एउटा नदी छ म आफैँभित्र - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

एउटा नदी छ म आफैँभित्र

लक्ष्मणप्रसाद गौतम

लक्ष्मणप्रसाद गौतम

तपाईंले कतै पढेको सुनेको हुनुपर्छ यो शीर्षक । अरूको कुरा ज्यादै लोभलाग्दो देखेपछि चोर्न मन लाग्दोरहेछ । अरूका लोभलाग्दा कुरा सबै चोर्न कहाँ मिल्छ र  ? त्यसरी चोर्न मिल्ने भए मान्छे किन मन कुँड्याएर बस्थ्यो र ? अझ भनूँ  ? म पनि सायद मन कुँड्याएर बस्दैनथेँ होला । चोर्न नमिल्ने कति रहरलाग्दा र लोभलाग्दा कुराहरूलाई हेरेर घुटुक्क निल्नुबाहेक के नै गर्न सकिन्छ र ? हदै भए मनमनै कल्पिन सकिन्छ । मैले पनि कवि वासुशशीको कवितासङ्ग्रहको शीर्षक चोरेको हुँ यो- अर्थात् ‘एउटा नदी छ म आफैँभित्र’ ।
लुकेर चोर्नुभन्दा हाकाहाकी चोर्नु ढुक्क हुन्छ । लुकेर चोर्दा डराउनुपर्छ । हाकाहाकी चोर्दाको डर ! तर ‘लुकेर चोरेको माया मीठो’ कतै पढेझैँ लाग्छ । कम्ती भावपूर्ण छैन यो कुरा पनि ।
अँ म त चोरीमै बहकिएँ छु क्यारे ! कुनै पदावली र वाक्यहरू कति छोइने गरेर पढिन्छन्, देखिन्छन् । वासुशशीको कवितासङ्ग्रहको यो शीर्षक देखेपछि धेरै अर्थहरू खोलेका छन् मेरा मन र मस्तिष्कले । धेरै संवेदनाहरू तरलित भएका छन् मभित्र र मस्तिष्कले काम पाएको थियो अलिकति ।
यहीँनेर मलाई इन्द्रबहादुर राईको एउटा समालोचनाको पुस्तक सम्झना हुन्छ- ‘अर्थहरूको पछिल्तिर’ । कति गहन कुरा । अर्थहरूको पछिल्तिर कति कुरा लुकेका हुन्छन् होला ? सायद यसैलाई उत्तर आधुनिकतावादीहरू अर्थको अनिर्धारण भन्दाहुन् र भन्दाहुन् अर्थको बहुलता । मलाई कुनै पनि कुराका प्रकटित अर्थभन्दा अप्रकटित अर्थ रहस्यमय लाग्छन् । मुखले बोलाएको भन्दा हातको इसारा मीठो हुन्छ । अझ भनौँ  ती इसाराभित्र लुकेका अर्थहरूको गम्भीरता मापनीय हुँदैन; अगम्य अनन्तजस्तै । खुला अर्थभन्दा बन्द अर्थहरू कति गहिरा र अर्थपूर्ण अनि रहस्यले भरिएका हुन्छन् ।
‘एउटा नदी छ म आफैँभित्र’ यस वाक्यका अर्थहरूको पछिल्तिर कति अर्थहरू होलान् ? अप्रकटित अर्थात् बन्द अर्थहरूका गहिराइतिर गोतामार्न मन लाग्छ मलाई । अर्थका पत्रहरू सरर्र पल्टिन्छन् अगाडि । सोचेँ- एउटा अर्थ त म आफैँ हुँ । हो त एउटा नदी म आफैँभित्र छ । महाकवि देवकोटाले झैँ सोच्ने हो भने- ‘नसा नदीका तरल तङ्रग…’ । यो देवकोटाको आध्यात्मिक दृष्टि पनि त हो ! अध्यात्मवादीहरू देहमा देख्छन्  ब्रह्माण्ड पनि, ब्रह्माण्डभित्र नदीहरू पनि त असङ्ख्य छन् । त्यसो भए मभित्र एउटा नदी किन हुन नसक्नु ?
हाम्रा पूर्वीय ग्रन्थहरूले नदीलाई कल्मषहारिणी र पापप्रक्षालिनी मान्छन् । फोहर, मैला, पाप आदि सबै विकारहरू प्रक्षालन गर्ने, सबै विकारहरू हरण गर्ने र तन तथा मनलाई शुद्धबुद्ध बनाउने नदी कति पवित्र !
