जिन्दगी ओइ जिन्दगी !! - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

जिन्दगी ओइ जिन्दगी !!

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

त्यो दिन खोइ मलाई के मन लाग्यो अफिस छुटेपछि पशुपति हुँदै घरतिर जाऊँ कि भन्ने सोचेँ ।
दिउँसो खाजा खाएको थिइनँ । खासै भोक पनि थिएन । भोक, निद्रा, प्यासलाई जितेको धेरै वर्ष भो । आर्यघाटवारि पुगेपछि मानिसहरू चिताग्निमा जलिरहेको देखेँ । त्यो दिन धेरै व्यस्त थियो आर्यघाट । पुल तरेर पारि पुगेँ । एउटा चिनेको साथी देखेँ निर्जल थापा । उसको हातमा चिताग्निमा होम्नकालागि घ्युको पाकेट थिए । अलिक गरुङ्गो गरेर बोकिरहेको देखेँ र एक पाकेट आफैँले समाइदिएँ ।
सोधपुछ गरेँ ।
उसका काका दुर्घटनामा परी बित्नुभएछ ।
निर्जलको अनुहारमा अघिनै रोएर झरेका आँसुका अवशेष देखिन्थे, कुनै झरीले पखालेको पहाडको एकान्त भित्तो जस्तो । हातभरि अबिर लागेको देखेँ । धेरै बेर उभिन सकेनौँ हामी ।
समवेदना व्यक्त गरेँ ।
मलाई देखेसी ऊ अलिकति उज्यालो भयो, मानौँ त्यस भीडमा उसले एउटा आफन्त भेटेको छ । ‘यो अवस्था जीवनमा सबैलाई आइपर्छ नआत्तिनू’ भनेर छोडेर जानूभन्दा उसको दुःखमा साथ दिने विचार गरेँ । उसैको पछिपछि लागेँ, उसको काकाको लागि तयार पारेको चिताग्नितिर । धूवाँले पुरै घाट रूमल्लिएको थियो । पराल, दाउरा र बलिरहेका मानिसका लासहरूको बाक्लो धूवाँले सास फेर्न पनि गाह्रो भैरहेको थियो । घाटमा पूरै लाइन खाली थिएन र केही लासहरू जल्नका लागि पालो कुरिरहेका थिए ।
एउटा लासले मरेपछि पनि बलेर खरानी हुन यहाँ पालो कुर्नुपर्छ है ! कस्तो बिडम्बना !!
मलामीहरू पाँचजनाभन्दा अरू कोही देखिनँ ।
म, निर्जल, उसका गाउँका एकजना आर्मी दाइ, घाटका मुर्दा जलाउने मान्छे र पुरेतबा । आफन्त अरू त कोही पो देखिनँ । मानिस जन्मँदा पो धेरै मान्छेको सहयोग चाहिने हो । फाल्दा वा बाल्दा त किन चाहियो र ? मुर्दा जलाउँदा-जलाउँदा मुर्दाजस्तै कडा भएका ती मुर्दा जलाउने दाइले पानी परेकाले हामीलाई प्लास्टिक ओढ्नु भन्दै थिए ।
घाटमा अरू लासहरू आउने क्रममा थिए ।
आखिर नष्ट भैसकेको शरीरलाई नष्टनै गर्नु त हो नि ! अझै आधा घन्टा कुरेपछि मात्रै उसका काकाको पालो आउने भएकाले निर्जल र म गफ गर्नथाल्यौँ । दुर्घटना कसरी भयो ? कहाँ भयो ? घटनास्थलमै मृत्यु भएको हो कि हस्पिटलमा ? आदि आदि प्रश्न गरेर म उसलाई वेदनाको बाटो बिर्साउने कोसिस गर्दै थिएँ । प्रश्नहरूको जवाफ दिँदै गयो निर्जलले । आखिर आधा घन्टा बिताउनु नै थियो हामीलाई ।
संयोग भनौँ या दुर्घटना, अफिस सकेर घर निस्किएको म आर्यघाटमा साथीको काका जलाउनलाई आइपुगेँ । एकछिन पछिको जीवनका बारेमा हामी कति अनभिज्ञ छौँ है ! हाम्रो जीवन पल-पल अज्ञात ओरालोतिर पो जाँदोरहेछ । कस्तो अचम्मको छ मानव जीवन है !
