• २०८१ बैशाख ६ बिहीबार

हरि काका

दुर्गा विनय

दुर्गा विनय

हामी बसाईं सरेर आउँदा पनि हरि काकाको घर उस्तै नै थियो । बस्ती पातलो थियो । हाम्रो र गुरुङ काकाको घर बिचमा थुप्रै जग्गा खाली थियो । पछि त्यस ठाउँमा दुई दाजुभाईले दुई ठुला घर ठड्याए ।
हरि काकाको परिवारको आय श्रोत नै कृषि थियो । “घैलाडुब्बातिर पाँच- सात कठ्ठा जमिन छ । त्यसैमा धान फल्छ दुःख सुख वर्ष दिन जान्छ ।” भन्नुहुन्थ्यो ।
दुई छोरा- तीन छोरीको सानो परिवार थियो उहाँको । पक्की घर थियो चार कोठाको । एक कोठा भुटानी शरणार्थी विद्यार्थीहरुलाई भाडामा लाउनु भएको थियो । महिनाको ‘नुन- भुटुन’ खर्च निकाल्नको लागि त्यसले भर्थेक मद्दत गथ्र्यो ।
एउटा गाई अनि केही जोर सुंगुर पनि पाल्नु भएको थियो । गाईले बाह्रैमास दुध दिन्थ्यो । पानी नमिसाएको दुध गाउँमा ठेक्का लाउनु भएको थियो । हामी नै पनि दिनमा एक लिटर लिने गथ्र्यौं । पानी नमिसाएको बाक्लो दुध भएको हुनाले अरुभन्दा दुई रुपैयाँ बढी लिने गर्नुहुन्थ्यो । त्यसमा हामीलाई आपत्ति थिएन । तर गाउँमा कसै- कसैलाई चित्त बुझेको थिएन  ।
छ महिनामा एकपटक सुँगुर बिक्थ्यो । सुँगुर बेचेको पैसाले पनि घरखर्च, नानीहरुको स्कूल फिसको जोहो हुने गथ्र्यो । तर पनि दिनदिनै थर्मोमिटरको पारोझैं बढ्दै गएको महङ्गीले कस्दै लाँदै थियो हरि काकाको परिवारलाई । एउटा सुँगुर बेचेको पैसाको थोरै अंश अर्को पाठो किन्नमा जान्थ्यो । छ महिनामा त्यसलाई ठूलो पारेर बेच्ने लक्ष्य सहित ।
तर पनि उहाँ आत्तिएको देखिनु हुन्नथियो ।
“हरि सोझो छ । यो बिचरो सोझो मान्छेलाई अनेकले झुक्याएर महङ्गो ऋणको भारी बोकाए । कसरी तिर्छ यसले अब ।” छिमेकहरुलाई पनि चिन्ता थियो । छोरा छोरीहरु हुर्किंदै थिए । हरेक वर्ष कक्षा फेरिंदै जाँदा, स्कूल फिस पनि बढ्दै गयो । लुगा, किताब अनि विविध खर्च पनि बढ्दै गयो ।
“अहिलेको भन्दा पुरानै ट्याम ठिक थियो । पैसाले गर्दा ट्यान्सन थे’न ।” एक दिउँसो चिया खाँदै गर्दा आफ्नो धारणा यसरी व्यक्त गर्नुभयो । प्राय सँधै दिनको ठिक साढे दुई बजेतिर हरि काका हाम्रो घर आउनु हुन्थ्यो चिया खान । उहाँकोमा दिउँसो चिया खाने नियम थिएन । यति महङ्गो चिनी सदुपयोग गर्नुपर्छ भन्ने पनि उहाँलाई लाग्थ्यो रे । काकीले कुनै दिन भन्नु भा’को ।
“हाम्रो बुढाले दिउँसो चिया पकाउनै दिँदैनन । महङ्गो चिनी किन त्यसै खर्च गर्छेस् भन्छन् । दिउँसो छिमेकमा घुमेर एक कप चिया खाए भै’गो नी भन्छन् । लाजै नभा’को मान्छे ।” हाम्रो आमालाई भन्नुभएको रे काकीले ।
“खै चिया खाउँन ।” सँधै आएपछि भन्ने गर्नुहुन्छ । आमाले दिउँसो प्राय सँधैनै एक कप बढी चिया पकाउने गर्नुहुन्छ- हरि काकालाई भनेर ।
“के बोल्नु पर्ने हो, के होइन ठेगानै नगरी प्वाक्क बोल्छन् जहाँ पनि ।” काकीले भनेको कुरामा एउटा घटना सम्झन्छु । म पनि घरमै थिएँ त्यस दिन ।
इण्डिया- पाकिस्तानको टेस्ट म्याच हुँदै थियो । दूरदर्शनबाट प्रत्यक्ष प्रसारण थियो । घरमा भएको चौध इन्च ब्ल्याक- एण्ड- ह्वाइट टिभीमा सबैकुरा साधा थियो । हाम्रो दैनिकी जस्तो नै ।

