प्यालटक - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

प्यालटक

सुमन वर्षा

सुमन वर्षा

एक पोका हाँसोको फोहोरा बाटो छेवैको क्याफेबाट बाहिरियो, सेतो सर्ट, कालो पाइन्ट र रातो र कालो स्ट्र्याप टाई लगाएका एकहुल केटाहरू त्यही बाटो भएर अगाडि बढ्दैथिए । तिनीहरूका कानले त्यस हाँसोलाई पछ्यायो र उक्त क्याफेतिर आँखा दौडाए । चुरोटको धूवाँको गोलागोला चक्काहरू हावाको गतिमा आकाश छुन उद्दत माथिमाथि दौडिरहेका थिए । अब उनीहरूको आँखा र कान दुवै नै क्याफेमा केन्द्रित भए । उनीहरू नर्भस भएर हुनुपर्छ एकार्काको खुट्टामा अल्झिएर झन्डै अगाडि बाटोमा घोप्टिपरेर ढलेका तर कसोकसो आफूलाई सम्हाल्दै हतारहतार अगाडि बढे । बाटोछेवै सटेको ठूलो गेट अगाडि The Utopian College Of Engineering लेखेको साइनबोर्ड टलक्क टल्किएको थियो । ती हुल बाँधेर हिँडेका केटाहरू त्यही गेटबाट हतारिँदै भित्र छिरे । यस्तो लाग्थ्यो, उनीहरू त्यस हाँसोको पिछाबाट उन्मुक्ति चाहन्थे । गेटबाट भित्र छिरेपछि बल्ल उनीहरूले सन्चको लामो सास फेरेका थिए ।
लामो सर्को चुरोट तानेपछि घाँटीमा भरिएको धूवाँलाई बाटोतिर हुत्याइदिई अनि एक घुट्को कोकाकोला बोतलबाट स्वाट्ट पर्दै सोफिराले साथीहरूतिर फर्केर भनी- ‘किन होला है केटाहरू हामीलाई देखेर नर्भस हुनुपर्ने ! हामीले केही नै गर्ने जस्तो  !’
‘त्यही त ! त्यो रेडी र पिजल त हाम्रै क्लासका साथीहरू हुन् । हामीसँग बसेर चिसो पिए पनि त हुने । अझ हामीलाई देखेर कस्तो हतारहतार भागेको है । आखिर घन्टी लाग्न अरु २० मिनेट बाँकी छ ।’ ओमिमाले नाडीमा लगाएको घडी हेर्दै सोफिराको कुरामा सही थपी ।
अक्रेला र निकीले पनि होमा हो मिलाए । ‘त्यस्ता काबाडीहरू त हामीसँग नबसेकै राम्रो ।’ चिसो कोकको फिँज निलेपछि न्याम्जोङले पनि आफ्नो कुरा राखेर मन हल्का बनाई ।
सोफिराले चुरोटको आन्तिम सर्को तानेपछि टेबलमा राखेको एस्ट्रेमा बलिरहेको उक्त ठुटो उधोमुन्टो पारेर किचिपिची मिचेर निभाई र नाडीमा बाँधेको घडीमा हेरी २ बजेर २८ मिनेट गएको थियो । ‘क्लास सुरुहुने वेला भयो जाऊँ’ भन्दै सोफिरा कुर्सीबाट जुरुक्क उठी । ‘भरे क्लास सकिएपछि यहीँ चिया पिएर छु्ट्टिऊँला’, न्याम्जोङले प्रस्ताब राख्दै पाइन्टको पछाडिको खल्तीबाट पैसा झिकेर काउन्टरमा बिल तिरी र पाँचैजना कलेजको गेटबाट भित्र छिरे ।
