गाउँ स्मृतिमा बगिरहने अलिखित सर्ग - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

गाउँ स्मृतिमा बगिरहने अलिखित सर्ग

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

किनकिन यस वेला गाउँका कुरा गर्न मन उद्वेलित भएको छ प्रिय पाठक ! जीवनको लय शालीनताले बग्ने गाउँले जीवनमा फर्कंदै छु ! गाउँमा बिताएका ती दिनहरू सम्झेर कहिलेकाहीँ त हुरुक्क पार्ने रै’छ । हुन त जहाँ भए पनि आफूले दिनरात कर्म गरेको माटोको माया लाग्छ नै । केही वर्ष गाउँको सुगन्धमा घुलमिल गरेर होला यसवेला एकाएक गाउँको सम्झना बेस्कन आइरहेछ । यो व्यग्रता, यो उद्विग्नतामा समयको डोबसँगै हाँस्दै, रूदै बिताएका ठाउँबारे लेख्दा साँच्चै नै गज्जब हुन्छ होला भनेर दङ्ग छु ।
समय बगिरह्यो, जीवन हिँडिरह्यो, पहाड हुदैँ गाउँसहरका कलेबरहरूमा गाँसिँदै । कहिले पहाड, कहिले गाउँ, कहिले सहर जहाँ रहे पनि खुसी हुदाँ नै जीवन सुन्दर हुँदै मन आनन्दित हुने रै’छ । हिजो हाम्रा अग्रजहरूले भोगेका कुरा हाम्रा लागि दन्त्यकथा भएझैँ आज हामीले भोगेका कुरा भोलि हाम्रा सन्ततिलाई पनि त्यस्तै लाग्दा हुन् ।
जीवनमा कहिले पहाड चढ्नु, कहिले गाउँ भएर हिँड्नु, कहिले सहर भएर अडिनुमा जीवनको तारतम्य के छ ? के जीवन भोगाइका दुःख–सुख पनि एउटा दर्शन हो या आधाअधुरा तर्क ? अनि जन्मनु र मृत्युबीचको चिन्तनलाई चेतनाको पराकाष्ठा मान्ने हो कि ज्ञानको सार ? जन्मनुअघि र मृत्युपछिका कुराहरू के हुन्, के हैनन्, तपसिलमा छाडेर अहिले गाउँमा नै भरिएर पोखिन मन छ, पोखिन्छु रमाउँदै ।
गाउँमा वल्लो घर, पल्लो घरको भर कति हो कति । विभिन्न जातजाति, धनीगरिब भईकन पनि हीनताबोध विना सामाजिक मान्यतालाई सम्मान गर्ने मानिसहरू आ- आफ्नै सीमामा बस्ने दर्शन । मर्दा- पर्दा आफन्तको भन्दा गाउँलेको सामीप्य । अहो, गाउँमा मानवतावादी मन सबैमा निहित हुने । कुनै एउटा घरको सदस्य परदेश जानलाग्दा गाउँलेहरू भेला भएर सफलताको शुभकामना दिने चलनको सुललित संस्कार । कुनै कार्य सम्पादन गर्नुपर्ने अवस्थामा एकअर्काको साथ सहयोगका लागि अग्रसर भैरहने, छलकपटको दर्शनभन्दा टाढा संस्कारित दर्शन । सहरमा त कहाँ हुनु नि त्यस्तो ! यी सबै कुराका विपरीत रूप सहरको जीवनशैली । तर प्रकृतिको पदचापमा शालीन र सुरम्य हुने कतिपय गाउँहरू यसवेला भने विकासको नाममा बदलिएर फुस्रो हुँदैछ रे ।
सहरका मानिसहरू जति नै शक्तिशाली छु भनेर अहंकार गरे पनि ती निरीह छन् । सहरको जस्तो शरीर तन्दुरुस्त राख्न अनेक उपाय नगरी, खर्च नगरी, कर्म गरेर पसिनाले सुन फलाउने जाँगरिलो साम्राज्य हो गाउँ । आफ्नो परिश्रमले हलो- कोदालो गरेर मीठो- मसिनो र स्वास्थ्यवर्धक खानाका अनेक स्रोतको मुहान ।
आफूले बिताएको गाउँको जीवन अनेक रूपले बग्छ स्मृतिमा । निकै ठूलो खाडलमा केराका पत्ता र दाम्चाले घेरेर तोरी, रायो या मुलाको साग र थिलथिलो पारेको मुलालाई अलिअलि तातो पानी खन्याउँदै ससुराले बल गरेर मच्चीमच्ची खुट्टाले खाँदेको गुन्द्रुक- सिन्की सम्झिरहेछु । अनि केही दिनमा भएपछि गुन्द्रुक सुकाउने र कहिलेकाहीँ सफा गरेर तिउनको रूपमा पकाएको गुन्द्रुक- सिन्कीको सुपको स्वाद । आहा !
