बल्ल फेरियो भूषणदाइको मुड - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

बल्ल फेरियो भूषणदाइको मुड

कृष्ण बराल

कृष्ण बराल

त्यो बेडिङ्–बिस्तरा बोकेर घर छोडेर रमाउँदै हिँडेको दिन सम्झनामा आयो । क्याम्पस पढ्न महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगर पढ्दाको डेराको जिन्दगी सर्लक्क याद आयो । बाबु- आमाको निगरानी बेगरको, फुक्काफाल साँझ- बिहान । मनलाग्दो गर्यो नलागेकोे बाल मतलब । रूम पार्टनर थिए बैगुनधुरा, झापाका गणेशबहादुर ढुङ्गाना । भोकलाग्दा पकाएर खायो, नलाग्दा के मतलब । हुँदा मासुभात, नहुँदा घरबाट बोरामा कसेर ल्याएको चामलको खोलेभात ।
डेराको जिन्दगी मजैले चलेको थियो । घरपति दिलदार थिए, कहिलेकाहीँ मोही र अचार पनि दिन्थे । जिब्रोले अमृतनै भेटेँ भन्थ्यो र भातको गाँस भुँडीतिर ठेल्थ्यो  ।
सिनेमा फेरिनु मात्र पथ्र्यो घरपतिका छोरी- बुहारीलाई लिएर सिनेमा हल पुर्याउनु र सिनेमा हेराइ दिएर घर ल्याइदिनु पथ्र्यो । कुरो के थियो भने घरपति हल मालिक थिए । घरपति आमै, छोरी र बुहारी फिलिमका सौखिन, उनीहरूसँंगै गएपछि टिकटको पैसो तिर्न पर्दैन थियो । त्यो उमेरमा यो भन्दा बढ्ता मजाको सहुलियत के खोज्नु । कलेज त जाँदा हुने नजाँदा पनि कसका बाबुको के बिग्रन्थ्यो  !
एकदिन डेराको जिन्दगीले अचानक अर्काे रमाइलो मोड लियो । गणेशका आफन्त पर्ने पाउना लाग्न हाम्रै डेरामा आए । बूढा जग्गा खरिद गर्ने मनसायका साथ पैसाको बिटो बोकेर आएका रहेछन ।
मानिस रमाइला थिए, मिजासिला । एकदिन बिराएर मासु किनेर ल्याउँथे । हामीलाई दसैँ आएकै थियो । बूढा सोमरसका पनि सौखिन नै थिएछन् । बेलामौका चखाउँथे पनि । हामीले दिक्दार मान्ने कुरै भएन, निकै दिन बसे ।बरु उनी आफैँ चाहिँ भनेजस्तो जग्गा नभेटेर  दिग्दार  थिए ।
गर्मीको याम एकदिन हामी कलेजबाट फर्केर आउँदा बूढा खाटबाट डस्ना निकालेर पानी खन्याउंदै रहेछन् । डस्नाको एक छेउ डढेर सखाप भएको रहेछ । तन्दा सिराने पनि छेउछेउ डढेछ । घरबाट नयाँ बनाएर ल्याएको गणेशजीको लुगाको सत्यानाश ।
त्यति पनि धन्न घरपति बाबैले थाहा पाएछन् र मात्रै नत्र त डढेलो नै लाग्थ्योे होला ।
बूढा गुमसुम चुपचाप थिए । गणेशजी पनि चुपै लागे । उनैका आफन्त के गरुन् । म बीचमा बाठो भएर बोल्ने त कुरै भएन ।
उनले नयाँ डस्ना किनेर बनाइदिने भए, कुरा सकियो । उनी हाम्रो पाहुना बनिरहे ।
दुई- तीन दिन पछाडिको कुरा हुनुपर्छ  ।  म ट्वाइलेट गएर फर्कंदैथिएँं  ।
‘ज्यान मारे बराबरको सजाय पो लाग्छ त यदि कसैले पोलिदियो भने’ गणेशले भनेको ट्वाक कानैमा पर्याे  । के न भएछ म एकदमै जिज्ञासिलो बनेँ ।
‘कसैलाई नभन्नु, हल्ला नगर्नु नि, मिल्ने रहेछ भने सुटुक्क मिलाउनुपर्छ’ गणेशले कुराको बिट मारे ।
बूढा कालोनीलो चुप्प थिए । म बोल्ने कुरै थिएन ।

भरे कलेज जाँदा गणेशले हाँस्दै बिस्तारै सुनाए- ‘अस्ति बूढा त सिगरेट खाँदै भुसुक्क निदाएछन, डस्ना डढ्दा बूढाले एक बिटै पोलेछन नि  !’
