तिमी र म - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

तिमी र म

रमेश जङ्ग थापा

रमेश जङ्ग थापा

मैले तिम्रा बाबु- बाजे
र तिम्रा अगणित पुर्खाहरू जन्माएँ-
अहिले भर्खर
तिमी अनि तिमी भएरै
तिमी जन्मिएका छौ
हैन ?

आदि, अनादि र अनन्तसम्म
चर्खाको यो प्रक्रियामा
अविश्राम यो चलन चलिरहेकै छ
चलिरहेकै छ ।
मेरा प्रत्येक- प्रत्येक मौलिकताहरू
हराउँदै हराउँदै केवल तिमीमा
रूपान्तरण हुँदै जान्छन्
तिमी सिङ्गो पूरा अङ्ग
म तिम्रो सिङ्गो आङको
मात्र आधा म अर्धाङ्गिनी
न मेरो कुनै धर्म छ
न जात, न भात
न बास, न घाट ।
डुब्दै गरेको उदास चन्द्रझैँ
भोलिको पर्खाइमा रमाउने
सधैँ अँध्यारो रातैरात- रातैरात ।

म भोको छु
तिमी अघाएका छौ
म नाङ्गो छु
तिमी लगाएका छौ
मेरा हरेक- हरेक अङ्गहरूभित्र,
तिम्रो क्षेत्राधिकारिताको बैध पुर्जा छ
म तिम्रो अवैतनिक भोग्या- दासी
तिमी जताजता
डोर्याउँदै, चराउँदै जान्छौ
म लुरुलुरु चर्दै जान्छु ।

हरे,
जसरी मृत- मौन देह हतारहतार
घरबाहिर निकालिन्छ
रुँदै, चिच्याउँदै, छाती पिट्दै
त्यसरी नै
कुनै नरमाइलो दिनको अपसगुनका साथ
तिम्रो रित्तो खस्रो हातमा
मेरो जिउँदो नरम शरीर
नजरानाको रूपमा हस्तान्तरण हुन्छ
मारे पाप, पाले पुण्य भन्दै ।


(थापा चर्चित साहित्यकार हुन्)
rjungthapa@gmail.com