निर्जल थापाका आँसु झरिरहेको वर्षादको पानी सँग मिसियो । काकाको मुख खुलै थियो । हेर्दा अहिले नै बोल्ने पो हुन् कि जस्ता । काकाको बारेमा ऊ बोल्दै गयो ।
यसपालि काकाले शिक्षामा नाम निकालेर भरतपुर चितवनको जिल्ला शिक्षा कार्यलयमा हाजिर हुन जाँदै हुनुहुँदो रहेछ । काका अत्यन्तै सोझा । भाउजूको पालुङटार नगरपालिका अन्तरगत खोप्लाङ निमावि मा स्थायी दरबन्दी थियो । पालुङटार सदरमुकामबाट नै स्कुल भ्याउँथे दुवैले । दुई छोराहरू थिए । अस्थायी शिक्षकको जागिर र ट्युसनको आम्दानी बाट राम्रै ढ्ङ्गले जीवन चलिरहेको थियो । काका-काकीको प्रेम-विवाह भएको हुनाले उहाँहरूमा कहिल्यै पनि ठासठुस देखिनँ । दुवै खुसी थिए ।
अस्ति २३ गते शिक्षक सेवाको रिजल्ट भयो । काका काठमाडौँ  नियुक्ति लिन आएका थिए । काका-भतिज २५ गते बेलुकी सँगै खानपिन गर्यौं । काका काठमाडौँ आउँदा मेरै कोठामा रमाएर बस्नुहुन्थ्यो । त्यो दिन पनि सदाझैँ केही पुराना चलचित्र हेरेर काका-भतिज सुत्यौँ । मेरो एमफिलको क्लास चल्नेवाला थियो । काकाले भन्नुभयो-‘राम्रोसँग पढ्नुपर्छ है केटा ! गाउँमा दाइले तँ सँग ठूलो आशा राख्नुभा’ छ । तँ हाम्रो इज्जत पो होस् त । पालुङटारे थापाकाजीका सन्तान भन्छन् ।’ भन्दै सम्झाएर निदाउनु भो ।
आफ्नो नाम निस्केपछि काका असाध्य खुसी हुनुहुन्थ्यो ।
पढ्ने र पढाउने कुराभन्दा अरू उहाँका मुखबाट कहिल्यै केही सुनिएन । चारजनाको एउटा सुखी परिवार थियो काकाको । म ३१ वर्ष भएँ । आजसम्म काकाको नराम्रो कुरा भनेसी कहिल्यै नि सुनेको छैन । सम्पत्तिको नाउँमा काकाले मेरो बुबासँग कहिल्यै पनि केही भनाभैरी गरेको सुनिनँ । जे-जति बुबाले भाग लाएर दिनुभो’ त्यसमा पनि ‘भतिजाहरूलाइ पढाइलेखाइ गर्नुपर्छ, मलाई यति भए पुग्छ’ भनेकोसम्म सुनेको थिएँ ।
म काकाको असाध्य प्यारो थिएँ ।
सानैमा पानी लिन जाँदा काकाले पानीको गाग्री माथि मलाई पनि बोकेको याद छ । निज्जे भनेर बोलाउनु हुन्थ्यो मलाई ।
मस्र्याङ्दीमा सानोमा माछा मार्न जाँदा एकचोटि नराम्रोसँग लडनु भो । त्यो दिनदेखि उहाँले माछामासु कहिले खानुभएको मलाई थाहा छैन ।
नियुक्ति-पत्र लिएर आउँदा काकाको मुहारमा छल्किएको खुसी अहिले लास भैसक्ता पनि त्यही खुसी छाएको देखेको छु मैले । हेर त के काका मरेको जस्तो देखिनुहुन्छ ? अहिले पनि हाँसिरहे जस्तो देखिन्छ मुहार । अबिर-मालाले छोपिएको मुखबाट कुनै कुरा बोल्नुहुन्छ कि जस्तो देखिरहेँ  मैले पनि ।
मेरा काका एउटा पुरानो जापानिज होन्डा लिएर काठमाडौँ- पालुङटार गर्थे । इन्जिनले धूवाँ फालेको धेरै भैसकेको थियो । दसैँपछि मर्मत गर्नुपर्ला भन्नुहुन्थ्यो ।
असल मान्छेहरू मृत्यु देखि डराउँदैनन भन्ने कुरा मैले काकाको जीवनबाट सिकेँ ।