आजसम्म गुम्सिएर बुढाले बल्ल गाँठी कुरा खोलेछन् ।
अब गणेशले बूढाको बिटोबाट अलिअलि चिल्ने योजनाको खाका बनाए । आधा हिस्सा पाउने गरी अब मैले गणेशलाई सहयोग गरेर योजना साकार बनाउनु थियो । बूढा बाबैको मुष्ट बिटोबाट तीसवटा नोट भ्याइदिने योजना बन्यो ।
मेरा एकै आँतका दाइजस्तै सम्बन्ध भएका देवी नेपाल दाइ राष्ट्रबैङ्कमा कार्यरत हुनुहुन्थ्यो ।  मैले डराइ डराई उहाँलाई फोन गरेँ ।
दाइले निकै बेर केरकार पार्नुभयो । राजाको फोटो भएको नोट डढाउनेलाई त पुलिसले समातेर तुरुङमा पो हाल्छ- अरू केके त्यस्तै भनेर अत्याउनु भयो र अन्त्यमा भन्नुभयो- ‘नोटकै साइजको सेतो कागज काट्नु र नोटमा टाँसेर जति डढेको नोट छ लिएर आइज’ दाइले भन्नु भयो- ‘नोटको नम्बर चैँ हुनुपर्छ नि  !’
गणेशको योजना चरितार्थ हुनेभयो । हामीले राती नै झ्यालढोका थुनेर कागजमा नोट टास्यौँ । बूढा सास नफेरेको झैँ भएर हामीले सेतो कागजमा नोट टाँसेको र मिलाएर काटेको हेरेर छेवैमा बसेका थिए । हामीले ३० हजार चैँ बूढाको चिल्ने रूपरेखा तयार पारेकै थियौँ । ‘राजाको फोटामा आगो लगाउनेलाई ज्यानमुद्धा लाग्छ ।’ बूढालाई गणेशले दोहोर्याएर- तेहेर्याएर सुनाएकै थियो ।
भोलिपल्ट कलेजबाट फर्किए खाना खाएर एकछिन आराम गरे पश्चात म राष्ट्र बैङ्क जाने भएँ । कागजमा टाँसेका हजारका नोट पत्रिकामा बेरेर झोलामा हालीवरी गणेशजीले चाँजोपाजो मिलाएकै थिए ।
दिनको दुई बजे मैले झोला भिरेँ र रिक्सामा चढेँ । बूढाले मलाई युद्धको मोर्चामा हिँडेको आफ्नै सैनिक छोरालाई बिदा गर्दाको झैँ आँखाले रिक्सा चढेको हेरिरहे, यो फर्कन्छ कि फर्कंदैन लागेको हुँदो हो । बूढाको आँखा छलेर गणेश भने कन्खी मारिरहेको थियो ।
मध्यगर्मीको वेला कालोपत्रे सडक पूरै तातिएको थियो । पसिनाले पूरै लुगा भिजेका थिए । म रिक्साबाट ओर्लिएर बजार अड्डाचौक अलिक पर्तिर विराटनगर स्थित नेपाल राष्ट्र बैङ्कमा पुगे ।
कताकता मनमा डर भने पसेको थियो । आखिर म भर्खर घर छोडेको १६, १७ वर्षको अल्लारे न थिएँ । मैले बूढा बाबैलाई सम्झेँ, जसको डढेको बिटो पैसा म बोकेर आएको थिएँ । सेन्ट्रीमा बसेको सङ्गीनधारी सैनिकलाई नियाल्दै म देवी नेपाल दाइको कार्यकक्षमा पसेँ । गणेशले भनेको ज्यान मुद्धा कताकता मेरो दिमागमा पनि पसेको थिएछ कि ?
