समयचक्रमा खेलहरू अनन्त छन् । - Aksharang
  • २०७७ कातिर्क १३ बिहीबार

समयचक्रमा खेलहरू अनन्त छन् ।

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

समयचक्र सधैँ एक ठाउँ एकनास बस्दैन ।  त्यो त निरन्तर चलिरहन्छ । पला-पला, सेकेन्ड-सेकेन्ड, मिनेट-मिनेट हुँदै समय घन्टामा र घन्टा दिन-रातमा टुँगिन्छ । समयचक्रको निरन्तर फन्कोमा कहिले फूल फुल्छ, कहिले फूल ओइलाउँछ । कहिले नदी बग्छ, कहिले सुक्छ । कहिले पानी पर्छ, कहिले खडेरी । कहिले हावाहुरी र कहिले शान्त, स्निग्ध वातावरण । समय त्यस्तो सोचेजस्तो पनि छैन, र हामीले सोच्तैनसोचेको जस्तो पनि छैन । त्यो यस्तै छ, यस्तै हुन्छ भनेर ठ्याक्क निक्र्योल काट्न पनि आजसम्म कसैले सकेको छैन । मानिसले भन्ने गरेको दीनदशा लाग्नु भनेको पनि सायद यही हो । जे सोच्यो त्यो हुँदैन र जुन नसोचेको हो त्यही भइदियो भने त्यसवेला पुर्पुरोमा हात अड्याउनुबाहेक के गर्न सकिन्छ र ? समयसँग विश्वास नगरी पनि बाँच्न नसकिने, विश्वास गर्दा पनि घरिघरि अविश्वासको सङ्कट सामना गरिरहनुपर्ने । कहिले वर्षादको आशा ग¥यो, खडेरी चम्किने । कहिले स्वच्छ, सफा आकाश र झलमल्ल घाम लागेको दिनको आशा गर्यो- असिना पानी वर्षने । निर्भिक र निश्चित सुरक्षासाथ उभिएकै वेला कहिले भुइँचालो जाने, कहिले ज्वालामुखी फुट्ने । कहिले हिमपात हुने, कहिले आँधीहुरी चल्ने ।
लेख्दालेख्दै कहाँ सुनेको हो या पढेको एउटा प्रसङ्ग सम्झेँ- कुनै बिरामीलाई परीक्षण गर्दै डाक्टरले जब बिरामीको आफन्तलाई भन्छ- ‘खास त्यस्तो केही छैन, धन्दा नमान्नुहोस् म बचाउँछु ।’ डाक्टरको यस आश्वासनबाट बिरामीका आफन्तहरू जब ढुक्क भइरहेका हुन्छन्, त्यसवेला काल अर्थात् यमराज हाँस्दै सोच्छ- यो डाक्टर जो कति वेला मर्छ, आफ्नै कालका बारेमा थाहा छैन- सजिलै अर्कालाई वचाउँछु भन्छ । ती बिरामीका आफन्तहरू डाक्टरको आश्वासनमा कति विश्वस्त छन् । हरे  ! जन्माउने र मार्ने ता मै हुँ, मबाहेक को कति वेला मर्छ, कसले भन्न सक्छ ?’
अर्को पनि प्रसँग छ- बाबुको सम्पत्तिको अंशबन्डामा जब दाजुभाइहरू आपसमा झगडा गर्दछन् र उफ्रीउफ्री कराउँछन्- यो खेत मेरो हो,यो बारी मेरो हो । त्यसवेला पृथ्वी हाँस्छिन् र सोच्छिन्- आजसम्म मलाई सबैले मेरो भने, तर म कसैको भइनँ । म यहीँ छु, निरन्तर सृष्टिदेखि यहीँ छु-पुस्तापुस्तादेखि मलाई मेरो भन्नेहरू आए, गए- तर म कसैको भइनँ । अहिले फेरि यिनीहरू मलाई आफ्नो बनाउन खोजिरहेछन् ।’
‘म’ भन्दा काल हाँस्छ र ‘मेरो’ भन्दा पृथ्वी हाँस्छिन् । ‘म’ भन्नु अज्ञानता, ‘मेरा’ भन्नु अज्ञानता । तैपनि मानिस ‘म’ र ‘मेरो’ को आत्मरतिमा आजसम्म दङ्ग छ ।  मानवसभ्यताको आरम्भदेखि अहिलेसम्मको यस आत्मरतिमा बाँच्दाबाँच्दा यति अभ्यस्त भैसक्यो कि यसबाट मुक्त हुन सायद उसलाई डर लाग्छ । यो नभएर बाँच्न सायद उसलाई घोर असुरक्षा अनुभव हुन्छ । काल र पृथ्वीका कहिल्यै कोही आफ्ना भएनन् । तर अहिलेसम्म सबैले आफ्नै भने । राजादेखि रङ्कसम्म सबैले आफ्नै भएको भ्रम पाले ।
कति राजा आए, कति गए । कति रङ्क आए, विलाए । समयचक्रको सूक्ष्म क्षणभन्दा उनीहरू केही हुन सकेनन् भन्ने कुरा एउटा हो, भइरहेको र भएदिने कुरा अर्कै हो । चक्रवर्ती दुर्योधनको पनि भएन,  इच्छा मृत्यु भीष्मको पनि भएन,  पृथ्वी तौलने रावणको पनि भएन । भएन, कसैको भएन । काल र पृथ्वी आफ्नो बनाउने विजय अभियानमा लागेका आफूलाई कालजयी ठान्नेहरू जसले मानिसहरूलाई मुला काटेझैँ काटे, सिन्की खाँदेझैँ खाँदे । इतिहासका बीभत्स नरसंहारक सिकन्दर, चङ्गेज, हिटलर, मुसोलिनी, दादा इदी अमिन, खुमेनी, स्टालिन, ख्रुस्चेव आदि कसैको भएनन् । कुनै जातिको भएनन् । कुनै इतिहासको भएनन् । भएनन्, कुनै सुनिश्चित भूगोलको भएनन् ।
समयचक्रमा एक समय, एक वेला, एक मौसम कसैको होला, तर सधैँ कोही कसैको हुँदैन, कसैको बन्दैन । यो हुँदाहुँदै, यो जान्दाजान्दै, विगत त्यति पारदर्शी भएर उभिँदाउभिँदै पनि आश्चर्य- सबै ‘म’ र ‘मेरो’ आत्मरतिमा चुर्लुम्म डुबेका छन् । जुन कुरो आफ्नो हुँदै होइन, त्यसलाई आफ्नो ठानिरहेछन् । जुन कुरो केही गर्दा आफ्नो बन्दैन- त्यसैलाई आफ्नो बनाउन रातदिन एक भएर लागेका छन् । जीवनलाई निर्थक प्रयासमा जोतिरहेछन्, थाहा छैन त्यस्तो प्रयासबाट सार्थक अनुभव र अनुभूति कहिले होला ? कहिले मानिसले आफ्नो हैसियत, शक्ति र कत्र्तव्य चिन्ला ? सायद त्यसैले होला, बाहिरबाहिर हेर्दा ऊ जति प्रफुुल्लित, उत्साही र निरन्तर कर्मशील देखिन्छ, तर भित्रभित्रै अन्यौल, अनिश्चित र असुरक्षित त्रासले सधैँ भयभीत छ । बाँच्नुको प्रत्येक मान्छेभित्र आफ्नै घाउहरू छन् । त्यसलाई सुमसुम्याउँदै, कन्याउँदै नजानिदो गरी सधैँभरि आफ्नो मान्छे हुनुको नियति भोग्न बाध्य छ ।