दिङ्लाको उकालीमा कान्छी मट्याङट्याङ ! - Aksharang
  • २०७७ फागुन १७ सोमबार

दिङ्लाको उकालीमा कान्छी मट्याङट्याङ !

युवराज नयाँघरे

युवराज नयाँघरे

अरुण तरेपछि छाँगाबाट खसेजस्तो भएँ म !
तुम्लिङटारमै राती सुनेथ्यौँ- ‘अरुणछेउको सतीघाट पुगेपछि फालाफाल पाइन्छ गाडी त !’
अघिल्लो दिनको थकान र जिउ गलाइ चानचुने थिएन । त्यै भएर हामी दिङ्लाको चैँ गाडी पाइए हुन्थ्यो भन्नेमा थियौँ ।
अरुण तीरको सतीघाटमा पाँचसात घर थिए । तिनमा दुईवटा थिए पसल । एउटामा चुरोट र चाउचाउले भरिएका थिए र्याक ।
बिहान तुम्लिङमा जुत्ता लाउँदा भाइ उत्तम भट्टराईले भट्ट्याएथे-
‘आज लक्ष्मीपूजा
देउसी रे
सार्है नै दुख्यो
देउसी रे !’
जलजलाउँदा पानीफोकाले फुलेका थिए पैताला । जब्बरिएर अनि दुखेर चटपटाउन नसकेका उनका जत्तिकै थिए मेरा खुट्ट नि ।
मैले बलैले सघाएँ-
‘ए म छु- म छु
देउसी रे
ओखती गरूँला
देउसी रे
नआत्ती जाऊँला
देउसी रे !’
पसलमा चिया खाइयो । दुइटी दिदीबहिनी नि त्यहीँ भेटिए । एउटा पिउसो बोकेकी सानी महिला नि त्यहीँ थिई- ‘भाइलाई टीका लाउन जान खोजेको, जानु पो के गरी ?’
उसले नि गाडी नआउने सुइँको पाइछ ।
मैले पसलमा आगो फुकिरहेकी तरुनी केटीलाई भनेँ- ‘हाम्लाई भात पकाइदिनू । लागेको तिरम्ला !’
ऊ किन- किन ठुस्स परेकी थिई । बोल्दा नि पैसा पर्लाजस्तो गरिरहेकी थिई ।
सार्है अरमट्ठिएर चाउचाउसम्म उमालिदिई । भात भने नि त्यै, तरकारी भने नि त्यै । बेस्वादे टङ्ङ्ग झोल पिएर हामी दिङ्ला उक्लिन कस्सियौँ ।
‘गाडी तह्याँबाट जाँदैन !’
‘काँबाट जान्छ त ?’
‘गए तल लुङसुवाबाट जान्छ । तपाईंहरू आएको बाटै गल्ती भो !’
पसलमा भेटिएका अरूले नि भने ।
अनि पो म छाँगाबाट खसेजस्तै भएँ ।
‘हत्तेरिका, हिँडाइमा परिने भो नि !’
उत्तम पनि झ्वाँक्किए। मै नि रन्किएँ ।
तर तुजुग कसलाई देखाउनु ? झ्वाँक कसलाई देखाउनु ? मन बुझायौँ आफैँ ।
‘हिजोको थकाइ त मरेको छैन !’
भट्टराई भुतभुताए ।
‘आज झन् कति पेलाइमा परिने हो !’
मै पनि पाकिएँ ।
अघिसम्म बस्नेत थर भन्थे यी दुई दिदीबहिनीले । बाटो लागेपछि भने- ‘हामी त विश्वकर्मा हौँ !’
हामीलाई थर, जातको वास्ता थिएन । साथी पाइयो बाटो देखाउने- खुसी यै कुरामा लाग्यो ।
सतीघाटबाट पश्चिमतिर लागेपछि पातलो बुट्यानघारी थियो । छिनभरमै घना वन र उकालीसँग ठोक्किनु पर्यो हाम्रो ज्यानले ।
अघि- अघि छन् युवतीहरू ।
‘बल देऊ !’
‘शक्ति देऊ !’