२७ गते बिहानै जिल्ला शिक्षा अधिकारी (जिसिअ) ले फोन गरेछन् । म उठ्दा ओछ्यानमा काकाले चिया ल्याउँदै भन्नुभो- ‘ओइ केटा कति सुतेको उठ !’ पढ्नु परेन ? चिया पिएर पढ्न थाल ! मलाई जिसिअको फोन आयो चितवन जानुछ ।’
नत्र काका-भतिज सँगै घर जाने प्लान थियो । फोन आएसी उहाँको मुड चेन्ज भयो । बाइक निकाल्न सहयोग गरिदिएँ । पुरानै भए पनि एक किकमै बाइक स्टार्ट भयो ।
‘देखिस् मेरो बाइक क्या बलियो छ ?’ भन्दै इन्जिनलाई ढोग्दै ‘ल राम्रोसग बस है  !  फूलपातीको दिन भेटम्ला क्यारे  !! भन्दै हुँइकिनु भयो ।
मनकामना कुरिनटार पुगिसकेपछि काकालाई केवलकार चढेर भगवतीको दर्शन पो गरेर जाऊँ कि क्या हो भन्ने मनमा लागेछ । सायद भाकल पो थियोे कि  !
यहाँ हुँदा केही भन्नुभएको थिएन । एकछिन बाइक रोकेर घोत्लिनु भएछ । जाऊँ कि नजाऊँ भनेर सोच्दासोच्दै आफू नजिक एउटी केटी आइछन् र भनिछन्- ‘सर मलाई मुग्लिनसम्म लिफ्ट दिनुन, ताप्ले जानुछ, बस छुट्यो !’ एकछिन त काका पनि अकमकाउनु भएछ । अन्जान नै भए पनि गोरखाकै परिछन् के भो त मद्दत गरिदिन्छु भनेर बाइकमा राख्नुभएछ । केटीले सबै कुराहरू सोधपुछ गरिछन् । बाटो कटाउने मेलो हो भनेर आफ्ना सबै कुराहरू पनि काकाले भन्नुभएछ । आफू पालुङको भए पनि ताप्लेको बारेमा काकालाई सबै थाहा थियोे ।
अलि पर पुगेपछि-‘कस्तो प्यास पो लाग्यो पानी किन्न मिल्छ भने किनूँ न !’ भनिछन् ती केटीले । सडकछेउमा बाइक रोकेर काका र त्यो केटीले भित्तामा रहेको फुटपाथे पसलमा गएर पानी किनेछन् । पहेँलो भएर पाकेको मालाबाउ केरा बेच्न राख्छन् त्यस ठाँउमा । केटीले ‘भोक लागिरा’छ केरा खाऊँ न है !’ भनेर आग्रह गरिछन् । आधा दर्जन केरा र पानीको पैसा पर्सबाट झिकेर दिनुभएछ काकाले ।
अघिल्लो दिन तलब झिकेका बैङ्कबाट । काकाको पर्समा २५ हजारजति नगद थियो । बेलुकी तरकारी किन्न जाँदा ‘पर्सबाट पैसा झिकेर लैजा’ भन्दा मैले सुटुक्क गनेको थिएँ । अनि पाँच सयको एउटा नयाँ नोटचाहिँ लुसुक्क आफ्नो खल्तीमा थन्क्याउन लाग्दा,  परबाट देखेछन् अनि ‘धेरैचैँ नचोर है केटा  !’ भन्दैथिए मलाई ।
‘अलि बिस्तारै हाक्नू न,  धेरै स्पिड चलायो भने मलाई डर लाग्छ !’ भनिन् रे ती केटीले । ‘एकछिनमै धेरै नजिक भएको महसुस भयो मलाई त । हजुर साह्रै भलाद्मी मान्छे हुनुहुँदो रहेछ । भेट भएर धेरै खुसी लाग्यो’ भनिन् रे । सुरुमा बसेभन्दा धेरै च्यापिएर बसेपछि काकाले-‘यहाँ मेरा थुप्रै आफन्त भेटिन्छन् अलि नटासीकन बस्नू न  !’ भनेर अनुरोध गर्नुभएछ ।
मुग्लिन आइपुग्यो । चौकी अगाडिपट्टि पुगेपछि प्रहरीले बाइक रोकेछ । लाइसन र अरू कागजपत्र मागेछन् । काकाले सबै प्रमाणपत्र देखाउनु भएछ ।
प्रहरीले सोधपुछ गरे छन्- ‘तपाईंहरू कहाँ जान लागेको र साथमा रहेकी यी महिला को हुन्  !’