मैले दाइलाई ढोगेँ । प्रत्युत्तरमा दाइले भन्नु भयो- ‘लिएर आइस्, के गरेर डढाइस् यत्रो नोट !’  मैले चुँ गरिनँ  ।  मुटु ढ्याङ्रो बजाउँदै थियो ।
अझ कहाँबाट आयो यत्रा बिघ्न नोट भनेर दाइले सोधेको भा’ यात म भक्कानिएर रुन्थेँ होला कि सारा बेलिबिस्तार लाएर ३० हजार चप्काउन आँटेको योजना पनि भन्थेँ होला । तर त्यसो भएन ।
दाइले घन्टी बजाउनु भयो । एकजना मानिस भित्र पस्यो । त्यसलाई दाइले के भन्नुभयो कोनि पुनः बाहिर निस्किएर गयो ।
ऊ तीनवटा लिम्काको बोटल लिएर पुनः फर्कियो र टेबलमा राख्यो र बाहिर निस्कियो ।
उ बाहिर निस्कँदै गर्दा एकजना हेर्दै आर्मी या त पुलिस जस्तै गठिलो ज्यान भएको मानिस भित्र छिरे । बाहिर मिल्ट्री ड्रेसमा चटपट नगरी उभिएकोे गार्डलाई नियाल्दै भित्र पसेको थिएँ । म भित्रको डर अझैँ चुलिएर गयो ।
भर्खर भित्र छिरेको त्यस मानिस तिर फर्किएर दाइले भन्नुभयो- ‘लक्करको व्यवस्था भयो ?’
ती मानिसले टाउको मात्र हल्लाएर ‘भयो’ को इसारा गरे ।
दाइले पुन भन्नुभयो- ‘त्यसो भा अब लक्करमै हालेर रकम सहित पठाउने व्यवस्था गरौँ न त !’
अब भने मेरो च्यापु सुक्यो । मुटु घाँटीमा अटाउने भए बाहिर नै हामफालि हाल्थ्यो होला । मैलाई भनेर मतिर सारिदिएको लिम्का पनि मैले त खाएकै रहेनछु ।
‘ए कान्छा लिम्का खान, किन नखाको ?’  दाइले बल्ल मतिर हेरेर भन्नुभयो ।
लिम्का मुखमा लगाको छिरोस् न घाँटीबाट ।
मैले गणेशलाई मनमनै सराप्न थालेँ । पैसाधनी बूढालाई पनि सरापेँ । आफैँलाई पनि धिक्कारेँ । किन बाठो भएर गणेशको भनाइमा लागेँ म । फेरि देवी दाइले मेरो उछितो हुनेगरी काम त नगर्नुपर्ने ? तर यिनी पनि सरकारी कर्मचारी के बेर ? सरकारकै सोझो गर्ने हुन कि ? अनेक तर्कना खेल्नथाले । उनीहरू आफ्नै तालमा एउटा फायलमा ध्यान लगाइरहेका थिए ।
उनीहरूको काम सिद्धिएछ क्यार । दाइले ती गठिलो ज्यान भएका मानिसलाई देखाउँदै मलाई सोध्नुभो- ‘चिनिस् कान्छा  ?’
मैले ‘छैन’  को इसारामा टाउको मात्र हल्लाएँ ।
‘कृष्णभूषण बल, चिनिराख  !’
