• २०८१ बैशाख ७ शुक्रबार

दुबिधा

निष्प्रभ सजी

निष्प्रभ सजी

दुबिधा- १
अलिकति रङ
छोरीले कार्पेटमा पोखी भनेर
बाउले भुन्भुनिँदै सानी छोरीलाई
गालामा प्याट्ट हान्यो !

छोरी दुबिधामा छे
बाबालाई कार्पेटमा मिसिएको
यति सुन्दर रङ किन मन परेन ?

दुबिधा- २
जिन्दगीभरि श्रीमतीलाई रुवाइरहेको श्रीमानले
एकदिन श्रीमतीलाई एक्कासि हँसायो

श्रीमती दुबिधामा छे
हाँसौं कि रोऊँ ?
उसको श्रीमानलाई
उसको हाँसोले खुसी बनाऊला कि आँसुले  ?

दुबिधा- ३
चौध वर्ष जेलमा बिताएर
जेलबाट बाहिर निस्कन तयार
ढोकामा उभिएको छ एउटा कैदी  !

कैदी दुबिधामा छ
उसको खुसी
जेलबाहिर छ वा जेलभित्र  ?

दुबिधा- ४
जिन्दगी सँगै बिताउने हो भनेर
यतिका समय
एउटै धड्कनको लयमा धड्किएकी प्रेमिकाले
अचानक प्रेमिलाई
अब मलाई बिर्स भनी  !

प्रेमी दुबिधामा छ
बिर्सिनुभन्दा अगाडि छुट्टिने कसरी होला  ?
एउटै भएको मुटु
छुट्टै धड्किने कसरी होला  ?


(सजी चर्चित साहित्कार हुन्)
[email protected]