेरो विवेकवीरलाई जाली झूठले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता साथी !
मेरा गाला सल्केका गोल झैँ राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ–
दुई कानले मेरा आँखा सामुन्ने अमृत भनेर,
तब हुन्छन् ठाडा मेरा रौँ साथी !
गर्धनका सर्पकेश झैँ मेरा जिस्क्याएका रौँ रौँ,
जब बाघले मिर्ग खान आँटेको देख्छु साथी !
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको
आत्माको भयङ्कर बल पसेर बोल्न खोज्छ,
साथी !
स्वर्गबाट चटयाङ परेको दिन झैँ,
जब मानवले मानवलाई मानव ठान्दैन साथी !
तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गारा दुवै,
जस्तो भीमसेनको दाँत,
अनि,
प्रकोप पागल आँखाको लाल लाल डल्ला
फनक्क घुमाएर एक डबलले म यो
अमानवको मानवजगत्लाई
एक आगोको लपका झैँ हेर्दछु, साथी!
उफ्रिन्छन् मेरा कल पुर्जा–
खलबल, खलबल–
तूफान हुन्छ मेरो सास
विकृत हुन्छ मेरो चेहरा–
बल्दछ मेरो दिमागमा साथी !
बडवानल झैँ– बडवानल झैँ–
म वन खाने आगो झैँ बहुला हुन्छु,
बहुलाहा साथी !
काँचै निलुँ झैँ विश्वविशाल !
जरूर साथी ! म सुन्दर चकोर,
असुन्दर–फोर–कोमल क्रूर–
चिडिया, स्वर्गाग्नि चोर–
तूफान–पुत्र, पागल जवालामुखीको उद्धार,
भयङ्कर व्यक्तित्व पाल !
जरूर साथी ! सन्के मगज छु ! सन्के !
यस्तै छ मेरो हाल !

प्रसंगको अन्त्य
यस घटनाले नेपाली साहित्यलाई त अमर तुल्यायो तुल्यायो, पागलको पूर्वकथाले महापण्डित राहुलका अनुसार हिन्दी साहित्यलाई पनि अमर तुल्यायो । अतः यसमा दुवै पक्षको देन रहेको छ भन्नु अत्युक्ति हुनेछैन ।

१) कवि केदारमान ‘व्यथित’ ले चिमोट्नुभएको थियो देवकोटालाई ‘मरेको छैनौ’ भनेर ।
२) यहीँबाट ‘राहुल’ झिकियो

(साभार: महाकवि देवकोटा एक व्यक्ति दुई रचना)