दाइले भनेको कानमा गुन्जियो तर दिमागले भने कुन मिल्ट्री सेनाको गण, आभूषण बल के के जाती खेलायो- खेलायो । धन्न गर्मी याम भएर पसिना शरीरबाट पानी निस्केको थियो नत्र त पेन्ट चिसिन बेर थिएन ।
‘यो बराल कान्छो  !’ दाइले मेरो परिचय पनि गरिदिनुभयो ।
र भन्नु भयो- ‘क्याम्पस पढ्न आको, यसलाई अलिक अर्जाप्नु होस् है ! पढाइदेखि बाहेक पनि त यसले फुर्सदमा भ्याउनुपर्छ नि  ! यसले नोट डढाएर नाश गरेछ । फाराम भर्न लगाएर एउटा निवेदन सहित पेस गर्दिनुहोस् ।’
अर्को फसाद ! यो पेस भन्ने शब्दले त म फेरि हरियो नीलो नै भएँ । ती गठिला ज्यानका व्यक्तिले मलाई मुसुक्क हाँसेर इसाराले बोलाए र अर्कै कोठामा लगेर गए । फारम भरिदिएर सही गराए र मुस्कान छरेर नै भने- ‘ल कान्छा भोलि १० बजी पछाडि आउनू  !’
के के न हुन्छ कि सोचेको म, कस्तो चङ्गा भएँ । झन्उनको त्यो मुस्कान त मेरो मानसपटलमा झुन्डिएर रह्यो ।
म नबोली बाहिर निस्किएँ । अलिक लामो सास फेरेँ र रिक्सा चढेर डेरा फर्किएँ ।
गणेश र पाहुना बूढा मेरै ताकमा थिए । जर्याक जुरुक उठेर मेरो अनुहार ताक्न थाले । मैले भोलि जानपर्ने र त्यहाँ फाराम भरेर छोडेको बेलि बिस्तार लगाएँ । गणेशलाई त के थियो र  ?  बूढा भने ओठमुख सुकाएकै थिए ।
भोलिपल्ट गणेश र म कलेज गएनौँ । खाना खाएर बूढालाई मात्र डेरामा छोडेर बजार अड्डाचौक पुग्यौँ र कहिले १० बज्छ भनेर पत्रिका दोकानतिर अलमल गर्न थाल्यौँ । हामीभन्दा सिनियर दाइ भोला बस्नेत त्यहीँ भेटिए । उताबाट हिजोका तीनै गठिला व्यक्ति सेतो सर्ट र नीलो पेन्टमा पत्रिका पसलतिरै आउँदै रहेछन् । भोलाले भने- ‘चिन्यौ  ? सुनाखरी लामा  !’
म अब अचम्ममा परेँ । हिजो देवीदाइले भनेको बल भूषण गण के के जाती फेरि दिमागमा हुँडलियो । उनी छेउमै आइपुगेका थिए । मेरा ढाडमा थपथपाए र भने- ‘के छ कान्छा ?’ पत्रिका गुटमुट्याएर हातमा बोके र पुनः भने- ‘लु हिँड जाऊ !’
म उनीसँगै पछिपछि राष्ट्र बैङ्क पुगेँ । उनलाई पच्छ्याउँदै गर्दा उनले भने- ‘हिजो वेलामा आएको भा’ हिजै सकिन्थ्यो । एउटा प्रोसेस हुन्छ क्या डढेको नोट बद्ली गर्दाको ।’
म नबोली उनकै पछि उनको कार्यकक्षमा छिरेँ । उनको कोठामा बोरामा नोटलाई लात्ताले खाँद्दै कस्दा पो रहेछन् । विस्फारित नेत्रले म त्यो नियालिरहेको थिएँ । आम्मामा कति बिघ्न थोत्रा नोट ? त्यत्तिकैमा मेरा आँखा टेबलमा भएको नाम प्लेटमा पर्यो । स्पष्ट लेखिएको थियो- ‘कृष्णभूषण बल’। ‘भोलाले गफ दिएछन्, सुनाखरी लामा भनेर ।’ त्यस्तै कस्तो दिमागमा खेलाएँ ।
‘यत्रो पैसा चैँ के गर्न राखेको थियो र के गर्दा चैँ डढ्यो हौ कान्छा  ?’ उताबाट बिटो हातैमा बोकेर आउँदै रहेछन् । भने-  ‘के मा हालेर लान्छौ ?’
