कवच - Aksharang
  • २०७७ माघ १० शनिवार

कवच

मन्दिरा मधुश्री

मन्दिरा मधुश्री

तर्किएर हिँड्दा हिँडदै पनि एक्कासि गोपाल दाइसँग जम्काभेट भयो । मर्यादा राखेर भनेँ- ‘नमस्कार दाइ !’
‘ओहो ! के छ अम्बु ?’ मेरो डँडेल्नोमा धाप मार्दै भने । ‘अम्बिका’ लाई ‘अम्बु’ सम्बोधन साथै एकछिनसम्म पनि हात नहटेपछि यो धापमराइ पनि अप्रत्याशित हो जस्तो लागेन मलाई ।
‘ठिकै छ दाइ । अनि हजुरको नि ?’ करैले औपचारिकता पस्केँ ।
‘खै के हुनु र ! तिमीहरू आफ्नो सम्झेका त यसरी नदेखेको जस्तो गरेर हिँड्छौ ।’ व्यङ्ग्य गरे दाइले ।
‘मैले त नदेखेकै हो ।’ पुष्टि गर्न खोजेँ । सकेसम्म म उनको धापबाट बच्न चाहन्थेँ तर कहिलेकाहीँ अप्रत्याशित रूपमा फेला पर्थें यसैगरी ।
धेरैले दाइलाई रसिक र ‘महिला मैत्री छन्’ भन्थे । धेरैपटकको कार्यक्रममा फरक महिला साथीसँग देखेकी पनि थिएँ ।
‘गोपाल दाइ’ उनको ब्रान्ड थियो । हामी एउटै संस्थामा थियौँ । सबैलाई ‘दाइ’ नै भन्न लगाउँथे । छोराछोरीकै उमेरकालाई पनि ।
‘खै कतिपटक बोलाइसकेँ घरमा । सँगै चिया पिउँला भनेर । कहिल्यै आउँदिनौ, निस्ठुरी  !’ गुनासो कुटिल लाग्यो ।
‘मौकामा आफैँ आउनेछु बोलाउनै पर्दैन नि हजुरले !’ आश्वस्त पारेँ ।
‘ल हिँड अहिल्यै, उ त्यहीँ त हो  !’ मलाई कोट्याउँदै आफ्नो घर देखाए ।
उनको हात नपुग्ने ठाउँतिर सर्दै भनेँ- ‘आज त सपिङ् गर्न निस्केको ।’
‘ल हेर ! अलिक अघि निस्केको भए सँगै जानहुन्थ्यो नि । मैले त ल्याइसकेँ !’ हातको झोलातर्फ देखाउँदै भने ।
‘दाइ लाग्छु है !’ म हतारिएँ ।
‘पक्कै आऊ नि !’ फेरि धाप मारिहाले बूढाले ।
‘सुन त अम्बु ! मिल्छ भने आजै आऊ न ! बुहारीहरु सबै माइत गैहाल्छ्न् । एक्लै बोर हुन्छु । तिमी आए …
‘हस् आउँछु’ परैबाट भनेँ ।
दिउँसो उनको घरमा पुगेँ ।
‘कतिखेर आउँछ्यौ भनेर पर्खिरहेथेँ ।’ पुलकित हुँदै सोफामा आफूछेउ देखाए बस्नलाई ।
एक काइयोँ  केरा र सुगर फ्रि बिस्कुट राखेको झोला थमाउँदै भनेँ- ‘यसपटक घर जान नपाएकोले खिन्न लागेको थियो तर आज हजुरलाई भेटेर बाको न्यास्रो सबै मेटियो । ‘ह्याप्पी फादर्स डे बा ।’


(मधुश्री चर्चित साहित्यकार हुन्)
mandiramadhushree@gmail.com