दिदीबैनी बोलिरहेका छन् ।
हामी आफ्नै सुरमा हिँडिरहेका छौँ । उकाली, तेर्पे र तर्पायाँ भएर पसारिन्छ बाटो । घरिघरि घना वनमा स्वात्तै पस्छ । अनि फेरि सेपिला पाखामा आएर फैंलिन्छ गोरेटो ।
गाडी गुड्ने बाटो नि देखियो ।
‘यो बाटोले हामीलाई बिगारेको !’
बोलैयाबहिनी कोपिलाको कुरा सुन्छु ।
‘पहिला- पहिला हिँडेरै सबथोक गरियो । अहिले अल्छी भइयो । मोटर आउँछ कि भन्ने आसमा दिन बित्छ !’
बाक्लो सालघारी आयो । रातोमाटो छ । साना पोथ्रा छन् । चराका चिरबिर छन् रुखमा परीपरीका ।
म चिप्लिन पुगेँ रातमाटेमा । हातभरि रातो माटो । त्यै हातले मुख पुछ्दा मुखै रातो ।
‘रातो सेल मुखमा पर्नुपर्ने । पर्यो रातो माटो !’
मेरो दुःखमा हँसाइन् बोलैयाले ।
ठाडै उकाली आयो ।
एक जुवा घामको ताप- रापले अनुहार पोल्छ । रातो माटोमा बज्रिएर आइपुग्छ रन्केको घाम । पसिनै- पसिना भएको छु ।
खुट्टा जाँ टेक्यो त्यहीँ गाडिन खोज्छन् । अघिल्लो दिनको बाटोको मातमा मात्तिएछ- आजसम्म बिउँतिन नसकेको ।
‘आफ्नै पसिना चाटेर तिर्खा मेट्नु होला !’
पानी पाउन गार्हो भएको कुरा कोपिला भन्छिन् ।
रातो माटो खोपेर सिँढीजस्तो बनाइएको छ ठाउँठाउँमा । बाटो जतिसुकै सजिलै बनाइए पनि हिँड्नेका खुट्टा दरा नभएपछि कसको के लाग्छ ? उकालीमा गोडा लम्किनै हुनपुग्छन् हम्मे- हम्मे ।
बाक्लो सालघारी आयो ।
कोपिलाकी दिदी कम बोल्छिन्, बढी हाँस्छिन् । पछि थाहा भयो- दुःखको घनघोर सागरमा रहेछन् दुवै दिदीबहिनी ।
डुम्रेभन्ज्याङ पुग्दा लखतरान भइयो ।
म त खुट्टा पसारेर बसिहाल्थेँ । बरु पसिना बगे बगोस् ।
जङ्गल निकै बाक्लो छ । गाडीको बाटो बटारिएर हाम्लाई भेट्न आइपुग्छ । हामी पनि उसलाई वास्ता गर्दैनौँ ।
झ्याउँकीरीले कानै खान्छन् । सानैदेखि सुनेको यो आवाज छ उही, उस्तै र एकनास ।
सारा वनै उरालेर कराइरहन्छन् । रुखका चेप, झ्याम्म पोथ्रा र ओसिला बुट्यान चिनाउँछन् दिदीबहिनी । रातभरिको शीत खसिरहन्छ ताप्पतुप्प । आँतको पसिना र पातको शीतसँग भेटघाट भइरहेछ सरोबरी ।
‘पोहोर त बाटैमा बाँदर जोल्ठिएर लीला ग¥यो नि दाजु !’
अघिपट्टि बाँदरका हुल गएका देखेपछि कोपिलाले सरासर भनिन् ।
हामी छक्क पर्यौ तिनको आँटी चाला देखेर।
‘चन्दनपुरबाट माइत आउँदैथेँ, जेठाजु पनि थिए । बाँदरले लीला गर्यो । कस्तो गाल पारिदियो
मोराले !’
बाँदर बयान सकिएको थिएन ।
ओराली खुरुर्र झरेपछि शीतलमा सुस्तायौँ ।
रुख आत्तिएका । पखेरा आत्तिएका । हरिया फाँट आत्तिएका । हो, चर्को घामले गर्दा सबै आत्तिएका थिए । कात्तिके घामको तिरिमिरी छ जतासुकै ।
भोकको धारेहात नि छ बेस्सरी !