गाउँ प्रकृति सौन्दर्यको एउटा परिवेश भएकाले जीवनको लय पनि सोहीअनुसार बगेका ती पलहरू सम्झेर रोमाञ्चित भैरहेछु । सौन्दर्य त प्रकृतिले व्यवस्थित गर्ने आलोकित आयाम हो, जहाँ जीवनको लय मिल्न सक्छ । प्रकृतिको आरम्भ र अन्त्यको रहस्य कसैले पूरै पढेको पनि हुन्नन् र बुझेकै छैनन् । तर, प्रकृतिका अनेक रहस्यको फेर युगौँदेखि पढेर, लेखेर पनि नटुङ्गने सभ्यता मास्न उद्विग्न छन् विज्ञानको आडमा मान्छेहरू । हामी प्रकृतिका अवयवहरू मास्छौँ, आफ्नो जीवन चर्खा चलाउन । यसो गर्न अफ्नो हैसियतसमेत बिर्सिएर आफूलाई समेत मास्दै सर्वशक्तिमान घोषित गर्न हामी उद्वेलित भइरहेछौँ । युगौँदेखि मानिसले यसो गरे तर सृष्टिको निर्णय पक्कै यस्तो थिएन ।
पानीका मुहानमा फुलिरहेका फूलका सौन्दर्य, झुलिरहेका फलका सुरम्य सङ्गम, रूखबिरूवा, बाँसघारीको हरियाली वातावरण आदिआदि आफूले बिताएको गाउँमा सृष्टिका अनेक अवयवहरू आहा ! कसरी वर्णन गरौँ !! अनि भौतिकताबाट आविष्कार गरे पनि प्रकृतिलाई नबिगारी बनाएका गाउँका बरपीपलको बोटमुनि भएको चौतारो नागबेली धुलेबाटो, गोरेटो, गल्ली र गल्छिडाहरू । फराकिलो जमिनमा बनाएको सानासाना छरिएका घरहरू, खेतलाई रसिलो बनाउन पैनीको बाटो गरेर पानी लाने तरिका ।
मेरो घरछेउ नै पैनी थियो, वर्षादमा पैनीको पानी सानोसानो नदीझैँ हुने । त्यहाँ माछा त कतिबग्नेबग्ने । घरमा भएको सहयोगीले हरेक साम्झ राँको बालेर पैनीबाट समातेर ल्याएका ठूलै माछाहरू ल्याएर खाँदाको सम्झना पनि ताजै छ । माटोमै खेल्न, माटो नै खाने मेरा छोराछोरीको रमाइलो भावका तरङ्गहरू वाह ! यसैले त मानिसको मनसँगै बाहिरी स्वरूप पनि आमोदी हुन्छ र जीवन उत्कर्षमा पुग्नसक्छ ।
गाउँका कुरा लेख्नले जति लेखे पनि एउटै कुरा बटारेर उल्टाएर- पल्टाएर-दोहोरिएर अपुग- अपुरो लेख्ने सिलसिला भएको छ । अनि यही कुरा बुझ्न नै साहित्य, कला र संस्कृतिको लयमा सुसेल्नु पर्नेरहेछ । साहित्य, कला र सङ्गीतले जीवनलाई सौन्दर्यबोध गराउँछन् । यदि कसैले यसको उल्लङ्घन गर्छ भने एक संस्कृतका महान् कवि- नीतिकार भर्तृहरिले ‘साहित्य, कला र सङ्गीतलाई मन नपराउने मान्छे पशु समान हो’ भनेजस्तै ठहरिन्छ । गाउँका केही भद्र र विद्वान्को लेखनशैलीमा तुक र मष्तिष्कमा चेतना हुन्छ र एउटा इतिहास निर्माण गर्छन् । साधारण मान्छेले यी कुराहरू मन पराएर लेखे पनि नलेखे पनि रहरले प्राण सञ्चार गर्ने धमिनीजस्तै हुन्छ । हुन त गाँउमा मात्र नभई जहीँतहीँ जस्तै ठाउँमा पनि यही कुरा लागू हुने हो र भैरहेको छ ।
