रङहरूको मन - Aksharang
  • २०७७ असोज ३ शनिवार

रङहरूको मन

सुस्मिता नेपाल

सुस्मिता नेपाल

बरन्डामा छु म यतिखेर । बगैँचाका फूलहरू र रूखका हाँगाहरूमा घामका किरणहरू फैलिएका छन् । रूखका हाँगाका कापबाट छिरेका घामका किरणहरूलाई हेर्दा सुन्दर चित्रजस्तै लाग्यो मलाई । यतिवेला एउटा चित्र प्रदर्शनी हेरेजस्तै । मन खुसी भयो । म आफैँ पनि त्यही चित्रभित्र रङगिएको जस्तो लाग्यो ।
चित्रकै बारेमा मनमा प्रश्नैप्रश्न तरङ्गित हुनथाले । प्रश्नको जवाफ मनले भन्छ- ‘चित्रहरूसँगै रङ्गिऊँ, चित्रहरूमै हराऊँ, चित्रहरूसँगै घुलमिल होऊँ, चित्रहरूकै सुख- दुःखसँग मिसिन पुगूँ ।’
जीवनका विविध रङहरूले कोरिएको एउटा जीवन मेरो अगाडि उभियो, भन्न थाल्यो मेरो मनलाई- ‘चित्रकारका सुख- दुःखका रङहरूले रङ्गिएँ म । जीवनका अनुभूतिसँग यात्रा गर्दागर्दै आफैँ एउटा चित्र भएर क्यानभासमा टाँगिएँ । जीवन यही होइन त ? जीवन रमाइलो छैन त ? तिमी के सोचेर बसिरहेको ? जाऊ चित्रहरूसँगै मिसिने रङहरूमा आफूलाई खेलाऊ । जीवनको मीठो यात्राको आरम्भ गर !’
मनभित्र चित्रहरूले प्रभाव पारिरहेका थिए । आफ्नो अहिलेको समयलाई चित्रका विभिन्न आकारहरूमा छरिदिन मन लाग्यो ।
सुरुमा अमूर्त चित्रहरू हेर्न जाँदा चित्रहरू मसँग बोलेनन् । यी नबोल्ने चित्रहरूसँग समय विताउँदा यिनीहरूले कस्तो पो मान्ने हुन् ? के म चित्रहरूको भाषा बुझ्नसक्छु होला त ? चित्रहरूले मलाई चित्रहरूकै बारेमा सोधे भने के जवाफ दिनु मैले ?
चित्र- प्रदर्शनीका बारेमा धेरैपछि मात्रै बुझ्ने मौका पाएँ । चित्र–प्रदर्शनीमा जाँदा अनौठो अनुभूतिले समात्थ्यो मलाई । चित्र हेर्दा चित्रहरूले नै आफैँलाई हेरेजस्तो लाग्थ्यो । चित्र हेरिरहँदा कसैले चित्रहरूका बारेमा सोध्ला कि भन्ने डर मनसितै टाँसिन्थ्यो ।
अमूर्त चित्र- प्रदर्शनी हुँदा धेरैको मुखबाट सुनेँ-  ‘चित्र हेर्दा त राम्रो लाग्छ तर केही बुझिँदैन ।’ मनसित टाँसिएको डर भुइँमा फुत्त झर्यो । मलाई मात्र यस्तो हुने होइनरहेछ अरूलाई पनि यस्तै हुनेरहेछ भन्ने कुराले मनलाई शान्त बनायो ।
एक दिन चित्र- प्रदर्शनी हेर्दैथिएँ । भित्ताभरि चित्रका क्यानभास टाँगिएका थिए । क्यानभासका चित्रहरू स्पष्टसँग देखिऊन् भनेर बत्ती बालिएको थियो । मन रमाइरहेको थियो । बत्तीका प्रकाशले मेरो छायाँ पनि मैसँग हिँडिरहेको थियो । म कहिले छायाँलाई त कहिले चित्रहरूलाई हेरिरहेकी थिएँ । म चित्रहरूसँग बोल्ने प्रयत्न गर्दैथिएँ । मसँग मेरो छायाँले पनि चित्र हेरिरहेको थियो । छायाले मलाई सुटुक्क सोध्यो- ‘चित्र कसरी हेर्नुपर्छ थाहा छ ?’
म छायाँतिर फर्किएँ । उसको अनुहार हेरेँ । उसको प्रश्नमा म अल्झिएको देखेर मुसुक्क हाँस्यो र भन्न थाल्यो- ‘अहिले तिमीले जे देख्छौ त्यही हेर।त्यही बुझ । यसका बारेमा म तिमीलाई पछि भनूँला ।’ त्यो चित्र- प्रदर्शनीमा चित्रहरू हेरेँ । मनभित्र अनौठो अनुभूति सँगालेर घर फर्किएँ ।
फेरि अर्को चित्र- प्रदर्शनी भयो । त्यो चित्र प्रदर्शनी हेर्नुअगाडि मैले चित्रका बारेमा जान्नुथियो । बुझ्नुथियो। त्यसैले मैले मेरै छायाँलाई चित्रका बारेमा सोधेँ । छायाले पनि मलाई सहज ढङ्गले चित्रका बारेमा भन्दैगयो- ‘जीवन के हो ? साहित्य के हो ? सङ्गीत के हो ? गीत के हो ? चित्र के हो जस्ता कुराहरू तिमीले बुझ्नैपर्छ । तर आज म तिमीलाई चित्रका बारेमा भन्छु ।’
‘सुन, मान्छेहरूले चित्र मन पराउँछन् । अमूर्त चित्रका बारेमा त्यति सजिलोसँग बुझ्न सक्दैनन् । त्यो स्वाभाविकै हो । चित्रलाई बुझ्ने आ- आफ्नै तरिका हुन्छ । म तिमीलाई सजिलो तरिकाले बुझाउने कोसि गर्छु- ‘तिमीलाई जुनेली रात मन पर्छ ?’
चित्रका बारेमा भन्दा किन जुनेली रातको कुरा गरेको होला ? चित्र र जुनेली रातको के सम्बन्ध ? तैपनि सोधेको प्रश्नको जवाफ दिएँ- ‘मनपर्छ ।’
‘जुनेली रात हेरेर तिमी के बुझ्छौ त ?’
‘जुनेली रातलाई हेरेर बस्न रमाइलो लाग्छ । मन हलुका हुन्छ । जूनका किरणले मेरा सबै दुःखहरू पखालिदिएजस्तो लाग्छ । जुनेली रातसँगसँगै मनमा धेरै किसिमका कल्पनाहरू आउँछन् । तिनै कल्पनाहरूले म यथार्थलाई छुने प्रयत्न गर्छु ।’