छिमेकसँग के कुरामा हो- उहाँको ठाकठुक परेको रहेछ । “मान्छेले आफ्नो थुतुनो र …।” केही बेर अड्किनु भयो । मैले उहाँतिर पुलुक्क हेरें । आमाले चियाको ग्लास हातमा बोक्नुभएको थियो- स्टिलको । उहाँ पनि झसङ्ग भएर पुलुक्क हेरेको हुनुभयो । टिभीमा कमेन्टेटर बोलेको मात्र सुनिरह्यो । “… जोगाउनुपर्छ ।” ‘र’ अनि ‘जोगाउनुपर्छ’ को बिचमा उहाँले केही भन्नुभएन । मैले बुझें, आमाले बुझ्नुभयो, उहाँले बुझ्नुभयो ।
बेलुका बुबालाई खाना खाने समयमा मैले घटना सुनाएँ- सविस्तार । हामी सबैजना हाँस्यौं ।
काकाको दाजु हुनुहुन्थ्यो । कसैसँग नबोल्ने, खुरुखुरु काम गरिरहने । कहिले करेसाबारी खन्ने, गाइ, बाख्रालाई घाँस काट्ने (उहाँले बाख्रा पनि पाल्नु भएको थियो ।) उहाँको दुई जोर लुगा थियो (क्यार) । एकजोर मैला हुइन्जेल लाउनुहुन्थ्यो, त्यो धोएको बेला अर्को लुगा । काकाको दाजुको परिवार थिएन । गाउँकाले भन्थे “पहिला साह्रै रक्सी खान्थ्यो । बुढीले सहन नसकेर हिंडी ।” तर खास कुरो कसैलाई पत्तो थिएन किनभने पहाडबाट आउँदा दाजु एक्लै नै आउनुभएको थियो रे ।
उहाँलाई छोपुवा जस्तो रोग थियो । कहिले आगनमा फिज काढ्दै लडेको देखिन्थ्यो । “ड्याडी, ठुलो बुबा लड्नुभयो ।” भनेर हरिकाकाको छोरोले हल्ला गरेको सुनिन्थ्यो । तर फेरि एकछिनमा उठेर केही नभएको झैं गरेर आफ्नो काममा लाग्नु हुन्थ्यो । कहिलेकाहीँ होस हराएर खेतमा, चिया बगानमा अल्मलिएको भेटेर हरि काका घर ल्याउनु हुन्थ्यो । “यो दाईले कहिले सुख नदिने भो ।” बर्बराउन पनि छाड्नुहुन्नथियो ।
“दाईलाई देवी चढेकी छन् । त्यसकारण यस्तो भै’रन्छ ।” निक्र्यौल यस्तो थियो काकाको । थुप्रै धामी- झाँक्री लाउँदा पनि चढेकी देवी ओर्लिन मानिरहेकी थिइनन् । “कुल देवता बिग्रेको हुनुपर्छ ।” भन्ने अनुमान लाएर धामी–झाँक्री बिदा हुने गर्थे । साथमा एउटा ठूलै भाले अनि एक बोतल कोदोको झोल पनि लान्थे ।
काका र काकी बिच थुप्रै वर्षको अन्तर थियो रे । दश- पन्ध्र वर्ष कै । “मेलामा लप परेर भागेको नि ।” एकदिन काकीले आमालाई भन्नुभएको थियो । ‘लप’ भनेपछि उहाँ निक्कै बेर हाँस्नु भएको थियो रे । आमाले बुबातिर हेर्दै एकदिन भन्नुभएको थियो । म पनि खाना खाँदै थिएँ । “सोझो छन् हाम्रो मान्छे, हेर्ने वित्तिकै लप परिगो’नी ।”
काकाको दोस्रो बिहे भएको थियो रे काकीसँग । हरि काकाको पहिलो श्रीमती एक साँझ बाख्रा लिन हिंडेको फर्केर आउनुभएन रे । पछि गाउँमा हल्ला चलेछ- फलानो बजारमा अर्कै मान्छेसँग देखी, फलानो बजारमा सब्जी बेच्दै थिई । त्यसपछि कसैले पनि उहाँलाई कुनै फलानो बजार अथवा गाउँमा देखेनछन् । काकाले पनि “गए जाओस्, खोज्न त एत्ति पनि जान्न” भन्नुहुन्थ्यो रे । ‘एत्ति’ भन्दा उहाँले हातले बनाउने इसारा यहाँ व्याख्या नगरौं होला । अलिक राम्रो सुनिदैन ।
त्यसको थुप्रै वर्ष दाजु- भाइ मात्रै बसे ।