मानिस सभ्यताको प्रारम्भदेखि नै सृष्टिको सबैभन्दा चेतनशील प्राणी बनेर अघि बढ्यो । नजिकिएर पनि आकर्षण नघट्ने गाउँको सौन्दर्यलाई अँगालको अनुभवको आनन्द सीमाहीन छ ।
म सम्झन्छु, गाउँमा मेरो बसाइ लगभग आठ वर्षसम्म रह्यो । आठ वर्षपछि आफूले रूदै- हाँस्दै बिताएको गाउँलाई चटक्क त्यहीँ छाडेर एउटा परिस्थितिवश विराटनगर आएर सहरिया परिवेशमा जरो गाडेँ । जहाँ मेरो अस्तित्वको पदचाप बन्यो । विकट तर सौन्दर्यको अलिखित मीठो सर्ग, पहाडको हाङपाङमा जन्मिए पनि त्यहाँ बिताएका केही सम्झनाका तरेलीहरू मनमा गुटमुट्याउँदै छ वर्षको उमेरमा नै मधेश झर्यौं । अनि धरानलाई आफ्नो वासस्थान बनायौँ । गाउँको कुरामा धरानमा बिताएको सुवासिलो प्रसङ्ग पनि प्रस्तुत गर्न चाहन्नँ । त्यसैले गाउँतिर नै केन्द्रित हुन्छु ।
विसं २०३० मा झापा दुर्गापुर भन्ने गाउँका जमिन्दारका छोरासँग मेरो बिहे भयो । त्यसपछि कर्मघरको जिम्मेवारी बहन गर्दै गाउँमा मेरो जीवन–चर्खा अघि घुम्नथाल्यो । सहरको जीवनशैलीमा हुर्किएकी म पहिले त गाउँमा निकै कठिन भयो । तर यो कठिनाइसँगै गाउँको वातावरण र परिवेशबाट आदत हुन पनि केही बेर लागेन ।
गाउँको जीवनशैलीबाट बानी भएर गाई- भैँसीको दूध दोहेर ल्याउनासाथ नतताई छान्नेले छानेर खानुको फाइदा अनि तताउँदातताउँदा बाक्लो भएको दूधको स्वाद अब कहाँ हुनु नि  ! आफैँले ठेकीमा जमाएको दहीलाई मदानीले घ्वार्रघुर्र गरेर पारेको मोही, नैनी घ्यूको ढल्लो तातो भातमा खाएको तृष्णा मात्रै त रहने भयो नि अब त । तताएर कनिकैकनिका परेको घ्यू खानु, खाई नसकेर बेच्नु र बाड्नुको संस्कार स्मृति मात्र भए ।
घरवरिपरिको जमिनमा फुल्नेफल्ने मौसमी अनेक फलफूल । आहा ! आँप, लिची, जामुन, बेल, रूखकटहर, भुइँकटहर, आरूबखडा, निबुवा, च्यूरी, दारिम अनि बाह्रैमास पसाउने जातजातका केरा केके हुन् केके ! अहिले भनेर साध्य नभएजस्तै त्यसवेला खाएर साध्य हुन्नथियो । अनि कतिकति त बस्तुभाउलाई ख्वाएको पनि स्मृतिमा अविरल बगिरहेछ उही समय बनेर । सागसब्जीहरू किन्न नपर्ने । आफ्नै कोठेबारीमा जाँगर चलाएर रोपेकाले पुग्ने । अझ बेच्नु पनि हुन्थ्यो सासूले कहिलेकहीँ त । हैन यो शरीरभित्रको नदेखिने मनमा कतिकति सम्झना थन्किन सक्ने रैछ भनेर मलाई अचम्म लागिरहेको छ ।
