गाउँमै पुग्छु जहिले - Aksharang
  • २०७७ माघ १० शनिवार

गाउँमै पुग्छु जहिले

नारद निठुरी

नारद निठुरी

गाउँमा भन्दा धेरै भयो सहर पसेको ।
अभाव अतितनाव सँगआफैँ फसेको ।।
अझैपनि मीठो लाग्छ गाउँघरको माया ।
चौतारीमा देखिएका बरपीपलको छायाँ ।।

के खोज्दै छ यो मन अनि के पाउँदैछ कोन्नि ।
फेरि त्यही गाउँमा फर्की जाने कहिले हो नि ।।
मेरो यादमा पर्खी बस्ने खोला सुक्यो अरे ।
गोठका बाख्राभोकै मरे भैंसी फुक्यो अरे ।।

तल्लो गह्रो खलो हुन्थ्यो माथ्लो गह्रो कुन्यौ ।
पारि खेतको बगरछेउमा कति फुल्थ्यो उन्यौ ।।
सालका रुख ठुटा भए जङ्गलछैन आज ।
कहाँ पाउनु खान मैले गुन्दु्रक, चाम्रे खाजा ।।

धानको भारी टाउको माथि मन हुन्थ्यो हलुङ्गो ।
गाडीमाथि हिँड्दा पनि टाउको कति गह्रुङ्गो ।।
चु अनि आसपास, आइएम राइट हाम्रो खेल ।
नत कहिल्यै झगडा भो, न कहिल्यै हुन्थ्यो झेल ।।

डन्डिबियो तिनै ट्याकमा मन हुन्थ्यो खुसी।
छेउमाबसी ताली पिट्ने हुन्थे साथी- सङ्गी ।।
आज ठूलै खुसी हुँदा पोख्ने छैन ठाउँ ।
मुटुभित्र गाँठो पर्छ आफ्नै प्यारो गाउँ ।।

कुँडो अनिखोले पाक्थ्यो गाई भैँसी खान्थे ।
बाल्टिनभरि दूध हुन्थ्यो पाडा, बाछा हुन्थे ।।
घाँस, पराल, कुटी काट्योगाई भैँसी घुम्म ।
ओछ्यानमा पल्टिनासाथ निद्रा लाग्थ्यो झुम्म ।।

असार साउन हलो जोत्थ्यौँ  हिलो- कादो हाम्रो ।
हली, बाउसे, रोपार मिली धान रोप्थे राम्रो ।।
मानो रोपे मुरी फल्थ्यो धान, मकै, कोदो ।
आली माथि मास अनि भटमास रोप्यो, गोड्यो ।।

गोरु राँगा जेछन् नारी गाडी माथि बस्यो ।
हिउँद लागे दाउरा खोज्न जङ्गल तिर पस्यो ।।
हिजो यिनै कामलाई गाह्रो भन्दै सहर पसेँ ।
आज तिनै काम सम्झी रुँदै एक्लै बसेँ ।।

तोरी आफ्नै, तेल आफ्नै चामल पिस्यो पिठो ।
सेलरोटी पकाई खाँदा हुन्थ्यो कतिमीठो ।।
कहाँ पाउनु मकै, भटमास, दही, मोहीताजा ।
पिज्जा अनि बर्गर अरे मःम भयो खाजा ।।

ओल्लो घर, पल्लो घर काँक्रा, बोडी, भन्टा ।
आफ्नै मकैबारीमा थे फर्सी काती गट्टा ।।
सखरखण्ड, तरुल अनि रुखमा मेवा, अम्बा ।
आँप, लिच्ची, भोगटेले बारी लटरम्म ।।

सपना भो आज सबै मन रुन्छ सधैँ ।
भीडभाड र कोलाहलमा एक्लो हुन्छ मनै ।।
न त छाड्न सक्छु आज यो सहरलाई मैले ।
मुस्किलले निद्रा लाग्छ गाउँमै पुग्छु जहिले ।।


(निठुरी विगत दुईदशक भन्दा अघिदेखि साहित्यसिर्जनामा सक्रिय स्रष्टा हुन्)
naradbhandari@gmail.com