पृष्ठभूमिमा घन्टीको लगातार आवाज आइरहेको थियो । लिफ्टबाट ८औँ तल्ला उक्लिएपछि लामो प्यासेज हुँदै दाहिनेपट्टिको बाटोतिरबाट देखिने दोस्रो कोठामा सोफिरा, ओमिमा र निकी प्रवेश गरे अनि अक्रिना र न्याम्जोङ त्यसैको छेउको पहिलो कोठामा प्रवेश गरे । जाफरिन म्याम अघिनै क्लासमा पुगिसकेकी रहिछन् । उनी कुर्सीमा बसेर टेबलमा राखिएको ल्यापटप खोलेर प्रोजेक्टर कनेक्ट गर्नमा तल्लीन थिइन् । क्लासमा सबै विद्यार्थीहरूआ- आफ्नो ल्यापटप, ट्याब, आइप्याडहरू खोल्न व्यस्त देखिन्थे।
म्यामले प्रोजेक्टर फिक्स्ड गरेपछि टाउको उचालेर विद्यार्थीतिर हेरिन् । विद्यार्थीहरू म्यामको खस्ने पहिलो वाक्यको पर्खाइमा चुपचाप थिए । म्यामले क्लास सुरु गरिन्- ‘…अब देश बनाउने जिम्मा तिमीहरू याने कि सिभिल इन्जिनियरहरूकै हातमा छ बुझ्यौ ! कमिङ् फेब्रुअरी मन्थमा तिमीहरूको फाइनल सेमिस्टरको योग्यता परीक्षण हुने स्क्यजुयल तय भयो । त्यसैले सबैले तयारी गर्नू । जनवरीको लास्ट व्कि हामी सबै झापा जानुपर्छ । तिमीहरूको परीक्षाको मूल्याङ्कन त्यही प्रोजेक्ट इम्प्लिमेन्ट सक्सेस बेसमा हुन्छ । त्यहाँ गएर तिमीहरूले बिरिङ खोलामा ड्याम निर्माणको प्रोजेक्ट तयार गर्ने हो । हामीले क्वालिफाइड जनशक्ति र योजनाको खाका सरकारलाई दिन्छौँ, सरकारले हाम्रो योजनाअनुरूप लगानी गर्छ र हामी उक्त कार्यमा सरकारको सहयोगीको भूमिकामा रहनेछौ ।’ म्यामको लेक्चरको सिलसिला चलिरह्यो, म्याम बोलिरहँदा उनको हात वेलावेला कपालमा पुगिरहन्थ्यो ।
‘अब तिमीहरू अहिलेदेखि त्यही गृहकार्यमा जुटनु ताकि यस्तो आइडल प्रोजेक्ट तयार होस् जसले बिरिङवरिपरि पर्ने लक्ष्मीपुर, फूलबारी, पान्डापुर, चारपाने, बैँसाबारी, घैलाडुब्बा हुँदै केचनासम्मको एरिया तिमीहरूले तयार गरेको त्यही ड्याम–निर्माणको कन्सेप्टबाट लाभान्वित हुन सकून् । अब हाम्रो देशमा हरित क्रान्ति ल्याउनुपर्छ, सिञ्चाइको सुविधा भएपछि वर्षको तीन बालीसम्म लगाउन सकिन्छ। जसले गर्दा हाम्रो देशमा उत्पादन बढ्छ अनि हाम्रो देशको परनिर्भरता घटछ । फलस्वरूप देश स्वतःस्फूर्त आर्थिक समृद्धितर्फ उन्मुख हुन्छ ।’ म्याम बोल्दा ओठबाट खसेका शब्दहरू ग्यालेक्सीबाट ताराहरू फुत्तफुत्त खसिरहेजस्तो भान हुन्थ्यो ।
म्यामले यति वर्णन गरेपछि अघि ल्यापटपमा जोडेको प्रोजेक्टरलाई अन गरिन् । नीलो लाइटको फक्स सेतो भित्तामा टलक्क टल्कियो । यस्तो चकमन्न वातावरणमा एक्कासि बलेको लाइटको फक्सले विद्यार्थीहरूको आँखा तिरमिर्यायो । उनीहरूले आँखा चिम्म गरे अनि पुनः खोले । उनीहरूको आँखाले त्यही लाइटलाई पछ्याइरह्यो ।
