कुन कथा सुनाऊँ लुङ्वा ? - Aksharang
  • २०७७ माघ ४ आइतबार

कुन कथा सुनाऊँ लुङ्वा ?

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

रहरहरू टुसाउन थालेपछि त हो
तिम्रो अनुहारमा रङ आएको
छोटो कपाल
बढ्दैबढ्दै घुम्रन थालेपछि त हो
तिम्रो अधरमा मोहनी छाएको
अनुहारको पानामा
तिम्रै उमेरले बनाएको रङले
तिम्रै बारेमा लेखेका छन् कैयौँ अक्षर
कहिल्यै पढ्यौ ?

तिम्रो मनमा
बढ्दै गरेको आँटले
तिम्रै अधरमा
खोपेर छाडेका छन् स-साना थोप्ला
आफैँले सुमसुम्याएर
कहिल्यै जोड्यौ ?

तिमीलाई त
कहाँ फुर्सद छ र
सोल्टिनीसँग च्याब्रुङ नाच्न
तिम्रो खुट्टाले
मेरो खुट्टासँग ताल मिलाएर
काजीमान हटियामा
पालाम गाउँदै
मनको कुरा मनसँग साट्न
तिम्रै लागि भनेर
बनाएर राखेको छ्याङ पनि
अब त छिप्पिसक्यो
तिमी आउँछौ र
बस्छौ भनेर
बरन्डातिरको कोठा
आपाले पनि चारचोटि लिपिसक्यो
आउँदैनौ भने
खबर त पठाउन सक्छौ नि निष्ठुरी !

म त बुझ्छु
तर आपाले के सोच्दो हो ?
मलाई हेर्दै
तिमीलाई सम्झेको वेला
आपाको मनमा
कुन कुरा खेल्दो हो ?

लुङ्वा !
तिमीले देखेबाहेक पनि
जीवनका पाटाहरू हुन्छन्
तिमीले हिँड्दै नहिँडेका पनि
धेरै बाटाहरू हुन्छन्
समय
रोटेपिङजस्तो हुँदैन बेबी !
जुन घुम्दैघुम्दै
पहिलेकै ठाउँमा पुग्छ
र लाइनमा पर्खेर बसेकालाई
पिरामा राखेर
माथि धुरीसम्म पुर्याउँछ !
समयसँगै हिँड्न जानिएन भने त
लाइनमै पो छुटिन्छ त
गुमाएपछि समयको मौका
मान्छे त आफैँभित्र पो टुक्रिन्छ त
तिमीले पनि अरूलाई नै पर्खेको हो र ?
हो भने पनि भन है
तर पर्खंदापर्खंदै लाइनमै नछुट्नू
समयले तिमीलाई
सोल्टिन त चिनाइ दिएको हो नि !
यो समयलाई अहिले गुमाएर
प…छि पछुतोमा
आफैँभित्र नटुट्नू
लाइनमै छुटेका पाउहरू
कहाँ पो पुगेका छन् र ?
मन टुक्रिएर बनेका घाउहरू
कहिले पो निको भएका छन् र ?

चित्त दुखाउँदैनौ भने
यति चै भन्छु-
आफूलाई बुझ्ने नाममा
तिमी पनि अरूले कोरेर दिएको
कागज रट्दै हिँड्छौ
तर आफ्नै अनुहारका अक्षर पढ्दैनौ
आफूलाई चिन्ने नाममा
तिमी पनि
अरूले छोडेका चिन्ह टिप्दै हिँड्छौ
तर आफ्नै अधरमा
आफ्नै यौवनले बनाएका
सुन्दर थोप्लाहरू जोड्दैनौ,
जीवन त
आफैँलाई पढे मात्र बुझिन्छ
आफूलाई त
आफैँले हेरे मात्र देखिन्छ
अरूले कोरिदिएको अक्षरमा
जीवनको उमङ्ग कहाँ भेटिन्छ र ?
अरूले भरिदिएको
‘मेकअप’ मा
आफ्नो रङ कहाँ देखिन्छ र ?

मान्छौ भने
एउटा काम गर न ल !
तिमी पनि
एकपटक आफैँलाई पढ
समयले
तिम्रो अधरमा बनाइदिएको
सुन्दर धर्सालाई जोड
र, एउटा किताब लेख न ल !
आफैँले लेखेको
जीवनको पुस्तक
कहिल्यै मर्दैन
यौवनले कोरेको धर्सामा
अक्षर उनेर
खिपेका शब्दले
बनेको तिम्रो सिर्जना
कहिल्यै अरूको हुँदैन

अब त तिमी आउँदैनौ होला यता
नआउनेलाई
म त के नै भन्न सक्छु र,
यो बाटै नहिँड्नेलाई
म पनि कहाँ कुरेर बस्न सक्छु र ?
बरू लेख्यौ भने किताब
मलाई पनि पठाइदेऊ ल !
म पनि त्यही पढेर बस्छु नि
आपाले सोधे भने तिम्रो हालखबर
तिमीले लेखेका अक्षर हेरेर
ठीकै छौ रे भन्छु नि !

तिम्रो कुभलो सोच्दिनँ, लुङ्वा
तिमी साँच्चै लेख्छौ भने
मसँग पनि
थुप्रै कथाहरू छन्
बरू भन न
म तिमीलाई कुन कथा सुनाऊँ सविस्तार
मनभित्र लेखिएको
कि
अनुहारमा देखिएको ?


(कट्टेल विगत एक दशकभन्दा अघिदेखि कथा र कविता विधामा निरन्तररूपमा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
b.kattel@gmail.com