थुपै्र वर्षपछि गाउँमा एक परिवार बसाईं सरेर आयो । भित्री गाउँबाट शहरको छेउको गाउँमा । गाउँको केही मलिलो जमिन बेचेर शहर छेउको सानो घर सहितको जग्गा किनेका थिए । छोराछोरीलाई स्कुल जान सजिलो हुन्छ, राम्रो स्कुल पढ्न पाउँछन् भन्ने खास उद्देश्य रहेछ । गाउँमा अझै पनि सुपारी बगान र धान फल्ने खेत छ भन्ने सुनिन्थ्यो ।
परिवार शुद्ध साकाहारी थियो । हरि काकाकै घरसँग टाँसिएको घरमा आएका नयाँ छिमेकसँग काका विशेष रुपले आकर्षित हुनुहुन्थ्यो । बिहान- बेलुका पुजा गर्ने, साकाहारी खाना खाने । लसुन- प्याज केही नखाने । अनि दिउँसो चिया पनि खाने ।
विशेषतः नयाँ छिमेकीको घरमुली विद्यापतिलाई गीता, रामायण सबै कण्ठस्थ जस्तै नै थियो । घरि घरि अल्मलिएको बेला किताब पल्टाउनु हुन्थ्यो नत्र मुखाग्र नै । उहाँ ‘देवी’ को पुजा गर्नु हुनुहुँदो रहेछ । कुन ‘देवी’ को पुजा गर्नुहुन्थ्यो भन्ने चाहीँ कहिल्यै पत्ता लागेन । विद्यापतिको संगतले हरि काका पनि विस्तारै साकाहारी हुनुभयो । घरमा पनि सबैलाई साकाहारी बनाउन कसरत गर्नुभयो । तर त्यो कसरत खासै काम लागेन ।