‘तिमीहरूले गुगलमा इन्फर्मेसन सर्च गर्यौ ? के भयो विश्वमा हिजो नयाँ कुरा ?’ म्यामले प्रश्न सोधिन् । सोफिराले आफ्नो ल्यापटपको स्क्रिनतिर हेरी रोकेटको पिक्चर डिस्प्ले भैरहेको थियो । उसले म्यामको आशय बुझी सायद र भनी- ‘हिजो मार्समा पहिलो मान्छे ल्यान्ड गर्यो, उनको नाम एनी रोवा हो, मार्समा सेटलाइट पठाएको ५० वर्षपछि हिजो त्यहाँ मान्छे पुग्न सम्भव भएको थियो ।’
‘एकदम ठिक हो ।’ म्यामले सोफिराको कुरामा थप्दै भनिन्- ‘जसरी चन्द्रमामा पुग्ने पहिलो व्यक्ति निल आम्र्सस्ट्रङ् थिए, त्यसरी नै एनी रोवा मङ्गल ग्रह अर्थात्मार्समा पुग्ने पहिलो व्यक्ति हुन् । इलेन मक्स बूढो भएर काम गर्न नसक्ने भएपछि अमेरिकाका एक धनी कोक्क परिवारका तीन दिदीबहिनीले ‘स्पेस एक्स’ को स्वामित्व ग्रहण गरेका थिए । ‘स्पेस एक्स’ मङ्गल ग्रहमा मानवबस्ती बसाउन सकिन्छ कि सकिँदैन भन्ने कुराउपर अनुसन्धान गर्नइलेन मक्स भन्ने एक अमेरिकन नागरिकद्वारा खोलिएको विशाल बहुराष्ट्रिय कम्पनी हो, पछि ती दिदीबहिनीले अमेरिकाको नासा अनुसन्धान केन्द्रसँग कोलाबोरेसन गरेर मङ्गल ग्रहमा मानवबस्ती बसाउन सकिने सम्भावनाको अध्ययन गर्न धेरैपटक सेटलाइट पठाए । अन्ततः हिजो मान्छे स्वयम् नै पुग्न सफल भयो । अबको ५० वर्षपछि मङ्गल ग्रहमा मानवबस्ती बसाल्नका निम्ति पनि यस ग्रहलाई पृथ्वीको विकल्पको रूपमा खोजी गरिएको हो ।’
म्यामले त्यसो भन्दैगर्दा सबै विद्यार्थीमा एउटा कौतुहल छाएको थियो । उनीहरू उत्साहित भएर म्यामका लेक्चरलाई थाती राखेर ल्यापटपबाट विस्तृतरूपमा दिइएको जानकारीलाई भिजुअल्ली हेर्नथाले । उता प्रोजेक्टरको भित्तामा पनि मार्स पुगेको रकेटका पिक्चरहरू डिस्प्ले भैरहेका थिए ।
२० जनाको समूह बनाएर विद्यार्थीहरूलाई एउटा क्लासमा राखिएको थियो । सिभिल इन्जिनियर पढ्नेहरूमा महिलाकै बाहुल्य थियो । फिल्ड जान घरबाट अनुमति दिनुहुन्छ कि दिनुहुन्न सोधेर मात्र निधो दिनसक्ने भनेर पिजल र रेडीले संयुक्त स्वरमा म्यामलाई भन्दै गर्दा क्लासमा हाँसोको अर्को फोहोरा खसेकोथियो ।