म आफूभित्र एउटा नदी हुर्कंदै गएको अनुभूति पनि गर्छु । खै कस्तो नदी हुर्काउन सकेँ ! एकसय वर्षअगाडिका वाग्मती, विष्णुमती हुर्काइरहेछु कि अहिले ढलमतीमा परिणत वा रूपान्तरित र अस्तित्वको भिख मागिरहेका वाग्मती र विष्णुमती हुर्काइरहेछु म भन्न सक्दिनँ । हुनसक्छ मभित्र पौराणिक युगको वैतरणी अथवा वर्तमान काठमाडौँको टुकुचा पनि हुर्किरहेको होला । सयवर्षअघिका वाग्मती र विष्णुमती आफूले चाहेर रूपान्तरित भएका होइनन् ।
नदीमा जति शालीनता र सौम्यता कहीँ देखिनँ मैले । नदीमा जति गम्भीरता र विराट्ता कहीँ भेटाइनँ मैले । नदीमा जति गतिमयता कहीँ अनुभूत गर्न सकिनँ मैले । नदीमा जति सहनशीलता र सहिष्णुता कहीँ पनि प्राप्त गर्न सकिनँ मैले । तपाईं जति मलमुत्र फ्याँक्नोस्, कुनै प्रतिवाद छैन नदीमा । तपाईं जति आफ्ना कल्मषहरू पखाल्नोस्, कुनै प्रतिक्रिया छैन नदीमा । तपाईं आफ्ना पापहरूका सम्पूर्ण भारीहरू बिसाउनुहोस्, कुनै रूखो प्रत्युत्तर छैन नदीमा ।
तपाईंले थुके पनि, तपाईंले कुल्चे पनि, तपाईंले बिस्ट्याए पनि, तपाईंले डोकोका डोको वा कन्टेनरका कन्टेनर फोहर फाले पनि कुनै प्रतिक्रिया, प्रतिवाद, प्रतिकार केही छैन नदीमा । मलाई नदी ब्रह्मवेत्ताले भनेको स्थितप्रज्ञ जस्तै लाग्छ । एउटा प्रश्न उब्जिन्छ- आफूभित्र त्यस्तै स्थितप्रज्ञ नदी हुर्काउन पाए  ? रागद्वेषबाट मुक्त स्थितप्रज्ञको कल्पनाले मात्र पनि मेरो मनमा शान्तिको अनुभूति हुन्छ ।
नदी त वास्तवमा पवित्र नै हो तर दूषित बनायो मान्छेले । त्यही नदीमाथि डुङ्गा तरेर पारि पुग्छ मान्छे । त्यही नदीमाथि फोहर प्रदूषणका विषालु अस्त्र फ्याँक्छ मान्छे । त्यही नदीको पानी खाएर त्यहीँ दुर्गन्ध विसर्जन गर्छ मान्छे । वचनवाणहरूले भेदन गर्न नसक्ने शुद्धबुद्ध जस्तै लाग्छ मलाई नदी ।
एउटा फेन्टास्टिक सोचाइ आउँछ- मभित्रका नदीमा धेरै पुलहरू थिए, धेरै डुङ्गाहरू थिए । धेरैले पार गरे त्यसबाट । धेरैको पापप्रक्षालन भयो मभित्रकै नदीबाट । धेरैका कल्मषहरू धोइए मभित्रकै नदीबाट; तर नदीजस्तै कलकल मृदुगान दिन सकेँ मैले ? म अनुत्तरित छु । फेन्टास्टिक सोचाइ तिरोहित हुन्छ एकछिनमा । एक झिल्को झिलिक्क आउँछ एउटा सोचाइ र विलुप्त हुन्छ उत्तिखेरै ।
नदीले काँडालाई पनि उसरी नै बगाउँछ र फूललाई पनि । काँडालाई गर्भमा राखेर फूलललाई माथि उतार्छ नदी । मलाई पनि काँडालाई छोप्न मन लाग्छ र देखाउन मन लाग्छ फूल तर देख्दारहेछन् मान्छेले काँडा मात्र । एकजना मेरा अति आत्मीय साहित्यिक मित्र छन् । उनले कतै लेखेका थिए– ‘काँडालाई पनि फूल सम्झेर पोल्टाभरि थाप्ने मान्छे… ।’ मलाई निकै छोइने लागेका हुन् उनका यी शब्दहरू, पदावलीहरू । कति गहिरो भाव ! उनले काँडालाई पनि फूल सम्झेर पोल्टाभरि थाप्ने मान्छे महान् हो भन्न खोजेका हुन् सायद । उनको यस वाक्य-पदावलीमाथि सम्मान जाहेर गर्नुछ मैले ।