उप्रेतीहरू र नातागोताह कै विशेष बाहुल्य रहेको दुर्गापुर बजारबाट एक किलोमिटर दक्षिणदेखि लहरै दाजुभाइका घर । गाउँमा परिवारका अग्रज र अनुजसँगै आफैँले निर्बाध भोगेका कुनै कुरा त भन्न पनि पो अप्ठ्यारो लाग्ने रैछ । गाउँको जीवनमा प्रवेश गर्नुभन्दा अघि धरान सहरको जीवनशैलीले बाथरूम बन्द गरेर नुहाउने म पनि खुला आकाशमुनिको इनार वा कलमा नुहाएको क्षण सम्झन्छु । सडकछेउको इनारमा नुहाउँदा मान्यजनहरूको ओहोरदोहोरले केही दिन नुहाउनु पनि एउटा बहाना मात्र भयो । अर्थात् म सफासँग साबुन पखाल्ने यथार्थबाट टाढा नै भएँ । तर यसमा पनि बिस्तारै बानी लाग्यो । अनि अरूजस्तै शरीरको आधा भाग छोपेर नुहाउन थालेको त्यो सभ्यता गाउँको थियो कि थिएन थाह छैन तर घरघरमा यही परम्परा थियो । जाडो वा गर्मी महिना होस् बिहानै झिसमिसेमा उठेर इनारमा गएर नडराई नुहाउने चलन । प्रायः घरमा ट्वाइलेट पनि नहुने । हुँदा पनि घरबाट बाहिर अलग्गै अलि पर । मेरो कर्मघरमा पनि घरबाट अलग्गै सानो कोठेबारीको अर्को छेउमा थियो ट्वाइलेट । त्यो ट्वाइलेट जान सुरूमा त डर लाग्थो तर परेपछि डर पनि भाग्ने रैछ नि ! अनि ट्वाइलेट भित्र बाहिर प्रायः सर्पहरूको ओहोरदोहोर । बाफरे बाफ के भनौँ र त्यो सम्झँदा अहिले त झसङ्ग हुन्छ मन ।
भान्छा अलग्गै साने घर । बाहिरपट्टि भाँडा माझ्ने रछ्यान । माझ्ने भाँडा धेरै हुने देउरानीले खाना बनाउने जेठानीले भाडा माझ्ने । दाउरामा खाना बनाउँदा काला भएका भाँडा माझ्न यताउता सार्दा कालो मोसो पनि दलिन्थ्यो। पाले गरेर काम गरेको त्यो कर्मशील समयको माया पनि लाग्छ । हलीगोठाला र परिवारका सदस्य गरी ३५, ३६ जाना त्यसमाथि पनि पाहुना प्रायः नटुट्ने । बस्तुभाउ बाँध्ने ग्वाली, खोर र भकारी एक छेउमा । अर्थात् ग्वाली, खोर, भान्छा र भकारी घरबाट नै नजर पुराउन सकिने व्यवस्थाअनुसार बनाइएको । अचानक ग्वालीको चाङमाथि गनग्वाली सर्प (दुईतिर मुख भएको सर्प) एक छेउमा बस्न आउँदा त्यसलाई नित्य एक कचौरा दूध दिने गरेको सम्झन्छु । त्यो सर्प २ महिनापछि कहाँ गयो थाह भएन ।
अहिले त्यो घर नै छैन रे । घर नभएपछि ती वरिपरिका संरचना के हुनु। मेरा जीवनका डोब छाडेर मैले स्पर्श गरेको गाउँका अनुभवका अनुभूति कतिकति छन् लेखेर नसकिने । स्मृतिमा बग्छ गाउँ अलिखित सर्ग बनेर । अब त त्यो गाउँ अपरिचित नै भइसक्यो होला सायद । अझै पनि कहिलेकाहीँ विगतजसरी नै उमङ्गले रमाएको र पीडाले दुखेको त्यस गाउँको सपनामा देख्छु ।