उता अक्रिना र न्याम्जोङ पनि क्लास लिइरहेका थिए । ब्होलिर म्यामले अल्गोरिदम पढाउँदै थिइन् । सेटअप रुलहरू सम्झन गाह्रो भैरहेको थियो न्याम्जोङलाई । म्यामले उदाहरण दिँदै हातको हाउभाउ कटाक्ष गर्दै भन्न थालिन्- ‘हाम्रो हजुरआमा, हजुरबुबाको पालामा फेसबुक क्रिएट भएको हो, हाम्रो जेनेरेसनमा आइपुग्दा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले एकार्कालाई जुनसुकै ठाउँमा भएपनि आफ्नै अगाडि भएको जस्तै देख्नसक्ने भएका छौँ । अहिलेको संसार झन् साँघुरिँदै छ । अबको ५० वर्षपछाडि मङ्गल ग्रहमा मानवबस्ती बस्न थालेपछि कुन टेक्नोलोजी डेभेलप हुने हो भन्नै गाह्रो छ । तिमीहरूको नातिपुस्ता पक्कै पनि मार्समा बसोबास गरिरहेका हुनेछन् । ’म्यामले त्यसो भन्दैगर्दा उनीहरू निराश भएका थिए । उनीहरूकै समयमा मार्समा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने चाहनाले आकुल पर्यो । तर म्यामको लेक्चर सुन्नुको अर्को विकल्प पनि त थिएन तत्काल उनीहरूसँग ।
‘तिमीहरूले इतिहासमा पढेको होला, कोरोना कहरको महामारी । यसले धेरै मानिसको ज्यान लिएको थियो भन्ने कुरा कत्तिको सम्झना छ ? हो त्यो वेला मान्छेहरू घरमा लकडाउनको अवस्थामा थिए, मान्छेहरूलाई घर बाहिर निस्कन प्रतिवन्धित भएको वेलादेखि नै हो भर्चुअल टुलको व्यापक विकास भएको । अब तिमीहरूको जेनेरेसनले अझै परिमार्जित भर्चुअल टुलको निर्माण गर्नतिर लाग्नुपर्छ । स्वाथ्य परीक्षण गर्न मिल्ने एप्सदेखि डाइरेक्ट अर्थ टु मार्सबीच नै सिधा कनेक्टिभिटी गर्न पनि मिल्ने टेक्नोलोजीहरू क्रिएट गर्नुपर्छ । मानिसको भावना बुझ्नसक्ने रोबोर्टको सिपियु कोडिङ गर्ने कार्यको थालनी भैसकेको छ । त्यसमा यही अल्गोरिदमका रुलहरूले कम्पुटरमा सिस्टमेटिकल्ली फङ्ग्सन गर्छ ।
न्याम्जोङ र अक्रिनालाई क्लास लिन भन्दा पनि कति वेला क्लास सकिन्छ भन्ने लाग्दैथियो । उनीहरू चिया पिउने बहानामा हुने भेटघाटको समय सम्झेर रमाउँदै क्लासमा एकार्कालाई हेरेर आँखा सन्काउँदै थिए ।
सायद यस्तै नै भइरहेको थियो सोफिरा, ओमिमा र निकिलाई पनि । अन्तिम क्लास सकिएपछि सबै साथीहरू एकएक गर्दै त्यही क्याफेमा भेला भए । सोफिराले ब्यागबाट ट्रिपल एक्स चुरोटको प्याकेट निकाली अनि बट्टाबाट एउटा अर्को पनि निकालेर न्याम्जोङलाई दिई र आफूले चुरोटलाई ओठमा च्यापी । सर्टको अगाडि खल्तीमा पेनजस्तै सिउरिएको लाइटर निकाली र प्रेस गरी, आगो बल्यो, पहिले न्याम्जोङको चुरोट सल्काउन उसको ओठमा च्यापिरखेको चुरोटतिर हात बढाई अनि लामो लामो सास तानेर आफ्नो चुरोट सल्काई र मुखभरि भरिएको धूवाँलाई बाटोतिर हावामा फु…गरेर स्वतन्त्र विचरण गर्न छोडिदिई ।