कवि दुर्गालाल श्रेष्ठले रचना गरेको र न्हयू वज्रचार्यको सङ्गीतमा आनीले गाएको गीतको अंश मस्तिष्कमा ठोकिन्छ एक पटक- ‘फूलको आँखामा फूलकै संसार, काँडाको आँखामा काँडै संसार ।’ मलाई देख्न मन छ- फूलका आँखामा फूलकै आँखाले फूलकै संसार देख्न, तर आइदिन्छन् काँडाका हुल । ती काँडाका हुलहरू सुन्दर फूलमा रूपायित भइदिए ? अर्को एउटा फेन्टास्टिक सोचाइ जन्मिन्छ दिमागमा ।
मैले आफूभित्रको नदीलाई पवित्र बनाउन चाहेँ । गतिशील र प्रवाहयुक्त बनाउन चाहेँ, निष्कलङ्क बनाउन चाहेँ । खहरेको गडगडाउँदो तुजुक र अभिशाप बनाउन चाहिनँ, सङ्लो कुलकुलाउँदो वरदान बनाउन चाहेँ । खहरेमा देखेँ आडम्बर र क्षणिक अहङ्कारको तुजुक ! मलाई मभित्रको नदीमा खहरे पस्छ कि भनेर डर लाग्छ । मभित्रको नदीलाई धमिलिन दिनुहुँदैन मैले । गडगडाउँदो खहरेको उत्ताउलो पस्न दिनुहुँदैन नदीभित्र ।
हो, आफूले चाहेर दूषित हुँदैन नदी । आफूले चाहेर ढलमती पनि हुँदैन नदी । आफूले नचाहेरै भइदिन्छन् कतिपय कुराहरू । कति अनिच्छित कुराहरूको कैदी बनिनुपर्छ र बन्नुपर्छ । अनिच्छित कुराहरूले नै उमार्छन् सधैँ प्रतिकूलताका स्थितिहरू ! मलाई लाग्छ- नदीजस्तै अनिच्छित कुराहरूमा कैदी हुन्छ मान्छे पनि । आफूले बन्चरो ताक्दा बन्चराले घुँडो ताकेका स्थितिहरू आँखैअगाडि नाच्छन् । यो पनि अनिच्छित भोगाइ नै हो मान्छेको । बन्चराले घुडों ताक्दा भएका घाउहरू मस्तिष्कभरि लिएर अश्वत्थामा जिन्दगी बाँचिरहेछु म । अनि कसरी बग्छ मभित्र सङ्लो नदी ? एउटा प्रश्न घाँटीनिरै आएर अड्किन्छ । म आफूभित्र बगाउन चाहन्छु सङ्लो नदी । सौम्य नदी बगाउन चाहन्छु, गतिमय नदी प्रवाहित गर्न चाहन्छु र चाहन्छु सहनशील र सहिष्णुताका नदीबिम्बहरूको निर्माण गर्न ।
मभित्रको सङ्लो नदीलाई फोहर बनाउन नपाउँदा टुकुचालाई औधी रिस उठेको छ । वरपरका ढलहरू मुर्मुरिएका छन् र ती कतिकति वेला फोहरी ढलकै बाढी उर्लेर मभित्रको सङ्लो नदीलाई हुर्मत लिन खोज्दैछन् । मलाई नदी धमिलिएको मन पर्दैन कत्ति पनि, मन धमिलिएको पनि चित्त बुझ्दैन कहिल्यै । चित्त नबुझ्दानबुझ्दै पनि भइदिन्छन् कतिपय कुराहरू । स्वीकार गर्नुपर्छ कतिपय अनिच्छित कुराहरूलाई पनि । अनिच्छित गर्भपतनको प्रावधान भए पनि अनिच्छित रूपमै थोपरिएका सिलिङबिलिङ पक्षहरूको नियोजन कसरी हुन्छ र ?