भ्यागुतेपानी पुग्दा घामले धेरै सोस्यो मलाई ।
जर्जर भएको पाखो नाघेर हामी हिँडिरह्यौँ । हजार सूर्यले आफ्नो तागत देखाएको लागिरहेको छ ।
चौतारी आयो ।
‘हामी बेलुका दिङ्लाबाट फर्कन सक्छौँ त ?’
मैले मन्दिरालाई खसखस पोखेँ ।
‘किन फर्कनु, उतै बसे भइहाल्छ नि ?’
‘हैन, सकिन्छ- सकिन्न फर्किन्न चैँ ?’
जोड गरिरहेँ मैले ।
‘आधा रात होला-  सकिन्छ सकिनँ त !’
उत्तर सुनेपछि आँट भयो ।
हपहपी गर्मी धपाउन बोतलको पानी फारो गरी खाइरहेका छौँ । खुट्टामा नयाँ फोका आए जस्तो छ । शरीरको पसिना बग्ने प्वाल पनि आज त झन् ठूला भए होलान् ।
‘भाइ, पसिनाले म त मुख धोइरा’ छु !’
निधारको पसिना पुछेँ ।
‘यो काम हिजै सम्पन्न गरेँ !’
उत्तमको उत्तर आयो ।
‘ए, त्यै भएर पो दुई भाइको यत्ति सुन्दर रूप ?’
कोपिलाको जवाफ आउँछ । हामी वनै थर्काएर हाँस्यौँ । उकालीमा कान्छी मट्याङट्याङ पारा भो है !
तिहारको बेला । मानिसहरू मास्तिर गइरहेका देखिन्थे घरिघरि बस्तीतिर । गाउँबाट कोसेलीपात बोकेर खाँदबारी, तुम्लिङटार झरेका नि मनग्गे देखिन्थे ।
पाइला सार्न गार्है भइरहेथ्यो ।
उकाली र गर्मी । सँगी भएका छन् दुवै । सँगै लिएर जानुपरेको छ दुवैलाई । ओठ च्यापच्यापी भयो । जति गरे पनि तिर्खाको तिर्खाकै ओठ त !
बिहानको पाँच बजे हामीले तुम्लिङटार छोडेथ्यौँ । सतीघाटबाट उकालो लाग्दा १० बजिसकेथ्यो । अहिले मध्यघामको जाँतो पिसाइमा परेका छौँ हामी ।
जति माथि गयो- रमाइला बस्तीभन्दा पनि घना वन र हरिया पहाडका चोइला- चोइलीले हाम्रो बाटो तानिएको तानिएकै गथ्र्यो । घरि पश्चिम, घरि दक्षिण भएर दिङ्ला जाने बाटो कोल्टिएको कोल्टिएकै गरिरहन्थ्यो ।
राता पहिराले धावा बोलेका भीर र हरिया थुम्काले ती धस्सिएका राताम्मे धर्सालाई निल्न खोजेको देखिन्थ्यो जतासुकै । बल देखाउन कोही छैन कम्ती !
डाँडा, थुम्का र पाखाहरूको मुस्कानमा मेरा आँखा र धुकधुकीले नातो गाँस्छन् पटक- पटक । छिनछिनमा नयाँ ठाउँको रङ देख्छु गाढा ।
माथि पाटीमा पुगेर थकान मार्यौं।
मलामीलाई खाजा खुवाउने घर रहेछ जङ्गलमाझमा । भीरतिर तुरतुराइरहेको थियो धारो । घाँटीसम्म भिजायौँ ।
बर्खे भेल कुदेका ठाडा डोहो थिए जति नि । तिनमा पानी सम्झँदै कुदिरहेको छु म ।
सबथोक गले । खुट्टा, छेपारी, घुँडा र जम्मै ज्यान गले ।
म पाटीछेउमा पसारिरहेको थिएँ । बाँदरका हुल हाम्रा छेवैबाट तल चौरतिर गए ।
एउटा बुलाहा बाँदरले उत्तमलाई झम्टिन खोज्यो । भाइले नि मुख बङ्ग्याएर उसलाई जिस्काए । अलिक पर चौरमा गएर बाँदरले भाइलाई देखाइदियो सप्रेको लिङ्ग ।
लौ बित्यास पार्यो !
हामी दुई जवानले भुइँतिर आँखा लत्रायौँ । दुइटी उमेरदार युवतीले खित्का छोडेर हाँसे ।
‘यै हेर्न यो सास्ती खेपेर आउनु परेको !’