गाउँले जीवन खान मज्जाले पाइने अनि जे काम गर्न पनि तयार हुनपर्ने । घाँस काट्न, गाई- भैँसी दुहुन, खेत रोप्न, बारी खन्न, गोडमेल गर्न, ढिकी कुट्न, जाँतो पिस्न, घर लिप्न, इनारबाट पानी भरेर गाग्रो कम्मरमा बोकेर ल्याउन अर्थात् अनगिन्ती केके कामका कुराहरू । शरीरको बल साँच्चै कति रहेछ भनेर छक्क पर्छु । बुहारीहरूको त हुर्मत नै हुने गाउँले जीवन । त्यति काम गर्दा पनि नथाक्ने बल पनि कहाँबाट कति आउने । उसो त काम सघाउने सहयोगीहरू पनि नभएका हैनन् । तर जति नै मान्छे भए नि उनीहरूका लागि अर्को नयाँ कामले खोजिरहने गाउँको अवस्था । दाहालबाजेका परिवार नै ग्वालीमा बस्ने । दाहालबाजेले बिहानै इनारबाट ३, ४ वटा गग्रेटामा राखेका ठूलाठूला घैँटामा पानी ल्याएर भर्ने । हलीले पनि वेलावेला ल्याउने र अभर पर्दा हामीले पनि ल्याउनुपर्ने। दाहालबाजे बरा ! बूढो भएर पनि बस्तुभाउ, बाख्रापाठा, गोठखोर सरसफाइ गर्नमा नै तल्लीन हुन्थे । उनकी बूढी घरआँगन बँडारकुँडार र घाँस काट्ने, गोडमेल गर्ने, कहिलेकाहीँ अलिअलि हामीलाई भान्छामा सघाउने गर्थिन्  ।
हिउँदका दिनमा घैलाडुब्बा जेठाजुकहाँ जादाँ बिरिङखोलाको घुँडामाथिसम्मको पानीमा ओहोरदोहोर गर्नु, दुर्गापुरमा लाग्ने आइतबारे हटिया जानु, स्वास्थ्यकर्मीको अभावमा परेकावेला गाउँमा इन्जेक्सन हान्नु, साइबाबाको फलोअर भएर उल्का गर्नु, रामलीला हेर्न परिवारका सदस्यसँग राती आठ- नौ बजे जानु, मेलामा जाँदा रोटेपिङ खेल्नु, टाढा कतै जानुपर्दा गोरूगाडामा चढेर जानु, ससुराको आँखा छल्न पाउँदा र फुर्सद हुँदा एकछिन भए नि उफ्रिएर रमाउनु आदि यसैमा खुसी लाग्थ्यो त्यस वेला । सायद १६, १७ वर्षको हुँदासम्म ममा बाल्यकालको धङधङी नै भएर हो कि- लाग्थ्यो जीवन भन्नु यत्ति र यस्तो मात्र हो । तर हैन रैछ । जीवनको अर्थ त पृथकपृथक हुने रैछ । कहाँदेखि कहाँसम्म पुगेर पनि अझै गन्तव्यमा पुग्न हिँडिरहनु पर्ने रैछ । सायद जीवन बुझ्ने चेतना नभएर होला । जब अलिअलि चेतनाको रङ चढ्यो अनि अमेरिकाका प्रसिद्ध निबन्धकार तथा कवि एमर्सनले ‘जीवनमा हरेक पल हार्छु तर जितका लागि जन्मेको ठान्छु’ भनेझैँ मैले पनि कतिपटक जीवन हारेर पनि जित्ने आशा नछाडी नयाँनयाँ सम्भावनाका साथ आफ्नो गन्तव्य आफैँ खोजिरहेछु, खोजिरहेकी छु ।


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन्)
lakshmiuprety@gmail.com