मेरो मनको सफा नदीमा सोझिएका छन् हजारौँ ढलहरू । यी ढलहरूमा सडेगलेका विचार र सङ्कीर्ण सोचाइका आवेग बगेका छन् । मैले आफूतिर सोझिएका कुत्सित विचारका ढलहरू पन्छाउन खोज्दा मान्छेहरूले मलाई निरीह ठाने । ढलहरूसितै मिसिन नखोज्दा मेरो हुर्मत लिन खोजे । खहरेका गडगडाउँदा अहङ्कारमा म पौडिन नजान्दा मलाई त्यहीँ डुबुल्क्याएर बगाउने खोजे । दम्भका ज्वालाहरूको आगो ताप्न नमान्दा मलाई धेरैले मगज त सद्दे छ ? भनेर अनेकौँ प्रश्नहरू तेस्र्याए । म निमिलित लोचन आफैँभित्रको नदीको किनारमा छु बोधीसत्वको रूखमुनि: बुद्धम् शरणम् गच्छामि ।
आफूभित्र सङ्लो नदी बगाउन खोज्दा पनि सहरिया प्रदूषणहरूले जस्तै छोप्न खोज्दारहेछन् अहंका प्रदूषणहरूले र मिथ्या आडम्बरहरूका प्रदूषणहरूले । यतिखेर म प्रदूषणहरूको सिकार भएको छु । बाटामा हिँड्दा मास्क लगाएर हिँड्छु । गाडीमा चढ्दा मास्क लगाएकै हुन्छु । सहरबजार डुल्दा जोत्ने गोरुका मुखमा माहालो लगाएजस्तै मास्क भिरेकै हुन्छु र बचाउन खोज्छु आफूलाई प्रदूषणहरूबाट । मुख र नाक त छोपिन्छ मास्कले तर मनभित्र, मस्तिष्कभित्र पसेर सिलिङबिलिङ गरिरहेका प्रदूषणका भाइरसहरू छोपिँदैनन् कत्ति पनि । मभित्र बगिरहेको सङ्गलो नदीमाथिको आक्रमणले थिलोथिलो पारेको छ मलाई र म सबै दूषित विकारहरूबाट निर्विकार हुन एउटा बोधीवृक्ष उमार्नु छ र बनाउनु छ निर्विकार मनहरू, निर्विकार हृदयहरू, निर्विकार मान्छेहरू र निर्विकार संसार ।
कञ्चन नदीलाई दूषित पार्छन् प्रदूषणहरूले । फोहर प्रदूषणहरूमाथि नै आएर बस्छन् एक हुल गिद्ध र कागहरू । कञ्चन बग्दैगरेको नदीले बगाउँदै लैजान्छ फोहरहरू । म हेरिरहेको छु यी दृश्य । नजिकै बगिरहेको वाग्मतीको जलधारा पवित्रता बोकेर प्रस्थान गर्छ र दुर्गन्ध बोकेर यात्रा टुङ्ग्याउँछ । मेरा आँखाले बाहिर बगिरहेको नदी हेरिरहेका छन् । आफैँभित्रको नदीलाई देख्न सकिँदो रहेनछ आफैँले ।
नदीहरूबारे कतै पढेको थिएँ भूपीनको कविता । नदीहरू भित्रका हुन् चाहे बाहिरका तर ‘नदीहरू मान्छेजस्ता हुँदैनन्… नदीहरू राजनीति गर्दैनन्… नदीहरू मान्छेजस्तै काटाकाट र मारामार पनि गर्दैनन् ।’ नदीहरू फोहोर फाल्दैनन् । कवितामा पढेको थिएँ यस्तै भावबिम्बहरू । कति विपर्यास छ मान्छेका प्रवृत्ति र नदीमा ।
नदीहरू अहम्, आडम्बर र ईष्र्याका आलिसान महल पनि बनाउँदैनन् । नदीहरू स्वार्थका बिउ रोपेर विषवृक्ष पनि हुर्काउँदैनन् । नदीहरूमा सेवाभाव छ र परार्थकै निम्ति अनवरत बगिरहन्छन् ती । मान्छेका लागि बगिरहने नदीहरू कति निःस्वार्थ ! कति उपकारी गुण छन् नदीहरूमा ! अरूको दुःखमा हाँस्छ मान्छे तर संवेदित हुन्छन् नदीहरू ! अरूको सुख र समुन्नतिमा ईष्र्याका काँडा उमार्छ मान्छे तर खुसी हुन्छन् नदीहरू ! कुनै भेदभावको कालो र कुत्सित पर्खाल छैन नदीहरूमा ।