ला आज त झोला पनि ल्याएको थिएन । उनले नोटको बिटोलाई पत्रिकामा बेरेर थमाइदिए ।
म त्यहाँँबाट उडेर निस्कन चाहन्थेँ तर उनले फेरि भने- ‘दाइ आइपुग्ने वेला भयो,  भेटेर जानू  !’ परेन फसाद ।
बल्ल देवीदाइआइपुगेको सुँइको पाएँ  र उहाँको कोठामा पसेँ ।
उहाँले भन्नु भो-  ‘काम भयो ?’
मुन्टो हल्लाएँ र भयोको सङ्केत गरेँ ।
‘पाइस् त पैसा  !’
‘पाएँ’ को पनि मुन्टै हल्लाएँ । उनले आदेशपूर्वक भने- ‘कुरा सुन केटा ! यी कृष्णभूषण कवि हुन्, राम्रा कविता लेख्छन् । देशान्तरमा सुनाखरी लामाको नामबाट लेख लेख्छन् । कलेज बाहेकको समयमा यिनको सङ्गत गर्नू  !’
आज्ञाकारी बालकझैँ बनिरहेँ । छेउमा भूषण दाइ मन्द मुस्कानमा थिए । म उनलाई नै नियालिरहेको थिएँ । हतारो चैँ कतिखेर गणेशलाई भेट्नुभएको थियो ।
त्यही नोट डढेको घटनाले गर्दा मैले भूषण दाइलाई चिनेँ । हो मैले भूषण दाइलाइ भेट्नु अथवा ती डढेका नोट साटिनुको घटनाले कुनै महत्त्व नराख्ला । उनीसँग जतिपटक विराटनगरमा भेट भयो, त्यतिपटक नै उनले मलाई कार्यक्रममा निम्ता गर्न भने छोडेनन् । तर म उनले बोलाएका कार्यक्रममा कहिल्यै उपस्थित भइनँ । तर देशान्तर पत्रिकाको सुनाखरी लामाको व्यङ्ग्यात्मक र वैचारिक लेख भने हरेक हप्ता चाखले पढ्न थालेँ ।
कारणवश मैले विराटनगर छाडेँ र काठमाडौँ हान्निएँ । वेला मौका वर्षको एकाध पटक डिल्लीबजारको खेमराज नेपाल र खग नेपालको घरमा भूषण दाइसँग भेट हुन्थ्यो । उनी हाँस्थे र के छ कान्छा भनेर सोध्थे । हाम्रो सम्बन्ध त्यति मात्रै थियो । देवी नेपाल, खेमराज नेपाल र खग नेपालको मुखबाट उनका धेरै किस्सा सुनेको थिएँ/छु । ती किस्सा मैले लेख्नुभन्दा नेपाल दाइहरूले नै लेख्नु राम्रो होला ठानी यहाँ उल्लेख गरिनँ ।
काल, परिस्थितिले म काठमाडौँ छोडेर झापा घर पुगेँ र राष्ट्रिय बीमा संस्थानको जागिरे भएँ । के कसोरी हो म कृष्ण धरावासी, केशव आचार्य, डिकमान विरही, लोकराज ढकाल, दीपक ढकाल जस्ता त्यतिखेरका झापाका जल्दाबल्दा साहित्यकार तथा पत्रकारहरूको सङ्गतमा परेँ । उनीहरूको सङ्गतले म पनि साहित्यिक कार्यक्रमा श्रोता गणमा मिसिएँ । समाचार लेख्न पनि उनीहरूले नै सिकाए । साहित्यतिर धरावासीले धकेले । अब भने महिना, दुई महिनामा भूषण दाइसँग फाटफुट भेट हुनथाल्यो र बिस्तारै बाक्लिएर गयो ।
