रुम नं. ३२५ - Aksharang
  • २०७७ फागुन १७ सोमबार

रुम नं. ३२५

अर्जुन थापा

अर्जुन थापा

‘रूम नं. ३२५ ! सरासर नसोधी रूममा आउनू  ।’ म उत्तर दिन्छु ।
ऊ फोन राख्छ ।
म नुहाउन बाथरूमतिर लाग्छु । सायद पौने घन्टाजतिपछि रूमको बेल बज्छ । म ढोकाको सानो प्वालबाट चियाएर हेर्छु । सायद फोनमा कुरा गरेको व्यक्ति नै हुुनुपर्छ । म ढोका खोलेर भित्र आउन आग्रह गर्छु । ऊ अप्ठ्यारो मानेर भित्र पस्छ र बेडसँगैको चियरमा गएर थचक्क बस्छ ।
म चुरोटको बट्टा देखाउँदै ‘पिउनुहुन्छ ?’ सोध्छु ।
एउटा खिल्ली चुरोट लिन्छ उसले । लाइटर बालेर उसलाई सल्काउन दिन्छु र आफ्नो पनि सल्काउँछु । सलक्क परेका डोला र गोरो दुई औँलाको बीचमा सेतो लामो चुरोट । उसले बिस्तारी चुरोटलाई ओठतर्फ लान्छ । धूवाँ फुर्र माथितिर जान्छ ।
‘केही लिनुहुन्छ ?’
‘पर्दैन’ उसले छोटो उत्तर दिन्छ- ‘म एकपटक फ्रेस भएर आउँछु’ भनेर ऊ बाथरूमतिर लाग्छ ।
म झ्यालको पर्दा हल्का उघारेर बाहिरको दृश्य हेर्नतिर लाग्छु । स्विमिङ् पुलमा केही विदेशीहरू पौडिराखेका छन्, केही पुलसँगै राखिएको लामो सेतो मेचमा पल्टिएर सनबाथ लिइराखेका हुन्छन् । सडकमा अन्धाधुन्ध गाडीहरू तँछाडमछाड गर्दै गुडिराखेका छन् । सडकको मुखमा बस पर्खिरहेका बैँसालुको एक जोडादेखि म आँखा नचाएर अन्यत्र दौडाउँछु ।
ऊ अझै नुहाउँदैछ । सडकका ल्याम्पपोस्टका लाइटमा सडकको रात बिस्तारै लठारिँदै थियो । अँध्यारोको कुनै अर्थ छैन । म धेरैबेर लगातार चुरोट तानेर त्यहीँ बसेँ । वरिपरिका बार र रेस्टुराँहरूले निम्त्याइरहेका थिए ग्राहकहरूलाई ।
ऊ सेतो रुमालले चाहिने भागजति छोपेर बाहिर निस्क्यो । बलिया हातखुट्टा, गहुँगोरो रोगन, कुनै चेतनशीलता नलुकाएका आँखाहरू, छोटा केश, छातीमा भर्खर उम्रिन थालेका रौँहरू भएको केटो मेरो अगाडि उभिन्छ । छातीको रौँको हिसाबले पनि ऊ २०-२१ वर्षको हुनुपर्छ । लोग्नेमान्छेहरूको उमेर पत्तो लगाउनु मेरा निम्ति कुनै समस्या होइन ।
मैले धेरै लोग्नेमान्छेहरूलाई नजिकदेखि नाङ्गो हेरिसकेकी छु । ऊ आफ्नो मिलेको शरीरलाई सजिलो र फुका मुद्रामा राखेर ओछ्यानमा बसेको थियो । उसको अनुहार र आँखाबाट प्रस्ट झल्किन्थ्यो- विकृतिपना छँदै थिएन । जुन अरूहरूमा हुनेगर्थे ।
उसलाई त्यस अवस्थामा देख्नासाथ मेरो आङ एकपल्ट सिरिङ्ग भयो । किनकिन आज मलाई हतारहतार कामकुरो सकाउनुतिर जान मन लागिराखेको थिएन । त्यसैले हतार गर्ने चेष्टा गरिनँ, नहेर्ने चेष्टा पनि गरिनँ । यो भन्दा हुन्छ, मैले सकिनँ । केटो मलाई कुरिराखेको थियो, मेरो लुगा फुकाइका लागि र सेक्सका लागि ।
तर मलाई आज हतार गर्नु छैन । उसले भनेबमोजिम उसको यो समय मैले किनेकी छु । आँखाको स्वादजस्तो एउटा साधारण सुखदेखि आफूलाई किन वञ्चित राख्नु । त्यसैले अब उसलाई पूरै लुगाविनाको तलदेखि माथिसम्म हेर्नथालेँ । मेरोअगाडि भएको पुरुष र यसअघि मैले हेरिसकेको कुनै पनि नाङ्गो पुरुष मिलाएँ । अहँ दुईवटामा कुनै सामञ्जस्य आउन सकेन ।
अब म त्यसै बसिरहन सकिनँ । म आफ्नो नियन्त्रणमा थिइनँ, म सर्वाङ्ग कामिरहेकी थिएँ । मेरो यो हालत थाहा पाएर होला, ऊ मेरो नजिक आएर मेरो लुगा फुकाउनलाई मद्दत गर्दैथियो । आवेशमा आएर मैले उसको गर्धन अँठ्याएर उसको राता ओठमा रगत चुहिने गरी म्वाइ खाइदिएँ । म पसिनाले निथ्रुक्क भिजेकी थिएँ, मुटु कामिरहेको थियो । अब ऊसँग स्पष्ट एकपल्ट खेल्नलाई म तयार बनिसकेकी थिएँ । उसको आँखाको भाव पढ्ने सामथ्र्य ममा आइसकेको थियो । उसको मप्रति हेर्ने आँखाको हेराइ नौलो हो, एकदम नौला थियो । त्यो क्षणको पूर्ण अनुभव लिन चाहन्थेँ । हाम्रा आसनहरू परिवर्तन भइरहँदाको उसको आवाजले झन् वातावरणलाई बेग्लै पारिराखेको थियो ।
ऊ उठेर बिस्तारै आफ्ना लुगाले ढाक्दैगयो आफ्नो शरीर । जिन्स र टिसर्टमा ऊ सुन्दर देखियो । अगाडि राखिएको चुरोट तानेर सल्कायो । चुरोटको धूवाँमा उत्सुकता रिगिँदै मेरो तथा उसको वरिपरि घुमिरहेको थियो ।
‘अब म जाऊँ कि ?’ उसको प्रश्न सुनेर ब्यागबाट दसवटा हजारका नोटहरू झिकेर दिन्छु ।
ऊ मुख अलिक रातो पारेर पैसा समात्छ । म उसलाई हेरिरहन्छु । उता ऊ रुमबाट निक्लिसकेको हुन्छ ।
यता मलाई झट्ट लोग्नेको घर, लोग्नेको अनुहार याद आउँछ । लगातार एउटै कुरा दोहोर्याई- तेहर्याई सोचिसकेपछि आफैँसँग रिस उठ्न थाल्छ । आफैँसँग रिस उठ्नु मान्छेको सबैभन्दा असहाय अवस्था हो ।
फोनको घन्टी बज्छ, उठाउँछु- ‘ए नखरमाउली अझै घर मुन्टिएकी छैनस् ।’ लोग्ने फोनमा चिच्च्याइराखेको हुन्छ ।


(थापा विगत एकदशकदेखि साहित्य सिर्जनामा सक्रिय छन्)
asendai90@yahoo.com