काका र विद्यापतिको संगत निकै राम्रो गरि झाङ्गियो । काका पनि कत्ति पटक विद्यापतिसँगै उहाँको खेतीमा जानु भयो । सुपारी बगान पनि सँगै घुम्नुभयो । देवीको मन्दिर गएर सँगै पुजा पनि गर्नुभएछ ।
एकदिन स्कुलबाट फर्किंदाखेरि देखें- काकाको आँगनको कुनामा नयाँ फाउण्डेसन लगाईंदै थियो । साँझ खाना खाने समयमा थाहा भयो- काकाले आँगनमा ‘देवी’ को मन्दिर निर्माण गर्न लाग्नुभएछ ।
“हरि दाईलाई कसले उकास्यो को’नी, जग्गा बेचेर मन्दिर बनाउन थाले ।” आमाले भन्नुभयो । जग्गा बेच्नु भएछ, मन्दिर बनाउन भन्ने सुनेपछि नरमाइलो पनि लाग्यो, अचम्म पनि लाग्यो । त्यति पाको उमेर खाएको मान्छेले किन त्यस्तो गर्न लागेछन् ।
“मान्छे आत्तिएपछि जे पनि गर्छ, उसलाई कसैले आशाको सानो त्यान्द्रो देखाइदिनुपर्छ । तै त्यतैबाट पनि भै’हाल्छ कि भन्ने भ्रम-आशा लाग्छ ।”खाना खाँदै गर्दा बुबाले भन्नुभयो ।
दुई हप्तामा मन्दिर निर्माण भयो । सानो अनि चिटिक्क परेको । मन्दिरमा मूर्ति राख्नुपर्ने भयो । तर देवीको मूर्ति उहाँले भेट्नुभएन छ क्यार । एउटा गोलो अनि शिरतिर लाम्चो भएको ढुङ्गो राख्नुभयो । शिरमा (ढुङ्गाको) अबिर लाइदिनुभयो । प्लाष्टिकको नओइलाउने माला पनि शिउरिदिनुभयो । दुई-चारवटा अगरबत्ती पनि ध्वाँ पुत्पुत्यायो । मन्दिर त्यो- मन्दिर जस्तै भयो । बिहान बेलुका घण्टी बज्न थाले । हाम्रो घरको बगैंचाबाट बिहान शित नओभाएको फूल पनि मन्दिरमा अर्पित हुन थाले  ।
गाउँलेलाई त्यो रमाइलो दृश्य भएको थियो ।
“हरि दाई, देवीले सुन्दैछिन त घण्टी बजेको” कहिलेकाहीँ छिमेकहरु जिस्काउँथे ।
“सुन्छिन नि, त’पैंले त सुन्नुभयो ।” उहाँको विश्वास ढग्मगाएको थिएन । काका विस्तारै विस्तारै देवीको पक्का भक्त भएर गाउँमा उपस्थित हुनुभयो । साकाहारी पुरै । कसैले झुक्याएर मासुसँग लसपस गरेर खाना दिए, उहाँ थाम्नै नसक्ने गरि काम्ने गर्नुहुन्थ्यो । बिहान अथवा बेलुका पुजा गर्न ढिला भए अथवा पुजा गर्न छुटाए पनि उहाँ काम्ने गर्नु हुन्थ्यो । काकीले नै पुजा गर्न सम्झाउन थाल्नुभयो । काकाको भक्तिभाव-समर्पण देखेर परिवार पनि साकाहारी भए ।
“ड्याडी पुजा गर्ने बेला भयो ।” कान्छो छोरोको जिम्मा थियो बालाई सम्झाउने । उहाँले बिर्सिएको अवस्थामा ।
काका छिमेक र अलिक परैको गाउँसम्ममा पनि गएर देवीको पुजा गरेर आउनुहुन्थ्यो । पहिले दलित भनेर हेप्नेहरु पनि काकालाई लिन आउन थाले । काका सहजै निमन्त्रण स्विकारेर जानुहुन्थ्यो । पुजा बापत बक्सिस पनि राम्रै पाउनुहुन्थ्यो रे । काकी पनि काकाको अचम्मको प्रगति देखेर मख्ख हुनुहुन्थ्यो ।
एक रात, करिब नौ नै बजेको थियो होला । काकाको घरमा थुप्रै मान्छे भेला भएका थिए । काकाको दाजु भने सुतिसक्नु भएको रहेछ । कोही बिरामी भएर काकाको घरमा फुकी माग्न आएका रहेछन् । काका सानोतिनो बिमार फुकेर निको पार्न थाल्नु भएको रहेछ । होमवर्क गर्नु थियो, तर म सुटुक्क भागेर काकाको घरमा पुगें ।
काकाले चामलका गेडा हातमा खेलाउनुभयो, मुठ्ठीमा कसेर मुख छेउ लगेर फुक्नु भयो । आँखा बन्दै गरेर केही मन्त्र पनि पढ्नु भयो । चामलको गेडा बिरामीको निधारमा के छुवाउनु भएको थियो, काका त अचानक काम्न थाल्नु भयो । थामिनसक्ने गरि काम्नुभयो । म छक्क परें ।