म भूषणदाइसँगै भारतको सिलिगुडी, दार्जिलिङ, सिक्किम नेपालको पाँचथर, इलाम, दमक, विराटनगर, चितवन, पोखरा, काठमाडौँ र धनगढीसम्म साहित्यिक यात्रामा हिँडेँ । कति ठाउँमा उनी मेरो अभिभावक बने, कुनै ठाउँ साथी, कुनैठाउँमा गुरु बने र कतै त मलाई नै गुरु बनाए । कति ठाउँमा बच्चालाई आमाले माया गरेजस्तै गर्ने भूषण दाइ बच्चा जस्तै बन्थे र आमाले जस्तै माया पनि गर्नुपथ्र्यो । यात्रामा उनी कहिले अगाडि हिँडेनन् र पछाडि पनि बसेनन् । सँगसँगै हिँडेर सबैलाई नेतृत्व गर्ने उनमा विशिष्टि खुबी थियो । जस्तै लामो यात्रा पनि हाँसेर हँसाएर नै तय हुन्थ्यो, उनीसँग हिँड्दा । उनी गफ पनि मीठा गर्थे, रमाइला चुटकिला पनि भन्थे तर कवितासँग मजाक गर्यो भने चैँ उनी खपि नसक्नु रिसाउँथे ।
विराटनगरबाट भूषणदाइ र झापाबाट मलाई भाषा सम्बन्धी संगोष्ठी कार्यक्रममा प्रज्ञा- प्रतिष्ठानले निम्ता गर्यो । यातायात ठप्प थियो, यातायात व्यवसायीले अनिश्चितकालीन लामो हड्ताल गरेका थिए । जहाजकोे भाडा उपलब्ध गराउने भन्ने खबर पाएपछि हामी सँगै विराटनगरबाट जहाज चढेका थियौँ । तर संगोष्ठी कार्यक्रम सकिँदा हामीलाई बस भाडा मात्र थमाएको थाहा पाएपछि प्रतिष्ठानको प्रशासनसँग भूषणदाइ यस्तरी जङ्गिए कि उनको लाटो रिस त मैले त्यतिखेर पो देखेँ त । अहो ! त्यो प्रशासन फाँटमा बस्नेको अनुहार कस्तो रङको भएकोथ्यो वर्णन गर्नै सक्दिनँ ।
उनी कुलपति बैरागी काइँलासँग पनि त्यसरी नै जङ्गिए । काइँला दाइले- ‘म मिलाउँछु हाव भूषणजी नरिसाउनु होस् ।’ भनेर के भन्नु भा’थ्यो, भूषण दाइले काइँलादाइलाई पनि भन्नुभयो- ‘भो तपाईंले मिलाउने होइन । यो त एकेडेमीको प्रशासनले मिलाउने हो ।  भिख माग्न आए जस्तो, के सोच्नु भा’ हो ?’
उनी त एकेडेमीले दिएको खाम नै छोडेर  निस्किए । काइँला दाइको इसाराले मैले उनको पनि टिपेँ र उनकै पछि लागेँ  । हामी पुतलीसडक पुग्यौँ ।
हिँड्दा हिँड्दै उनले भने- ‘सालाहरूले मुड नै बिगार्दे हिँड कान्छा ठीक पारौँ र हामी सेकुवा पसल छिर्यौं ।’
दुईचार पिस सेकुवा र एकाध पेग सडकाए पछि उनी झनै राँकिए । मलाई अबयो खाम कसरी हस्तान्तरण गर्नु हो चिन्ता लाग्न थाल्यो । खाम दिइहाल्न आँट गरिनँ ।
उनको मन अर्कैतिर मोड्न मैले त्यही डढेका नोटको प्रसङ्ग निकालेँ ।
नभन्दै प्रज्ञा- प्रतिष्ठानको कुरा उनले तुरुन्तै भुले र मलाई भने- ‘हाम्रो (कर्मचारी) नाम समेत बेचेर बूढाको बिताएछौ नि, फटाहा पो रहेछौ त, अनि बूढाले माने त ३० हजार दिन ?’