भुतभुताएँ म ।
‘खास्साको मौका पो त यो !’
कोपिला मस्किन् जुरुक्कसँग ।
तेर्पे उकालीमा थियौँ हामी । तुम्लिङटार झर्ने एउटा ठूलै हुल हुरदुराउँदै तल झ¥यो । पर्सिको भाइटीका थाप्न मधेस पुगिन्न कि भन्ने गल्फतीमा थिए उनीहरू ।
लसक- लसक छौँ हामी । मनले चैँ जतिसुकै खुट्टा लम्काए पनि ज्यान लम्किन सक्तैन । खोलै कुदेको छ ज्यानमा । निधार, कन्चट र नाकेडाँडीका पसिनाका छाल चैँ पुछपाछ गर्छु । फेरि उस्तै छिनमै… ।
ठूलो चौर आयो ।
चौरमा हामी लमतन्न भयौँ । भाइले खुबै फोटा खिचे । म पूर्व- उत्तरतिर पसारिएको खाँदबारी हेरिरहेको छु ।
यो नौलो ठाउँमा आउन पाएकोमा हजार बित्ता उफ्रिरहेको छु । खुसीका खित्का कुदेका छन् रगतका थोपा- थोपामा ।
अझ बाटो देखाउन आएका यी दुई नारीको सहयोगबाट छाती बुरुकबुरुक भएको छ हर्षले ।
दुबे गाउँ पुग्यौँ ।
झुरुप्प गाउँ । चाडको चहलपहल । आँगनमा बसेर माला उन्नेहरू छन् । पिँढी पोत्नेहरूको चटारो छ । दैलो सिँगार्नेहरू असिनपसिन छन् । निकै रमाइलो लाग्यो दुबे गाउँ ।
बाटोमा निकै ठाउँमा थिए फलैँचा । बस्दै लम्कन्छु । अरू नि त्यसै गर्छन् ।
बस्तीबाट निकैमाथि पुगेपछि एकजना तन्नेरी आए हातभरि भोगटे लिएर । तिनले भोगटे तासेर खान दिए । आँतै भरियो ।
‘हाम्रातिर नपस्ने दिदीहरू ? जात गयो भने फेरि… !’
भोगटे भाइले भने ।
‘कमिनीबाट दमिनी भइयो भने फेरि… !’
उनैले भने ठुस्केर ।
युवती हात हल्लाउँदै उकालिए । तिनलाई पछ्याउँदै हिँड्यौँ हामी । तिनले हामीलाई दिङ्ला पुर्याईदिने भएका छन् । यो नयाँ गाउँठाउँमा हामीलाई पुग्न निकै असहज देखिएको छ ।
टारहरूको आइजाइ छ बाक्लै । म त मन हराएर बेटुङ्गो भएको छु ।
नेवार गाउँ पसिएछ ।
धानबारी छ छपक्कै । गरैगरा परेको धानबारी । उत्तरतिर कति रमाइला बस्ती देखिन्छन् । पर- परसम्म थुम्कामा बटारिएर आएको कुइरो देखिन्छ । उकालो भएर हामी कटुवाल गाउँ पुगिसकेका छौँ ।
बाटाभरि रुद्राक्षका बोट देखिन्छन् ।
‘सुन्तला खाऊँ न काका !’
कोपिला सोध्छिन् ।
‘मन लाग्दो खानू  !’
घरभित्रबाट कोही बोल्छन् ।
हामी टाप्पटुप्प टिपेर बाटो लागिहाल्छौँ । तर भाइका आँखा छन्- थुम्काका बोटमा । उनी त मौका प¥यो कि उक्लिहाल्छन् बोटतिर । कति ठाउँमा बाटाबाट लम्केर हाँगा तान्छन् र कपाकप टोकिहाल्छन् अम्बा ।
साल्मा पुगियो ।
फेरि खाइयो हरिया सुन्तला । दाँत कुँडिएथे गिजाभित्रै पुग्ने अमिलाले । तर गाउँलेका माया त्याग्न नि सकिएन ।
बाटामा जसलाई देखे नि बोलिहाल्थिन् कोपिला । उनको व्यवहारले हामीलाई पो सजिलो पारेथ्यो । कुरा सुन्न र जान्न पाइएको थियो ।
बस्ती छिरिएछ । तेर्पै र उकाली निकै लम्किरहेका छौँ ।
घाँसे आलीआली भएर धानबारीको लहलह छिचोल्दै हामी पुग्यौँ फराकिलो आँगनमा । सुकिलो आँगन वरपर रुद्राक्षका बोट थिए सुरिला र चिल्ला । सुन्तलाका भरिला रुख थिए ।
‘आमा ! ए आमा !’
