नायक - Aksharang
  • २०७७ असोज ३ शनिवार

नायक

डा. महेन्द्रकुमार मल्ल

डा. महेन्द्रकुमार मल्ल

त्यो पहराले खोजेको
पदचाप मेरै थियो
जुन पदचापले
त्यही पहरालाई फोरेर
त्यसैका चट्टानहरूबाट
निर्जन त्यो गाउँलाई
सहर बनाइदिन सक्थ्यो
तर थिरथिरे तिघ्राहरूमा
पानी बगेर
उत्साहको तेन्जिङ्ग चढाइलाई
आलस्यले
कुम्भकर्णको चिरनिद्रामा मिलायो
पहराको त्यो यात्रा मेरा लागि
एउटा स्वप्निलक्रीडाको
गर्भभित्रै बिलायो ।

बग्ने नदीहरूले खोजेको
मेधावी मस्तिष्क मेरै थियो
जुन मस्तिष्कले
मेचीकालीका भूगोलहरूमा
दिन र रातका भिन्नताहरू
मेटाइदिन सक्थ्यो
हिमाल र तराईका दूरतालाई
साधनाका वेगवान साधनहरूमा
हुइँक्याएर
क्षणभरमै मेटाइदिन सक्थ्यो
तर, मेरो मस्तिष्कले
हार्वर्डको सिलेबस खोजेर
चेतना रोपेन
सम्भावनाका अक्षरहरू
चलमलाइरहँदा पनि
मसीहरूमा बदलिएर विद्वताले
बदलावका आकाङ्क्षाहरूलाई
समयको तराजुमा जोखेन
जहिल्यै नदी वहावहरूमा करायो
मेरो परेलीको डिल छोयो अनि
आँसुहरूको कथा बनेर बर्बरायो ।

फैलिएका भूगोलहरूले खोजेको
आस्था मेरै थियो
जुन आस्था
वैविध्यहरूमा फुल्न सकोस्
अनेकविधि रङहरूको इन्द्रेणी
एक बन्न सकोस्
मैले वीरगञ्जको घन्टाघरबाट
माछापुच्छ्रेको टुप्पो नियाल्न सकूँ
सगरमाथाको अग्लाइ अग्लिएर
लुम्बिनीका बुद्धको
शान्ति चियाउन सकूँ
जस्तो आइफल चढेर पेरिस देखिएझैँ
सुदूर वस्तीहरूमा गुञ्जने
देउडामा भोजपुरी भाकाका भाव
मिलाउन सकूँ
सिरमा टोपी र कम्मरमा धोती कसेर
मन जो फाटेको छ
त्यो सिलाउन सकूँ
जस्तो कि ज्ञान- विज्ञानमा पोखिएर
पृथ्वी ब्रह्माण्डको
चेतना बन्न पुगेझैँ
चाहारी संसार
फूलहरूबाट रस बटुल्दै
घारहरूमा मौरीले मह काडेझैँ
यी भूगोलहरू
आस्थाका मौरीघार बन्न सकून्
हिउँ पग्लेर हिमालबाट
तराई चिसिन सकून्
नदी झरेर पहाडबाट
फाँट चाहारिन सकून्
झुल्ने ती स्वर्गीय फाँटहरू
जीवन बनेर माथिमाथि
पहाड र हिमाल उक्लिन सकून्
तर, मस्तिष्कले
हृदयको धड्कन नबुझेपछि
एउटै ओदानका खुट्टाहरूले पनि
अँगेनो अलग- अलग
रोज्न खोजेपछि
मन अनुभूतिको
नमीठो जाँतोमा पिसियो
आस्था पानी बनेर नदीसँगै
समुद्रमा मिसियो ।

फेरि पनि
भत्काएर पर्खाल
बर्लिनको जर्मन जोडिन्छ भने
रोजेर जीवन
नेल्सनले जेलको रङ्गभेद तोडिन्छ भने
या बनेर एकता विश्वासहरूको
इतिहास मोडिन्छ भने
समय सोहोरेर बाजुभरि
म एउटा यस्तो नायक जन्माउँछु अब
जसका पदचापहरूले
त्यो पारि पहराको चट्टान फोरेर
तिनै चट्टानहरूबाट
शताब्दीकै सुन्दर सभ्यता बुनोस्
मस्तिष्कले सिर्जनाको
मूल फुटाएर
प्रस्फुटन आतुर सम्भावनाहरूको
चित्कार सुनोस्
टुक्रिएका मन र तर्कने साँधहरूलाई समेटेर
आस्थाको एउटै मालामा उनोस् ।


(त्रिभुवन विश्वविद्यालय, सुर्खेत क्याम्पसमा प्राध्यपनरत मल्ल आधुनिक नेपाली उपन्यासको मिथकमा विद्यावारिधि हुन्)