मैले फेरि त्यही कहानीको अन्तिम किस्सा सुनाएँ– ‘तपाईंले पैसा दिएपछि म बजारअड्डा चौक तिर मोडिएँ । गणेश एकोहोरो मतिरै फर्किएर हेर्दैरहेछ । उसले चुट्की बजायो र विराट फोटो स्टुडियोमा लिएर गयो । उसले चिनेका दाइ थिए त्यसका मालिक । फोटा खिच्ने कोठामा ७० र ३० को बाँडफाँड भयो । १५ मेरो गोजीमा पर्यो १५ गणेशको ।
डेरा पुगेर ७० हजार पाहुना बाबैलाई थमाइयो । बूढा कम्ता खुसी भा’ हुन् र ! उनी हाँसेनन् मात्र । हामीलाई सहस्र धन्यवाद दिए । ७० हजार त उनले आफ्नो चोखो कमाइ भएको ठाने ३० खाने कर्मचारीलाई पनि धन्यवाद दिइरहे (३० त कर्मचारीले लिएर मिलाउँछन् भनेर गणेशले भनेका रहेछन) । एक दम खुसीले भने- भोलि बिहानै घर जान्छु, अब जग्गाको चक्करमा डुल्दिनँ ।
बेलुका बूढा यसो टहल्न निस्किएका थिए- मासु र बोतल बोकेर आएछन् । हाम्रो पाहुना बाबैसँगको अन्तिम सेलिब्रेटी साँझ बन्यो त्यो साँझ ।
बिहानै उठेर बूढा हिँड्ने तर्खरमा लागे, हामी कलेज जाने । कोठा रित्तो हुनेभयो । गणेश ढोकामा ताला लाउँदै थिए । बूढाले कन्दनीतिर हात छिराएर तीनवटा हजारको नोट निकालेर मतिर बढाउंदै भने- ‘ल नानी यति लिनु एक एक हजारका लुगा लाउनु । हजारको खाजा- तिउन किनी खानू  !’
म पक्डन अनकनाउदै थिएँ । गणेशले के आनाकानी गरेको आफूभन्दा ठूलाले दिएको त प्रसाद पो त भन्दै बूढाको हातबाट अरू तीन हजार पनि चिप्ल्यायो । बूढाले साढे सोह्र साढे सोह्र हजारको हामीलाई एकलौटी मालिक बनाइराखेर आफ्नो बाटो लागे ।
मैले कहानी सकेँ । भूषण दाइले हाँस्दै भने- ‘त्यसो भा’ कान्छ अब खुरुक्क यो खाजा खा’को पैसा तिर । आफूले त पाएको पैसा पनि छोडर आइहालेँ ।’
मैले पैसा तिरंँ र अबचैँ यिनको मुड फिर्यो ठानेर उनको खाम पनि हाताँ लगाइदिएँ । उनी मजैले हाँसे अनि भने- ‘कान्छाले ठीक गरेछ, भोलिका लागि पनि व्यवस्था गरेरै छाडेछ ।’
कृष्णभूषण बल सशरीर यस लोकमा छैनन् अब । उनको भौतिक शरीरले हामी माझमा कहिलै उपस्थिति जनाउँदैन तर उनीसँग उठबस गर्दाका धेरै स्मरण योग्य क्षणहरू जीवन पर्यन्त रहने छन् ।
कृष्णभूषण बल- एक आम नेपाली जस्तै सामान्य र साधारण व्यक्ति थिए ।
कृष्णभुषण बल- एक असामान्यरूपका सामान्य बेजोड कवि थिए ।