काकाले सही र सत्य कुरा बताइदिनु भएछ ।
ती केटीले- ‘म माथि अन्याए भो । आपत् परेकाले ऊसँग लिफ्ट मागेर आएँ तर बाटोमा मलाई यसले हातपात गर्यो । होटेलमा जाऊँ भन्यो । मानिनस् भने यही त्रिशूली नदीमा फाल्दिन्छु भन्यो’ भनेर रोएको अभिनय गर्दै रिपोर्ट लेखाइछन् ।
काका छाँगाबाट खसे जस्तो हुनुभएछ । नगरेको दोषलाई पनि स्वीकार्न पर्यो भन्दै पछुताउनु भयो । इज्जतमा दाग लाग्ने डरले २० हजार जरिवाना र कागजमा सही गरेर काका उम्किनु भएछ । यो घटना घरमा काकीलाई थाहा भो भने बेइज्जत हुन्छ भनेर पीडित मन बोकेर काका चितवननै नगै पालुङटार नै लाग्नुभएछ । काका कति व्यथित र पीडित हुनुभयो होला ! त्यतिवेला मैले अनुमान लगाएको छु अहिले ।
मस्र्याङ्दी हाइड्रो प्रोजेक्ट पार गरेर खैरेनी नपुग्दै बीचमा दुर्घटना भएपछि अन्तिमपटक मलाई फोन गर्नुभएछ । म कोठमा फोन चार्जमा हालेर बाथरुमबाट आउँदा काकीको फोन आएको थियो- ‘काका दुर्घटनामा पर्नुभयो’ भनेर । पालुङटार फोन गरेर एम्बुलेन्स व्यवस्था गर्न लगाएँ । बेलुकी राती हस्पिटल आउँदा काकाको दुईवटा खुट्टा भाँचिएका थिए । बोली केही नबुझिनी भैसकेको थियो । सबै घटना लेखेर बताउनुभो ।
टाउकोमा चोट लागेको थियो । अप्रेसन थिएटरबाट बाहिर निकाल्दा काकाको ब्रेन डेथ भैसकेको थियो ।
र, आज बिहान काकाको देहावसान भयो ।
त्यस केटीको घर ताप्ले थिएन । २० हजार रुपियाँ लिएर उनी त्यही दिन फेरि मनकामना फर्किन रे  !  भन्ने कुरा बुझिन आयो ।
निर्जलले काकाको सबै कुरा भनि सक्ता चित्तामा काकाको अस्तु मात्रै बाँकी थियो । पुरेत बा र मुर्दा जलाउने दाइले-‘ल अब काकाको अस्तुलाई बाल्टिनको पानीले पखालिदिनू !’ भन्दा हामी दुवैका आँखामा बगेको आँसु काकाको अस्तु बगाउँदा त्यही पानीसँग मिसिएको थियोे ।


laxmanrajsitaula@gmail.com