अघि हामीसँग आएकी ती रूपसी बैग्लै रूपरङ्गसँग आँगनमा आइपुगिन् । हामी पिँढीमा बसेर वरपर हेर्न थाल्यौँ ।
एउटी बूढी आइपुगिन् सामुन्ने । उनले कत्ति गर्दा पनि नमानेपछि हामीले चिया खानै पर्यो ।
रेडियोमा महाकवि देवकोटाको गीत गुन्जिरहेथ्यो-

‘छेत्रीको छोरो यो पाउ छुन्छघिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !’

उत्तम र म ती दलित आमाको हातबाट पाएको चिया खाँदै गीतको लयमा टाउको हल्लाइरहेका छौँ ।
‘आज त देवकोटा जयन्ती पो परेछ !’
भाइ बोले ।
‘हामी उनका पक्का अनुयायी !’
मैले भनेँ ।
निकै बेरको अल्याङमल्याङपछि हामी छ- सात घरको झुरुप्प चोकमा पुग्यौँ । बोराका बोरा रुद्राक्ष आँगनभरि थुपारिएको देखेपछि मनै भयो शान्त, सरल । बाटोमा साल्माको उकालीले पसिना छुटायो फेरि । तेर्पे र उकालीसँग खुट्टा नारिन छोडेनन् । आखिर हामीले हिँड्नै थियो ।
अघि परपर भएको बाटो फेरि भेटियो ।
बस्ती र बाटो- पहाडमा राम्रैसँग लुकामारी खेल्छन् । ती छिनमै बाझ्छन् । छिनमै अँगालो मारेर बुर्कुसी मार्छन् । मजस्ता दुई दिनका बटुवालाई उल्लिबिल्ली पार्नमा पहाडका बाटाले राम्रै चटक देखाउँछन् ।
अब त भोक पनि लाग्दैछ ।
दिङ्ला पुगिएको छैन । पुगेर मात्र होइन- हेर्नु छ, बुझनु छ, पढ्नु छ र पर्गेल्नु छ ।
त्यति मात्र होइन-वेलैमा फर्किनु छ तुम्लिङटार ।
यी सबै खाले छटपटीमा खुट्टा लम्केका छन् ।
झुरुप्प बस्ती आउँछन् । पहेँलपुर तोरीबारी र वन नाँघ्दै हामी लम्किरहेका छौँ । आँखालाई छटपटी छैन- मनलाई छ उखरमाउलो ।
छुट्ला क्यै, नदेखिएला क्यै, छेलिएला क्यै- यै पिरलोमा लम्किरहेको छु म ।
‘मेरो घरछेउमा आएकालाई म देखाइदिइहाल्छु नि !’
कोपिला पनि हामीसँगै छिन् ।
उनले दिङ्ला टेकाइछाड्ने भइन् । उनको हार्दिकतालाई मैले हजारपटक सम्झना गरेँ, भाइले आदर बोले ।
हाम्रो साथी छ- घुमिघुमी गएको बाटो । उकालो र वनलाई छोडेका छैनौँ । ऊ हामीसँग नारिएर लम्केको छ ।
एक सुरले लम्किँदा सुनियो कल्याङमल्याङ ।
बाटाभरि रुद्राक्षका थैलाथैली थुप्रै देखिए । घर अगिल्तिर थिए रुद्राक्षका बिस्कुन ।
‘यसको माला लाउन पाए !’
‘यसको लुगै लाउन पाए !’
‘यसैमाथि लमपसारिन पाए !’