माल्टोनी, इलाम (हाल पाँचथर)मा जन्मिएका टीकाराम सानैमा आमाको काख गुमाएर टुहुरा भए । कसकसको संरक्षण पाएर हुर्किए । उनलाई कसरी, कहिले इलामले टीकारामबाट कृष्णभूषण बनायो । उनले किन र केका लागि सुनाखरी लामा छद्म नाम राखेर देशान्तरका पानामा विचार पोखे । उनलाई धेरै नजिकबाट चिन्नेहरू (देवी नेपाल, खेमराज, खग नेपाल या त किशोर नेपाल) ले कुनै दिन कुनै ठाउँ लेख्लान् हो । लेख्नु नै पर्छ ।
उनलाई कतिले त उनको छालाको रङ, उनको उचाइ र मोटाइ, उनले साँझपख व्यतीत गरेको जीवनसँग तुलना गरेर लेखे । भूपि, रिमाल र बैरागीसँग तुलना गरे । हिमाल र सगरमाथा नै भने । मलाई चैँ त्यसो गरिहाल्न मनले मान्दै मानेन । उनी भूपि, रिमाल या त बैरागीजस्ता छँदै थिएनन् । उनी माथिबाट चुलिने सगरमाथा या त कुनै हिमालको चुचुरा छँदै थिएनन् । उनी थिए भने सबै संरचना मिलेका जगै देखि मजबुत निर्माण भएका कविताका घर थिए- धरहरा थिए, मन्दिर थिए । उनको छुट्टै उचाइ थियो । न कसैले बनाएका थिए,  न कसैले बनाउने छन् ।
उनकै कविताका शब्द सापटी लिएर उनकै चिरकालीन सम्झनामा–

हामी बीचबाट अचानक
चुँडिएको छ एउटा समय
अब बिहान बास्दैन
बाटो सुनसान छ
अब कोही कसैलाई पर्खदैन
मनहरू च्यातेर
अब इन्कलाब निस्कँदैन ।

टेकेर पहाड उक्लने चिम्लिए आँखाहरू
उफ्रेर भन्ज्याङ नाघ्ने लत्रिए पाइतालाहरू
हो साँचै रहेछ दाइ !
खिया भएर टुट्दो रहेछ फलामकै साङलो पनि
सुमसुम्याएर समय तग्य्राउने हातहरू
अब छैनन् सुतेका पहाड बिउझाउने आँटहरू ।
यात्रामा कहिले पछि नबस्ने
यात्रामा कहिले अघि नउच्छिने
टुहुरा भएकाछन् साथहरू
भन्न त सजिलै भन्थ्यौ नि
फेदैबाट चढ्नुपर्छ टुप्पोसम्म पुग्नलाई
भन्न त यो पनि भन्थ्यौ पर्खन सक्नुपर्छ
खै कहाँ पख्र्याै ? ।

हामी माइबेनी पर्खंदैछौँ
तिमी भारी बोकेर औषधीको
भारी बोकेर किताब र फालीहरूको
लालटिन बालेर कता हिँड्यौ
भन्नत पर्खाल फोरेर निस्कन्छु भन्थ्यौ
खै कता निस्क्यौ निस्क्यौ ?

यतिखेर आफ्नै मनले थिचिरहेछ
वियोगान्त बेचैनी उम्लिरहेछ
छरपष्ट मेची- काली वरपर
कवि मनका छटपटी फगत अनुभव भइरहेछ
खोजेर बग्नलाई निकास
हठात् अलमलिएर दह भएको छ ।

खै कहाँ हरायो चोभार फुटाउने तरबार
अब फेरि जन्मन सक्छ त
मन्जुश्रीको अर्काे अवतार
घन्टाघरले कँज्याउन सकेन समयको प्रलय धुन
सारङ्गीले कँज्याउन सकेन सङ्गीतको वियोग धुन
नदी किनार ओर्लिएर उतै फर्किएको छ
त्यो शालीन समय शीतल जून ।


(बराल स्थापित साहित्यकार हुन्)
arknbaral@yahoo.com