‘हो… चित्रहरू पनि जुनेली रातहरूजस्तै हुन्छन् । जुनेली रातलाई धेरै मानिसहरूले हेर्छन् । आ- आफ्नै तरिकाले बुझ्छन् । जुनेली रात त बालकले पनि हेर्छ । बालकले बुझेको जुनेली रात र तिमीले बुझेको जुनेली रातमा धेरै अन्तर हुन्छ । त्यस्तै तिमीले बुझेको जुनेली रात र एउटा खगोलशास्त्रीले बुझेको जुनेली रातमा फरक हुन्छ । बुझाइका पनि तहतह हुन्छन् । त्यही तहमा बसेर चित्रहरू हेर्ने र बुझ्ने कोसिस गर । त्यसपछि चित्रहरू तिमीसँग आफैँ बोल्न आउँछन् र आफ्ना मनका भाव सजिलै व्यक्त गर्छन् ।’
सुरुसुरुमा छायाँले भनेका कुराहरू बुझ्न निकै गाह्रो भयो । चित्रकला निकै गहिरो लाग्यो । चित्रकलालाई बुझ्न समय लाग्ने कुराको बोध भयो । छायाँले भनेका कुराहरू मनभित्र खेल्नदिएँ । चित्रकलाले मेरो मष्तिस्कका सबै भागहरूलाई छोयो । त्यसपछि चित्रहरू हेर्दा रमाइलो लाग्नथाल्यो ।
चित्र- प्रदर्शनीहरूमा जान्थेँ । चित्रहरू हेर्थेँ । बिस्तारैबिस्तारै चित्रहरू मसँग कुरा गर्नथाले । यी चित्रहरू जीवनका विभिन्न पक्षहरूसँग मुस्कुराइरहेका हुन्थे भने कहिले जीवनमाथि घटेका दुःखी घटनाहरू सम्झेर मसँगसँगै रून्थे । मेरो मन पनि बेसरी दुखेको वेलामा चित्रहरूका सुकोमल भावहरूले सुमसुम्याउँथे । वास्तवमा रङहरूको मन सफा र निर्मल देखेँ । एउटा रङले अर्को रङको ईष्र्या, लोभ, रिस कहिले गरेनन् । आफ्नो स्वार्थका लागि कसैलाई तल झार्ने र कसैलाई माथि उठाउने काम यी रङहरूले गरेनन् । उनीहरूलाई हेर्ने सबै किसिमका मानिसहरूलाई विभेद भावनाले नहेरी समान भावले हेरे । आफैँ चर्चित होऊँ भन्ने महत्चकाङ्क्षी भावना यिनीहरूले बोकेनन् । मायालु भावले सबैलाई समानरूपले हेर्ने यी चित्रहरूमा सलबलिएको रङहरूले म निकै प्रभावित भएँ । म कति भाग्यमानी ! चित्रहरू मेरा मिल्ने साथीहरू भए । त्यस्तै चित्रहरूसँगै सलबलाउने रङहरू मेरो मन ।
जीवन भनेकै विभिन्न रङहरू रहेछ । रङहरूको यति सुन्दर जीवन पाएर पनि हामीले रङका आकारहरूलाई छुनै जानेका रहेनछौँ । हामी यस कुराबाट किन पर भएछौँ ? मनभित्र सलबलाएका रङहरूलाई किन अनुभूत गर्दैनौँ ? बरन्डाबाट देखिएका बगैँचामा फुलेका फूलहरू र रूखमा परेका घामका किरणहरूले मलाई चित्रहरूको बारेमा एउटा मीठो सम्झना दियो ।


(नेपाल स्थापित लेखक हुन्।)
susmita.nepal@gmail.com