वसन्तभन्दा ठूलो विश्वास मान्छेको हुँदैन - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

वसन्तभन्दा ठूलो विश्वास मान्छेको हुँदैन

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

उठ्नेहरू कहीँबाट पनि उठ्छन्
ब्यूँझनेहरू कहीँ पनि व्यूँझेका छन्
जस्तो पहाडहरू
बीच मैदानबाट पनि टड्कारो उठेका छन्
जस्तो बिहानहरू
चुक अँध्यारोमै पनि ब्यूँझेका छन्
समय त्यसैले पनि समय हो
समयलाई कुनै बहादुरले छाँद हालेर अड्काउन सक्दैन
जब समयले कोल्टे फेर्न खोज्छ
चक्रवर्ती दुर्योधन लड्छ
इच्छामृत्यु भीष्म मर्छ
हातमा पृथ्वी तौलने रावण ढल्छ
यो सब रातभरिको कुरा हो
बिस्तारो दिउँसो झरेपछि कसैको केही लाग्दैन
वसन्तभन्दा ठूलो विश्वास मान्छेको हुँदैन ।

मेरो एउटा कविताको छोटो अंश हो यो । धारणा आ- आफ्ना हुन्छन्, चिन्तनका बाटा अनन्त छन् । मानवसभ्यताको यति लामो यात्रा पार गरिसक्दा पनि बाँच्नुको निश्चित शैली यहीहो भनेर हामी अहिलेसम्म किटान गर्न सक्दैनौँ । यस पृथ्वीमा हामी जो पनि पहिलोपल्ट आएका हौँ । त्यसैले यो विराट् विश्वको विचित्रतासँग आत्तिएर हामी एउटा निश्चित ढर्रामा बाँच्न बाध्य छौँ । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक यन्त्रणाहरूले कोरेका विविध सीमारेखाहरू छन्, र ती एकप्रकार निश्चित र सीमित छन् । तिनै रेखाहरूको बाघचालभित्र हामी कहिले बाघ हुन्छौँ र कहिले बाख्रा । निरन्तर बाघचाल हो हाम्रो जीवनचक्र । समयको चालभित्र निश्चित रेखामा फड्किन सकेनौँ भने हामी सधैँ निरीह, निर्बोध बाख्रा हुन्छौँ, चाल चुक्यौँ भने तिनै निरीह ठानिएका बाख्राहरूबाटै हामी बाघहरू थुनिन्छौँ । यही बाख्रा र बाघभित्रको सीमारेखाभित्रै हामी सकिन्छौँ । तर हामीले कहिल्यै सायद सोचेनौँ- यो सीमाभन्दा पारि पनि जीवन होला र त्यो जीवनको अनुभूति कस्तो होला ? यो ‘होला’ एउटा सम्भावना हो । यस्ता हरेक नयाँ कुरामा सबभन्दा पहिले यही सम्भावनाले प्रेरित गर्दछ । जब हामी गहिरिएर सोच्न थाल्छौँ- ‘अ’ भन्दा यता के होला ? ‘ज्ञ’ भन्दा उता के होला ? निश्चित केही त होला, अवश्य होला ‘ए’ भन्दा अगाडि र ‘जेड’ भन्दा पछाडि पनि जीवन होला । तर ‘अ’ यता आउन र ‘ज्ञ’ उता जान, अथवा ‘ए’ यता आउन र ‘जेड’ उता जान एउटा नियम, एउटा शैली भत्काउनैपर्छ । यो भत्काउने आँट सायद हामीसँग छैन । यो नभत्किएसम्म पुस्ता-पुस्ता यही निश्चित सीमारेखाभित्र बाँच्नुपर्छ भन्ने ज्ञान पनि सायद हामीसँग छैन ।
