अनलाइनकक्षा - Aksharang
  • २०७७ फागुन १७ सोमबार

अनलाइनकक्षा

रञ्जु पाण्डे

रञ्जु पाण्डे

आज कमलाको मनले नराम्ररी हरेश खाएको छ- एउटा पराजित खेलाडीको जस्तो । जीवनको खेलमा धेरैपटक हारिसकेको उनको मन आज भने उठ्नै नसक्ने गरी थलिएको छ, त्यसैगरी जसरी ठूलो रोगको शङ्काले रगत जाँच गरेको रिपोर्ट पर्खंदाको मनस्थिति बोकेको एउटा रोगीको हुन्छ । यस्तो छटपटी त उनलाई आफ्नो पाठेघरको क्यान्सरले पीडित हुँदा पनि भएको थिएन । न उनलाई आलो सुत्केरी अवस्थामा छोडीबेपत्ता हुने आफ्नो लोग्नेलाई सम्झेर नै हुनेगथ्र्यो ।

‘एक्काइस दिनकी मात्र थिइस् । तँलाई तेरो बाउले छोडेर गएको आज सोह्र वर्ष भयो, अत्तोपत्तो छैन । घरबेटी दिदीले दया गरेर त्यसवेला बास नदिएको भए आज सडकमा मागेर बसेका हुन्थेम् हामी । रातदिन तेरै लागि भनेर अर्काको जुठो भाँडा माझिरहेँ । त्यसो गर्दागर्दा कुन वेला ज्यानमा क्यान्सर भन्ने शत्रु छिरेछ पत्तै भएन । घरबेटीकै बुहारीले अस्पताल लगेर जाँच गराउँदा अर्को महारोग देखियो । त्यतिवेला पनि मलाई यति दुखेको थिएन होला, जति आज दुखेको छ । यसपल्ट पाठेघर अनि रगतमा होइन, मुटुमै घाउ परेको छ । ढुकढुक गर्ने मुटुमा चसक्कचसक्क बिझेको छ।’

सोह्र वर्षमा भर्खर टेकेकी उनकी छोरी रोशनी, आमाकी उज्याली, आमाकी ओखती उधोमुन्टो लगाएर आमाको कुरा सुनिरहेकी छ अथवा छैन ऊ नै जानोस् । तर सशरीर आमा अगाडि नै छ । यसो त यो पहिलोपटक होइन उसले सुनेकी आमाको यो कथा ।

‘के गरौँ त म त्यो तिम्रो कथा- व्यथामा मैले दिएको भाग या मैले पाएको अंशलाई  ? कि म अब नहुर्किऊँ ? के म ठूली नहुँ  ? वीज तिमीले फुटायौ । के म कहिल्यै अब नफक्रिनु त ?’  ऊ मनमनै भन्दी होली ।

यद्यपि दृश्यमा ऊ केवल आमालाई सुनिरहेकी छ, भरिपूर्ण अनुहारका उनका दुई मतालु आँखा शून्यमा टोलाइरहेका छन् । आमाको कथा सुनेर या बाबुको बेइमानी सम्झेर या अरू नै केही छ उसको मनभित्र, जो बिस्तारै-बिस्तारै छोरी बाट ’रोशनी’ होइन ‘आफू’ पनि बन्दैछ । आमा भने अझै निथार्दै छिन् आफूभित्र अन्तरकुन्तरमा बसेका कुण्ठा, सपना अनि मोह ।

‘मैले खाइनखाई दुःख गरेर तँलाई यतिसम्म बनाएँ । आफ्नो दुःख छोरीले बुझ्ने होली,  कुनै दिन आफूलाई हेर्ली भन्ने आसै आसमा भगुवा लोग्नेलाई पर्खेर बस्दा पनि यी आँखामा कहिल्यै आँसु ल्याइनँ, बरु सुटुक्क पिएर प्यास बुझाएँ अनि त्यसैलाई दूध बनाएर तलाई चुसाएर हुर्काएँ ।’

आफ्नो सपनाको घर आफ्नै अगाडि चकनाचुर भएर गल्र्याम्मढल्न मात्र बाँकी भएजस्तो भा’को छ कमलालाई । माथिबाट खसिसकेको तर भुइँ नछोएको अवस्थाजस्तो भुइँमा थचारिँदा चोटले कहाँ, कसरी प्रहार गर्छ था’ छैन । तर खस्नु त अवश्य छ । केवल छोरीको मुखबाट केही सुन्न पर्खिएर बसेकी छ ऊ ।

‘भन त छोरी तिमीले यो कसरी ल्यायौ ? कसले दियो तिमीलाई ? आफैँ किनेकी वा कसैले दियो  ? आफैँ किनेकी भए पैसा कहाँबाट पायौ  ?’