मलाई नदी र फलफूल दिने वृक्षहरू उस्तै लाग्छन् । वृक्षवनस्पतिले आफैँले जन्माएका फलफूल आफैँ ग्रहण गर्दैनन् । अरूकै लागि फुलिदिन्छन् ती । अरूकै लागि फलिदिन्छन् ती । एउटा बिम्ब आउँछ मस्तिष्कमा- एउटा मान्छे आउँछ र फूल टिपेर ढकियामा राख्छ । अर्को मान्छे आउँछ र फलहरू टिपेर झोलामा राख्छ । तर, काँडालाई कसैले लैजाँदैनन् । ती वृक्षवनस्पतिहरू काँडालाई पनि उत्तिकै अँगालो मारेर बस्छन् फूललाई जत्तिकै, फललाई जत्तिकै ।
हजारौँलाखौँ नदीहरू छन् संसारमा । प्रत्येक ‘म’ भित्र एउटाएउटा नदी छ । प्रत्येक आफूभित्र एउटाएउटा नदी छ । आफूभित्रको नदी कति पवित्र छ ? कति कञ्चन छ ? कति प्रदूषित छ ? सायद हामीले कहिल्यै मापन गरेनौँ र परीक्षण पनि गरेनौँ शुद्धताको । मैले पनि हुलेहुँला धेरै ढलहरू आफूभित्रको नदीमा । सफा गर्नै नमिल्नेगरी धमिलियो होला मनभित्रको पानी । धुनै नमिल्नेगरी मैलियो होला मन । चोखिनै नसक्नेगरी जुठो भयो होला नदी बग्ने बगर । पखालिनै नसक्नेगरी फोहर भयो होला मस्तिष्क । अनि कसरी आउन सक्छ हामीमा निर्मलता ?
हो, नदीहरू अपवित्र, प्रदूषित र फोहर हुँदैनन्, जब तिनले मान्छेको संसर्ग पाउँछन्, अनि हुन्छ तिनमा विद्रूपताको सिर्जना ! कति दुच्छर छ हगि मान्छे ? मान्छे नदीजस्तै किन हुन सक्दैन  ? धेरै पहिल्यैदेखि उठेको हो यो प्रश्न  !
नदीकिनाराहरू नै हुन् सभ्यताहरूका उद्गम स्थलहरू । नदीका तीरहरूबाटै बालिएका हुन् ज्ञानका अजस्र ज्योतिहरू । नदीहरूबाटै सिकेथ्यो मानिसले चरैवेतिको गहिरो पाठ र नदीहरूसँगै गरेथ्यो मान्छेले गतिशील यात्रा । तर, मान्छेमा नदीविचारको मृत्यु हुँदैछ । नदीचिन्तनको तिरोहण हुँदैछ । नदीभावनाको अपहरण हुँदैछ र नदीसंवेदनाको मृत्युत्सवमा फूल- अबिर छर्केर मान्छे अट्टहासका साथ तयार पार्दैछ आफ्नो चिता ।
मलाई फाल्न मन लाग्छ मान्छेभित्रका प्रदूषित विकारका नदीहरू । मलाई आफूभित्रका नदीका प्रियताले अङ्कमाल गर्छ । म आफैँभित्रको नदीलाई सारा प्रदूषणहरूबाट मुक्त गर्न चाहन्छु । किनभने, मैले यहीँबाट गाउनु छ सभ्यताको गीत र यहीँबाट बाल्नु छ ‘तमसोमा ज्योतिर्गमय’ को उज्यालो र ढलाउनु छ अहम् र आडम्बरका पर्खाल । उर्घानु छ कालिमाको कालो पर्दा अनि आफैँभित्रको नदीकिनारामा रोप्नु छ बोधीवृक्षहरू ! म नदीमा ब्रह्मचिन्तन देख्छु । ब्रह्मर्षिहरूले झैँ मलाई पनि गाउन मन लाग्छ- नदी तिमी शब्दब्रह्म हौ र शब्द  !  तिमी नदी हौ ।


(प्राध्यापक डा. गौतम स्थापित साहित्यकार हुन्)
gautamlaxman2020@gmail.com