नीतिसूत्र भन्छ- ‘सधैँ डराइ रहनुभन्दा एकपल्ट खतराको सामना गर्न बेस हुन्छ ।’ खतराले असामान्य मानिस बनाउँछ भने परम्पराले सधैँ उसकै अधीनमा बाँच्ने एउटा सामान्य मान्छे मात्र बनाउँछ । कुनै महान्को उक्ति छ- ‘जीवन एकप्रकारको खेतिपाती हो, यसमा मानिसले जे रोप्छ, त्यही उब्जाउँछ ।’ गीता पनि भन्छ- ‘कर्म गर कहिले फलको आशा नगर । जस्तो कर्म गर्छौ उस्तै फल पाउँछौ ।’ अब कर्म र कुकर्म के हो ? यही चिन्नु नै मानिसको प्रतिष्ठाको विषय हो । प्रतिष्ठाविनाको मानिस साह्रै साधारण मानिस हो । ऊ शारीरिक मान्छे मात्र हो- लुगा लगाउँछ, कहीँ काम गर्छ, जुन काम आफू र आफ्ना परिवारका लागि मात्र गर्छ । यत्ति त चराचुरूङ्गी र पशुहरूले पनि गरेकै छन् । समय सधैँ एउटा असामान्य मानिसको खोजीमा छ । समयले यस्ता मानिस पाएन भने साधारण मानिसहरूभित्र विश्व खुम्चन्छ । निरङ्कुश, क्रूर र दानवी प्रवृत्तिले टाउको उठाउँछ । त्यसवेला बाँच्नुको अनुभूति चहर्याउन थाल्छ, मानवीय संवेदना फलाम बन्छ । यति विराट्, उति रोचक र यति विचित्रताले भरिएको यो जगत् घडीको एउटै सुईमा अड्किरहन्छ ।
नित्य नवीन अनुभूति र परिवर्तन नैं जीवन हो । बाल, युवा, वृद्धबीच बाँच्नुपर्ने एउटा मानिसले स्पष्ट तीन जीवनको अनुभूतिर विविध जीवन- घटनाहरू भोगेको हुन्छ । भोग्नु मानिसको नियति हो । भोग स्वर्ग, नर्कजस्तो पनि हुनसक्छ । एउटै जमिनमा उभिएर बाँच्ने मानिसहरूको पनि आ- आफ्नै जीवनको स्वाद हुन्छ। लाग्छ दुनियाँमा अझै मिलेका कुरा ज्यादै कम छन्, नमिलेकै कुरा धेरै छन् । निर्माण र ध्वंश सँगसँगै छ । यस्तो लाग्छ दुनियाँ अझै बन्ने र भत्कने दोसाँधमै खडा छ ।
मलाई लाग्छ निर्माण गर्ने त्यो समय र विध्वंश गर्ने यो समय- दुवै समयको समयव रूप नै मानवअस्तित्वको यथार्थ हो । यो यथार्थ पन्साएर मानिस बाँच्न सक्दैन, तैपनि मानिस आफू बाँचेको युगबाट निर्मोह भावले उन्मुक्त भै केही भन्न सक्दैन । केही झुठो र केही साँचो तथ्यहरूको मिश्रणबाट बनेको मानिसको व्यवहार अहिले पनि उस्तै छ, जति पौराणिक काल अथवा त्योभन्दा अघि थियो ।
वास्तवमा परिवर्तित रूप भन्नु या आधुनिक रूप भन्नु त समयचक्रको कुरा हो । कति पुरानै भएर पनि नयाँ छन्र कति नयाँ भएर पनि एकदमै पुरानाजस्तो लाग्छन् । वर्षको एकपल्ट आउने नयाँ वर्षमा पस्ने उत्साहमा हरेक वर्ष हामी एक वर्ष बूढो हुन्छौँ तर बुढ्याँइको उपलब्धी  ? हामी कतिले सोचेको छौं होला ? भनिन्छ पनि– ‘कुनै मानिसको उमेरमा गन्ने कुरा केही छैन भने, उसको उमेर पनि नगनौँ ।’ र, उमेर गन्नलायक बनाउनमा हामीमा पर्याप्त आँट, जाँगर र निरन्तरता हुनुपर्छ । त्यत्तिकै दृढ सङ्कल्प र दुनियाँलाई अध्ययन गर्ने चाख पनि समाविष्ट हुनुपर्छ । स्पष्ट लक्ष्य र लक्ष्यसम्म छुने बाटाका विविध योजनाहरू पनि हुनुपर्छ, अन्यथा वर्षहरू आउँछन्, जान्छन्- हरेक वर्षले एकएक वर्ष बूढो बनाउँदै लान्छन् । जीवनको अन्तिम दिनतिर हामीसित सम्झने त्यस्तो उपलब्धि केही बाँकी हुँदैन । त्यसवेला मृत्यु र जीवनमा कति फरक रहला र ? त्यसवेला हामी बाँच्नु र मर्नुको सार्थकता कति अनुभव गर्न सकौँला र !