सोफिराको ठूलाठूला काला आँखाले एकतमास बाटोतिर हेरिरह्यो । सायद ऊ गहिरो चिन्तनमा थिई । बाटोबाट नागबेली परेर क्याफेमा छिरेको हावाले उसको कुमसम्म झरेको खरानी रङको सिल्की कपाल उडेर हल्का गुलाबी गालासम्म फैलिएर आँखा पनि छोप्न पुग्यो । उसका रोबोटिक हातले आँखाबाट कपाल हटाई र पुन बाटोतिरै हेरिरही ।
रेडी र पिजल नेहुमको हातमा भएको पामटपलाई एकै ठाउँमा गुजुमुज्ज परेर तीनैजना खै के हेर्दै अगाडि बढ्दैथिए । सोफिराको आँखा तिनीहरूमा पर्यो- ‘ओ नेहुम आऊ न हौ एकछिन चिया पिएर जाऊँ, के सारो लजाएको हामीसँग ! हामीले तिमीहरूलाई कहिले जिस्काएका छौँ र ? पहिले सुरुमा तिमीलाई फेमिलियर गराउन यसो कहिलेकाहीँ… द्याट वाज पास्ट नि यार, कम एन्ड लेट्स ह्याब टि टुगेदर ।’
वास्तवमा त नेहुमलाई बहाना पो चाहिएको थियो । उसलाई बोलाइदिए पनि हुने भन्ने नै लागेको थियो । नेहुमसँग अक्रिता रिसाएकी थिई । उनीहरू ब्याइफ्रेन्ड गर्लफ्रेन्ड थिए । जुन कुराको सोफिरा पूरापूरा जानकार थिई । नेहुम आफू सच्चिएको र अब आइन्दा उनको इच्छाविपरीत केही नगर्ने भनेर कसम पनि खाइसकेको थियो यद्यपि अक्रिता पहिलेकै जस्तो बोलेकी थिइन । त्यसैले ऊ अक्रिताको नजिक बहाना बनाएर जान खोजिरहेको थियो । त्यसैले नेहुमलाई यो बसाइ निक्कै सार्थक र प्रिय लागिरहेको थियो ।
‘ह्या म्याम पनि बिरिङमा ड्याम बनाउने कुरा गर्नुहुन्छ । मलाई त मार्समा बस्ती बसाउनका लागि आवश्यक पूर्वाधारको तयारी र भोलिका दिनहरूमा त्यहाँ कन्ट्रक्सन गर्नका लागि म्याप्पिङ् डिजाइनिङ् गर्ने कुरा पो गर्नुहुन्छ होला भन्ने लागेको त !’ सोफिराले नाक खुम्चाउँदै चियाको सिपसँगै आफ्नो कुरा राखी ।
‘अलिक ओल्ड फेसन म्यामहरू पर्नुभयो । हाम्रो क्लासमा पनि म्याम त भर्चुअल टेक्नोलोजीहरू पो डिजाइन गर्नुपर्छ भन्नुहुन्छ । मलाई त मानिसको भावना बुझ्नसक्ने रोबोर्टको निर्माण गर्नुपर्छ भन्ने पो लाग्दैछ । मान्छेसँग नो टच, टिचर पनि रोबोटिक…।’अक्रिनाले आफ्नो असन्तुष्टि पोखी । नेहुमलाई अक्रिनाले मान्छेसँग ‘नो टच’ भन्दा नरमाइलो लागेको थियो तर ऊ केही बोलेन ।
रेडीलाई केटीहरूको कुरा सुनेर उकुसमुकुस भैरहेको थियो अनि ऊ प्वाक्क बोल्यो- ‘तिमीहरू यति परको कुरा कसरी देख्छौ र भन्छौ हौ ! तिमीहरूको दृष्टिकोणलाई त मान्नुपर्छ यार, तिमीहरूको यो सार्थक बहसको एक हिस्सा बन्न पाएकोमा खुसी लागेको छ ।’र केटीहरूलाई बुस्ट अप गर्यो । नेहुम रेडीले उसको पनि मनकै कुरा राखिदिएकोमा खुसी भयो ।