“लु एसलाई कडै बिमार लागेको र’छ ।” छिमेक बडाबाले भन्नुभयो । काकाको बोली लर्बराइ रहेको थियो । मैले त केही नै बुझिन । काका पसिनाले खल्खली हुनुभयो । कामी नै रहनुभयो धेरै बेर । केहीबेरपछि अचानक रोकिनुभयो, पसिना पुछ्नु भयो । “हैट्, गलिँदो पो र’छ ।” जुरूक्क उठेर उहाँ कोठामा गएर सुत्नुभयो । आँगनमा उभिएका दर्शक, घुँडा टेकेर बसेकी बिरामी, उसका आफन्त, काकी, हामी सबै पर्खिरह्यौं । तर उहाँ आउनुभएन । एकछिनमा घुर्न थालेको सुनियो ।
“हैट्, मुला ।” बडा पनि घर लाग्नु भयो । सबै जर्याकजुरुक उठेर बाटो लागे । मैले पनि बुबालाई मेरै पछाडी उभिएको देखें । शिक्षाको महत्व सम्झाउँदै-गाली गर्दै मलाई घर लानुभयो ।
त्यसदिन देखि हरि काकालाई कसैले फुक्न बोलाएन । देवीको पुजा गर्न बोलाएन । काकाले कहिले पुजा बिराउँदा काम्न पनि छाड्नुभयो । मासु लसपस खाँदा पनि काम्नुभएन । पहिला लिएको ऋणको ब्याज पनि बढि नै रहेको थियो । एक कठ्ठा जमिनको धान कम थियो परिवारसँग देवीको मन्दिर बनेदेखिन ।
एकदिन छिमेक गाउँको साहु आएर गाली गरेर गएछ । “न ब्याज, न साउँ केही दिनु छैन । यसरी त भएन है हरि भाइ । चाँडै व्यवस्था गर ।”
काकाको रिस कडा छ । साहु हिंडेपछि काकाले सुपारीको रूख कोपर्न आँट्नुभएको रहेछ । तर काकीलाई देवीको मन्दिरको ढोका लाउँदै गरेको देखेर त्यतै हान्निुभएछ । ढोका फुटाएर भित्र हुर्रिनुभएछ । देवीको मूर्ति स्वरुपा ढुङ्गालाई बाहिर ल्याएर आँगनमा फ्यात्त सेलाउनुभएछ । “यै जाँठाले गर्दा यति दुःख पाइयो ।” दुई लात्ति हानेर अरु तथानाम बोल्नुभएछ । काकीले तान्दै कोठाभित्र लानुभएछ अनि । छिमेकी कोही हाँसे, कोही च्वच्व गरेर आफ्नो व्यवहारमा फर्किए । तर हरि परिवारलाई ऋणको ठूलो चिन्ताले चिन्तित पारेको थियो ।
त्यस साँझदेखि मन्दिरमा अगरबत्ती बलेन । देवीको मुर्ति घरको बाटो छेउमा आइपुगेको थियो । बाटोमा हिंड्ने कत्ति कुकुरले त्यसैदिन ढुङ्गा वरिपरि सुँघेर एक खुट्टा उचाले गनीसाध्य भएन ।
विद्यापतिसँग उहाँको संगत चटक्कै छुट्यो । देवीलाई गाली गर्ने, मूर्तिलाई बाटोमा मिल्काउनेसँग विद्यापतिले कुनै सम्बन्ध राख्न चाहेनन् । विद्यापतिले लगत्तै घर वरिपरि पाँच फिचको पर्खाल ठड्याए । फलामे गेट लगाएर ।
काकाकोमा भने देवीको मन्दिर भँडारकोठामा परिणत भयो । चामल, मकै राख्ने ठाउँ भयो । चामल, मकै नभएको बेला- चतुर्थी अथवा दशैंतिहारमा खसी, कुखुरा राख्ने ठाउँ भयो ।
त्यसपछि जीवन फेरि सामान्य हुँदै गयो । अर्को एक कठ्ठा बेचेर ऋण तिर्नुभयो । अलि अलि ऋण बाँकी नै थियो म पढ्नलाई काठमाडौं हिंड्ने बेलामा पनि ।

दशैंमा घर गएको थिएँ । त्यसबेला थाहा भयो काकाहरु बिलिभर भइसक्नुभएको रहेछ । गाउँभरि सबैले दशैं मनाउँदा काकाको घर सुनसान थियो । छोराछोरी अनि काकी माइत- धरमपुर जानुभएको रहेछ । काका भने एक्लै प्रभुलाई सम्झिएर बस्नुभएको थियो ।
“पुरानो रोडमा चर्च छ, हामी प्रभुको भजन गाउँछौं । पैसा पनि दिन्छन् गए पिच्छे । खाना पनि दिन्छन् ।” काकाको कुरा सुनें  ।
“अनि काका, प्रभुमा लागेपछि त गाईको मासु पनि खानुपर्छ नी ।” मैले जिस्क्याएँ ।
“हैट, भतिज गाई त नखाने । माता हुन नी गाइ त ।”
“क्रिश्चियनले त झन गाईको मासु धेरै खान्छन् काका । तपाईंलाई पनि ख्वाए की झुक्याएर ।”
“छैन ख्वाको अहिले सम्म त” एकछिन विचार्नु भयो “भन्ने लाग्छ ।”


(विनय विगत दुई दशकदेखि साहित्यकका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् ।)
[email protected]