आमाको यी मायालु भाकाको अनगिन्ती सवालले छोरीको धैर्यको बाँध हल्लिन थाल्छ । फक्रँदै गरेको फूलको बिरुवालाई मालीले तारबार लगाउँदाको झट्कामा जसरी सुकोमल पत्रहरू झर्छन्, त्यसैगरी उनका ठूलाठूला आँखाबाट अनायास बरर् आँसु झर्दछन् । कमला छोरीलाई आफूसँग टाँस्दछिन् । रोशनी बेस्सरी रुँदै आमाको काखमा घोप्टिन्छे ।

‘आमा भोलिपर्सि नर्स बनेर तिम्रो उपचार गर्ने सपना बोकेकी मैले छ महिना भो, स्कुल जान पाएकी छैन । पढ्ने मलाई ठूलो रहर छ आमा । पैसा कमाएर म तिमीलाई हेर्छु, तिम्रो साहरा बन्छु, बाउलाई खोज्छु र भेट्टाएर उसलाई तिमीसामु ल्याउनेछु अनि सोध्नेछु- ‘के लोग्नेमान्छे सबै तिमीजस्तै बेइमान हुन्छन् ?’ मेरो यो सपना कसरी पूरा हुनसक्ला मैले पढ्न नपाए आमा ? साथीहरूले लगाएजस्तो लुगा अनि उनीहरूले खाएजस्तो खानेकुरा मैले कहिले माग गरिनँ तिमीसँग । हरेकपटक कक्षा चढ्दा मलाई पुरानो किताब बटुलेर ल्यायौ, मैले कहिले नयाँ मागिनँ । अब अनलाइनकक्षाका लागि एउटा मोबाइल भने मलाई नभई भएन आमा । त्यो नभै मैले सिक्नै पाइनँ । त्यो नभै मैले पढ्नै पाइनँ, मैले कुनै होमवर्क गर्नै सकिनँ  । साथीहरूभन्दा म पछाडि परिसकेँ । साथीहरू मेरो सम्पर्कमा रहेनन् । मेरा सपनाहरू छुट्दै गै रहेछन्, त्यसैगरी जसरी मेरा पढाइ…। तिम्रो सट्टा हिजो काम गर्न जाँदा घरबेटी अन्टीको छोराले मलाई दिएको यो मोबाइल मलाई ।’

…भन्दाभन्दै एकैछिन उ टक्क अड्छे, आफ्ना औँलाका नङहरू कोट्याउन थाल्छे। आधाआधी पालिस गैसके पनि सफा देखिने ती आफ्ना सुकोमल नङहरू कोट्याइरहन्छे । आँखाबाट बरर् आँसु झार्दै ऊ अगाडि भन्छे- ‘आमा म उसलाई आदर गर्छु तर माया गर्दिनँ  । उसले भने मलाई ‘माया गर्छु’  भनेर यो मोबाइल दियो । अब म अनलाइनकक्षा लिनसक्छु । धेरै पढेर नर्स बन्नसक्छु  । तिम्रो उपचार गर्नसक्छु  ।  तिम्रो स्याहार गर्नसक्छु…।’

बेमौसममा पर्नलागेको पानीसँगै आकाशमा ठूलो चट्याङ गर्जिन्छ । निन्द्राबाट कमला झसङ्ग ब्यूँझिन्छिन् । आफूसँगै मस्त निदाइरहेकी आफ्नी छोरीलाई एकपल्ट हेर्छिन् । ‘ओ हो, यो त सपना पो रहेछ ।’ फेरि एकपल्ट अर्को चट्याङ पर्छ । निमेषभरको उज्यालोमा कमला आफ्नी छोरीलाई अँगालोमा बाँध्छिन् । मनको एक कुनाले अझै भन्दैछ- ‘अनलाइनकक्षा त भोलि पनि छ।’


(मीनभवन, काठमाडौँ निवासी पाण्डे सामाजिक कार्यकर्ता हुन् । ‘सेतु’ नेपाल नामक सामाजिक संस्थामार्फत जोखिममा परेका महिला–बालबालिकाका लागि काम गर्दै आइरहेकी छन्)
ranju@setunepal.org