नेहुम अक्रिताको अनुहारमा पुलुकपुलुक हेरिरहेको थियो । उसले फेरि पनि केही कुरा राखोस् ताकि ऊ बोल्दा उसको ओठ चलोस् । बोल्दैपिच्छे बदलिने अनुहारको हाउभाउ हेर्न ऊ ब्याकुल भैरहेको थियो। नेहुम अक्रिताको त्यो गुलाबी ओठको बिग फ्यान थियो । अक्रिता केही नबोलेपनि उसले अक्रितालाई नजानिदो पाराले हेर्न भने छोडेन ।
‘दुई हप्ताअगाडि हाम्रो देशको नास्टले पनि रकेट लन्च गरेको थियो । त्यसले अहिलेसम्म मङ्गल ग्रहमा अनुसन्धान गरिरहेको छ भन्ने सकारात्मक कुरा समाचारमा बारम्बार आइरहेको छ । अब हामीले हाम्रो ब्यचलर अफ इन्जिनियरिङ् सकेपछि एउटा स्टार्ट अप सुरु गर्नुपर्छ, मङ्गल ग्रहमा नयाँ बस्ती बसाउनका लागि आवश्यक डिजाइनको कोडिङ र डिकोडिङ् गर्ने नयाँ सफ्टवेयर डेभलप गरेर त्यसका लागि प्रोजेक्ट तयार गर्छ । मार्समा इन्फ्रास्ट्रक्चर कन्ट्रक्सन गर्नका लागि रोबोटहरूको निर्माण गर्न ल्याब बनाउन थाल्नुपर्छ। जसका लागि आजैदेखि हामीले सोच्न थालिहाल्नुपर्छ । अब त्यसको लागि हामीले नास्टसंँ सहकार्यचाहिँ गर्नुपर्छ’ भनेर निकीले प्रस्ताव राखी ।
‘अब हाम्रो जेनेरेसनले टेलिपोर्टेसन गर्ने मसिनको विकास गरेर डाइरेक्ट मार्समा विदिन सेकेन्ड पुग्नसकिने टेक्नोलोजीको निर्माण गर्नेबारेमा सोच्न थाल्नुचाहिँ ठीक होला । माइक्रोचिप्सहरूलाई रोबोटमा फिक्स गरेर मंगल ग्रह र पृथ्वीको सूचना प्रविधिलाई चुस्त बनाउन पनि सकिन्छ भन्ने लाग्छ मलाई । सोफिराले निकीको कुरामा समर्थन जनाउँदै आफ्नो आइडिया सेयर गरी । ठीकै छ भरे राती नाइन टु टेन प्यालटकमा मिटिङ गरौँ , सबैले आफ्नो धारणा राखौँ र अरूका कुरा सुनौं , हुन्न ? उनको प्रस्तावउपर सबै साथीको समर्थन रह्यो । सोफिराले नेहुम र रेडीको भावना बुझेर तिमीहरूपनि हाम्रो प्रोजेक्टमा संलग्न हुन चाहन्छौ भने स्वागत छ भनेर उनीहरूको मन राखिदिई ।
गफको सिलसिला त्यहीँ रोकिने छाँट थिएन । सूर्य पश्चिमतर्फको डाँडामा लुकामारी खेल्न जान हतारिँदै थियो । त्यस्तै हतार न्याम्जोङलाई पनि लागेको थियो । त्यसैले उसले घडी हेर्दै घर जान साथीहरूको ध्यान आकर्षण गराई- ‘मलाई त पापाले खाना कुरिरहनु हुन्छ, ढिला गर्यो भने उहाँले निको मान्नु हुन्न । त्यसैले अब जाऔँ ।’ उनको कुरामा सबैले सहमति जनाए । सोफिरा कुर्सीबाट उठेर काउन्टरमा गई र पैसा तिरी ।
सेकुरिटी गार्ड गेटभित्र कोठाबाटै सेकुरिटी सिस्टम अपरेट गरिरहेको थियो । अर्को सिफ्ट क्लासहरूसुरु भैसकेको अवस्था थियो । कलेजको कम्पाउन्डभित्र नै थिए सोफिराको गाडी र अक्रिताको बाइक । सोफिराको गाडी पार्किङ्को चार्जिङ् स्टेसनमा चार्ज भैरहेको थियो । ऊ गाडी झिक्न त्यतैतिर मोडिई ।