भाइ र मैले साटासाट गर्यौं कुरा । कति ठाउँमा अँजुलीले रुद्राक्ष मुक्र्यायौँ पनि । हत्केलाभरि राखेर रुद्राक्षको स्पर्श पनि गरिरह्यौँ ।
हरिया वनका माझमा पहेँला तोरीबारीका फग्लेटा देखिन्छन् । कुनै गलैँचामा अर्कै बुट्टा गाँसेजस्तो लागिरहन्छ । तोरीबारीमा लाट्टिन पुगे आँखा त !
ठूलो द्वारमा पुग्दा थाहा भयो- पुगिएछ, दिङ्ला बजार ।
मैले एकाएक आवाल ब्रह्मचारी षडानन्दलाई सम्झिएँ । ती बालागुरुलाई सम्झिएँ । ती आबाल ब्रह्मचारीलाई सम्झिएँ ।
हामी पाइला चालिरहेका थियौँ ।
बाटोमास्तिर देखियो सेतो सालिक । ती थिए बालागुरु षडानन्द । सालिकछेउमा बसेर हामीले केही तस्बिर खिच्यौँ ।
खराउ लाएर अरुण तर्ने, पचलीघाटमा करोडौँपटक गायत्री मन्त्र जप्ने, एक मुठी अन्नबाट सारा गाउँलेको भोक टार्ने, हातले छेकेर असिनापानीलाई अरुणपारि पठाउन सक्ने ती महान् ऋषिको अनुहारलाई फेरि एकपटक छातीमा थिगार्न खोजेँ । ती दिव्य तपस्वीप्रति ढुकढुकीको श्रद्धा चढाइरहेँ… चढाइरहेँ… ।
पश्चिमपट्टि थियो- षडानन्द बहुमुखी क्याम्पस । विसं १९६६ मा बालागुरुले नै स्थापना गरेको रामचन्द्र मन्दिरको परिक्रमा पनि गर्यौं ।
क्याम्पसअगिल्तिर गुरुहरू राजनीतिका चर्का बहस गरिरहेथे । महान् साधक षडानन्द अगिल्तिर देखिन्थे- ध्यानस्थ र लीन ।
बजारतिर पस्यौँ हामी ।
लक्ष्मीपूजाको तामझामले गर्दा दिङ्लाबजार गम्केको थियो गमक्क । फलफूल र मिठाई किन्नेको घचारोले दिङ्ला छोपिएको थियो । भैलो र देउसी खेल्नेका हुलले उकुसमुकुसिएको थियो षडानन्दको गाउँ ।
मैले औधी चाहेको तर आज बल्ल पुग्न पाएको- यो पवित्र ठाउँमा पाइला हाल्न पाउँदा छाती देखिको खुसी सारा शररिभरि बगिरहेको छ… बगिरहेको छ… बगिरहेको छ… ।
नौ घन्टामा पूरा भयो दिङ्ला- दौड ।
खोलावारिपारि दुईतिर फैलेको रहेछ दिङ्लाबजार । पश्चिम, दक्षिण गएका बाटामा मेरा आँखाले देखे- यिनै गोरेटोमा आमाले षडानन्द बोकी कुदेकी थिइन् होला । बालागुरुलाई डोर्याएकी थिइन् होला ।
बाटाभरि ऊखुका लाक्रा चुसिरहेका केटाकेटी, देउसी खेलेका पैसा बाँडिरहेका भुराभुरी र पटाका पड्काइरहेका नानीहरूजस्तै मन पनि भएको छ मेरो ।
फर्किनुपर्ने बेलामा हामी पनि अँध्यारियौँ- कोपिलाजस्तै । उनको रूप कालो, हाम्रो मन कालो । एउटा पूरै दिन उनीसँग बितेको थियो ।
यी अनकन्टार गाउँका गरा देखाउँदै, जीवनका गीत सुनाउँदै, निर्जन बाटो कटाउन सघाउने यी वनफूल कोपिला !
हामी दुवैले बिदा माग्दा भन्यौँ- ‘संसारका सबै नारीले माया सिकून् तिमीबाट !’
घाम अस्ताएर भोजपुरका सारा थुम्काबाट अँध्यारो ओर्लिरहेको थियो । यी थुम्काको उर्दी नसुनी धरै थिएन हामीले ।
दिङ्लाली चुम्बनले घाइते भएर झर्यौ हामी तुम्लिङ्टार !


(नयाँघरे स्थापित साहित्यकार हुन्)
yrnayaghare@gmail.com