अक्रिता आफ्नो बाइक भएतिर गई । उसको रोयल डब्लुके बाइकको आगाडिपट्टि ह्यान्डलको साइडमा अट्याच भएको सोलारको सेतो पातालाई फोल्ड गरेर सानो बनाई ।
के खोज्छस् कानो आँखो भनेझैँ भयो नेहुमलाई । नेहुम सोफिराको गाडीमा अटेन उसले अक्रितासँग नै बाइकमै जानपर्ने भयो । हुन त आक्रिताले नेहुमको व्यवहार मन नपरेको हो तर माया गर्न भने छाडेकी थिइन । नेहुम अक्रिताको बाइकमा गएपछि अरू बाँकी सबै साथीलाई सोफिराले गाडीमा लगेर आ- आफ्नो घरको लाइनको रोडमा छोडिदिने भई ।
अक्रिताले रोयल डब्लुके बाइक स्टार्ट गरी । यो बाइक रोयल इन्फिल्डको २४औँ भर्जन थियो । बाइक स्टार्ट भएपछि नेहुम उसको दुईवटा गोडा फटाएर पछाडि चढ्न खोज्दै मात्र थियो अक्रिता ऊतिर फर्केर बोली- ‘आज फेरि मेरो ब्रेस्टतिर हात ल्याउने हैन नि, मैले बाइक चलाइरहेको बेला !तिमीलाई थाहा छ, त्यतिवेला मेरा हातहरू बाइकको ह्यान्डल समाउनलाई इन्गेज भएका हुन्छन् । यस्तो गलत कुरा फेरि दोहोर्यायौ भने म त्यहीँ रोकेर तिमीलाई उतार्छु बुझ्यौ !’
‘नेभर अगेन, आइ ह्याभ अलरेडी प्रमिस्ड यु !’ नेहुमले आफ्नो गल्तीलाई पहिले नै स्वीकारिसकेको थियो । बाटोभरि बाइकमा नेहुम बडो सतर्क भएर बसेको थियो ।
माथि आकाश आज निक्कै गाडा नीलो देखिएको थियो । साँझको पहेँलो उज्यालोमा बाटोको दुवैपट्टि देखिएका ठूलाठूला रोकेटका चित्र बोकेका पोस्टरहरूले उनीहरूको सपनामा पङ्खा लगाइरहेका थिए । नास्टले भर्खरै लन्च गरेको रकेटले अभूतपूर्व सफलता पाएकाले उक्त पोस्टरहरू बाटाभरि नै टाढाटाढासम्म लहरै झुन्ड्याइका थिए । ती पोस्टरहरूलाई हावाले फरफराइरहेको थियो । अक्रिता तिनै पोस्टरहरूमा घरिघरि आँखा दौडाइरहेकी थिई । त्यस क्षण अक्रितालाई नेहुमको साथले खुबै आनन्द दिइरहेको थियो । उसले किन हो नेहुमको घरैछेउ पुगिसकेको बाइकका टाएर फनक्क घुमाई र फेरि त्यही बाटोलाई अर्को फन्का लगाई अनि मात्र नेहुमलाई उसको घरअगाडि बाटोमा छोडिदिएकी थिई । नेहुमलाई छोडेर घर फर्किंदा अक्रिताको आँखाभरि तिनै पोस्टरहरू फरफराइरहेका थिए । गमले ठाउँ छोडेका पोस्टरहरू हावाको गतिसँगै कहिले आफैँलाई छोपिदिन्थे त कहिले छाती फुकाएर ठिङ्ग उभिदिन्थे । हावा भने आफ्नो गतिमा निश्चिन्त बहिरन्थ्यो निरन्तर समयको प्रवाहसँगै ।


(वर्षा गद्य तथा पद्य विधामा समान हात चलाउने स्रष्टा हुन्)
sumanbarsha.np@gmail.com